images
images

समय व्यवस्थापनको अवधारणा र महत्व 

हाम्रो व्यक्तिगत तथा सांगठनिक जीवनमा निर्णय र कार्यान्वयन गर्नुपर्ने यति धेरै सवालहरू आउँछन्, जसलाई उचित किसिमले व्यवस्थापन मिलाउन सकिएन भने एकपछि अर्को कामहरू खात लागेर बस्ने, कतिपय जरुरी र महत्वपूर्ण कामहरू गर्न नभ्याएर महत्वपूर्ण उपलब्धि गुमाउनुपर्ने अवस्था सिर्जना भएको हुन्छ । कसैले कुनै काममा सहयोग माग्दा ‘हुन्छ’ ‘हुन्छ’ भन्ने तर त्यो ‘हुन्छ’ शब्द व्यवहारमा भने रूपान्तरित नहुने अवस्था रहेको देखिन्छ । जुन काम आफुले गर्न सकिँदैन, क्षमता छैन, तोकिएको समयभित्र गर्न सकिँदैन वा आफुलाई त्यो काम गर्न मन पर्दैन भने त्यसबारे समयमै ‘माफ गर्नुहोस्, यो काम मबाट हुन सक्दैन’ भन्नु धेरै राम्रो हुन्छ । हामीले ‘Yes’ मात्र होइन ‘No’ पनि भन्न जान्न पर्दछ । कसैले तपाईँलाई अनुरोध गरेको कार्य पूरा गर्ने सम्बन्धमा तपाईँले आफ्नो पूरक प्रस्ताव वा सर्त अगाडि सार्न सक्नुहुन्छ । जस्तै— यदि “अर्को एक हप्ता समय थपिदिने हो भने यो काम मबाट हुन सक्छ” आदि आदि । यसरी राखिने प्रस्तावलाई ‘Counter offer’ भनिन्छ । समयमै ‘No’ भन्न सक्नु वा ‘Counter offer’ गर्न सक्नु वास्तवमा निर्णय गर्न सक्ने क्षमता प्रदर्शन गर्नु हो । 

 

कुनै पनि काम भोलि गरौँला, समय बाँकी नै छ भनेर टार्दै जाँदा तोकिएको म्याद (Deadline) समाप्त हुने तर काम भने अधुरो रहने हुन्छ । समयमा काम गर्न नसक्ने मानिस कहिल्यै पनि खुसी वा प्रसन्न हुन सक्दैन । “यो काम पनि भ्याइनँ, ऊ काम पनि भ्याइनँ” भन्दै छट्पटी व्यक्त गर्दछ । समयको प्रभावकारी व्यवस्थापन गर्न नसक्ने मानिस प्रायः तनावमा रहिरहन्छ । ठुलो ठुलो विषय छोडौँ, हामीमध्ये कतिले समयमै मोटरसाइकलको लाइसेन्स नवीकरण गर्दैनौँ, कतिले समयमै कर तिरेका हुँदैनौँ, बिजुली, टेलिफोनको बिल समयमै नतिर्नेहरू धेरै नै छौँ होला । हामीमध्ये कतिले समयमै पुस्तकालयको पुस्तक फिर्ता गर्दैनौँ, लेनदेनको भाका नाघ्छौँ, समयमै गर्छु भनेर कबोल गरेको काम पनि गरिहेका हुँदैनौँ । घरमै राखेको लालपूर्जा र तिरो तिरेको रसिद नभेटेर समयमा कर नर्तिनेहरूको पनि कमी छैन नै होला । 

 

यिनै कारणहरूले गर्दा हाम्रो इमान्दारिता र सच्चरित्रतामा गम्भीर प्रश्न खडा हुन्छ । अरुको हेराइमा हामी हलुका र फितलो हुन पुग्छौँ । आफूले भेट्नुपर्ने वा सरोकार राख्नुपर्ने व्यक्ति बिरामी भएको बेला अस्पतालमा भेट्न नजाने तर डिस्चार्ज भएर निको भइसकेपछि भेट्न जाँदा त्यति अर्थ राख्दैन । तपाईँको आफन्त वा शुभचिन्तक कसैको मृत्युको घटना सुनिसकेपछि सम्भव भएमा उसको अन्तिम संस्कारमा तपाईँ पुग्दा मृतकका परिवारहरूसँग जस्तो सम्बन्ध गाढा हुन जान्छ । त्यसपछिको दिनमा घरमा पुग्दा कम नै हुन्छ । अझ दुःख परेको बेला भेट्न जानुभएन भने त उसको मनमा चिसोपना उत्पन्न हुन्छ । उसको मनमा अनेकौँ प्रश्नहरू उब्जिन थाल्दछन् र सोच्दछ, “मैले उसलाई के नराम्रो गरेको थिएँ र मलाई भेट्न आएन” आदि आदि ।  कसैबाट कुनै कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा पत्र प्राप्त हुँदा त्यसबारे हामी कुनै प्रतिक्रिया नदिई बस्छौँ । कार्यक्रममा उपस्थित हुन नसक्ने भएमा सक्दिनँ भनी समयमै जनाउ दिनु राम्रो हुन्छ । व्यवहारमा के देखिन्छ भने फोन गरेर ताकेता गरे मात्र उपस्थित हुन कोसिस गर्ने तर पत्र र निमन्त्रणा कार्डलाई महत्व नदिने गरिन्छ । उपस्थित हुन सक्ने वा नसक्ने सम्बन्धमा फोन गरी समयमै जानकारी दिन सके कति राम्रो हुँदो हो ? बधाई, शुभकामना आदि दिनु छ भने पनि समयको ख्याल गर्नै पर्दछ । 

 

“पोहोर मरिरन् सासु, अहिले आए आँसु” “आगो लागेपछि कुवा खन्नु” जस्ता उखानहरूले हामीलाई समयको महत्वबारे यथेष्ट सन्देश दिएका छन् । मैले यहाँ उठाउन खोजेको विषय समयले हामीलाई पर्खदैंन भन्ने हो । बेला टरेपछि गरिने कार्यको प्रतिफल सोचेजस्तै हुँदैन । संगठन सञ्चालनमा पनि यस्तै हुन्छ । बैठक, भेला, कार्यक्रमहरू स्वतस्फूर्त रूपमा सिजनात्मक प्रयोगका साथ आयोजना गरिँदैंन । धेरैजसो माथिल्लो निकायबाट कुनै निर्देशन आएमा, विशेष अभियान सञ्चालन गर्नु परेमा वा बाध्यात्मक अवस्था सिर्जना भएमा मात्र आयोजना गर्ने प्रचलन छ । यो मेरो जिम्मेवारी हो भनेर गर्नुभन्दा यो माथिबाट आएको निर्देशन हो भनेर मात्र गर्ने गराउने परिपाटी देखिन्छ । धरैतिर ‘टार्ने’, ‘घचेट्ने’, ‘गुजारा गर्ने’, ‘निर्वाह गर्ने’, ‘तदर्थ’ रूपमा मात्र काम गर्ने चलन छ । व्यवस्थित योजना बनाएर नवीनता, सिर्जनात्मकता र अन्वेषणात्मक सोंचका साथ काम गर्ने पद्धति फितलो देखिन्छ ।

 कामहरूको प्रथामिकता निर्धारण

कहिले काहिँ हामीले हाम्रा कामहरूको प्राथामिकता निर्धारण गर्न नसकेर सानो, कम महत्वको वा कम जरुरी काममा समय खर्च गरिरहेका हुन्छौँ । यस प्रकारको समस्याबाट मुक्त हुन हामीले माथिको बाकस को A  मा उल्लेख गरे अनुसारको अति जरुरी र अति महत्वपूर्ण कार्यहरूलाई पहिलो प्राथामिकता दिनु पर्दछ । त्यस पछि बाकस B मा रहेको कार्यहरूलाई दोस्रो, D मा रहेको कामहरूलाई तेस्रो र C मा रहेका कामहरूलाइ कम महत्वपूर्ण र कम जरुरी कार्यहरूलाई अन्तिम प्राथमिकतामा राख्नु पर्दछ । समय व्यवस्थापनको कुरा गर्दा हामीले हाम्रो कुल समयलाई कुन कुन काममा प्रयोग गरेका छौँ भनेर सर्वेक्षण गर्नुपर्दछ । जस्तै परिवार, स्वास्थ्य, स्वअध्ययन, सामाजिक सेवा, राजनीतिक कार्य, मनोरञ्जन साथीभाइहरूसँगको सम्बन्ध, अफ्नै क्षमता अभिवृद्धिका लागि तालिममा सहभागिता आदि । मैले यस्ता धेरै साथीहरू देखेको छु जसले कम्प्युटर सिक्न पाए हुन्थ्यो, अंग्रेजी भाषा सिक्न पाए हुन्थ्यो भुन्नुहुन्छ तर वहाँहरूलाई इन्ष्टिच्युटमा भर्ना भएर सिक्ने तत्परता र समय कहिल्यै जुर्दैन । जबसम्म हामीले आफ्नो प्राथमिकताको कार्य, समय र तत्परता बिच तालमेल मिलाउन सक्दैंनौँ तबसम्म मनका इच्छाहरू सधैं अधुरा रहन्छन् । पौडी खेल्न इच्छा गर्ने तर पानीमा खुट्टा नहाल्ने हो भने त्यो जीवनमा कहिल्यै सम्भव हुन सक्दैन । 

 

स्कुले जीवनमा हामीले ‘‘कछुवा र खरायोको दौडको’’ एउटा कथा सुनेका थियौँ । जसको सार थियो “slow and steady wins the race” तर अहिलेको जमानामा ‘‘Fast and consistent अर्थात् छिटो तर दिगो कार्यको बढी कदर हुन्छ । धेरै समय लगाएर गुणस्तरीय काम गरेको छु भनेर कछुवाको पङ्क्तिमा राखेर सबै ठाउँमा टिक्न सकिन्छ भन्न सकिँदैन । आजको युग प्रतिस्पर्धाको युग हो । कम समय र लागतमा बढी गुणस्तरीय काम कसरी गर्न  सकिन्छ भन्ने तर्फ ध्यान नदिने हो भने प्रतिस्पर्धामा विजय हासिल गर्ने गुन्जायस रहँदैन । 

 

एउटा  ‘क’ भन्ने व्यक्तिले प्रति इकाई समयमा गर्ने कार्यभन्दा सोही समयमा अर्को ‘ख’ भन्ने व्यक्तिले मात्रामा बढी र गुणस्तरीय काम गर्न सक्छ भने सबैले ‘क’ होइन ‘ख’ को खोजी गर्नेछन् । त्यसैले हामी प्रत्येकले हाम्रो समयको प्रयोग कुन स्तरमा भएको छ ज्यादै सम्वेदनशील भएर सोंच्नुपर्ने हुन्छ । छिटो काम गर्ने नाममा गुणस्तरहीन कम हुने सम्भावनाबाट भने जोगिनु पर्दछ । समय गुमाउनु भनेको सम्पत्ति गुमाउनु जस्तै हो । समयलाई स्रोत वा पुँजीको रूपमा लिन सकिन्छ । समयको लगानी विना कुनै पनि कार्यसम्भव हुँदैन । 

 

भनिएको छ “The same opportunity never knocks twice” एउटै अवसरले दुई पटक ढोका घच्घच्याउन आउँदैन । कुन समयमा के अवसर प्राप्त छ त्यो कुरालाई चिन्न सक्नुपर्दछ । कहिले काँही “जता खीर पाक्यो, त्यतै भान्सा गर्ने” प्रवृत्तिलाई पनि अवसरको उपयोगसँग दाँजेर अवसरवादी भनिएको हुन्छ । तर अवसरको प्रयोगलाई लक्षसँग जोडिएको छ भने यसलाई अवसरवादी भन्न मिल्दैन “मौकामा हिरा फोर्नु” भनेको पनि समयलाई चिनेर काम गर्नु भनेको हो । अरुबेला अध्ययनलाई महत्व नदिई समय बर्बाद गर्ने तर जब परीक्षा आउँछ  अनि बल्ल पढ्ने बानी गर्ने प्रवृत्ति भएका व्यक्तिले समयको महत्व बुझेका छन् भन्न सकिँदैन । कुनै पनि कार्यक्रममा तोकिएको समयभन्दा कम्तीमा २ मिनेट अगाडि पुग्ने व्यक्तिको आत्मविश्वास अरुको भन्दा निश्चित रूपमा बढी हुन्छ । जहिले पनि ढिलो पुग्ने, नेपाली टाइम भनेर आफु र आफ्नो राष्ट्रिय गौरवको अवमूल्यन गर्ने मानसिकता भएका व्यक्तिहरूलाई कुन मनले असल अगुवा भन्ने ? कतिपय कार्यक्रमहरूमा प्रमुख अतिथि घन्टौँ ढिलो उपस्थित भएर अन्य सहभागीहरूको बहुमूल्य समय निरर्थक बन्न गएका धेरै घटनाहरू पनि हामीले देखेका, सुनेका र भोगेका छौँ । त्यसैले समयको पालना गर्नु र समय तालिका अनुसार चल्न सक्ने गुणलाई नेतृत्व विकासको एक महत्वपूर्ण गुणको रूपमा लिन सकिन्छ । 

 

"Time management is making wise scheduling decision which involve self descipline and delayed gratification" समय व्यवस्थापन भनेको विवेकपूर्ण ढङ्गले तालिका बनाई कार्यान्वयन गर्नु हो ।  हामीले मासिक, साप्ताहिक र दैनिक कार्ययोजना बनाई चल्ने गर्नु पर्दछ । जसबाट आत्मअनुशासन साथै महत्वपूर्ण काम  ढिलो नगरेकोमा आत्मसन्तुष्टी र खुसी प्राप्त हुन्छ । म अमेरिका गएको बेला क्यालिफोर्नियाबाट वासिङ्गटनका लागि डोमेष्टिक एयरलाइन्सबाट यात्रा गर्दाको प्रसङ्ग यहाँनेर जोड्न चाहान्छु । मेरो छेउमा बसेका अन्दाजी ६० वर्षका एक व्यक्तिले ५ घन्टाको विमानको पूरा यात्रा अवधिमा ल्यापटपमा काम गरी रहे । पछि थाहा लाग्यो, उनले भोलिपल्ट भाग लिने कार्यशालाका लागि प्रस्तुत गर्ने कार्यपत्र तयार गरेका रहेछन् । हामी पनि कहिलेकाँहि कसैलाई कुर्दा, पालो पर्खिँदा, बस स्टेशन, रेलवे स्टेशन, हवाइ स्टेशन आदिमा समय बिताउनुपर्दा कुनै  पुस्तकको अध्ययन गरेर वा अन्य कुनै रचनात्मक कार्य गरेर समयको सिर्जनात्मक प्रयोग गर्न सक्दछौँ । 

 

म एकपटक बैङ्ककमा नेतृत्व विकास सम्बन्धी तालिममा भाग लिन गएको बेला एकजना प्रशिक्षक (वहाँ त्यहाँको शिक्षा मन्त्री हुनुहुन्थ्यो) ले भन्नुभएको सन्देश अहिलेसम्म पनि याद आइरहन्छ । वहाँले भन्नुभएको थियो “यदि तपाईँ बाटोमा हिँड्दै हुनुहुन्छ वा भवनको एक तलाबाट अर्को तलामा जाँदै हुनुहुन्छ भने अलिकति खुट्टाको गति बढाउनुहोस्, किनभने समय ज्यादै मूल्यवान छ ।” हुन पनि हो, कति पटक थोरै मात्र ढिला गर्नाले हामीमध्ये कतिले प्लेन, बस, रेल छुटाएका छौँ । एउटा दुर्घटनामा परेको घाइते बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिएन भने उसको बाटोमै मृत्यु पनि हुन सक्छ । एक मिलिसेकेण्डको फरकले ओलम्पिक खेलमा हार जीत भएका कुराले पनि समयको व्यवस्थापनको महत्वलाई उजागर गर्दछ । यसरी गम्भीर रूपमा विश्लेषण गर्दा १ सेकेण्ड समयको पनि ठुलो महत्व हुन्छ । सेकेण्ड सेकेण्डबाट मिनेट र मिनेट मिनेटबाट घण्टा बन्छ भन्ने कुरा मनन गरी प्रत्येक सेकेण्डलाई सार्थक बनाउन सके सिङ्गो जीवन नै सार्थक बन्न सक्दछ । समयको महत्वका सम्वन्धमा निम्न बुँदाहरू मनन गर्नु उपयुक्त ठान्दछु । 

अन्त्यमा भनिएको छ yesterday is history, tomorrow is mystery, therefore present is the present. हामीले बितेको समय कसै गरे पनि फर्काउन सकिँदैन, तर आजदेखि एउटा नयाँ जीवन जिउने अठोट गर्न सकिन्छ । त्यसैले समयको महत्वलाई चिनौँ, बुझौँ र प्रभावकारी व्यवस्थापन गरौँ । 
(लेखक प्रशंसनीय दृष्टिकोण—सकारात्मक सोच अभियानका प्रभावशाली उत्प्रेरक हुनुहुन्छ ।)