नेपाली शब्दकोष अनुसार, “व्यावसायजन्य स्वास्थ्य र सुरक्षा” भन्नाले कामदारहरुको स्वास्थ्य र सुरक्षा कार्यस्थलमा सुनिश्चित गर्नु हो, जसमा वातावरणलाई जोखिममुक्त पार्दै कामदारहरुको शारीरिक, मानसिक वा सामाजिक कल्याणलाई हानी पुर्याउन सक्छन् । सामाजिक विज्ञानको संदर्भमा, “व्यावसायजन्य स्वास्थ्य र सुरक्षा” भनेको एक सामाजिक अभ्यास हो जसले कार्यस्थलमा दुर्घटना, चोटपटक र रोगहरुको रोकथाम र कामदारहरुको शारीरिक, मानसिक र सामाजिक कल्याणको प्रवद्र्धनमा महत्व दिन्छ ।
व्यावसायजन्य स्वास्थ्य र सुरक्षाकोे मुख्य उद्धेश्य रोकथाम, सुरक्षा र कार्यस्थलमा कल्याणकारी कार्यहरुको प्रवद्र्धनलाई जोड दिनु हो । चाहे त्यो राष्ट्रिय कानुनी दृष्टिकोणमा होस, अन्तर्राष्ट्रिय संगठनहरुको संदर्भ होस वा स्वास्थ्य प्राधिकरणहरुको दृष्टिकोण होस, यसको उदेश्य कामदारहरुलाई खतराबाट सुरक्षा गर्नु, सुरक्षित कार्य अवस्थाहरु सुनिश्चित गर्नु र कार्यस्थलमा शारीरिक, मानसिक र सामाजिक कल्याणको प्रवद्र्धन गर्नु हो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आइ.ल.ओ.) ले “महिला र पुरुषहरुको लागि स्वतन्त्रता, सुरक्षा, समनता, र मानव गरिमामा अधारित उत्पादनशिल काम” भनेर सभ्य र सम्मानजनक कामको परिभाषा गरेको छ । यो श्रमिकहरुको अवसर र आम्दानीका आकांक्षाहरु, अधिकारहरु, आवाज र पहिचान, पारिवारिक स्थिरता, व्यक्तिगत विकास र न्याय र लैंगिक समानताको योगफल हो । सभ्य काम, संयुक्त राष्ट्रको मानव अधिकार घोषणापत्र परिलक्षित भएको एक अवधारणा हो जुन आइ.एल.ओ. ले १९९९ मा प्रस्ताव गरेको थियो । यो घोषणापत्रमा सुरक्षा र स्वास्थ्यको अवधारणा समाहित भएको छ र यसलाई २०३० सम्म प्राप्त गर्ने भनि संयुक्त राष्ट्रका विकास लक्ष्यहरुमा समाहित गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन अनुसार प्रत्येक बर्ष लगभग २३ लाख कामदारहरु कार्य सम्बन्धि घटनाहरुका कारण जीवनलाई खतरामा पार्न बाध्य हुन्छन् ।
व्यावसायजन्य सुरक्षा र स्वास्थ्य क्षेत्र सभ्य र सम्मानजनक कामको प्राप्ति र संरक्षणमा अनिवार्य मानिन्छ किनकी यसले कामका अवस्था अन्य तनाव कारकहरु र कार्यवातावरणलाई सम्बोधन गर्दछ । यो आइ.एल.ओ. ले अघि सारेको सम्मानजनक काम अन्तर्गत सामाजिक सुरक्षाको एक अंश हो र अन्य उद्धेश्यहरुसंग यो जोडिन्छ । व्यावसायजन्य कामदारहरु गर्दा बिभिन्न खतराहरुको सामना गर्नु पर्ने हुन सक्छ जुन बिभिन्न रोगहरुको कारण बन्न सक्छ । उदाहारणको लागिः एच आइ भि एड्स, क्षयरोग र स्वासप्रस्वास सम्बन्धी समस्याहरु व्यावसायिक सम्पर्कमार्पmत सर्न सक्छन । व्यावसायजन्य कामदारहरु हानिकारक रसायनहरुको सम्पर्कबाट पनि खतराहरुको सामना गर्न पुग्छन । यी रसायनहरुमा बिषालु औषधिहरु, कीटनाशकहरु, स्टेरलाइजरहरु, सरसफाइका सामानहरु, प्रयोगसाला रसायनहरु समावेश हुन्छन् । यी पदार्थहरु लामो समयसम्मको सम्पर्कले बिभिन्न स्वास्थ्य समस्याहरुको कारण बन्न सक्छ । उदाहरणका लागि, खतरनाक पदार्थहरु भएको ठाँउमा प्रदूषित हावा हुँदा त्यस्तो ठाउँमा सांस फेर्दा वा सम्पर्कमा आउनाले दम र फोक्सोको क्यान्सरको कारण बन्न सक्छ ।
नेपालमा फोहोर व्यवस्थापनमा महिलाको अवस्था महत्वपूर्ण मानिन्छ । महिलाहरु विशेष गरी कम आय भएका र आदिवासी÷जनजाति रहेका समुदायको प्रतिनिधित्व गर्छन । उनीहरुले फोहोर व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेले तापनि प्रायः उनीहरु विभिन्न असुविधाहरुको सामना गर्न बाध्य हुन्छन । उनीहरुको काम प्रायः अवमूल्यन गरिन्छ र सामान्यतया उनीहरुलाई उचित आर्थिक लाभ वा सामाजिक पहिचान प्राप्त हुँदैन । नेपालमा लिंगका आधारमा भूमिकाहरु निर्धारण गरेको पाइन्छ । प्रायः घरको फोहोर व्यवस्थापनको जिम्मेवारी महिलाको हुने गर्छ । ग्रामीण र कम आय भएका सहरी क्षेत्रमा महिलाहरुलाई घरको फोहोर व्यवस्थापन गर्न बढी जिम्मेवार बनाइने हुँदा उनीहरुको दैनिक कामको बोझ समेत बढ्ने गर्दछ ।
महिलाहरु बिशेष गरी बाढी, पहिरो र अन्य प्राकृतिक विपदको प्रभावबाट बढी नै प्रभावित हुन्छन । उनीहरु प्रायः विपद पछि सफाई गर्न जिम्मेवार हुन्छन, जसमा फोहोर व्यवस्थापन पनि समावेश छ । यसका लागि उचित समर्थन र श्रोतहरुको अभाव हुने गर्छ । फोहोर व्यवस्थापनको कमजोर सेवा, पुनचक्रका अवसरहरू वा फोहोर फाल्ने प्रणालीहरुको पहूँचको कमीले वातावरणीय विसंगति र खराब स्वास्थ्यलाई प्रश्रय दिन्छ । फोहोर क्षेत्रमा निर्णय लिने भूमिकमा महिलाको सहभागितामा भने कम आँक्ने गरिन्छ ।
नेपालमा व्यावसायजन्य सुरक्षा र स्वास्थ्य क्षेत्र सम्बन्धि बिभिन्न कानूनी व्यवस्थाहरु रहेको पाइन्छ । श्रम ऐन, २०७४ ले ‘रोजगारदाताले श्रमिकलाई धर्म, लिंग, जात जाती, उत्पति, भाषा वा वैचारिक आस्था वा अन्य त्यस्तै अधारमध्ये कुनै कुराको आधारमा भेदभाव गर्न पाइने छैन, कुनै रोजगारदाताको काम वा व्यवसाय वा सोको कुनै भाग कानून बमोजिम स्वामित्व परिवर्तन वा हस्तान्तरण भएमा वा त्यस्तो काम वा व्यवसाय सञ्चालन गर्न अरु कसैलाई दिएमा वा दुई भन्दा बढ़ी प्रतिष्ठान वा व्यवसाय आपसमा गाभिई नया प्रतिष्ठान वा सृजना भएमा त्यसरी स्वामित्व परिवर्तन वा हस्तान्तरण भएको वा सञ्चालन गर्न कसैलाई दिइएको काम वा व्यवसाय वा गाभिएको प्रतिष्ठान वा व्यवसायमा कार्यरत श्रमिकको रोजगार सम्बन्ध कायम रही रहनेछ र सूर्यास्त भएपछि वा सूर्योदय हुनुभन्दा अघि कार्य समय प्रारम्भ वा समाप्त हुने गरी महिला श्रमिकलाई काममा लगाउदा कार्यस्थलमा आउन तथा कार्यस्थलबाट फर्की जान रोजगारदाताले यातायातको आवश्यक व्यवस्था मिलाउनुपर्ने छ, भनी व्यवस्था गरिएको छ ।
त्यस्तै सामाजिक सुरक्षा ऐन, २०७४ ले कार्यसंग सम्बन्धित चोटपटक लाभ, बिरामी बिदा र अपांगता लाभका लागि प्रावधानहरु स्पष्ट गर्दछ । साथै यस अन्तर्गत श्रमिकहरुले दुर्घटनाहरु, व्यावसायिक रोगहरु वा घाइते हुदा क्षतिपूर्ति पाउने अधिकार राखछन् जसले उनिहरुको स्वास्थ्य र वित्तिय सुरक्षा समर्थन गर्दछ ।
नेपालको संविधानको भाग ३ को मौलिक हकमा निम्न प्रावधानहरु रहेको पाइन्छ ।
धारा १८ः समानताको हकः यस धाराले कामदारलाई उचित र सुरक्षित कार्यवातावरण प्रदान गर्दछ जसले उनिहरुको जीविका स्वास्थ्य र सुरक्षा जोखिमहरुबाट प्रतिकूल नहोस् ।
धारा ३४ः श्रमको हकः कामदारलाई उचित पारिश्रमिक, सुरक्षित वातावरण, ट्रैड यूनियनमा सामिल हुने अधिकार र श्रमिकसंग सामाजिक संबादमा सलंगन हुने अधिकार सुनिश्चित गर्दछ । यसले कामदारहरुलाई सुरक्षित कार्यवातावरणको अधिकारलाई जोड दिन्छ, जसमा खतरनाक अवस्थाबाट सुरक्षा, हानिकारक पदार्थको सम्पर्कबाट सुरक्षा र असुरक्षित कार्य अभयासबाट सुरक्षा प्राप्त गर्नको अधिकार समावेश छ जुन व्यावसायजन्य सुरक्षा र स्वास्थ्य क्षेत्रको अवधारणासंग मेल खान्छ ।
फोहोरमैला भनेको त्यस्ता सामागी्रहरु, पदार्थहरु वा श्रोतहरु हुन, जसलाई फालिएको, दोहो¥याएर प्रयोग गर्न नसक्नु वा मूल्यवान मानिएको छैन । फोहोर बिभिन्न प्रकारका हुन सक्छन जस्तैः ठोस, तरल र ग्यास र यसमा खाधान्नका कुरा, प्याकेजिङग सामग्रीहरु, उधोगका अवशेष वा मानव निर्मित फोहोर जस्ता वस्तुहरु सामवेश हुन सक्छन । पर्यावरणीय दृष्टिकोणबाट फोहोरमैला प्रायः यसको संरचनामा आधारित (जस्तैः जैविक, पुनः प्रयोग गर्न सकिने, खतरनाक) र यसको उपचार गर्ने तरिकामा वर्गिकृत गरिन्छ भने फोहोरमैला व्यवस्थापन भनेको फोहोर सामाग्रीहरुको संकलन, यातायात, प्रशोधन, पुनःप्रयोग वा फाल्ने प्रक्रिया हो जुन यसको पर्यावरण र मानव स्वास्थ्यमा पर्ने प्रभावलाई कम गर्छ । प्रभावकारी फोहोर व्यवस्थापनले पर्यावरणीय प्रदूषण कम गर्न, श्रोतहरु बचत गर्न र दिगो विकासलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्छन । यसले ल्याण्डफिल्डमा पठाइने फोहोरको मात्रा घटाउने र ग्रिनहाउँस ग्यास उत्सर्जनलाई कम गर्न मदत पुर्याउँछ ।
नेपालमा फोहोर व्यवस्थापन एक बहु चरणीय चक्रको रुपमा हेर्ने गरिन्छ जसको उद्धेश्य फोहोरलाई संकलन, उपचार र नष्ट गर्नु हो जुन वातावरणीय दृष्टिकोणबाट जिम्मेवार तरिकाले व्यवस्थापन गर्नु हो । घरबाट फोहोर संकलन गर्दा सबै किसिमका फोहोरलाई एकै ठाउँमा राखेर संकलन गरेको पाइन्छ । घरबाट उत्पादन गरेको फोहोर पुरुष कामदारहरुले संकलन गरी सकेपछि, फोहोरलाई फोहोर व्यवस्थापन सुबिधाहरुमा स्थानान्तरण गरिन्छ । यो फोहोर प्रायः ल्याण्डफिल्ड साइटहरुमा वा पुनः चक्र केन्द्रहरुमा लगिन्छ । यसपछाडि पुनः चक्रयोग्य, जैबिक फोहोर, हानिकारक फोहोर आदि अलग गरिन्छ । यी सबै फोहोरहरुलाई पृथकिकरण गर्ने कार्य अधिकांश महिलाहरुले गर्ने गरेको पाइन्छ । यी सबै प्रक्रियाहरु अपनाउदा प्रायः महिलाहरु आफ्नो सुरक्षालाई ध्यान दिने गरेको पाइदैंन् जसका कारण उनीहरु बिभिन्न किसिमका सरुवा तथा नसर्ने रोगहरूबाट सिकार हुने गरेका छन् । सुरक्षा उपकरण जस्तैः हेलमेट, मास्क, चश्मा, ज्याकेट, पंजा र बूट जस्ता उपकरण लगाउने गरेको पाइंदैन । निजी व्यवसायकर्ताले पनि सुरक्षाका बिषयहरुमाथि बढि चासो राखेको पाइएको छैन र नेपाल सरकारको अनुगमन र मूल्यांकन प्रणाली पनि कमजोर रहेको पाइन्छ । व्यवसायकर्ताले सुरक्षा सामाग्रिहरु उपलब्ध गराएपनि अशिक्षा, चेतनाको कमीले गर्दा उनीहरुले लगाएको पाइदैन ।
पुनः चक्र कार्यहरू प्रायः अनौपचारिक फोहोर संकलनकर्ताहरु (जसलाई कबाडिवाला भनिन्छ) द्वारा गरिन्छ, जसले घर–परिवार सडकहरु र व्यवसायहरुबाट पुनः चक्रयोग्य सामग्रीहरु जस्तै प्लास्टिक, कागज, काँच, र धातु संकलन गर्दछन् । पुनः चक्र प्रक्रियामा यी सामग्रीहरुलाई छान्नु, सफा गर्नु र बजारमा पुनः प्रयोगका लागि पुनः पठाउनु आवश्यक हुन्छ ।
फोहोर संकलन गर्ने श्रमिकहरुलाई विशेषगरी सामाजिक दृष्टिले ठूलो विभेदको सामना गर्नुपर्छ । उनीहरुलाई प्रायः ‘अछूत’ वा सबैभन्दा तल्लो सामाजिक वर्गको मानिन्छ । समाजले उनीहरुको योगदानलाई अवमूल्यन गर्दछ र अनदेखा गर्दछ । उनीहरुलाई सामाजिक अधिकारबाट बहिष्कार गरेको पाइन्छ । शहरी क्षेत्रहरुमा फोहोर संकलन र पृथकिकरण गर्ने कामदारहरुको तलब अपेक्षाकृत कम हुने गर्छ । महिला कामदारहरुले पुरुष कामदारहरुको तूलनामा कम तलब प्राप्त गर्ने गर्दछन् ।
बिभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय नीति र कानून लागु भएपनि महिला कामदारहरु सामाजिक सुरक्षा, जीवन बीमा, आधारभूत तलबको सुबिधा, स्वास्थ्य बीमा र सुरक्षा उपकरण जस्ता सेवा सुबिधाबाट बन्चित रहेका छन् । महिला कामदारहरुले फोहोर संकलन देखि लिएर नष्ट गर्ने कार्य सम्म महत्वपूर्ण भूमिका खेल्दछन् जसले गर्दा वातावरण स्वच्छ र सफा हुन्छ । चेतनाको कमी, सरोकरवालाबीचमा समन्वयको कमी, कमजोर पूर्वाधार, प्रविधिकको न्यून प्रयोग यसका मुख्य चुनौतिका रुपमा रहेका छन । यस क्षेत्रका महिला सरसफाइकर्मीहरु अझ बढि पीडित छन् । सामाजिक हेला, पारिवारिक तिरस्कार, काममा कम पारिश्रमिक जस्ता समस्याहरु उनीहरुले भोग्दै आइरहेका छन् । सम्मानजनक कामको अर्थ केवल काम गर्नको लागि राम्रो अवस्थाको व्यवस्था मात्र नभई सुरक्षित एंव स्वास्थ्य कार्यस्थल भन्ने बुझिन्छ । यस दिशामा सबै सरोकारवालाहरुको ध्यान जानु जरुरी छ ।