काठमाडौँ, जेठ २ । नेपालको एभरेस्ट पाथवेज (Everest Pathway) बङ्गलादेशको फर्स्ट ट्रिप (First Trip) बिच हालै बङ्गलादेशको ढाकामा एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । यी दुवै कम्पनीबिच पर्यटन सेवाको क्षेत्रमा एकआपसमा सहकार्य गर्ने हुने सम्झौतामा उल्लेख गरिएको बताइएको छ । फस्र्ट ट्रिप नयाँ यात्रा एजेन्सी हो । यो एजेन्सी युएस बङ्गला एयरलाइन्सद्वारा प्रवद्र्धित पर्यटन कम्पनी हो । नेपालमा केही समयअघि स्थापना भएको एभरेस्ट पाथवेज टुर्स एण्ड ट्राभल्स पनि खासै पुरानो कम्पनी होइन । तर, यी दुवै कम्पनीका संस्थापक — सञ्चालकहरू व्यावसायिक सिप तथा दक्षता भएका युवाहरू रहेका छन् ।
यी दुवै कम्पनीले नेपाल र बङ्गलादेश दुवै देशका आकर्षक स्थलहरूमा यात्रा योजना तथा प्रबन्ध गर्न सूचना प्रविधिआधारित प्लेटफर्म प्रयोग गर्ने योजना बनाएका छन् । यो योजना दुवै कम्पनीहरूका ग्राहकहरूका लागि अनौठो र मनोरञ्जक यात्रा अनुभवहरू प्रदान गर्न तथा नेपाल र बङगलादेशको यातायात उद्योगको विकासमा योगदान गर्न सक्ने विश्वास गरिएको छ । दुवै कम्पनीबिच भएको समझदारी सहयोगपूर्ण व्यवसायिक सम्बन्ध स्थापित गर्ने सकारात्मक कदम हो, जसले एभरेस्ट पाथवेज र फर्स्ट ट्रिपको लागि एक उत्साहजनक नयाँ अध्यायको सुरुआत गर्नेछ ।
दुवै कम्पनीका सञ्चालकहरूबाट यसरी गरिने यात्राले नेपाल र बङ्गलादेशको पर्यटन विकासमा सहयोग पुऱ्याउने, आर्थिक वृद्धिमा योगदान गर्ने, दुई देशबिच रहिआएको सम्बन्ध थप सुदृढ हुने भएकोले सबैसँग सहयोगको अपिल गरिएको छ । फस्र्ट ट्रिप र एभरेस्ट पाथवेजको नयाँ अध्यायले पर्यटन क्षेत्रको विकासमा नयाँ पहिचान बनाउने विश्वास गरिएको छ ।