images
images

नागपञ्चमी पर्व: प्रकृति र मानव जीवनको सम्बन्ध

घनश्याम कोइराला, काठमाडौँ 
आज नागपञ्चमी हो । सनातन संस्कृति बहुदेव पूजक संस्कृति हो । सनातनीका देवीदेवतामा ब्रह्मा, विष्णु, महेश, लक्ष्मी, दुर्गा, सरस्वती, वरुण आदि मात्र पर्दैनन् । हरेक जीवनोपयोगी र जीवनका लागि प्रत्यक्ष—अप्रत्यक्ष रूपमा हितकारी जीव, वनस्पति, पशु, पङ्क्षी, जलचर, थलचर, नभचर आदि प्रकृतिमा रहेका सबै देवताका रूपमा मानिएका छन् र पूजित छन् । सनातनमा विभिन्न ढङ्गले यी सबैको मान र महत्व रहेको छ । उच्च महत्व, मान र सम्मान नै वास्तवमा पूजा हो । प्रकृतिपूजक सनातनीहरूले यसैलाई परम्पराका रूपमा अघि बढाउँदैआएका छन् । नागको पूजा गर्दैगर्दा कुनै पनि सनातनीले स्वर्ग, नर्क, मोक्ष आदिको परिकल्पना र अपेक्षा गरेको देखिँदैन । त्यसैले यसलाई अन्धविश्वास बनाउनु हुँदैन । प्रकृतिलाई बुभ्mनु र प्रकृतिलाई पुज्नुको वैज्ञानिक आधार पहिल्याउन आवश्यक छ । 

 

आध्यात्मिक चिन्तक, योग प्रशिक्षक तथा लेखक उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’का अनुसार सबै सर्पहरू नाग होइनन् । तर, सामान्यतः नाग भन्दा सर्प भन्ने पनि बुझ्न नसकिने होइन । सर्प एक रहस्यमय प्राणी हो । । उहाँ लेख्नुहुन्छ, ‘नाग अर्थात् सर्पहरू पाँच फणा, आठ फणा, दश फणा भएका हुन्छन् । सर्पहरू उड्ने, मणिधर र इच्छाधारी हुन्छन् भनिएको छ । सनातन संस्कृतिमा सबै जीव–जन्तुहरूमा गाईलाई सर्वोपरि मानिन्छ । गाईको पूजा हुन्छ, गाईलाई देवस्वरूप मानिन्छ । गाईपछि सर्प मात्रै एक त्यस्तो जीव हो जसको सनातनधर्म—संस्कृतिमा महत्वपूर्ण स्थान छ र पूजा गरिन्छ ।’ 
विषाक्त भनेर जान्दाजान्दै पनि सर्पलाई सबैतिर सम्मानसाथ राखिएको र उच्च स्थान दिएको देखिन्छ । उदाहरणका रूपमा विष्णुको सुत्ने ओछ्यान र शिरको छाताको रूपमा सर्प छ, जसलाई शेषनाग भनिएको छ ।  शिवजीको घाँटीमा मालाको रूपमा सर्प छ । शिवजीको घाँटीमा रहेको नाग—सर्पलाई ‘नागेन्द्र’ अर्थात् नागको राजा भनिएको छ । त्यसैले सर्पलाई नागदेवताको रूपमा पूजा गरिँदैआएको हो भन्ने मान्यता पनि रहेको देखिन्छ । अहिले सहरीकरण भएको छ । खेतबारीका स्वरूप फेरिएका छन् । तर,  पहिले पहिले गाउँघरका खलखेत र बारीको छेउमा, कुनै रुखमुनि, पानीको मुहान—पानी पँधेरामा नागको स्थान बनाइएको हुन्थ्यो र त्यस ठाउँमा पूजा गर्ने प्रचलन थियो । नागको स्थानमा फोहर पार्न हुँदैन भन्ने मान्यता थियो । यसबाट ती स्थानहरू सफासुग्घर र सुरक्षित राख्न मद्दत पुग्दथ्यो । मानिसहरूले प्रदुषणरहित पानी पाउँथे । 

 

सर्प—नागहरू धेरैथरि भए तापनि नागपञ्चमीमा अष्टनाग अर्थात् आठ प्रकारका नागहरूको पूजा गरिन्छ । ती हुन् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट, शङ्ख । नागपूजा गदैगर्दा पढिने मन्त्रमा यो विषय यसरी प्रस्तुत गरिन्छ: अनन्तो वासुकि पद्मः महापद्मश्च तक्षकः । कुलीर कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकृर्तिताः ।। यसरी यी आठ प्रकारका नागहरू प्रसिद्ध रहेको कुरा बुझ्न सकिन्छ । तर, संस्कृतिको यति बजारीकरण भएको छ कि अनेकौँ प्रकारका नाग—सर्पका फोटो पूजा गर्ने गरेको पाइन्छ । विषयको धेरै गहिराइमा जान नसके पनि हाम्रा पुर्खाले सर्पहरूका विषयमा अध्ययन गरेका रहेछन् भन्ने स्पष्ट हुन्छ । यी पुराना अध्ययनका निष्कर्षहरू आज कत्तिको प्रमाणित छन् भन्न नसकिए पनि घस्रेर हिंड्ने यस्ता प्राणीबारे हाम्रा पुर्खाले धेरै कुरा थाहा पाएका रहेछन् भन्ने बुझिन्छ । 

 

नागका बारेमा बुझ्दै जाँदा नाग भनेको सरीसृप प्रजातिका प्राणी मात्र नभई मानववंश पनि थियो भन्ने देखिन्छ । भारतमा नागवंशका मानिसहरूको बसोवास र वर्चस्व नै रहेको थाहा पाउन सकिन्छ । कसैकसैले नाग—सर्प समात्ने, सर्पको विष निकाली त्यसको औषधि बनाउने, विषरहित बनाएर सर्पकै मासु खाने गरेको हुनाले त्यस्ता मानिसहरूलाई नाग भनिएको कि भन्ने अनुमान गरेको पनि पाइन्छ । 

 

अर्को प्रसङ्ग अनुसार बुद्धका मावलीको रूपमा प्रसिद्ध रहेको रामग्राममा स्तुप बनाएर भगवान गौतम बुद्धको अस्तुधातु/अस्थिशेष राखिएको स्थान अहिले पनि सुरक्षित छ ।  त्यसलाई तत्कालीन सम्राट अशोकले अन्यत्र पनि बाँड्न प्रयोजनले निकाल्न खोज्दा नागहरूले त्यसो गर्न नदिएर जोगाएको र त्यो अक्षत रहेको अर्थात् नखोतलिएको र भन्ने विषय पनि चर्चित प्रसङ्ग पाइन्छ । विद्वान् लेखक उद्धवप्रसाद भट्टराई ‘चैतन्यदीप’का अनुसार ‘सर्प कैयौँ प्रकारका हुन्छन्, जस्तै— मणिधारी, इच्‍छाधारी, उड्ने, एक फणा भएका देखि लिएर दसफणासम्म भएका सर्पहरू हुन्छन् भनिएको छ । नीलमणिधारी सर्पलाई सबभन्दा उत्तम मानिएको छ । इच्छाधारी नागका बारेमा के भनिन्छ भने त्यो नाग आफ्नो इच्छा अनुसारका अनेक जीवको रूप धारण गर्न सक्छ भनेको छ । यद्यपि यस कुरामा वैज्ञानिक आधार नभेटिएको भएपनि अब उनीहरू आफ्ना शोधका आधारमा के भन्न थालेका छन् भने वास्तवमा सर्प विश्वको सबभन्दा रहस्यमय प्राणी हो । दक्षिण एसियाका धेरै वर्षा हुने वनहरूमा उड्ने जातिका सर्पहरू पाइन्छ । उड्नमा सक्षम यी सर्पहरूलाई क्रोसोपेलिया जातिसँग सम्बन्धित मानिएको छ । वैज्ञानिकहरूले दुई देखि पाँच फणासम्मका सर्पहरू भएको कुरा पुष्टि गरेका छन् ।’ 

 

नाग पञ्चमी मनाइरहँदा—नाग पूजा गरिरहँदा नागका विषयमा, नाग जातिका विषयमा, नागका प्रकार, नागका विशेषता तथा सावधानीका विषयमा थप अध्ययन गर्नेतर्फ ध्यान दिन आवश्यक देखिन्छ । यसो गरियो भने नाग पूजाको औचित्य थाहा पाउन र यसलाई जीवनोपयोगी बनाउन सहयोग पुग्ने छ । यस परम्परालाई कपोलकल्पित वा अन्धविश्वास भन्नु गम्भीर गल्ती हुनेछ । नागका विविधता जस्तै गुणदोषका आधारमा मानिसमा पनि अनेकौँ विविधता छन् । मानिसमा पनि जीवनोपयोगी पक्ष छन्, ती गुण हुन् भने जीवनद्रोही पक्ष दोष हुन् । मानिसहरू गुण र दोषसहित पृथ्वीमा अधिकारपूर्वक बसेका छौँ भने नाग(सर्प)हरूका पनि गुण र दोष दुवै छन् । सर्पहरू वातावरणमा रहेको प्रदूषण आफू लिन्छन् । यसबाट उनीहरू थप विषाक्त बन्दछन् । जगन्नाथ आचार्यले लेखेको गुणरत्नमालामा लेखिएको पनि छ, ‘आलो दूध पिएर सर्पहरूले साक्षात् विषै पार्दछन् !’ यो सर्पहरूको गुण हो । 

 

अन्नबाली राम्रो उब्जने, खेतीपातीलाई किराहरूबाट जोगाउन सर्पको भूमिका हुन्छ । प्राणीहरूबाट प्mयाँकिएको कार्बनडाइ अक्साइट शोषेर वातावरणलाई स्वच्छ राख्नमा सर्पको महत्वपूर्ण भूमिका रहेको छ । मानिसको पक्षमा नागको योगदान हो यो । यस्तो  योगदानको सम्मान गर्नु नागपूजा हो । नागको चित्र बनाएर ढोकैमा टाँस्ने उनीहरूबाट सतर्क रहन नबिर्सियोस् भनेर हो । प्रायः सर्पहरू विषालु हुन्छन् । उनीहरू डरलाग्दा हुन्छन् । उनीहरूले जतिखेरसुकै डस्न सक्दछन् । यसका लागि मानिसहरूमा सचेतना आवश्यक हुन्छ । यी दुवै कारणले नागको चित्र बनाई घरको ढोकामा टाँस्ने चलन चलाइनु स्वाभाविक हो । परम्परागत मान्यता अनुसार नाग पञ्चमीको दिनमा नाग देवताको पुजा गरेमा घरमा आगो, सर्प र चोरको डर हुँदैन । यो मान्यता र विश्वासको विषय हो । नेपाली समाजमा नाग पञ्चमी मनाउने विषयमा पनि विविधता रहेको छ । पहाडी समुदायमा नाग पञ्चमीका दिन नागको पूजा गर्ने, घरको ढोकामा टाँस्ने गरिन्छ र चाडपर्वको सुरुआतको रूपमा सेलरोटी, खीर आद पकवान्न बनाएर खाने—खुवाउने गरिन्छ । तराई मधेशका केही क्षेत्रमा भने यस अवसरमा विवाह गरेर आप्mना घर गएका छोरी, दिदीबहिनीका घरमा पाहुर—कोसेली पु¥याउने प्रचलन पनि रहेको छ । 

सनातन संस्कृति दोषलाई स्वीकार्ने, गुणलाई पुज्ने संस्कृति हो । नाग पञ्चमी र नाग पूजाको परम्पराले दोषबाट सावधान र सतर्क रहने, गुणलाई जीवनमा अवलम्बन गर्ने संस्कृतिको पक्षपोषण गर्दछ । 
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)