images
images

सामाजिक आन्दोलनका प्रवृत्ति

काठमाडौं, फागुन ४ (अनलाईन बहस)
मानिस स्वयं मानिस भएर पनि मानिसका बारेमा जान्न र खोज गर्न प्रयत्नशील छ । मानव शरीर, मानव मनोविज्ञान, मानव चिन्तन, मानव प्रवृत्ति, मानव स्वभाव आदिको विषयमा मानिसहरूले अध्ययन गरेका छन्, गरिरहेका छन् र गरिरहने छन् । यी सबैलाई प्रभाव पार्ने पक्षको पनि अध्ययन हुनु स्वाभाविकै हो । यी सबैको अध्ययन गर्दा मानव जातिको इतिहास, उनीहरूका जाति—प्रजाति, फरक—फरक भूगोलमा उनीहरूको जीवन र जीविका, उनीहरूले गरेका प्रयत्न, उनीहरूले प्राप्त गरेका उपलब्धिहरू पनि क्रमशः अध्ययन भइरहने विषय हो । 
अध्ययन किन गर्ने ? अध्ययन गरेर के हुन्छ ? यी प्रश्नहरू पनि मानिसका मनमा उठिरहन सक्ने नै प्रश्न हुन् । जे छ, छ । जे हुन्छ, हुन्छ । जान्नै किन पर्छ र ? भन्ने मानिसहरू पनि नभेटिने होइनन् । मानिसको मात्र होइन, प्रकृति, प्रकृतिका जीव र यसका अनेकौँ पक्षको पनि अध्ययन भइरहेको छ, भइरहने छ । खोला, वन, बाटो, बस्ती, रहनसहन, परम्परा सबैको निरन्तर अध्ययन भइरहनु पर्दछ । तर किन त ? जानेर गमक्क पर्न ? जानेर अरुलाई तुछ्याउन ? व्यवहारमा शिक्षा लिन ? भइरहेको त यस्तै देखिन्छ । 
खोलामा बाढी आयो, मानिस मरे । यसबाट के शिक्षा लिने ? वनमा आगलागि भयो, गाउँसम्म आगो पुग्यो, बस्तीका थुप्रै मानिस र पशु मारिए । यसबाट के शिक्षा लिने ? मानिस आफ्नै जीवनबाट वाक्क दिक्क भयो, अरुबाट थोपरिएको पीडा पनि खपिनसक्नु भयो, आत्महत्या गरे । यसबाट के शिक्षा लिने ? राजमार्गमा गुडिरहेको बस गुल्टियो र धेरै मानिस मरे । के शिक्षा लिने ? यस्ता अनेकौँ विषय र जोडिएका प्रश्नहरू छन् । यी सबैका उत्तर पनि छन् । सार्थक ढंगले जान्ने बुझ्ने प्रयत्न भयो भने यी प्रश्नका उपयोगी उत्तर पाइन्छ, तर पहिलेका तिनै चीजहरू जस्ताको तस्तै आउने होइन । त्यसैले जान्न आवश्यक छ र त्योभन्दा बढी आवश्यक बदलिन र बदल्न छ । 
मानिसले दूरदृष्टि बनाउन विगत पनि जान्न आवश्यक हुन्छ । जीवन लक्ष्यको उँचाइ प्राप्त गर्न आधार थाहा पाइराख्न आवश्यक हुन्छ । इतिहास नजानी भविष्य स्पष्टिन्न, आधार नबुझी उँचाइ भेटिन्न । यही नहुँदा हामी कहिलेकाहीँ हाँसोका पात्र बनिरहेका हुन्छौँ । अरु हाँस्छन्, हामी रिसाउँछौँ । हाँस्नेले बाजी मार्छ, रिसाउने कठ्याङ्ग्रिएर बस्दछ, यो भनाइ त्यसै बनेको हो र ? ‘किन चाम्रिस मरिच ? आफ्नै रागले !’ 
अहिले पनि हामीले हाम्रो समाजमा मानिसका गुण—दोषको लेखाजोखा गर्न पाएका छैनौँ, हामी त मानिसलाई जातपात, रङ्गरूप, लिङ्ग, वर्ण, भूगोलमा नापजोख गर्दै ठिक्क छौँ, साह्रै माथि उठेका रहेछौँ भने राजनीतिक दलसम्म । दलसम्मको कुरा अगतिलो होइन, वर्गीय हिसाबले राम्रै हो तर जहाँ मानिसले मानिसलाई नछुने प्रथा छ, त्यहाँ वर्गको हिसाब हुन त अलि पर्खनै पर्ने होला । जातको विभेद रहेसम्म वर्गका मानिसका बीचमा पनि त्यसैको प्रभाव रहने नै होला । अहिले पनि एउटा ‘वर्गीय दलित’ अर्को ‘वर्गीय गैरदलित’सँग सँगै उत्तिकै उँचाइमा ढुक्कले बस्न पाउँदैन, ऊ जे हो त्यही ‘जातको’ भएको हुनाले कमजोर ठानिन्छ, केही आरक्षित सहायक जिम्मेवारीमा खुम्चिन पर्दछ भने उसले कुन वर्गीय सिद्धान्तको सिद्धि प्राप्त गर्न सक्दछ र ? विषय को नीचो, को उँचो होइन; विषय उँचो र नीचोको हो । जसलाई सम्बोधन गर्ने शब्द नै, मायाँ गर्ने शब्द नै, स्थान दिने शब्द नै हेय छ भने समताबोध कसरी हुन्छ र ? एउटै परिवारका फरक योगदानका कारण फरक पहिचान बनाएकाहरूको योगदानको सम्मान गर्ने शब्द चयन ‘दलित’ उचित देखिँदैन । यसको अर्थ के होइन भने विगतमा अन्यत्र प्रयोग भएको ‘हरिजन’ जस्तो अतिउच्च शब्दले पनि सामान्यीकरण गरेको त देखिएन । पहिचानको शाब्दिक विकल्प पनि खोज्न आवश्यक देखिन्छ । तर, यसको अरु विकल्प नै नरहेको भने होइन । 
हाम्रो समाज घटना प्रभावित रहेको देखिन्छ । घटना त क्रिया नभएर प्रतिक्रिया होला नि ! यसले त समाजको चरित्र नै प्रतिक्रियामुखी बनाइराख्ने खतरा हुन्छ । बलात्कार हुन्छ, महिलाहरूको जुलुस । जातीय विभेद हुन्छ, दलितहरूको जुलुस । अरु पनि यस्तै यस्तै । घटना प्रतिक्रियामुखी त हुन्छ नै, अझ त्यसमाथि जघन्य हत्या ? यो त महाअपराध हो । हत्याबाट सधैका लागि सबै समस्या समाधान हुँदैन । प्रसिद्ध कथावाचक ‘वाचन शिरोमणि’ पं. नारायण पोख्रेल मारिएका हुन्, उनको बीभत्स हत्या भएको हो । कारण के थियो ? आखिर त्यसको परिणाम के आयो ? कथावाचन रोकियो ? झन् बढेको छ । जाजरकोटका नवराजहरूलाई जघन्य रूपमा मारिएको छ । यसले के सन्देश दिन्छ ? यी घटनाहरूबाट केही नयाँ शिक्षा लिन आवश्यक छैन ? 
हाम्रोमा धर्म भनेपछि जे जस्तो कमजोरी भए पनि नछोड्ने या जति नै राम्रो भए पनि ओँठ लेब््रयाउने वा विरोधमा लाग्ने नकारात्मक अन्धविश्वासी मानसिकता पनि छ । इतिहासै त्यस्तो होइन, धार्मिक व्यक्तित्वहरूले सामाजिक राजनीति रूपान्तरणमा योगदान गरेको इतिहास पनि छ । जोसमनी सन्तपरम्पराका शशीधर स्वामीले धार्मिक अभियानकै माध्यमबाट जातीय विभेदको अन्त्य गर्ने भूमिका निर्वाह गरेका थिए । त्यहाँ ब्राह्मणवाद, जातिवाद, अवतारवाद, कर्मकाण्ड आदि थिएनन् । उनी आपूm उपाध्याय ब्राह्मण भएर पनि आफ्ना शिष्यहरूलाई पनि जातीय पहिचानबाट अलग राख्न सबैको नामको पछिल्तिर ...‘दिल दास’ जस्तै ः श्यामदिल दास, निरषदिल दास, अच्युतदिल दास, धर्मदिल दास, सतदिल दास आदि नाम राखेका थिए । उनको शिष्य बनेका राजपरिवार, भारदारहरूले पनि आफ्नो नाम त्यसरी नै फेरेका थिए । राजा रणबहादुर शाह (निर्वाणानन्द), अमरसिंह थापाका छोरा जनरल रणवीर सिंह थापा (अभयानन्द) आदि । (स्रोत ः जनकलाल शर्मा, जोसमनी सन्तपरम्परा र साहित्य, साझा प्रकाशन २०५२ दोस्रो संस्करण) 
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासको जनताको पहिलो संगठन महिला जागृति सङ्घ (वि.स.१९७४) का संस्थापक योगमायाले पनि धार्मिक सामाजिक अधिकारका विषयमा राणाशासकहरूको विरुद्धमा सामान्य आन्दोलन मात्र गरिनन्, ६८ जना महिलाहरू सहित जलसमाधि लिएकी थिइन् । यहाँ पनि धर्मको विषय थियो, तर जातपातको विषय थिएन । विधवा विवाहका पक्षमा उनले विद्रोह नै गरेकी थिइन् । उनको माग नै धर्म राज्यको स्थापना थियो । 
विश्व सर्वजन सङ्घ (वि.स.१९९७) का संस्थापक भगत सर्वजित विश्वकर्माले बनारसमा संस्कृतमा आचार्यसम्म पढेका थिए । यस क्रममा उनले वेद, पुराण, उपनिषद्को अध्ययन गरेका थिए । उनले धर्मको विरोध गरेनन्, आफैले जनै लगाए । छोराको नामकरण वैदिक रीतिले गराए । उनले आफूलाई कहिल्यै दलित भनेनन् । समाजमा जातीय र शासकीय कठिनाइहरूसँग जुझ्दै सामाजिक आन्दोलनलाई अघि बढाएको विषय सगौरव पढ्न पाइन्छ । ‘हिन्दु ग्रन्थमा विश्वकर्मा भनेको शिल्पी ब्राह्मण हो’ भन्ने सर्वजितले बालीघरे प्रथाका विरुद्धमा संघर्ष गरेर बालीका सट्टा नगद लिने पद्धति स्थापित गर्न भूमिका खेले । अहिले यी विषय सामान्य लाग्न सक्छ, तर वि.स.२००७ अघि यस्तो गर्नु चानचुने विषय थिएन । (स्रोत ः गणेश विश्वकर्मा,  दलित अनलाइन, असार २८, २०७५) 
भारतमा हेर्दा पनि कबीर धार्मिक सन्त तथा कवि थिए । उनी न ब्राह्मण थिए, न जातिवादी । यहाँसम्म कि धेरैले भगवान मानेर पूजा गर्ने ‘शिरडीका साईँ’ कुन जात, कुन धर्मका थिए ? तर, उनी धार्मिक थिए र उनलाई नै भगवान मानेर, उनकै विशाल मन्दिर बनाएर, उनको मृत शरीर राखिएको स्थान ‘समाधि’मा पूजा भइरहेको छ । त्यहाँ हिन्दुका सबै जात र मुस्लिमहरू समेत जाने गर्दछन् । 
सही वा गलत जे होला, अवस्था यस्तै छ, विश्वास यस्तै छ । जाने र वा नजानेर धर्मप्रति मानिसको अगाध आस्था छ, निष्ठा छ । कतिले यसैलाई दुरुपयोग गरेर स्वार्थपूर्ति गरिरहेको पनि नदेखिने होइन । सदुपयोग, दुरुपयोग, इमान्दारी, बेइमानी सबैतिर छ । त्यसैले धर्मका विरुद्ध होइन, जातका विरुद्ध होइन; शोषण र विभेदका विरुद्ध सामाजिक आन्दोलन आवश्यक छ । धर्म स्वैच्छिक हो, व्यक्तिगत हो । मान्नु या नमान्नु आफ्नै खुसीको विषय हो, तर धेरैको आस्था—निष्ठामाथि प्रहार गर्नु सामाजिक सद्भावका दृष्टिले उचित हुन्न । उन्मादको जवाफ उन्माद हुन सक्दैन, हुनुहुँदैन । 
अहिले नेपालमा जीवित रहेको सचेतपुस्ता राजनीतिक परिवर्तनको आन्दोलनमा लाग्यो । वि.स. २०१७ सालमा तत्कालीन राजा महेन्द्रले बहुदलीय व्यवस्था भंग गरी दलहरुमाथि प्रतिबन्ध लगाएर निर्दलीय व्यवस्था लागू गरेपछि सामाजिक परिवर्तनका सबै मुद्दा राजनीतिक आन्दोलनमा समाहित भयो । खासमा सबै सचेतनता राजनीति केन्द्रित भयो । अधिकार र सुधारका लागि गरिने सबै संगठित प्रयासहरु प्रतिबन्धित भए । पञ्चायत बाहेकका सबै संगठन, सबै विचार, सबै अभियान र आवाज  ‘अराष्ट्रिय अराजक तत्व’को परिभाषामा परे । जातीय, लैङ्गिक, भाषिक, धार्मिक लगायत सामाजिक सांस्कृतिक सुधारका विषय पनि निर्दलीय व्यवस्थाले कुण्ठित पारिदिएको अवस्थामा व्यवस्था परिवर्तनको आन्दोलनमा लाग्नु सही नै थियो । लामो समय राजनीतिक आन्दोलन गरेको नेतृत्व पुस्ता र यसलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा सफल तुल्याउने अनुयायी पुस्ताले अरु आन्दोलन देखेन, बुझेन । अझ भनौँ, राजनीतिक आन्दोलनबाट नै सबै समस्या समाधानको आस गरिरह्यो र गरिरहेको छ । यही कारणले आन्दोलनका प्रकृति वा प्रवृत्ति प्रतिक्रियात्मक हुनु अस्वाभाविक होइन । 
मेरो विचारमा जातीय लगायत अन्य सामाजिक आन्दोलनका पनि तीन प्रवृत्ति छन् । पहिलो हो,  प्रतिक्रियामुखी प्रवृत्ति । यसमा जहिले घटना घट्छ, त्यतिबेला जोडतोडका साथ प्रतिवाद र प्रतिकार गर्ने । इतिहास, पृष्टभूमि, मूल कारणहरू पत्तो लगाई दीर्घकालीन समाधान नखोज्ने, जसरी तसरी  घटनाको टुङ्गो लागेपछि भयो । घटना केन्द्रित भएर उठाइएका कुरा तात्कालिक समाधानपछि शान्त भएको देखिन्छ । तर भित्रीतहमा त्यो रहिरहेको हुन्छ । 
दोस्रो हो, समन्वयवादी प्रवृत्ति । यसले घटनाका पक्षहरूको बीचमा लेनदेन गरेर समस्या समधान गर्नेमा विश्वास रखेको हुन्छ । बाठा, अगुवा मानिसहरूको बीचमा मेलमिलाप भयो सकियो । सामाजिक समस्या ज्युँका त्युँ ! यो प्रवृत्ति बढीमा घटना घट्न नदिने उपायहरूमा केन्द्रित हुन्छ । 
तेस्रो हो, दूरदर्शी प्रवृत्ति । यो प्रवृत्तिले माथि उल्लेख गरिएका प्रवृत्ति त अपनाउँछ नै, दीर्घकालीन रूपमा यसका समाधानका उपायहरूको अध्ययन गर्दछ । इतिहास, पृष्टभूमि, मूल कारणहरू पत्तो लगाई दीर्घकालीन समाधानका उपायहरूका लागि योजनाहरूको पक्षपोषण गर्दछ । कुनै प्रकारको अप्रिय घटनाहरूबाट समाजलाई जोगाउँदै उपयुक्त रणनीतिक उपायहरूको माध्यमबाट क्रमिक रूपमा सहज समस्याहरूको समाधान गर्दै जटिल विषयमा गम्भीर हुन, उत्तेजनाबाट जोगाउन, वास्तविकबोध गराउन, परिवर्तनको उदाहरण र आवश्यकतामा सहमत बनाउँछ । 
अहिले हामी कहाँ छौँ ? हाम्रो सामाजिक आन्दोलनको नेता को हो ? राजनीतिक आन्दोलन या जातीय आन्दोलनले यी समस्याको दीर्घकालीन समाधान गर्न सक्छन् ? तर, समाधानको खोजी आवश्यक छ । राजनीतिक समाधान सर्वोच्च शिखर हो । सर्वोच्च शिखरमा समाधानको झण्डा गाड्नै पर्दछ, तर त्यहाँ गाड्ने झण्डा त तलबाट नै तयार पारेर लैजानु पर्ने होला नि ?!