images
images

मानिसका तीन प्रवृत्ति र तीन कथा 

प्रतिक्रियात्मक मानिस : सबै दोष अरुको
यस्तो स्वभाव भएका मानिसहरू आफै केही गरौँ भन्ने सोच्दैनन् । अरुबाट भएका काम पनि रुचाउँदैनन् । यस किसिमका मानिसहरू अर्काको कमजोरी मात्र खोज्दछन् । अरु मानिसहरू र अरुले गरेका काममा खोट लगाउने र अरुको कुरा मात्र काटिरहने, विगतका तीतापिरा मात्र कोट्याइरहनु यस्ता मानिसहरूको दिनचर्या नै हुने गर्दछ । प्रायः यस्ता मानिसहरू कहिल्यै, केही राम्रो हुन्छ भनेर सोच्नै सक्दैनन् । यस्ता मानिसका सन्दर्भमा एउटा कथा प्रचलित छ । 
   एउटा घरमा श्रीमान् र श्रीमती रहेछन् । श्रीमान्ले घर बाहिरको र श्रीमतीले घरको काम गर्दा रहेछन् । 
श्रीमान् चाहिँ अलि कचकचे स्वभावको रहेछन् । जुनसुकै कुरामा असन्तुष्ट हुँदारहेछन् । यो कुराले श्रीमती सधै दुःखि रहन्थिन् । उनी घर बाहिर र अन्य विषयमा जेसुकै होस्, घरमा चाहिँ उनलाई सन्तुष्ट बनाउन सकिए हुन्थ्यो भनेर सोचिरहन्थिन् ।
यस क्रममा हिम्मत गरेर श्रीमतीले श्रीमान्सँग सोधिछन्, ‘हैन बुढा, तपार्इँ खाजामा के खान रुचाउनुहुन्छ ?’ श्रीमान्ले अफ्नो बानीलाई पछ्याउँदै के के के के भनेछन्, र अन्त्यमा भनेछन्, ‘साँच्चै नै सोधेकी होस् भने ल, अण्डा रुचाउँछु ।’ 
यस्तो कचकचे र असन्तोषि मान्छे अण्डा खाएर सन्तुष्ट हुन्छन् भने यो कुनै ठूलो कुरा भएन । उनले अण्डा खाने प्रस्ताव भोलिपल्टैदेखि लागू गरिन् । 
श्रीमान् बाहिरबाट आउनासाथ अमलेट बनाएर दिइछन् । उनले सोचिन्, अब त ठिकै होला । तर, नानीदेखि लागेको बानी न हो, श्रीमान्ले असन्तोष पोखिहाले, ‘थुइक्क तेरो बुद्धि, रोटी नै बनाउने भए किन अण्डाको बनाउनुप¥यो, कोदो, मकै, फापरकै रोटी खाए त हुन्छ नि !’ 
श्रीमतीले सोचिछन्, अमलेट होइन, भोलि उसिनेको दिनुपर्ला । भोलिपल्ट त्यसै गरिन् । श्रीमान् के कम, प्याच्च भनिहाले, ‘थुइक्क आलु, पिडालु, तरुल, गिठा हो र यो, उसिनेर खाने ?’ 
अर्को दिन एउटा अमलेट र एउटा उसिनेको अण्डा दिइछन् । 
के को हुन्थ्यो, श्रीमान् पड्किहाले ‘के के हो यो, तेरो बुद्धि छैन कि क्या हो ?’ 
श्रीमतीले दङ्ग पर्दै भनिन्, ‘आज के भो ? आज त दुबैथरि छ नि ! जे खाए पनि भयो ।’
श्रीमान्ले भनेछन्, ‘अझ के भो रे ? उसिन्न पर्ने अण्डाको अमलेट बनाइछेस्, अमलेट बनाउन पर्ने अण्डा उसिनीछेस् ।
छ त कुनै ..............को ओखती ? यस्तो स्वभाव भएका मानिसले न आफैले केही राम्रो गर्न सक्दछन्, न अरुबाट नै कुनै किसिमको सहयोग प्राप्त गर्न सक्दछन् । 
 संरक्षणात्मक मानिस  ः करायो—करायो, दक्षिणा हरायो
यस्तो स्वभावका मानिसहरू अरुका लागि खासै नराम्रा हुँदैनन् । केही नयाँ गर्ने भन्दा पनि पुरानैमा रमाउनु वा पुरानो छोड्न नसक्नु यस्तो स्वभावको पहिचान हो । यस्तो स्वभाव भएकाहरू जोखिमदेखि डराउँछन्, कुनै पनि किसिमको जोखिम उठाउँदैनन् वा उठाउन चाहँदैनन् । 

 

मानिसले कुनै पनि कुरा या काम गर्दछ, कुनै किसिमको उपलब्धि या परिणामको लागि गर्दछ । जब, यस्तो काम या कुराको कुनै परिणाम प्राप्त हुँदैन, त्यस्तो अवस्थामा ‘करायो—करायो, दक्षिणा हरायो’ यो उखान भनिने गर्दछ ।  समाजमा कतिपय मानिसहरू यस्ता पनि हुन्छन् कि तपाइँ उसका बारेमा चाहे जतिसुकै राम्रो कुरा गर्नुस्, उसलाई कुनै असर गर्दैन ।  सम्भवतः यसै स्वभावका मानिसलाई लक्षित गरेर हो कि यो उखान र कथा प्रचलनमा रहेको ? कुनै गाउँमा एक जना साधु भिक्षा माग्दै हिँड्दै रहेछन् । त्यहाँ एउटा घरमा सुगा पालिएको रहेछ । सुगालाई मानिसको बोली बोल्न सिकाइएको रहेछ । साधुलाई देखेर सुगा मानिसको बोलीमा बोल्न थालेछ । ‘आमा, मानिस आयो ।’  साधु सुगाको त्यस्तो बोली सुनेर दङ्ग परेछन् । साथै, उनले मनमनै धेरै कुरा सोच्न थालेछन् । ‘अहो, कति मीठो बोली हँ !’ अनि, उनमा फेरि साचाई आयो, ‘बिचरा यो वनको चरी, यो मानिसको बन्धन, पिँजराको बास, कठै, दुःख पायो बरा !’ 

 

अनि, ती साधुको मनमा एउटा विचार आयो, ‘सम्पूर्ण सुगा जातिलाई नै मानिसको बन्धनमा नपार्ने काम गर्नुपऱ्यो ।’ यस्तो सोचेर ती साधु सरासर वनतिर गए । वनमा गएर सुगाका गुँड खोज्न थाले । खाज्दै जाँदा एउटा रुखको प्वालमा सुगाको गुँड फेला पारे ।  साधुले त्यस गुँडबाट सुगाको एउटा बचेरो निकाले । त्यसलाई आफ्नो कुटीमा लगे, पालेर हुर्काए । त्यो बचेरो अलि हुर्किएपछि उसलाई बोल्न सिकाए । आफूले गाउँमा देखेको सुगा जस्तै गरी बोल्न जानेपछि साधु उत्साहित भए । ‘अहा ! मेरो योजना सफल हुने भो । अब, यसलाई अर्ती–बुद्धि सिकाउँछु । अनि, यसलाई सुगाको बथानमा पठाएपछि सबै सुगाहरूलाई आफूतिर आकर्षित गर्नेछ र मैले यसलाई दिएको अर्ती बमोजिम हुनेछ ।’ 

 

अनि, सुरु भयो साधुको उपदेश कक्षा । ‘पट्टु,.....हे सुगाहरू हो.....लोभ गर्नु हुँदैन.....खानेकुराहरूको लोभमा नपर .... .त्यहाँ जाल थापिएको हुन्छ ......त्यहाँ पासो थापिएको हुनसक्छ ....त्यहाँ जानु हुँदैन ......जालमा परिन्छ......पासोमा परिन्छ ....... सावधान साथीहरू हे .......’ साधुले बोलेका यी सबै कुरा त्यो सुगाको बचेरोले दुरुस्तै दोहोऱ्याउन सक्ने भयो, दोहोऱ्याउन थाल्यो । यो देखेर साधु खुशीले गदगद भए । उनले सोचे, ‘अब, यसलाई वनमा लगेर सुगाको बथानमा छोडिदिन्छु, सबै सुगाहरूलाई यसले यसरी नै प्रवचन दिएर सचेत पार्छ, सबै सुगाहरू सचेत हुन्छन्, अनि सबै सुगाहरू मानिसको बन्धनबाट सदाका लागि मुक्त हुन्छन्, अहा !’ 

 

योजना अनुसार साधुले आफ्नो शिष्य सुगालाई वनमा लगेर सुगाको बथानमा छोडिदिए । सुरुमा त सुगाले उपदेश भट्यायो, केही क्षणमा मीठा खाने कुराले उसको मन लोभ्यायो । र, भुर्र उडेर खाने कुरा भएको ठाउँमा के पुग्न भ्याएको थियो, अनौठो मानेर उसको उपदेश सुनिरहेको सुगाको बथान समेत त्यहाँ सुगाको मेला देखेर अत्यन्त सतर्कतासाथ थापिएको ब्याधाको जालमा झ्याम्म परे । 
नजिकैको ठूलो रुखको छेउमा बसेर शिष्यको चुरीफुरी नियाली रहेका साधु जिल्ल परेर हेरेको हेऱ्यौ..! 
यही हो, ‘करायो—करायो, दक्षिणा हरायो ।’ 
सिर्जनात्मक मानिस : ढुङ्गामुनि जीवन छ

 

सिर्जनात्मक स्वभाव भएका मानिसहरू फराकिलो दृष्टिकाण राख्दछन् । कसैको बारेमा नकारात्मक सोच वा दृष्टिकोण राख्दैनन् । कुनै पनि अवस्थमा परिवर्तन ल्याउनका लागि केसम्म गर्न सकिएला भन्ने चिन्तन राख्छन् र हरेक क्षण ‘अझ राम्रो’ का लागि योजनाबद्ध प्रयत्नमा लागि रहन्छन् । यस्ता मानिसहरू दृटिकोणमा स्पष्ट, विचारमा दृढ, कामप्रति उत्साही हुन्छन् । उच्च लक्ष्य हासिल गर्न व्यवस्थित उद्देश्यका साथ अघि बढिरहन्छन् । अर्काको विषयमा अनावश्यक र नकारात्मक टिकाटिप्पणी गरेर समय बिताउँदैनन् । 
मानिसले समस्या देख्यो भने, चुनौती दख्यो भने मानिसको मन आत्तिन थाल्दछ । दुःख, असजिलो, अप्ठ््यारो भनेको कहिल्यै सुखद विषय हुँदैनन । ‘आहा ! मलाई कस्तो अप्ठ््यारो, असजिलो परिरहेको छ, हा.. हा..!!’ भन्दै कोही हिँड्दैन । दुःखले मानिसको मन अत्तालिन्छ, आत्तिन्छ । आत्तिएको मनले गर्ने काम कस्तो होला ? निश्चित छ, त्यति व्यवस्थित हुँदैन । 

 

मानिसको जीवनमा दुःख—कष्ट, गाह्रो—गर्जो हुँदैहुँदैन, पर्दै पर्दैन भन्ने होइन । दुवैथरि अवस्था आउँछ—जीवनमा । कुरा कति हो भने दुःखलाई सरापेर या दुःखका गीत गाएर दुःख हराउँदैन, मेटिदैन । अहिले सुखमा, सजिलोमा भएको मानिसले पनि विगतका दुःख सम्झ्यो भने ऊ दुःखि हुन पुग्दछ । अहिले दुःखमा नै भएको मानिसले पनि जीवनको कुनै समयको सुख वा सफलता सम्झ्यो भने उसको मुहार तत्काल उज्यालो हुन पुग्दछ । सानोतिनो भए पनि विगतको सुख—सफलतालाई सम्झँदै भविक्ष्यको सफलताको योजना बनाइयो, भविष्यको सुनिश्चित सफलताको कल्पना मात्र गरियो भने पनि मानिसले उत्साह महसुस गर्दछ । उत्साही मनले योजना बनाइयो र त्यसरी नै काम गरियो भने सफलता प्राप्तिको सम्भावनाको प्रतिशत बढ्छ । 

 

समस्या खोज्ने हो भने समस्यै समस्या देखिने केही उदाहरणहरू छन् ।  जस्तै : एकथरि भन्छन्—‘मेरो समस्या छ, म त कहिँ हिँड्न पाउँदिन, घरमा छोराछोरी छन् ।’ अर्काथरि भन्छन्—‘सन्तान भएनन्, कोख रित्तो छ, ।’  ‘घरमा दूध—गोरस नहुनु पनि समस्यै रै’छ, गाई—भैँसी पाल्न पनि सकिएन ।’ ‘गाईवस्तु पाल्नु पनि समस्यै रै’छ, घरछोडेर कहिँ हिँड्न नपाइने ।’ कसैलाई के समस्या, कसैलाई के । सन्तान हुनु समस्या, सन्तान नहुनु समस्या, पढाइलेखाइ समस्या, पढ्न नपाउनु समस्या, वस्तुभाउ समस्या, ब्यापार समस्या, राजनीति समस्या, समस्यै समस्या......। एकखाले हेराइले हेर्दा गर्ने, गर्नुपर्ने, भएका, हुनुपर्ने, भइरहेका समस्या, गरिरहेका सबै काम समस्या । कामलाई नै समस्या ठानिदिएपछि के हुन्छ त समाधान ?! यिनै समस्याहरूको ठूलो चाङ नै चुनौती हो । 

 

साँच्चै चुनौती देख्नेले सामना गर्ने तयारी गर्छ, यस्तो बेलामा उसले कुनै बिरहका गीत गाउन भ्याउँदैन । जेपर्छ, पर्छ, सामना गर्छ । तर, जसलाई फुर्सद छ, उसले चुनौतीको कुरा गर्दछ र अरुहरूकासामु आपूmलाई बलिष्ठ देखाउन खोज्दछ । यस्ता मानिसहरू आफ्ना कमजोरीहरू लुकाउन र जिम्मेबारीबाट टाउको लुकाउन नानाभाँति समस्याहरू खोज्दछन्, खोतल्छन्, त्यसको चिराचिरा—केस्राकेस्रा पार्दछन्, प्रचार गर्दछन्, विश्लेषण गर्दछन्, भएकोभन्दा ठूलो पार्दछन् । त्यसका आयामहरू(कोणहरू) देखाउँछन् र ठूलो स्वरमा चुनौतीको नर्सिङ्गा फुक्छन्, ढोल बजाउँछन् र बिस्तारै काम गरेझैँ गर्दछन् । अब सफल भए चुनौतीलाई परास्त गरेको पगरी गुथ्छन्, असफल भए फेरी चुनौतीकै बखान लाउँछन् ।  बिरोधीलाई शक्तिशाली बनाउँदा हुने फाइदा यसमा पनि हुन्छ । जित्नसके शक्तिशालीलाई जितेको हुने भयो, जित्न नसके बिरोधीको शक्तिगान त पहिले गरिसकिएकै छ । प्रायः पढाइमा कमजोर विद्यार्थी, जित्ने तयारी गर्न नभ्याएका  खेलाडि र काम नगर्ने नेताहरू बिरोधीको बखान गर्दछन् र पस्थितिको भयाबह चित्रण गरिरहन्छन् ।  चुनौतीको, समस्याको चित्रण गरेर सफलता पाइने होइन, सफलता त आफू  बलियो भएर, आफ्ना बलिया पक्षहरू पहिल्याएर, बलियो बन्ने उपायहरूको खोजी र अवलम्बन गरेर, विजयी मनोभाव तयार पारेर, त्यस्ता पक्षहरूको केस्राकेस्रा नियालेर, सहयोगी शक्ति र पक्षहरूको पहिचान गरेर, थोरै मात्र पनि आफ्नो पक्षमा कामलाग्ने भए त्यसको सदुपयोग गरेर, चुनौती पछिल्तिरको 

 

सफलताभित्रको खुशीप्रति पूर्ण आसक्ति र आकर्षित भएर मानिस काममा लाग्ने हो भने सफलता र सन्तुष्टि पाउन सकिन्छ ।  चुनौती त छँदैछन्, त्यसाई नै मलजल गरेर, त्यसैको पक्षपोषण गरेझैँ त्यसैको गीत गाएर त्यो कमजोर हुँदैन । आफ्ना सबलताहरूले त्यसलाई जित्न सबलताहरूको चर्चा, त्यसलाई बढाउने उपाय, त्यसको स्रोतहरूको खोजी, त्यसको व्यवस्थापन गरेर अघि बढ्नुपर्ने हुन्छ ।  भएको ढुक्क हुने र थप प्रयत्न नै नगर्ने या नभएकाको चर्चा गर्ने, हुने उपायहरूको खोजी नगर्ने प्रवृत्तिले हामीलाई सफलताको शिखरमा पुऱ्याउँदैनन् ।  मैले कतै एउटा यस्तो साहसी मानिसको कथा सुनेको थिएँ । एक जना साहसी मानिसबाट एउटा उपाय सिकौँ । यी साहसी मानिसलाई यो कथाको माध्यमबाट भेटौँ ।

 

कुनै देशको एउटा राजाबाट अनौठो प्रयोग हुँदो रहेछ । बेस्सरी हिँउ पर्ने ठाउँमा एउटा ठूलो ढुङ्गो रहेछ । राजाले आफ्नो राज्यका जनतालाई हरेक राती एकजनाले त्यस ढुङ्गाको पहरेदारी÷चौकीदारी गर्नुपर्ने नियम बनाइएको रहेछ । सूर्यास्तदेखि सूर्योदयसम्म त्यहाँ पहरेदारी गर्नैपर्ने । राजाको आज्ञा मान्न जनता विबस थिए । हरेक राती एकजनाका हिसाबले मानिसहरू जान्थे । तर, ती मानिसहरू फर्केर आउँदैनथे । त्यसैले त्यहाँ जाने मानिसहरूको मन कमजोर बनेको हुन्थ्यो भने हिउँको चीसोको समेत कारणले उनीहरूको जीवन त्यहीँ सिद्धिन्थ्यो । सूर्योदयपश्चात् त्यहाा जान नपाइने नियमका कारण आफन्तको लास लिनसमेत मानिस त्यहाँ जाँदैन थिए र लासहरू त्यहीँ रहन्थे र जङ्गली जनावरका शिकार हुन्थे । 

 

एकदिन एउटा युवकको पहरेदारी गर्ने पालो पऱ्यो । उनी त्यहाँ पुगे र चारैतिर हेरे । हिजोअस्तीका मानिसका हाडखोर ढुङ्गाको वरिपरि देखे । यस्तो बिभत्स दृश्यले उनी दुःखि भए । के गर्ने, दुःख मानेर भएन, रातभरि पहरेदारी गर्नै पऱ्यो । उनले आफ्नो मनलाई दह्रिलो पारे । त्यस ढुङ्गाको वरिपरि घुमेर हेरे । त्यस ढुङ्गामाथि एक छेउमा ठूला अक्षरमा ‘यो ढुङ्गामुनि तिम्रो जीवन छ’ लेखिएको रहेछ । यसले ती मानिसमा जीवनप्रति अलिकति आशा पलायो । 

 

उनले त्यस ढुङ्गाको वरिपरिका झार गोडे । सानामसिना ढुङ्गाहरू पन्छाए । ढुङ्गाको वरिपरि खोस्रे । त्यही अजङ्गको ठूलो ढुङ्गामाथि चढे, तल झरे । अनि, बाँकी रहेको रातभरि त्यस ढुङ्गालाई पल्टाउने र ढुङ्गामुनि रहेको आफ्नो जीवन फेलापार्ने प्रयत्नमा लागिरहे । कति नै गर्दा पनि ढुङ्गो पल्टिएन । सूर्यका राता किरण पूर्वतिर देखिए । अब पहरेदारीको समय सकियो । पसिना पुछ्दै ती युवक घरतिर लागे । त्यस ढुङ्गाको पहरेदारीको इतिहासमा पहिलो व्यक्ति जीवितै घर फर्किन सफल भए ।  त्रास, निराशा र हिउँको चीसो नै मानिसहरूको मृत्युको कारण बनिरहेको हुन्थ्यो । ढुङ्गामुनि रहेको जीवनप्रति आशा जगाउने सूचना, त्यसको प्राप्तिका लागि गरेको सक्रिय श्रमका कारण उनी जीवित रहे । 

 

 जानकारीलाई ज्ञानमा र ज्ञानलाई कर्ममा रूपान्तरण गर्नाले नै मानिस सफल हुन सक्दछ भन्ने यो उदाहरण हो । 
(लेखक सामाजिक प्रशिक्षणकर्ता हुनुहुन्छ ।)