राजनीतिक अर्थशास्त्रको संक्षिप्त परिचय
राजनीतिक अर्थशास्त्र एक सामाजिक विज्ञानका साथै मार्क्सवाद, लेनिनवादको एक संघटक अङ्ग हो । राजनीतिक अर्थशास्त्र राजनीति र अर्थशास्त्र २ वटा शब्दको संयोजनबाट बनेको शब्द हो । यसको अर्थ राजनीति र अर्थशास्त्रलाई एक अर्काबाट अलग गरेर अध्ययन गर्न उचित छैन, यिनीहरूलाई एक—आपसमा आबद्ध गरेर नै अध्ययन गर्नुपर्छ भन्ने नै हो । कुनै पनि समाजको निम्ति आर्थिक व्यवस्था जग (Base) हो भने राज्य व्यवस्था माथिल्लो संरचना (Super Structure) हो । राजनीति अर्थव्यवस्थामा आधारित रहेको हुन्छ । तसर्थ अर्थशास्त्रलाई राजनीतिक अर्थशास्त्र भन्नु नै उचित हुन्छ ।
राजनीतिक अर्थशास्त्र प्रारम्भमा राजनीति शास्त्रको एक अङ्गको रूपमा थियो र यसको स्वतन्त्र अस्तित्व थिएन । मुख्यतया उत्पादन, व्यापार, यसको विधि तथा पद्धति, सरकारसँग सम्बन्ध तथा राष्ट्रिय आय तथा साधन स्रोतको वितरणसँग सम्बन्धित अध्ययनको विषयवस्तुलाई नै राजनीतिक अर्थशास्त्र भनिन्छ । अर्थशास्त्र शब्दको अङ्गे्रजी समानान्तर Economics हो जुन ग्रिक ओइकोनोमियाबाट बनेको हो, जसको अर्थ घरेलु व्यवस्थापन गर्नु हो । अरस्तुले आफ्नो पुस्तक घरेलु अर्थव्यवस्थामा ‘अर्थशास्त्र गृह व्यवस्थाको कला हो "Economics is the art of household" भनी परिभाषित गरेका थिए । अठारौँं शताब्दीमा राज्यको अर्थतन्त्र वा पोलिटी (Polities) को अध्ययनको उद्देश्यले यसको तर्जुमा यसको गरेको हुनाले यसको नाम Political economy हुन गएको हो ।
आर्थिक विज्ञानका इतिहास विद्हरूका अनुसार सन् १६१५ मा पहिलो पटक मोक्रेतिन द वातविलेद्वारा Political economy शब्दको प्रयोग भएको पाइन्छ । फ्रान्सका यी वणिकवादी विद्धानले आर्थिक विज्ञानको क्षेत्रलाई घर व्यवहारबाट विस्तार गरेर राज्यको तहसम्म पुऱ्याए । युनानमा आर्थिक विज्ञानलाई घरको आम्दानी खर्चको स्तरसम्म सीमित गरेर बुझ्ने प्रचलन थियो । सन् १७६१ मा सरजेम्स स्टुअर्ट मिल ती पहिलो अंग्रेज अर्थशास्त्री थिए जसले राजनीतिक अर्थशास्त्र शब्दको पहिलो पटक उल्लेख आफ्नो पुस्तक "An inquiry into the principles of political economy" मा गरेका थिए । कौटिल्यको अर्थशास्त्र सम्बन्धी कृतिलाई राजनीतिक अर्थशास्त्र सम्बन्धी सबभन्दा प्राचीन पुस्तक मान्न सकिन्छ ।
राजनीतिक अर्थशास्त्रलाई सही अर्थमा यसको दिशाबोध र व्याख्या कार्ल मार्क्सद्वारा गरियो । अर्थशास्त्रले समाजमा बस्ने मानिसहरूका परस्पर सम्बन्धहरूको अध्ययन गर्ने भएकोले यसलाई सामाजिक विज्ञान भनिएको हो । कार्ल माक्र्स (१८१८–१८८३ ई.सं.) ले समाज विज्ञानको रूपमा अर्थशास्त्रको परिभाषा गरेका छन् । उनी भन्छन् "अर्थशास्त्र मानव समाजको शरीर रचना विज्ञान हो ।" (Economics is the anatomy of civil society) मार्क्सका अनुसार हरेक समाजको आफ्नै आर्थिक आधार हुन्छ जसमाथि त्यो समाज अडिएको हुन्छ ।
अठारौैँ शताब्दीसम्म राजनीतिक अर्थशास्त्र शब्दको प्रयोग भए पनि उन्नाइसौँ शताब्दीमा विचारकहरूले राजनीतिक अर्थशास्त्रको सट्टा अर्थशास्त्र शब्दको मात्र प्रयोग गर्न थाले । अंग्रेजी अर्थशास्त्री एड्म स्मिथले सन् १७७६ मा " An inquiry into the nature and cause of weath of nation" नामक पुस्तक लेखेर अर्थशास्त्रलाई "धनको विज्ञान" को दर्जा दिलाए । एडम स्मिथका अनुसार अर्थशास्त्रले राज्यको धनको कारण र स्वभावको अध्ययन गर्दछ(Economics is the study of the nature and cause of the weath of the nation) अर्थशास्त्र एउटा शुद्ध विज्ञान हो यसको काम भनेको आर्थिक नियमहरूको व्याख्या गर्नु र आर्थिक नियमहरू पत्ता लगाउनु मात्रै हो भनेर पुँजीवादी अर्थशास्त्रीहरूले भन्ने गरेको हुँदा उनका अनुयायीहरूले अर्थशास्त्र मात्र भन्न थाले भने राजनीतिशास्त्र र अर्थशास्त्रको बिचमा अन्योन्याश्रित सम्बन्ध छ भनेर समाजवादी अर्थशास्त्रीहरूले राजनीतिक अर्थशास्त्र शब्द प्रयोग गर्न थाले । तर अर्थशास्त्रलाई जति नै स्वतन्त्र विज्ञान हो भने पनि हरेक समाज तथा राज्यव्यवस्थाको जग आर्थिक व्यवस्था नै हो र राजनीति र अर्थशास्त्रलाई एक आपसबाट अलग्याउन सकिँदैन ।
एडम स्मिथले अर्थशास्त्रलाई धनको विज्ञानको रूपमा परिभाषित गरेपछि यसको निकै आलोचना हुन थाल्यो । तर जति आलोचना भएपनि पुँजीवादी अर्थशास्त्रको मूल आर्थिक दर्शन नै यही हो । एडम स्मिथको आर्थिक नीतिलाई अहस्तक्षेपको आर्थिक नीति भनिन्छ । यही नीति नै उदारवाद हुँदै वर्तमान समयमा नवउदारवाद (Neo-Liberalism) नीतिको रूपमा परिचालित छ एडम स्मिथको परिभाषाको आलोचना गर्दै अर्का बेलायती अर्थशास्त्री अल्फ्रेड मार्शल (१८४२–१९२४ ई.) ले अर्थशास्त्रको नयाँ ढगंले परिभाषा दिए । मार्शलका अनुसार "अर्थशास्त्र मानव जीवनको साधारण व्यवसायमा मानवीय कार्यको अध्ययन हो र यसले व्यक्तिगत तथा सामाजिक कार्यको त्यो अंशको अध्ययन गर्दछ जुन अंश विशेष गरेर भौतिक कल्याणका निम्ति आवश्यक साधनहरू प्राप्त गर्ने तथा त्यसको प्रयोग गर्ने विषयसंग सम्बन्धित छ । यसरी यो एकातिर धनको अध्ययन हो भने अर्कोतिर अझै महत्वपूर्ण पक्ष मानवको अध्ययन हुन जान्छ ।"
त्यस्तै अर्का विद्वान अर्थशास्त्री प्रा.डा. लियोनेल रोबिन्सले सन् १९३२ मा प्रसिद्ध पुस्तक अर्थशास्त्रको स्वभाव र यसको महत्व ( An Essay on (Loinnel Robbins)The Nature and Significance of Economic Science) मा पहिलेका अर्थशास्त्रीहरूको आलोचना गर्दै अर्थशास्त्रका सम्बन्धमा नयाँ मान्यता अघि सारे । उनका अनुसार "अर्थशास्त्रले वैकल्पिक प्रयोगहरू भएका दुर्लभ साधन तथा आवश्यकताका बिच सम्बन्धको रूपमा मानवीय व्यवहार अध्ययन गर्दछ ।"
यसरी १९ औँ र २० औँ शताब्दीतिर पुँजीवादी अर्थशास्त्रीहरूले अर्थशास्त्रलाई राजनीतिशास्त्रबाट अलग गरेर स्वतन्त्र विज्ञानको रूपले हेर्ने प्रयत्नले विभिन्न अध्ययन अनुसन्धानमा सघाउ पुगे पनि सही निष्कर्षमा भने पुग्न सकेनन् । तर आजकल फेरी अर्थशास्त्रीहरूको बिचमा अर्थशास्त्रलाई राजनीतिशास्त्र संग जोडेर हेर्नुपर्ने कुराको चर्चा चल्न थालेको छ । जोसेफ शुमपिटरले Capitalism, Socialism and Democracy भन्ने कृतिमा अर्थशास्त्रको अध्ययनलाई राजनीतिको अध्ययनसँग जोड्नुपर्ने कुराको उल्लेख गरेका छन् । अमेरिकाको आर्थिक मन्दिले बजार अर्थव्यवस्थाको असफलताको पुष्टि गरेको छ । सन् २००७ मा अर्थशास्त्रको नोबेल पुरस्कार प्राप्त ३ अर्थशास्त्रीहरू लियोनिड हुरबिज, एरिक मैस्किन र रोजर मेयरसनले आ–आफ्नो भाषणमा राजनीति र अर्थव्यवस्थालाई सँगसँगै लग्नुपर्ने तथा यिनीहरू एक अर्कामा निर्भर रहेको कुराको वकालत गरे । यसरी अर्थशास्त्रलाई स्वतन्त्र विज्ञानको दर्जा दिएर राजनीतिशास्त्रसँग अलग्याउने जति कोसिस गरे पनि विशुद्ध अर्थशास्त्र वा विशुद्ध राजनीतिशास्त्रको अस्तित्व रहेको छैन, यी दुईको एकीकरण नै यथार्थ वास्तविकता हो ।
कार्ल मार्क्स (१८१८—१८८३ ई.स.) बहुआयमिक व्यक्तित्वमा धनी हुनुहुन्थ्यो तर अर्थशास्त्रीको रूपमा उहाँको व्यक्तित्वले बढी निखार पाएको थियो । माक्र्सले ज्यालादारी श्रम र पुँजी, राजनीतिक अर्थशास्त्रको आलोचनाको प्रयास, ज्याला, दाम र नाफा तथा पुँजी (चार खण्ड) नामका कृतिहरू मार्फत समाजवादी अर्थशास्त्रका मूल विषयवस्तुहरू मूल्यको श्रम सिद्धान्त, पुँजीवादी संकटको सिद्धान्त, अतिरिक्त मूल्यको सिद्धान्त र वैज्ञानिक समाजवाद तथा साम्यवादको सिद्धान्त जस्ता गहन विषय वस्तुहरूमा विस्तृत रूपमा व्याख्या विश्लेषण गर्नुभएको छ ।
माथि उल्लिखित विषयवस्तुहरूमध्ये हामी यहाँ अतिरिक्त मूल्यको सिद्धान्तको विषयमा चर्चा गर्नेछौँ । लेनिनको शब्दमा अतिरिक्त मूल्यको सिद्धान्त माक्र्सवादी आर्थिक सिद्धान्तको आधारशिला हो । अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन भएपछि पुँजीवाद भित्रको शोषणको सारतत्वलाई बुझन सजिलो भयो । यस सिद्धान्तले पुँजीवादी उत्पादन व्यवस्थामा श्रमिकहरू किन गरिबी, दुर्दशा र दरिद्रतामा जीवन बिताउन वाध्य हुन्छन् भन्ने कुराको यथार्थलाई प्रष्ट पार्दछ । कार्ल माक्र्सको सर्वोत्तम तथा महानतम कृति ‘पुँजी’मा विकसित र विशद रूपमा व्याख्या गरिएको यो सिद्धान्तले पुँजीद्वारा श्रमको शोषणको वास्तविक सारतत्वलाई व्याख्या गर्दछ । मार्क्सवादी अर्थशास्त्रको सारको रूपमा रहेको यस अतिरिक्त मूल्यको सिद्धान्तलाई संक्षिप्तमा चर्चा गर्ने प्रयत्न गरिएको छ । (क्रमशः)
(लामो समयदेखि अर्थशास्त्र विषय प्राध्यापन गर्नुहुने खनाल नेकपा एमाले केन्द्रीय स्कुल विभागका सदस्य हुनुहुन्छ ।)