काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा एमालेसँग तालमेल हुने बताएका छन् । प्रदेशस्तरीय प्रशिक्षणको कार्यक्रममा सहभागी हुन बुधबार गोरखा आइपुगेका अध्यक्ष थापाले तालमेल गरेको ठाउँ बाहेक देशका सबै जिल्लाहरुमा राप्रपाकै चुनाव चिन्ह लिएर उम्मेदवार उठाउने बताए ।
अहिलेसम्मको कुराकानी र व्यहारलाई दृष्टिगत गर्दा नेकपा एमालेसँग तालमेल हुने सम्भावना छ रहेको बताउँदै थापाले, भने, ‘तर हामी तालमेलका लागि खुल्ला छौँ, अरुसँग पनि हुन नसक्ने भने होइन ।’ केपी ओलीको नेतृत्वमा मुलुकमा राजनीतिक स्थिरता र समृद्धिको सूत्रपात भएकाले त्यसबाट प्रभावित भएर एमालेसँग तालमेल गर्न आफू तयार गरेको उनको भनाइ छ ।
‘केपी ओलीको नेतृत्वमा विगतमा राजनीतिक स्थिरता र समृद्धिका निमित्त जे जस्ता कामहरु भएका थिए, त्यसबाट हामीहरु प्रभावित छौँ,’ उनले भने, ‘केपी ओलीकै नेतृत्वमा लिम्पियाधुरा, कालापानी समेटेर नेपालको नक्सा बनाइयो । पृथकतावादी एजेण्डा बोकेर हिँडेका सिके राउत र विप्लव नेतृत्वको नेकपालाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सफल भएकाले हामी नेकपा एमालेसित निकट भएको महशुस गर्छौँ ।’
राजनीतिमा असम्भव भन्ने कुरा नहुने तर्क गर्दै उनले दुईवटा राप्रपा एकताको सम्भावना पनि रहेको बताए । ‘राजनीतिमा असम्भव भन्ने कुरा हुँदैन,’ उनले थपे, ‘यदि राजसंस्थाको बारेमा उहाँहरुले पुनर्विचार गर्नुभयो भने पार्टी एकताको सम्भावना जहिल्यै पनि खुल्ला रहन्छ ।’ राजतन्त्रको एजेण्डा बोक्दा अरु एजेण्डा ओझेलमा पर्ने भएकाले सो एजेण्डा छोड्नु परेको उनले बताए ।
‘राजासित व्यक्तिगत वैमनस्यता भएर होइन, कि राजतन्त्रको एजेण्डा बोक्दा अरु सबै एजेण्डा ओझेलमा पर्ने देखियो,’ उनले भने, ’लोकतान्त्रिक हिन्दु राष्ट्रको एजेण्डा छ, नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक रुपान्तरणको एजेण्डा बोकेर वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुनुपर्ने छ ।’