images
images

नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’

काठमाडौँ, २६ भदौ : संविधानसभाका अध्यक्ष एवम नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधनसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ । लामो समयसम्म सभामुखको भूमिकामा रहेका कारण संसदीय सूचना प्राप्त गर्ने सन्दर्भमा सबै सञ्चारगृहका लागि उहाँ समाचार स्रोतका रुपमा हुनुहुन्थ्यो । 

    

पत्रकारलाई सधैँ ‘स्थायी समिति सदस्य’ भनेर सम्बोधन गर्ने संविधानसभाका अध्यक्ष नेम्वाङ संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबीच भइरहेका कुराकानी, उठेका प्रश्न, समस्या समाधानका लागि चालिएका कदम र सम्भावित चुनौतीबारे सूचना उपलब्ध गराउँदै पुष्ट्याइँका लागि सहयोगसमेत गर्नुहुन्थ्यो । राष्ट्र, राष्ट्रियता र समाजका विभिन्न विधाका विषयमा पनि उत्तिकै चासो र चिन्ता राख्नुहुने नेम्वाङको कार्यकक्ष सबैखाले सञ्चारकर्मीका लागि हरदम खुला रहन्थ्यो ।

    

संविधानसभाका अध्यक्ष नेम्वाङसित भेट्न र सम्पर्क गर्न बेग्लै पहुँच स्थापित गर्न आवश्यक थिएन । उहाँको कार्यकक्षमा सधैँजसो पत्रकारको जमघट भइरहन्थ्यो । सधैँ सूचना प्राप्त भइरहन्थ्यो । आफ्ना केही भनाइ वा दृष्टिकोण सञ्चारमाध्यममा ल्याउनुप¥र्यो भने हार्दिकताका साथ यस्तो विषयले तपाईंहरुको सञ्चारमाध्यममा स्थान पाउँदैन ? भनी उहाँ जिज्ञाशा राख्नुहुन्थ्यो । 
    
    

पुष्ट्याइँबिना आएका कतिपय समाचारप्रति टिप्पणी गर्दै नेम्वाङले ‘व्याङ्ग्यात्मक’ शैलीमा भन्नुहुन्थ्यो, “समाचारको स्रोत चाहीँ को हो ? त्यहाँ त केही देखिँदैन, मैले भनेको छैन ।”  

    

संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्ष नारायण काफले भन्नुहुन्छ, “संसदीय खुलापन, संसदीय अभ्यास र सञ्चार जगतको पहुँच स्थापित गराउने हिसाबले उहाँ हाम्रो अभिभाव नै हुनुहुन्थ्यो, संसदीय पत्रकारले एक मार्गदर्शक गुमाएको छ ।”