काठमाडौँ , असार २८ ( अनलाईन बहस)
B.B. Trust, ICA Nepal, Equity Nepal, Papa's House ,लायन्स क्लब, रोटरी क्लब लगायत धेरै परोपकारी संस्थाहरु र परोपकारी मनका धनि नेपालीहरुको सहयोगमा काठमाडौँको तारकेश्वर नगरपालिका स्थित पृथ्वी नारायण मा.वि. मा देशका विभिन्न ठाउँबाट आएका २५ जना दृष्टि विहीन बालबालिकाहरुको लागि निशुल्क खाना तथा आवास सहीत उचित शिक्षा दिने प्रबन्ध गरिएको छ ।
आज भन्दा ११ वर्ष पहिला सुरु गरिएको यो अभियानलाई धेरै परोपकारी हातहरुबाट सहयोग मिल्दै आइरहेको छ । कक्षा १ देखि १२ कक्षा सम्म अङ्ग्रेजी माध्यमबाट शिक्षण हुने उक्त विद्यालयमा ब्रेल लिपी पनि सिकाइन्छ । बालबालिकाहरुलाई, कम्यूटर शिक्षा तालिम र अङ्ग्रेजी , गणित जस्ता विषयमा ट्यूसनको पनि व्यवस्था गरिएको छ । बालबालिका को लागि होस्टेल वाडेन, कुक तथा हेल्पर गरी तीन जना आवासीय कर्मचारी र ब्रेलशिक्षक, कम्प्युटर, गणित र अंग्रेजीका ट्यूसन टिचर ४ जना गरी ७ जना शिक्षक कर्मचारीले नियमित हेरचाह गर्दछन । अधिकाश छात्रछात्रा कक्षामा प्रथम, द्धितिय स्थान प्राप्त गर्न सफल भएका यस विद्यालय बाट ५ जना छात्रछात्रा एसईई सकेर बाहिरिई सकेका छन् । छात्रछात्राको आवास वाडेन विनोद काफ्ले, आया सुनिता र ब्रेल लिपी शिक्षीका निर्मलामा सबै जना दृष्टिविहीन नै हुन् , बच्चाहरुलाई बिहान योग अभ्यास र भगवानको प्रार्थना गराई सके पछि मात्र खाजा र ट्यूसनको व्यवस्था गरिएको छ ।
यो केन्द्रलाई देशकै एउटा नमूना अध्ययन केन्द्र र तालीम केन्द्र बनाउने सोचले विद्यालय संचालक समिति दृष्टि विहीन बालबालिकाको निम्ति एउटा शैक्षिक आवास तथा तालिम केन्द्रको भवन बनाउने तयारीमा जुटेको छ भने विद्यालयका पूर्व संचालक समिति अध्यक्ष समाज सेवी स्व. इस्वरी प्रसाद घितालका सन्तान, पृथ्वीनारायण मा.वि. र दृष्टि विहीन शौक्षिक आवास केन्द्रको संयुक्त प्रयासमा दृष्टिविहीन बालबालिकाको भविष्य सरल र सहज पठनपाठन होस भन्ने हेतुले बिस लाख रुपयाँको अक्षय कोष स्थापनाको प्रयत्न गरिएको छ । कोषमा अहिलेलाई रु बिस लाख र पछि बढाउदै जाने आयोजकहरुको भनाई छ । कोषको नाम इस्वरी प्रसाद घिताल स्मृति कोष २०८०, पृथ्वी नारायण मा.वि वसाह चौर, तारकेश्वर नगरपालिका ५ राखिएको छ । उक्त रकमको ब्याज बाट आउने आम्दानीले दृष्टिविहीन बालबालिका र शारिरीक अपांगता भई पढ्न कठिन हुने विद्यार्यीहरुको हितमा खर्च गरिने व्योहोरा कार्यक्रमका आयोजकहरुबाट जानकारी हुन आएको छ । कोष वृद्धिलाई खुला गरिएको सन्दर्भमा प्रा.डा तत्वप्रसाद तिम्सिना ले आफ्ना पिता हरी प्रसाद तिम्सिना र आमा विष्नु तिम्सिनाको नाम बाट स्थापित हरी विष्नु नेसनल ट्रस्ट को तर्फबाट रु वीस हजार थप गरी कार्यक्रमलाई हौसला प्रदान गर्नु भएको छ ।
दृष्टिविहीन बालबालिकाको उज्वल भविष्यको लागि यो कोष महत्वपूर्ण बन्न सकोस भन्ने शुभकामना उक्त अवसरमा आदान प्रदान गरियो।