images
images

भलिबल : नेपाल पुलिसको लगातार दोस्रो जित

काठमाडौं, पुस २५ (रासस)
राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो । यसअघि आइतबार भएको पहिलो खेलमा पुलिसले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको थियो ।

आजको खेलमा पुलिसले एभरेष्टलाई पहिलो सेट २५–१४ ले हरायो भने खेलको दोस्रो सेट २५–९ ले जित्यो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–६ ले आफ्नो पक्षमा पार्यो । यस जितसँगै समूह ‘ए’ मा रहेको पुलिसले दुई खेलमा छ अङ्क जोडेको छ । 

त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको छ । न्यु डायमण्डले नयाँबजारमाथि पहिलो सेट २५–२ ले जित्यो भने दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–६ ले हरायो । जितसँगै समूह ‘ए’ को न्यू डायमण्डले तीन अङ्क जोडेको छ । च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने  पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक  लाख पाउनेछ ।