शारीरिक अशक्तता भएका मानिसहरू पनि देशकै हिस्सा हुन् । प्रगतिशील देश बनाउन र दिगो विकास गर्न उनीहरूलाई विकास प्रक्रियामा पनि समेटनु पर्छ । देश विकास गर्दा अशक्तता भएका व्यक्तिहरूलाई पाखा लगाइयो भने पूर्णता प्राप्त गर्न सकिदैन । अशक्तता भएका समूहलाई स्वीकार गनु पर्छ । देशले बनाउने नीति— नियमहरूमा उनीहरूको हितलाई ध्यानमा राखेर बनाउनु पर्छ । किनकि सरकार सबैको अविभावक हो ।
देशको भौतिक पूर्वाधार विकासका क्रममा निर्माण गरिने संरचनाहरूमा अशक्तता भएका व्यक्तिहरूको आवश्यकता पहिचान भएको हुनुपर्छ । यदि समग्र रूपमा देशको विकास गर्न चहान्छौं भने यस्ता पक्षको पनि विकासमा पहुँच हुन आवश्यक छ । हाम्रो देशले अशक्तता भएका व्यक्तिहरू प्रतिको व्यवहार सन्तोषजनक छैन । ह्विल चियर प्रयोगकर्ताले सहरका प्रायः ठाउँहरूमा शौचालय सजिलै प्रयोग गर्न सक्दैनन् । यस्ता निर्माण सहज हुन जरुरी छ । ह्विल चियर प्रयोगकर्ताका लागि पैसाको कारोबार गर्ने एटीएम अपाङ्गतामैत्री छैनन् । नेपालका प्रायः सडकहरू अपाङ्गतामैत्री छैनन् त्यसको नकारात्मक असर उनीहरूमाथि परिरहेको छ । सडक निर्माण गर्दा नै अपाङ्गताहरूलाई लक्षित गरेर लेनको निर्माण गर्नु पर्छ । उनीहरूको आवश्यकतालाई लिएर कसले आवाज उठाउने ? काठमाडौँको केही सडक पेटीहरूमा दृष्टिहीन हिँड्न सक्ने टायल बिछ्याइएको छ । यो सुरुआत राम्रो हो तर पर्याप्त छैन । अशक्तता भएका व्यक्तिहरूलाई लक्षित गरेर धेरै कामहरू गरिनु पर्छ । रोजगारी र यातायातमा भेदभाव हुन सक्छ । अशक्तता भएको महिलाले लैङ्गिक र अशक्तता सम्बन्धी विभेद खेपिरहेका छन् । भौतिक संरचना निर्माण गर्दा अशक्ततालाई ध्यान दिएर गरियो भने उनीहरूको सामाजिक, आर्थिक विकासमा सहजता हुन्छ । शारीरिक अशक्तताले स्वास्थ्य, मानव अधिकार र विकास प्रक्रियामा असर गर्छ । भवन र यातायातमा शारीरिक पहँच हुनु पर्छ । बहिरा व्यक्तिहरूलाई साङ्केतिक भाषा वा दोभाषेको आवश्यकता पर्दछ । ह्विल चियर प्रयोगकर्ताका लागि शौचालय र इलेभेटरमा पहँच हुनुपर्छ । आँखा नदेख्ने व्यक्तिले कार्यस्थलमा प्रयोग गर्ने सफटवेयर कम्प्युटर सोही अनुसारको हुनुपर्छ । विद्यालयमा अशक्तता भएका बालबालिकालाई अन्य बालबालिकाले धम्की दिने, हेलाहोँचो गर्दछन् । सबारी चालकले अशक्तता भएका यात्रुहरूलाई सहयोग गर्न चुकिरहेका हुन्छन् । रोजगार दाताले अशक्तता भएका व्यक्तिहरूलाई भेदभाव गरिरहेका हुन्छन् । अपरिचित व्यक्तिहरूले अशक्तता भएका व्यक्तिहरूलाई ठट्टा र मजाकको विषय बनाइरहेका हुन्छन् । यी विषयहरूमा ध्यान नदिने हो भने शारीरिक रूपमा अशक्तता भएका व्यक्तिहरूको शरीरमा पक्षाघात (प्यारालाइसीस) र दृष्टिविहीनताको थप समस्या आउन सक्दछ । उनीहरू हिँड्न र खान समेत नसक्ने हुन सक्दछन् ।
अशक्तता भएका मानिसहरूले असमानताको अनुभव गरिरहेका हुन्छन् । उनीहरू शारीरिक रूपमा अरुभन्दा असक्षम भएको कारण स्वास्थ्य, हेरचाह, रोजगारी, शिक्षा र राजनीतिमा पछि पारिएका छन् । अशक्तता भएको कारण उनीहरूले हिंसा, अमानविय व्यवहार र पूर्वाग्रह खेपिरहेका हुन्छन् । अशक्तता भएकाहरूलाई भेदभाव नगर्ने र उनीहरूको समाजमा पूर्ण र प्रभावकारी सहभागिता जनाउने, फरकपनलाई आदर गर्ने र मानवीय विविधताको भाग सम्झेर अशक्तता भएका व्यक्तिलाई सम्मान र स्वीकार गर्ने गर्नुपर्छ । अशक्तता भएका बालबालिकाहरूको कदर र विशेष संरक्षणको व्यवस्था गरिनु पर्दछ । शारीरिक अशक्तताले गरिबीको जोखिमलाई बढाउँछ र गरिबीले अशक्तताको जोखिमलाई बढाउँछ । सग्लो मानिसको तुलनामा अशक्तता भएका मानिस र तिनका परिवारले आर्थिक र सामाजिक बेफाइदा व्यहोरिरहेका हुन्छन् । अशक्तता भएका बालबालिकाहरू विद्यालय जाने सम्भावना कम हुन्छ । उनीहरूले मानवीय पँुजी गठनका लागि सीमित अवसरहरू प्राप्त गर्छन् । अशक्तता भएका मानिस रोजगार हँुदैनन् र भइहाले पनि थोरै कमाउँछन् । अशक्तताको कारण रोजगारी र आम्दानी वा उत्पादकत्वमा गिरावट आउँछ । रोजगारीमा भेदभाव, यातायातको पहँचमा सीमितता, स्रोतहरूको पहँचमा कमी हुनाले विकासबाट फाइदा लिन र गरिबीबाट छुटकारा पाउन अन्यको तसलनामा उनीहरूलाई कठिन छ । त्यस्ता व्यक्तिहरूलाई अशक्तता भएको कारण खर्च बढी लाग्छ । उनीहरूलाई स्वास्थ्य उपचार र सहयोगीको खर्च पनि बढी लाग्छ । उनीहरूलाई व्यक्तिगत सहयोग सद्भावको आवश्यकता पर्छ । अशक्तता एउटा विकास सम्बन्धी मुद्दा हो । अशक्तता भएका मानिसहरूको विशेष आवश्यकताहरू नखोतलीकन संसारमा ज्यादै पिछडिएका मानिसहरूको जीवनमा सुधार ल्याउन कठिन छ ।
अशक्तता तीन कारणहरूबाट हुन्छ— जस्तो सर्ने रोग, नसर्ने रोग र चोटपटक । सर्ने रोगमा लिमफाटिक फिलेरिएसिस, ट्युबरकुलोसिस, एचआईभी एड्स् र यौनिक रुपमा सर्ने रोग हुन् । नसर्ने पुरानो रोग चिनी रोग, मुटुरोग, झडका, मानसिक खल्बली, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी बिरामी आदि हुन् । यी रोगहरू बढदै गएमा ढिलोचाँढो अशक्तता निम्त्याउँछ । नेपालका सबै अशक्तता भएका व्यक्तिले ह्विल चियर प्राप्त गर्न सकेका छैनन् । सरकारले त्यता ध्यान दिनुपर्छ । अशक्तता भएका व्यक्तिले ह्विल चियर पाएमा परनिर्भरतामा कमी आउँछ । त्यस्ता व्यक्तिका परिवारमा भार कम पर्छ ।
अरु देशहरूमा अशक्ततालाई ध्यान दिएर विकासका संरचना निर्माण गरिएका छन् । फराकिला सडक किनारमा अशक्तता भएका व्यक्तिका लागि भिन्नै लेनको व्यवस्था छ । दृष्टिविहीन व्यक्तिहरू हिँड्ने बाटो बनाइएको छ । हरेक शौचालय अपाङ्गतामैत्री छन् ।आजको सबलाङ्ग भोलि अपाङ्गतामा परिणत हुन सक्छ । जो कोहीमा पनि अशक्तता हुन सक्छ । अशक्तता नहुन आजै सजग हनुपर्छ । जस्तोसुकै रोग लागिहालेमा त्यसको निराकरणतर्फ लाग्नुपर्छ । रोगलाई बेवास्ता गरियो भने त्यसले भविष्यमा अशक्त पार्न सक्दछ । अशक्ततालाई पूर्णरूपमा रोक्न सकिँदैन, तर आवश्यक सचेतनाले यसमा कमी ल्याउन सकिन्छ ।