images
images

प्रकृति वा पोषण 

हाम्रो भाग्य वा भविष्यको मूल कारक नै हाम्रो मस्तिष्क हो । मस्तिष्कले नै हामीलाई महान वा गौण बनाउने हो । हाम्रो मस्तिष्कको विकासमा वंशाणु वा हाम्रो परिवेश वा पालनपोषण केको बढी भूमिका रहन्छ भन्ने बारेमा बहस धेरै वर्षदेखि चल्दै आएको छ । अल्पकालीन तथा दीर्घकालीन वंशाणुगत गुणहरू प्रकृति  प्रदत्त रूपमा हामी बाबुआमाबाट पाउने गर्छौं । तर, लाखौं करोडौँ वर्षको अन्तरालमा प्रकृति प्रदत्त हिसाबले हाम्रो मस्तिष्कमा परिवर्तन आएका छन् । हाम्रो परिवेश वा अनुभवका कारण आउन सक्ने परिवर्तनहरू समेत वंशाणुगत रूपमा हाम्रो शरीरमा सङ्ग्रहित हुन सक्छन् । हामीले सिकेका वा भोगेका कुराहरू न्युरोन तथा तिनको संयोजन वा साइनाप्समा संग्रहित हुन पुग्छन् । यसरी नियमित रूपमा सूचनाहरू सङ्ग्रहित हुँदै जाँदा मस्तिष्कका न्युरोनहरूको सञ्जाल झनै गाढा बन्दै जान्छ । 

 

नाबालक बच्चाहरूले सुरुमा अधिकांश कुराहरू आमाबाबुबाटै सिक्छन । आमाबाबुबाटै प्राप्त वंशाणु तथा न्युरोनको आडमा उनीहरूको मस्तिष्क सशक्त बन्ने कार्यको थालनी हुन्छ । सानामा सिकेका कुराहरू पछिसम्म प्रबल रूपमा रहने गर्छन् । हिन्दु तथा बौद्ध धर्ममा साना बच्चाहरूलाई आमाबाबुबाट छुट्याएर धार्मिक अध्ययनमा लानु वा बच्चाहरूलाई सानोमै बोडर्स राख्नुको मूल कारण नै उनीहरूको मस्तिष्क संरचित हुने प्रव्रिmया निर्दिष्ट वा सकारात्मक होस् भन्नाले नै हो । 

 

हाम्रा वंशाणुहरूले सन्तान दरसन्तान हुँदै जीवन तथा जगतका सूचना प्रभावित गरिरहेका हुन्छन् । हाम्रा मूल्य मान्यता, सोच, विचार, दृष्टिकोण, ज्ञान आदि सबै वंशाणुगत रूपमा न्युरोनमा संग्रहित हुन्छन् । हाम्रा सिकाइहरूले हामीलाई परिवर्तन गराउँछ । हरेक पल्ट हामी जब केही कुरा सिक्छौँ, मस्तिष्कले त्यस्ता सूचनालाई प्रशोधन गर्छ र सम्झनाको निम्ति न्युरोनको नयाँ सर्किट वा सञ्जाल बन्दछ । यही कारणले हामीमा भएका गलत वा काम नलाग्ने विचारलाई यदि हामीले चाह्यौ भने नयाँ र उपयुक्त विचार ल्याई प्रतिस्थापन गर्न सक्छौ । न्यूरोप्लास्टिसिटि वा न्यूरो लचकताले मस्तिष्कका यस्ता सञ्जाल वा साइनाप्टिक वाइरिङ्कलाई परिवर्तनशील गर्न सक्छ । यसले हामीलाई हाम्रो परिवेशमा सिकेका कुराको माध्यमबाट आफ्नो व्यवहारमा परिवर्तन गर्न सामर्थ गराउँछ । यदि हामीले हाम्रो मस्तिष्कको सञ्जाल वा वाइरिङलाई परिवर्तन गर्न सकेनौँ भने हामी नयाँ कुरा सिक्न पनि सक्दैनौँ । कोही व्यक्ति अकस्मात दृष्टिविहीन हुन पुग्यो भने विस्तारै ऊ दृष्टिसँग सम्बन्धित आफ्नो भित्री न्यूरल सञ्जाल वा भिजुयल कर्टेक्स बनाउन थाल्छ, जसबाट अन्य ज्ञानेन्द्रीयहरू झन तीक्ष्ण हुन थाल्छन् । यस्ता कुराहरू आज भोलि वैज्ञानिक रूपमा सजिलै पुष्टि गर्न सकिन्छ । मस्तिष्कको एउटा भागले काम नगर्दा त्यस्तै खालको कामको जिम्मा पाएको तर सुषुप्त रहेको अर्को भाग सक्रिय बन्न थाल्छ । यसबाट पनि हाम्रो मस्तिष्कको लचकता (प्लाष्टिसिटी) पुष्टि हुन्छ (डोआइज, २००७) । मस्तिष्कको कुनै एक भागको अत्यधिक प्रयोग वा विकास हुँदा अन्य भागको प्रयोग कम हुन सक्छ । 

 

डोआइज (२००७) भन्छन, दृष्टिविहीनहरूले ब्रेल लिपिमा अध्ययन गर्दा नियमित रूपमा प्रयोग गर्ने औंलाको सेन्सोरी न्युरोनहरू अन्य औंलाको तुलनामा बढी नै संवेदनशील हुन्छन् । उनीहरूको मस्तिष्कमा रहेको सेन्सोरी कर्टेक्स बढी प्रयोग हुनेगर्छ । पियानो वा गितार बजाउनेमा अडिटरी कर्टेक्स बढी प्रयोग हुन्छ । कुनै निश्चित ज्ञानेन्द्रीयको बढी प्रयोग गर्दा मस्तिष्कको कुनै निश्चित भागको बढी प्रयोग वा विकास हुने गर्छ । न्युरोनहरू जसले सँगै काम गर्छन् वा उत्तेजित हुने गर्छन्, उनीहरूको गाँठो वा सर्किट पनि एउटै हुन्छ । हामी जति धेरै कुरा सिक्दै जान्छौं, त्यति नै धेरै न्युरोन तथा तिनको सञ्जालको विकास हुने गर्छ । वास्तवमा बुद्धले भने झैँ ‘हामी जस्तो सोच राख्छौं, त्यसैको परिणति नै हामी हौँ’ भन्ने कुरा वैज्ञानिक रूपमा समेत सत्य तथ्य हो । 

 

सबै औँला जोडिएको व्यक्ति र सामान्य पञ्जा भएका व्यक्तिको मस्तिष्क चित्रण नै फरक हुन्छ । यसको मूल कारण जोडिएका औँलाहरूले संयुक्त रूपमा काम गर्छन् । त्यसै अनुरूप मस्तिष्कमा (सेन्सोरी र मोटर खण्ड) सबैको निम्ति एउटै ठाउँ छुट्याइएको हुन्छ, जब कि औँलाहरू फरक हुँदा हरेकका निम्ति मस्तिष्कले केही ठाउँ छुट्याएको हुन्छ । यो कार्यमा वंशाणुको खासै भूमिका हुँदैन । शल्यक्रिया गरी जोडिएका औँलाहरू छुट्याई केही समयको प्रयोगपश्चात् परिक्षण गरिएको मस्तिष्क चित्रणमा भने मस्तिष्कले फरक औँलाहरू हुँदाको जस्तै व्यवहार देखाउन थाल्छ । यस कुराबाट के पुष्टि हुन्छ भने एकै किसिमका काम गरिरहने व्यक्तिमा मस्तिष्कको संरचना एकैनासको भए तापनि फरक फरक काम गर्ने वा आफूलाई नियमित रूपमा प्रशिक्षित गर्ने व्यक्तिहरूको मस्तिष्क भने हरपल गतिशील वा परिवर्तनशील हुने गर्छ । मस्तिष्कको कतिपय भागको संरचना कठोर (हार्डवायर्ड) हुन्छ भने कतिपयको कम कठोर । कठोर संरचना भन्नाले मस्तिष्कले जन्मजात नै गरिने कामहरू वा त्यसको नियन्त्रण भन्ने बुझिन्छ । यस्ता कार्यहरू वंशाणुद्वारा नियन्त्रित हुने गर्छन् । यस्ता कार्यहरू विचलित समेत हुन सक्छन् । कठोर संरचनामा केही समस्या आएमा वा क्षति भएमा यसलाई ठीक गर्न गाह्रो वा असम्भव प्रायः नै हुन्छ । यो भागलाई हामी अध्ययन वा अनुभवबाट प्रशिक्षित गर्न सक्दैनौँ । 

 

जन्मदा नै हामी अर्बाै न्युरोन तथा तिनको सञ्जाल र त्यसलाई विभिन्न गुणहरूद्वारा संरचित गर्ने वंशाणुहरू लिएर आएका हुन्छौँ । यस्ता संरचनाहरूमध्ये जुन हामी प्रयोग गर्दै जान्छौं, त्यसको संख्या पनि बढ्दै जान्छ । यो प्रक्रियालाई छनौट भन्ने गरिन्छ । सानो बच्चा जब घस्रिने अवस्थामा हुन्छ, उसले तिनै न्युरोनलाई बढी प्रयोग गर्छ जसले उसलाई त्यस कार्यमा सघाउने गर्छ । यो कार्यसँग यसरी छानिएका न्युरोन तथा तिनको सञ्जालको विकास पनि हुँदै जान्छ । सानो बच्चाले कुनै कुरा सुन्यो वा सुँध्यो भने ज्ञानेन्द्रियको माध्यमबाट उसमा भएको न्युरोन सञ्जालहरू सक्रिय बन्न थाल्छन् । यसरी भएकै न्युरोन सञ्जाललाई छान्ने प्रक्रियालाई छनौट भनिएको हो (डोआइज, २००७) ।  बाह्य संसारबाट हामीले सिकेका वा अनुभव गरेका कुराहरू सोझै कुनै न्युरोनमा गएर बस्न सक्दैनन् । यसरी नियमित रूपमा कुनै चिज सिक्दा वा अनुभव गर्दा मस्तिष्कमा त्यो कहाँ राख्ने भन्ने सवाल आउँछ । यसको निम्ति मस्तिष्कले कि त नयाँ न्युरोन वा तिनको सञ्जाल बनाउँछ वा भएकालाई नै आफू अनुकूलन हुने गरी परिवर्तन गर्दछ । छनोट गरिएका न्युरोन वा तिनको सञ्जाललाई नयाँ सोच र विचार अनुरूप परिष्कृत गर्नु पनि ‘प्रशिक्षण’ नै हो । 

 

मस्तिष्कको लचकता 
मस्तिष्कको बारेमा अध्ययन गर्नेहरूले केही वर्ष अघिसम्म पनि मस्तिष्क अपरिवर्तनीय हुन्छ भन्ने कुरामा विश्वास गर्दथे । विगत तीन दशक यता मस्तिष्क परिवर्तनशील छ र यो नियमित रूपमा बन्ने बिग्रने गर्दछ भन्ने कुराको पुष्टि हुन थाल्यो । मस्तिष्कको काम तथा संरचना दुवै परिवर्तनशील छन् र त्यसैले मन सगँसँगै मस्तिष्क पनि परिवर्तन हुनेगर्छ (डोआइज, २००७) । मस्तिष्कको सेतो वस्तुमा हुने ग्लिअल कोषमध्ये एस्ट्रोसाइट नामक वस्तुले न्युरोन बिचको सम्बन्ध बढाउने साइनाप्सको निर्माणमा अहं भूमिका निभाउँछ । सिकाइका क्रममा न्युरोनको ठूलो संख्याभन्दा पनि साइनाप्सको बढ्दो संख्या महत्वपूर्ण मानिन्छ र यस प्रक्रियामा एस्ट्रोसाइटको भूमिका महत्वपूर्ण हुने गर्छ । हरेक साइनाप्सको वृद्धिसँगै हाम्रो आफ्नै व्यक्तित्वमा समेत निखार आउँदै गर्छ । मस्तिष्क लचकताका निम्ति ठुलठुला काम वा अभ्यास गर्नुपर्छ भन्ने छैन, नियमित रूपमा गरिने अध्ययन वा सिकाइ र अनुभवले नै पनि मस्तिष्क लचकताको अनुभूति दिलाउन सक्छ । 

 

हेब नामक वैज्ञानिकको विचारमा ‘जब हामी केही कुरा सिक्छौं, तब हामीले हाम्रा न्युरोन बीचको सम्बन्धमा पक्कै पनि केही परिवर्तन ल्याउँछौ ।’ नजिकै भएका दुईवटा न्युरोन मध्ये एउटा उत्तेजित बन्छ र अर्को शान्त हुन सक्छ । उत्तेजित न्युरोनले साइनाप्स हुँदै शान्तलाई समेत उत्तेजित बनाउँछ र इलेक्ट्रोकेमिकल संवेग अगाडि बढाउँछ । यो कार्य नियमित रूपमा भएपछि दुई वटै न्युरोन एकैचोटि उत्तेजित हुन्छन् र अरु न्युरोनलाई समेत उत्तेजित पार्दै सूचना प्रवाह गर्छन् ।  साइकल चलाउनेलाई मोटरसाइकल चलाउन सिक्ने कार्य सरल हुन सक्छ, किनकि साइकल कुदाउँदा प्रयोग हुने न्युरोनहरू मोटरसाइकल सिक्नलाई पनि प्रयोग हुन सक्छन् । सिकाइ भनेकै न्युरोन बीचको नयाँ सम्बन्ध वा सञ्जालको सिर्जना गर्नु हो । आफूले सिकेको वा अनुभव गरेको कुरा भविष्यमा सम्झनु पर्दा सजिलो हुन्छ । मोटर साइकल चलाउन धेरै वर्ष छाडे तापनि पुनः चलाउनु पऱ्यो भने तिनै पुराना न्युरोनहरू पुनः सक्रिय बन्न थाल्छन् । 

 

सिकाइ र अनुभव दुवैको माध्यमबाट हाम्रो न्युरोनको सञ्जाल र साइनप्सहरू मजबुत बन्ने गर्छ । सिकाइ र अनुभवको क्रम कम भयो भने न्युरोनको सञ्जाल र साइनाप्स थपिने वा सुदृढ हुने क्रम पनि कम हुन्छ । एकोहोरो रूपमा हामी सधै एउटै काम गरिरहँदा हाम्रो मस्तिष्क पनि एकोहोरो हुन्छ, किनकि यस्तो कामले सधै त्यही न्युरोनको सञ्जाल र साइनाप्सलाई उत्तेजित पार्छ । एक किसिमले हाम्रो मस्तिष्क स्व–चालित प्रणालीको झैँ व्यवहार गर्न थाल्छ र यसबाट हाम्रो सिर्जनशीलतामा खासै निखार आउन सक्दैन । शिक्षण पेसामा २५ वर्षको अनुभव भए तापनि यदि हरेक वर्ष एउटै मात्र विषय एकै किसिमले पढाइन्छ भने यो एक वर्षको अनुभव भन्नु उपयुक्त हुने राय धेरैले दिने गर्छन् ।