आज जननायक तुल्सी लाल अमात्यको २६ औँ स्मृति दिवस हो । गत २६ वर्षदेखि प्रत्येक वर्ष साउन १७ गते अविश्रान्त योद्धा जननायक तुल्सी लाल अमात्यको सम्मानमा यो स्मृति दिवस मनाइँदैआएको छ अर्थात् हामीले उहाँलाई भौतिक रूपमा गुमाएको २६ वर्ष भएको छ ।
हरेक मानिसको व्यक्तित्व उसको दृष्टिकोण, व्यवहार र योगदानले निर्धारण गर्दछ । यसरी हेर्दा पछिल्लो समय जननायकको उपाधिद्वारा सम्मानित तुल्सी लाल अमात्यलाई पनि त्यसरी हेर्ने बुझ्ने गरेको पाइन्छ । अध्ययन, आन्दोलन र सादगी तीनै हिसाबले तुल्सी लालको उच्चता गर्व गर्न लायक देखिन्छ । धनी परिवारमा जन्मे—हुर्केर सर्वहारा श्रमजीवीवर्गको वर्गीय मुक्तिका लागि राजनीतिमा होमिनुभएका तुल्सी लाल अमात्य राष्ट्रिय पुँजीको विकास तथा नेपाली समाज र राष्ट्र सुहाउँदो लोकतन्त्रको पक्षपोषण गर्नुहुन्थ्यो । उहाँको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीले उठाएको ‘राष्ट्रिय प्रजातन्त्र’को विचार प्रकारान्तरले सही साबित भएको पनि छ । तुल्सी लाल अमात्य प्रतिष्ठानले तुल्सी लालको जीवनी प्रकाशित गरेको छ । ‘तुल्सीलाल अमात्य, एक आदर्श व्यक्तित्व’ नामक सो पुस्तकमा प्रकाशित विचारहरू यहाँ प्रस्तुत गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ, ‘हामी सबैका अग्रज तुल्सी लाल अमात्य ।’ उहाँ भन्नुहुन्छ, ‘हामी सबैका अत्यन्तै आदरणीय, श्रद्धेय तुल्सी लाल अमात्यज्यू, नेपालको कम्युनिष्ट आन्दोलनको मात्रै होइन, बामपन्थी आन्दोलनको मात्रै पनि होइन, लोकतान्त्रिक आन्दोलनका पनि अत्यन्तै पुराना हस्तिहरू मध्ये एक हुनुहुन्थ्यो । उहाँप्रति म हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु । नामबाटै पनि परिचित पुराना नेताहरूमा, पार्टी संस्थापक पुष्पलाल वा अरू संस्थापक अथवा पार्टी स्थापना भन्दा अगाडिदेखि मजदुर आन्दोलनमा सरिक मनमोहन अधिकारी, उहाँहरू सबै पुराना संस्थापक मध्येकै नेता हुनुहुन्छ । पार्टी स्थापनामा, को थियो, को थिएन, यो बेग्लै कुरा हो । तर उहाँहरू पनि संस्थापक मध्येकै हो । तुल्सी लाल अमात्यको राजनीतिमा संलग्नता अगाडि देखिकै हो । जतिबेला कम्युनिष्ट आन्दोलनले वैचारिक हिसाबले र साङ्गठनिक हिसाबले पनि आकार लिइसकेको थिएन, त्यतिबेला अत्यन्त पुरानो लोकतान्त्रिक आन्दोलनको धारमा, परिवर्तनको मोर्चामा संलग्न भएर आउनु भएका व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू ।
आज आन्दोलन जुन उचाइमा पुगेको छ, जुन सफलता प्राप्त गरेको छ, जसले दुनियाँका, देशभित्र र देशबाहिर सबैतिरका, जनविरोधि, प्रतिक्रियावादी शक्तिहरूलाई अत्यन्तै त्रसित र भयभित बनाएको छ । यस बिन्दुमा आज आन्दोलन पुग्नुका पछाडि हाम्रा अग्रजहरूको असाधारण योगदान, त्याग, तपस्या र बलिदान छ । उहाँहरूको त्याग तपस्या र बलिदानले, उहाँहरूले गरेका आन्दोलन, अनवरत सङ्घर्षहरूले, आन्दोलनलाई जीवित मात्रै राखेन, यो रक्तबिज झैँ फैलिएर आन्दोलनकारीहरूको सङ्ख्या र आन्दोलनको गति बढाउँदै बढाउँदै व्यापक बनाएर विजयी बन्ने स्तरसम्म पुऱ्यायो ।’ यो विचार अध्यक्ष ओलीले १७ श्रावण, २०७५ सालमा तुल्सी लाल अमात्यको २१ औं स्मृति दिवसका अवसरमा व्यक्त गर्नु भएका विचारको सम्पादित अंश हो ।
हामी सबैका अग्रज, हामी सबैका नेता, हुनुहुन्छ तुल्सी लाल अमात्य । हुन सक्छ, नेताहरूका बिचमा, किसान आन्दोलनका सम्बन्धमा, कम्युनिष्ट आन्दोलनका सम्बन्धमा, विचारमा, समयानुकुल विश्लेषणहरूमा मतभेद थिए । हामीले निष्पक्ष ढङ्गले ती विचारहरूको समीक्षा गर्न सक्छौं र ती विचारहरू कति सही, कति गलत भन्ने कुरा आन्दोलनले र इतिहासले मुल्याङ्कन गर्छ । नेताहरूका बिचका मतभेद के थिए ? कुन सही थिए ? पूर्ण सही थिएनन् भने कुन मूलतः सही थिए ? त्यस्ता सन्दर्भहरूमा छलफल हुन सक्छ, तर उहाँहरूका महान् उद्देश्य, महान् त्याग, उहाँहरूका दृढ र निरन्तर रूपमा रहेका योगदानहरू र उहाँहरूका पवित्र गन्तव्यका सम्बन्धमा कुनै विवाद हुँनै सक्दैन । त्यसमा कुनै, केही हेर्न पर्ने नै हुँदैन ।
उहाँहरूका महान् उद्देश्य थिए । उहाँहरूले ती महान उद्देश्य प्राप्तिको निम्ति अनवरत रूपमा आफूलाई सङ्घर्षमा समर्पित गर्नुभएको थियो । यसर्थ हामी हिजोका विवादहरूको बिचमा पर्दैनौं । कसका विचार के थिए ? विचार जे भए पनि उद्देश्य ठिक थिए । र, ठिक गन्तव्यमा पुग्नका लागि विवादका पक्षहरू गौण हुन्छन् । तात्कालिन विवादका पक्षहरू साझा गन्तव्यका अगाडि गौण हुन्छन् । त्यसैकारणले हामीले हाम्रा नेताहरूलाई आदर गर्छौं । कम्युनिष्ट आन्दोलनमा कहिले कसलाई गद्दार भन्ने, कहिले कसलाई गद्दार देख्ने प्रवृत्तिहरू पनि देखिए । त्यसबाट हामी माथि उठ्नुपर्छ र नेताहरूलाई सम्मान गर्ने, हेर्ने दृष्टिकोणमा पनि माथि उठ्नुपर्छ । आज हामी माथि उठेका छौं ।
आजको जस्तो एउटा परिपक्व आन्दोलन हिजो थिएन । हिजो एउटाले अर्कालाई गद्दार भने । र, खासगरी पहिलो पुस्ताका नेताहरू जीवित भएका समयमा एकले अर्कालाई नमान्ने एकखालको सोँच पनि देखिन्थ्यो । तर अब हामीले ती अनुभवहरूबाट पनि सिकेका छौं । हाम्रो गन्तव्य, हाम्रा महान् उद्देश्यहरूमा केन्द्रीत हुनुपर्छ । र, यसलाई मान्ने, उसलाई नमान्ने भन्ने खालका कुराहरू गौण हुन् । हामीले देश, जनता र आन्दोलन भन्दा परका अरू मनोभावनाहरू राख्नु हुँदैन । राखियो भने, त्यसले आन्दोलनलाई विभाजित गर्छ, कमजोर बनाउँछ, एकअर्काप्रतिको सम्मान र आदरभाव घटाउँछ । तसर्थ, हामीले त्यस्ता कमजोरीहरूबाट माथि उठेर एउटा नयाँ संस्कृति सुरु गरेका छौँ ।
हामी, हाम्रा सबै पूर्वजहरूलाई सम्मान गर्ने, उहाँहरूका आदर्शहरूबाट सिक्ने, उहाँहरूका महान् योगदानहरूबाट प्रेरणा प्राप्त गर्ने, र हामी, आफूलाई देश र जनताको हितमा समर्पित गर्ने उद्देश्यमा आफूलाई केन्द्रीत गरेका छौं । यसैकारण, आज विभिन्न धार र पुरानो समयदेखि विभाजित नेकपाका धारहरूलाई मिलाउँदै, मिलाउँदै कम्युनिष्ट आन्दोलनलाई एउटै पार्टी, एउटै आन्दोलन, एउटै विचार, एउटै उद्देश्य, एउटै कार्यदिशा, एउटै गन्तव्य, एउटै बाटो, एउटै सङ्गठन निर्माणमा हामी लागेका छौं । यो काम त्यति सहज कुरा होइन । तर, हामीले अत्यन्तै लोकतान्त्रिक अभ्यासबाट, कुनै प्रकारको दवावबाट होइन, छलफलबाट, सहमतिको बाटोबाट, यस कार्यलाई अगाडि बढाएका छौं । यहाँ, अरू पार्टीलाई निषेध गरेर, बाध्य बनाएर होइन, सहमति, संवादका माध्यमबाट स्वेच्छाले हामी एकताबद्ध आन्दोलनको निर्माण गरिरहेका छौं । यो आन्दोेलनको निर्माण आन्दोलनका निम्ति होइन । यो आन्दोलन र, यो सङ्गठन निर्माणको कार्य एउटा यस्तो कार्य हो जसले हाम्रा पुर्खा, हाम्रा शहीद र हाम्रा दिदी बहिनी, दाजु–भाइहरूले देखेका सपना सुखी, खुसी, समृद्ध, न्याय र समतामा आधारित नेपाली समाज निर्माण गर्ने छ ।
तत्कालीन नेकपाका अध्यक्ष, हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही पुस्तकमा शुभकामना दिँदै उल्लेख गर्नुभएको छ, ‘कमरेड अमात्य नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्व हुनुहुन्थ्यो । समाज परिवर्तनको आन्दोलनमा उहाँको योगदान र भूमिका विशिष्ट रहेको छ । विश्व कम्युनिष्ट आन्दोलनको प्रभाव र नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा बारेका बहसमा आफ्नो बिचार प्रखर रूपमा प्रस्तुत गर्न सक्ने क्षमता उहाँमा रहेको थियो ।’ उहाँले थप लेख्नुभएको छ, ‘कम्युनिष्ट आदर्श र विचारमा प्रतिबद्ध, निष्ठावान, पारदर्शी र निःस्वार्थी नेता कमरेड अमात्यको योगदानलाई सम्मान गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध र सिद्धान्तनिष्ट बनाई समाजवादी लक्ष्य हासिल गर्ने अभियानमा लामबद्ध हुन आव्हान गर्दै यस प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु ।’
तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता, हाल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले ‘कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा इँटा’ भन्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पुऱ्याउनुहुने पहिलो पुस्ताका नेताहरूमध्ये कमरेड तुल्सी लाल अमात्य धेरै हिसाबले हाम्रा लागि आदरणीय हुनुहुन्छ । तेस्रो महाधिवेशनपछि एकीकृत अवस्थामै नेपाल कम्युनिस्ट पार्टीको महासचिव हुँदै टुटफुटका अनेक शृङ्खला भोग्नुभएका उहाँले जीवनको उत्तराद्र्धमा नेकपा (एमाले) मा जोडिएर एकीकृत कम्युनिस्ट आन्दोलन निर्माणमा गरेको योगदान स्मरणीय छ । कम्युनिस्ट पार्टी निर्माणको पहिलो पुस्ताका नेता कमरेड तुल्सी लाल अमात्यका बारेमा खोज, अध्ययन र अनुसन्धान गरेर पुस्तक तयार पार्दा त्यसबाट आजको पुस्ताले आलोकित हुने मौका पाउँछ ।’ उहाँ थप्नुहुन्छ, ‘कमरेड तुुल्सीलालको जीवनका सबैजसो पक्ष समेटेर सकेसम्म धेरै खोज गरेर एक प्रकारको शोधग्रन्थ नै बनाइएको छ । सङ्घर्षशील जीवनका सम्पूर्ण पाटोलाई हेर्ने हो भने कमरेड तुल्सी लाल अमात्यलाई त्यत्तिकै ‘अविश्रान्त योद्धा’ भनिएको होइन रहेछ भन्ने निष्कर्षमा सहजै पुग्न सकिन्छ । .....अर्थशास्त्रमा स्नातकोत्तर गर्नेदेखि बैङ्कमा जागिर खानेसम्म, विभिन्न दलहरूमा आबद्ध हुनेदेखि अनेकौँ सामाजिक संस्थामा संलग्न हुनेसम्म, कम्युनिस्ट पार्टीले सुम्पेको किसान आन्दोलनको मोर्चादेखि वैचारिक –राजनीतिक आन्दोलनका सबै क्षेत्रसम्म, सङ्गठन निर्माण र सञ्चालनदेखि अन्तरपार्टी वैचारिक सङ्घर्ष सञ्चालन गर्नेसम्म सबै क्षेत्रमा कमरेड तुल्सी लाल अमात्य उत्तिकै सक्रियता र लगनशीलताका साथ अविचलित रूपमा लागि रहने योद्धा हुनुहुन्थ्यो ।’
‘तुल्सीलाल अमात्य, एक आदर्श व्यक्तित्व’ नामक पुस्तक प्रकाशनका सन्दर्भमा वरिष्ठ वामपन्थी नेता तथा तुल्सी लाल प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले उल्लेख गर्नुभएको छ, ‘नेपालको लोकतान्त्रिक एवम् कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्व जननायक कामरेड तुल्सी लाल अमात्यको ८२ वर्षीय जीवनको अधिकांश समय देश, जनता र पार्टीका लागि सर्पित भएको देखिन्छ । वहाँले आफ्नो निजी र पारिवारिक स्वार्थलाई भन्दा देश, जनता र पार्टीको स्वार्थलाई अगाडि राख्नु भएको थियो । त्यसकारण वहाँ सच्चा देशभक्त लोकतन्त्रवादी कम्युनिष्ट नेता हुनुहुन्थ्यो । वहाँ आफ्नो समयको प्रखर माक्र्सवादी–लेनिनवादी कम्युनिष्ट नेता हुनुहुन्थ्यो । वहाँको क्रान्तिकारी सन्तुलित दृष्टिकोण, निरन्तर अध्ययन गरिरहने बानी, दुःख कष्ट कठिनाइसँग निरन्तर सघर्ष गर्ने, षड्यन्त्र, छलकपट– जालझेल नगर्ने स्वभाव, साधा जीवन, जनसेवा विशेषतः किसान, मजदुरहरूको सेवामुखी राजनीति कामरेड तुल्सी लाल अमात्यबाट सिक्नै पर्ने महत्वपूर्ण कुराहरू हुन् ।’
नेता गोपाल शाक्य लेख्नुहुन्छ, ‘तुल्सी लालको जीवन–गाथा, जीवन कथा मूलतः राजनीतिक सङ्घर्ष, आन्दोलन र सङ्गठनका अनेकौं उतार चढावसँंगै खुल्ला, भूमिगत र निर्वासित प्रवासी जीवन, जेल जीवन, दुःखकष्टहरूले भरिएको पारिवारिक जीवनसँग जोडएका छन् । विशेषतः (१) निरंकुश जहानियाँ राणा शासनको विरुद्ध प्रजातान्त्रिक सङ्घर्ष र आन्दोलनहरूमा (२) ३० बर्षे राजतन्त्रात्मक पञ्चायती व्यवस्थाको विरुद्धको सङ्घर्ष र संयुक्त जनआन्दोलनहरूमा (३) नेपालको संसद र संसदीय सङ्घर्षहरूमा (४) नेपालका किसानहरूको सामन्त र जमिन्दार विरोधी सङ्घर्ष र आन्दोलनहरूमा (५) नेपालको कम्युनिष्ट आन्दोलन र नेकपामा (यी पाँच क्षेत्रमा) कामरेड तुल्सी लाल अमात्यको त्यागपूर्ण, प्रेरणादायी योगदानहरूको मूल्यांकन हुन आवश्यक छ ।’
नेपालको कम्युनिष्ट लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व जननायक तुल्सी लाल अमात्यका विषयमा नेपाली कम्युनिष्ट आन्दोलनका हस्तीहरूका उच्च सम्मानयुक्त भनाइबाट उहाँप्रतिको स्वीकार्यता स्वतः स्पष्ट हुन्छ । यिनै सम्मानजनक भावका साथ जननायकप्रति भावपूर्ण श्रद्धाञ्जली !
(लेखक तुल्सी लाल स्मृति प्रतिष्ठानका आजीवन सदस्य तथा नेकपा एमाले केन्द्रीय स्कुल विभागका सचिव हुनुहुन्छ ।)