काठमाडौँ - मुलुकको निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको १० महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ५९ दशमलव आठ प्रतिशतले वृद्धि भई एक खर्ब ७३ अर्ब ३५ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२ दशमलव नौं प्रतिशत र २५ दशमलव छ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २४ दशमलव नौं प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गालैंचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्तमञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ ।
यसैगरी आर्थिक वर्ष २०७८–०७९ को दश महिनामा कुल वस्तु आयात २८ प्रतिशतले वृद्धि भई १६ खर्ब चार अर्ब ६५ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव तीन प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२ प्रतिशत, २३ दशमलव आठ प्रतिशत र ४९ दशमलव नौं प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष सोही आधारमा चालु आवको १० महिनामा कुल वस्तु व्यापार घाटा २४ दशमलव नौं प्रतिशतले वृद्धि भई १४ खर्ब ३१ अर्ब ३० करोड रुपैंयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव छ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ८३ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ५५ अर्ब आठ करोड रुपैंयाँ बराबरको भएको राष्ट्र बैैंकले जनाएको छ ।