फोहोर व्यवस्थापन एक महत्वपूर्ण सेवा हो जसले सार्वजनिक स्वास्थ्य, वातावरणीय सफाइ र सहरी दिगोपनामा योगदान पुर्याउँछ । तर यो अत्यावश्यक काम गर्ने श्रमिकहरुले जोखिमपूर्ण अवस्थाहरुमा न्यूनतम सुरक्षा उपायसहित काम गर्नुपरेको छ । नेपालजस्ता विकासोन्मुख देशहरुमा फोहोर व्यवस्थापन क्षेत्रमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षाको अवस्था अझै पनि बेवास्ताको विषय बनेको छ । फोहोर संकलनमा खटिने श्रमिकहरुले हानिकारक रसायनहरु, जैविक जोखिमहरु, धारिलो वस्तुहरु र चरम मौसमको सामना नियमित रुपमा गर्नुपर्छ त्यो पनि उचित उपकरण, तालिम वा कानुनी संरक्षणबिना । उच्च जोखिमपूर्ण वातावरणमा काम गर्दा उनीहरुको स्वास्थ्य र सुरक्षालाई सरकारी नीति तथा कार्यान्वयनमा आवश्यक प्राथमिकता दिइएको छैन जसले उनीहरुलाई थप जोखिमा पारेको छ ।
नेपालमा फोहोर संकलनमा खटिने श्रमिकहरुको अवस्था विशेष रुपमा चिन्ताजनक छ । धेरैजसो श्रमिकहरुको अनौपचारिक रुपमा काम गर्छन् उनीहरुसँग न त ठोस कामको करार हुन्छ, न बीमा न त स्वास्थ्य सेवा पहुँच। उनीहरुले घरायसी, औद्योगिक तथा मेडिकल फोहोरहरु हातले छुनुपर्छ, त्यो पनि प्राय पन्जा, मास्क, बुट वा सुरक्षात्मक कपडा बिना । यसले उनीहरुलाई धारिला वस्तुहरु, सङ्क्रामक रोगहरु जस्ता विभिन्न खतराहरुको जोखिममा पार्दछ । सुरक्षासम्बन्धी तालिम र चेतनाको अभावले उनीहरुको जोखिमलाई झनै बढाउँछ ।
काठमाडौंजस्ता सहरी क्षेत्रमा फोहोर संकलन अझै पनि धेरैजसो हातैले गरिन्छ र खुल्ला गाडीमा ढुवानी गरिन्छ जसले शारीरिक थकान र स्वास्थ्य जोखिमलाई बढाउँछ । यस्ता गम्भीर जोखिमका बाबजुद पनि व्यवसायिक स्वास्थ्य तथा सुरक्षा भन्ने विषयलाई महानगरपालिकाको फोहोर व्यवस्थापन योजना र छलफलमा विरलै समावेश गरिन्छ जसका कारण अग्रपंत्तिमा खटिने श्रमिकहरु प्रणालिमै अदृश्य र असुरक्षित बन्न पुगेका छन् ।
नेपाल सरकार सबै श्रमिकहरुका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न जिम्मेवार भए तापनि फोहोर व्यवस्थापन क्षेत्रमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षासम्बन्धी विषयमा खासै पहल देखिएको छैन । श्रम ऐन २०७४ र ठोस फोहोर व्यवस्थापन ऐन २०६८ जस्ता कानुनी संरचना भए पनि तिनको कार्यान्वयन अत्यन्तै कमजोर देखिन्छ विशेषत अनौपचारिक र करारमा आधारित फोहोर श्रमिकहरुको हकमा । यस उपेक्षाको प्रमुख कारण भनेको फोहोर व्यवस्थापन क्षेत्रको व्यापक अनौपचारिकता हो जहाँ धेरै श्रमिकहरु औपचारिक श्रम संरक्षणको दायराबाहिर काम गर्छन् ।
सुरक्षासम्बन्धी नियमहरु कार्यान्वयन गर्ने सन्दर्भमा संघीय निकाय र स्थानीय तहबीच समन्वयको अभाव पनि एक ठुलो चुनौती हो । बजेटको सीमितता, चेतनाको कमी र फोहोरसँग जोडिएको सामाजिक कलङ्कले गर्दा यो विषय झनै प्राथमिकतामा पर्ने गरेको छैन र फोहोर श्रमिकहरु अझै पनि व्यवसायिक सुरक्षा कार्यक्रम तथा सामाजिक सुरक्षा योजनाबाट वञ्च्ति भइरहेका छन् ।
फोहोर व्यवस्थापन क्षेत्रमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षा सुधार र आम नागरिक दुवैको सामुहिक प्रयास आवश्यक हुन्छ । सरकारले प्रचलित श्रम तथा फोहोर व्यवस्थापन सम्बन्धी कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नु, तालिम र सुरक्षात्मक सामग्रीका लागि विशेष बजेट विनियोजन गर्र्नु र विशेषत अनौपचारिक फोहोर श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष जस्ता राष्ट्रिय सामाजिक सुरक्षा योजनामा समावेश र्गन सक्रिय भूमिका लिन आवश्यक छ । स्थानिय सरकारहरुलाई विशेष रुपमा मापदण्डहरु नगरपालिकाका फोहोर व्यवस्थापन सेवामा समावेश र्गन र नीति निर्माणमा श्रमिकहरुको सुरक्षालाई प्राथमिकता दिनुपर्छ ।
व्यत्तिहरु र समुदायहरुले पनि फोहोर संकलनमा संलग्न श्रमिकहरुलाई सम्मानपूर्वक व्यवहार गर्न र घरायसी फोहोरलाई सही तरिकाले वर्गीकरण गर्ने जसले स्वास्थ्य जोखिम घटाउन मद्दत र्गछ र सुरक्षित कार्य वातावरणको समर्थनमा आवाज उठाउन जिम्मेवारी लिनुपर्छ । फोहोर श्रमिकहरुलाई अदृश्य श्रमशक्ति होइन र अत्यावश्यक सेवा प्रदायको रुपमा मान्यता दिनु नै उनीहरुको स्वास्थ्य, सुरक्षा र मर्यादा सुनिश्चित गर्ने पहिलो कदम हो ।
नेपालमा फोहोर व्यवस्थापन क्षेत्रमा कार्यरत श्रमिकहरूको स्वास्थ्य र सुरक्षालाई लामो समयदेखि बेवास्ता गरिएको छ । यिनै श्रमिकहरूको व्यवसायिक स्वास्थ्य तथा सुरक्षाको अवस्था सुधार गर्न आई.सी.ए. नेपालले विगत दुई वर्षदेखि निरन्तर पहल गर्दै आएको छ । यस अन्तरगत संस्थाले फोहोर संकलनमा संलग्न श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको वास्तविक समस्या, चुनौती र माग बुझ्ने संवाद सत्रहरू सञ्चालन गर्दै आएको छ । यस्ता सत्रहरूमा बारम्बार उठ्ने प्रश्न भनेको, “किन फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको स्वास्थ्यप्रति सरोकारवालाहरू गम्भीर हुँदैनन् ?” भन्ने हो । आई.सी.ए. नेपालले समुदाय स्तरमा जनचेतना अभिवृद्धि, नगरपालिका र संघीय निकायहरूसँग समन्वय, तथा नीतिगत बहसमार्फत यस विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आएको छ । संस्थाले नीतिनिर्माताहरू, सरोकारवाला निकायहरू, श्रमिकहरू र समुदायबीच सेतुको भूमिका खेल्दै व्यावसायिक स्वास्थ्य र सुरक्षालाई सामाजिक न्यायको अभिन्न अंगको रूपमा स्थापित गर्न क्रियाशील रहेको छ ।
अन्त्यमा,नेपालमा फाहोर व्यवस्थापन क्षेत्रमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षाप्रति देखिएको उपेक्षा गम्भीर समस्या हो जसलाई तत्काल र दिर्घकालिन ध्यान आवश्यक छ । फोहोर श्रमिकहरु सार्वजनिक स्वास्थ्य र वातावरणीय सरसफाइ कायम राख्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् तर उनीहरुकै स्वास्थ्य र सुरक्षालाई प्रणालीगत बेवास्ता गरिँदै आएको छ । यो खाडल हटाउन सरकारको नीतिगत प्रतिबद्धता प्रभावकारी कार्यान्वयन र स्रोत विनियोजन मात्र होइन आम जनमानसमा चेतना वृद्धि र फोहोर श्रमिकहरुप्रति सम्मानजनक व्यवहार पनि अपरिहार्य छ । सुरक्षित र मर्यादित कार्य वातावरण सुनिश्चित गर्नु श्रमको सवाल मात्र नभई मानव अधिकार र सामाजिक न्यायको पनि विषय हो । नेपालले विकासको यात्रामा अघि बढ्दै गर्दा फोहोर व्यवस्थापनमा व्यवसायिक स्वास्थ्य तथा सुरक्षालाई प्राथमिकतामा राख्नु नै समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फको महत्वपूर्ण पाइला हुनेछ ।
नबिना खड्का