सबेरै उठी, घर सफाइपछि छोराछोरीलाई खाना र टिफिन तयार पार्न थाल्छु । छोराछोरी बल्लतल्ल सात बजेतिर उठ्छन् । । खाना खुवाएर, झोलामा टिफिन, पानी हालिदिएर, कपडा लगाई दिएर स्कुल पठाइसकेपछि लथालिङ्ग सामान र कपडाहरू मिलाउन थाल्छु । त्यतिबेला मेरो मानसपटलमा पुराना यादहरू फिल्मका रिल घुमेजस्तै घुमिरहन्छन् ।
मेरो बाल्यकाल, जुन समयमा हामी स्कुल जाँदा ब्याग बोक्नु पर्थेन । टिफिन कापी कलम केही पर्थेन । तर, बाँसको सानो ढुङ्ग्रो बोक्नु पथ्र्यो । बाँसकै सिन्का, खपटा (बाँसको तामा हुर्किदै गएपछि सेतो ढाकिएको भाग निस्कदै जाने) बोक्नुपथ्र्याे । खपटाको पछाडिपट्टि छोएमा चिलाउने मसिनो काँडाजस्तो हुन्छ, त्यसलाई धुलोले वा ढुङ्गाले रगटेर फाल्नुपथ्र्याे । ढुङ्ग्रोमा धुलो हुन्थ्यो । करिब एक घण्टा हिँडेर स्कुल पुगेपछि लाइनमा प्रार्थना, राष्ट्रिय गान, पीटी इत्यादि सकेर कक्षाकोठा (कालोपाटी बाहेक खाली) भित्र पस्न पाइन्थ्यो । भुईँमा बसेर आफूले बोकेर गएको धुलो त्यही खपटामा खन्याएर बाँसको सिन्काले क, ख, ग लेख्नुपथ्र्याे । अहिलेको मन्टेश्वरी भनेजस्तो त्यो बेलामा शिशु कक्षा भनिन्थ्यो । शिशु कक्षामा क, ख, ग ......लेख्न जानेपछि मात्र बेञ्चमा बसेर कापी र कलम पाइन्थ्यो ।
मेरा दुई छोराछोरी छन् । दुवैले मन्टेश्वरी पढे । पूरै एकवर्ष कापीमा धर्सा कोरेर मात्रै बिताए । राम्रो स्याहार पुगोस् भनेर बुटवलकै राम्रो मन्टेश्वरी स्कुलमा भर्ना गरेँ । बच्चाहरूको लागि राम्रो व्यवस्था भएको स्कुलमा महँगो शुल्कको चिन्ता गरिनँ । बच्चाको राम्रो स्याहार होस् त्यतिमात्र सोचेँ । म कुनै अफिसमा जागिरे होइन । मलाई फुर्सद छ, तर पनि मैले छोराछोरीको भविष्यलाई पहिलो प्राथमिकतामा राखेँ ।
पूर्वी नेपाल, तेह्रथुम जिल्लाको विकट ठाउँमा जन्मेकी हुँ म । सानी हुँदा मेरी आमा खेतबारी, घाँस, दाउरामा व्यस्त हुनुपथ्र्याे । हामीलाई स्कुल पठाउन भ्याउनु हुन्थेन । हामी चार सन्तान । धेरै वर्षको अन्तर पनि छैनौँ । जेठो दाजुले हामीलाई खानेकुरा बनाएर अनि खुवाएरसँगै स्कुल लैजानुहुन्थ्यो ।
यतिबेला सासुआमाले छोराछोरीलाई तयार पार्दिनु हुन्छ । श्रीमानले नानीबाबुलाई स्कुलसम्म पु¥याउनु हुन्छ । सेकेन्ड सेकेन्डमा घडी हेरिरहनु पर्छ । भित्तामा घडी र मोबाइलमा जताततै । मेरो जमानामा घडी भनेको रेडियो र घाम हुन्थ्यो । बिहानको घामको छायाँ हेर्ने प्रत्येक घरको आँगनमा चिन्ह लगाइन्थ्यो । त्यही छायाँको अन्दाजमा हामी चल्थ्यौँ । समयमै स्कुल पुग्थ्यौँ ।
मेरा छोराछोरीलाई स्कुलबाट फर्कने बित्तिकै नास्ता चाहिन्छ । के खाने उनीहरूको छनोटमा भर पर्छ । नास्ता सकेपछि एकछिन मोबाइल हेर्न दिनुपर्छ । खेल्न दिनुपर्छ, अनि मात्रै होमवर्क गर्न मान्छन् ।
हामी स्कुलबाट घर पुग्ने बित्तिकै आमाले कहिले भुटेको मकै, उसिनेको इस्कुस, बासीभात जे हुन्थ्यो, त्यही खान्थ्यौं । हामी आ–आफ्नो काममा लाग्थ्यौँ । म सानो थिएँ, तर पनि मेरा लागि काम छुट्याइएको हुन्थ्यो । बार्दलीमा बसेर लहैलहै भन्दै चिच्याउँदै स्याल धपाउन पथ्र्यो । दाजुदिदीहरू आमालाई सघाउन जानुहुन्थ्यो । गृहकार्य त घरमा भ्याए गरिन्थ्यो, नभ्याए स्कुल जाँदै बाटोमा बसेर हतार हतार गर्नुपथ्र्याे । दगुर्दै स्कुल समयमै पुग्थ्यौँ ।
मेरा बच्चाहरू घरको खानाभन्दा जङ्कफुड खान मन पराउँछन् । छुट्टीका दिन उनीहरूलाई रेष्टुरेन्टमा, उनीहरूको रोजाइमा पिज्जा, बर्गर र केक आदि पर्छन् । त्यस्तै खान पाए खुसी हुन्छन् । उनीहरूलाई
खुसी देखेपछि बाबुआमा पनि मख्ख ! यी सबै बच्चाहरूका खुसीका निम्ति गरिएका अभ्यासहरू हुन् । उनीहरूले खुसीले खाँदा आफैले खाएजस्तै लाग्छ । उनीहरूका खुसीमा आफ्ना खुसी जोडिएजस्तै लाग्छन् । तर, यी खुसी सँगै ती खान्कीले स्वास्थ्यमा पार्ने असर र प्रभावबारे पनि सचेत हुन आवश्यक ठान्दछु ।
उहिले हामी छुट्टिको दिन गोठाला जानुपथ्र्यो । लेकको ठाउँ भएकोले डाँडापाखामा वस्तु चराउन गइन्थ्यो । वनजङ्गलमा खान मिल्ने चीजहरू खोजीखोजी खान्थ्यौं । हामी सबै खाइलाग्दा हस्टपुष्ट थियौँ । सानैदेखि मोटी, गाला रातोरातो, कान्छी छोरी प्यारी थिएँ । सबैले माया गर्नुहुन्थ्यो । जङ्गलमा ओखर पाइन्थ्यो । जतिसक्दो खान्थ्यौँ । दाजुहरूले चरा मार्नु हुन्थ्यो । आजकल चिकेन तन्दुरी भनेजस्तै त्यो बेलामा त्यसै गरी आगोको रापमा चरा पोलेर खान्थ्यौं । पोलेको मासु खाँदाको स्वादै बेग्लै ।
छोराछोरीलाई विदामा बस्दा बस्दा वाक्क भयो कि भनेर सपिङ्ग लैजान्छु । खेलौना किन्छन् । खानेकुरा मन लागेको सबै किन्छन् । उनीहरूको खुसीको लागि म सबै किनिदिन तयार हुन्छु । सन्तानको खुसीलाई आफ्नो ठान्छु ।
आमाले हामीलाई कहिल्यै पैसा दिनुभएन । हामीले मागेनौं पनि । त्यो समयमा पैसाभन्दा बढी पैंचो चल्थ्यो । बेसीबाट धान बोकेर लेकतिर चढ्थे मान्छेहरू । धानसँग आलु साटेर लैजान्थे । नुन, साबुन लिन दाजुहरू दुई दिनको बाटो हिडेर जानुहुन्थ्यो बजारतिर । नुन ल्याएपछि पैचो तिर्नुपथ्र्याे । हामी पैसा नलिई बजार जान्थ्यौं । निगुरो, पात, स्कुसहरू बोकेर गएपछि मुराइ (भुजा), बिस्कुट, चिउरा आदि साटेर खान्थ्यौं । बजार त्यसै पनि रमाइलो लाग्ने । बजार जानुभन्दा केही दिन अघिदेखि बेस्सरी काम गर्नुपथ्र्यो । आमाले त्यस्तै नियम बनाउनु भएको थियो । हेरेरै पुग्थ्यो हामीलाई बजार ।
मेरा छोराछोरीलाई मिठो खानेकुरा चाहिन्छ कि मोबाईल हेर्दै खानुपर्छ । मलाई भने जसरीपनि खाना खाईदिए हुन्थ्यो जस्तो लाग्छ । सकेको मिठो बनाउने कोसिस गर्छु । त्यतिले पुगेन भनेपनि मोबाईल हेराउँदै खुवाउँछु ।
आमाले हामीलाई कहिल्यै भोको राख्नु भएन । धेरैजसो मकैको परिकार बन्थ्यो भान्सामा । लेकमा मकै उत्पादन बढी भएर हो कि ! मकैको चामल भात, ढिडो, रोटी, भुटेको मकै, फापरको रोटी, कोदोको खोले, उसिनेको स्कुस, उसिनेको फर्सी, सिमी, उसिनेको आलु आदि पेटभरि खान दिनुहुन्थ्यो । हामी सन्तुष्ट हुन्थ्यौं ।
भनेको नमान्दा १० वर्षकी छोरीलाई एकदिन पिटें । चाईल्ड एब्युज गर्नुभो भनेर सीधै भनिन् मलाई । मेरी आमाले खुट्टामा डाम बस्ने गरी पिट्नु हुन्थ्यो । म रून्थेँ । कहिले पनि फकाउनु हुन्थेन । आमाको शासन कडा थियो । हामी कति अनुशासित थियौँ, बयान गरी साध्य छैन । मातृसत्तात्मक समाज र परिवारमा हुर्किएका थियौं हामी ।
आज जमाना धेरै फरक भयो । सुविधाहरू उत्तिकै छन् । आवश्यकताहरू पूरा भइरहेका छन् । विलासिताले मान्छेलाई दुःखी बनाइरहेको छ । मेरा छोराछोरीका लागि मेरी आमाजस्तै बन्न चाहेर सकिरहेको छैन । छोराछोरीका लागि असल आमा बन्ने रहरले अझै धुरी चढ्न सकेका छैनन् । उनीहरूका हरखुसीलाई आफ्नै खुसी ठान्ने गरेकी छु । तैपनि ‘आमाको कर्तव्य पूरा गर्न सकिनँ कि’ भन्ने डरले मनमा साम्राज्य जमाइरहेकै छ ।
उहिलेका दुःख पनि उतिबेला सुखै थिए । अहिलेका सुख पनि अझै अपुग नै लाग्दछ । हरेकका विगत जीवन आफैमा इतिहास हो । वर्तमानमा देखापरेका सुख, दुःख, उपलब्धिमा विगतको भूमिका रहेकै हुन्छ । उहिलेका र अहिलेका कुराको शिक्षा यिनै त होलान् !