images
images

लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, असोज २७ (रासस)
काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।
उक्त अदालतले यही असोज २७ गतेदेखि लागू हुने गरी यही असोज ३१ गतेसम्म म्याद थप गर्नका लागि अनुमति दिएको हो । लामिछानेलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन यो दोस्रोपटक म्याद थप गरिएको हो । यसअघि यही असोज २० गतेदेखि आजसम्मका लागि म्याद दिइएको थियो । 
प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालतमा माग गरेकामा  न्यायाधीश सूर्यबहादुर थापाले अभियुक्तको अनुसन्धान छिट्टै सकेर सरकारी वकिललाई बुझाउन र मुद्दा चाँडै दायर गर्न निर्देशन दिएको अधिवक्ता सुवास पाठकले जानकारी दिए ।
यसअघि पहिलो पटक म्याद दिँदा अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएकीले नाबालिका नभएको समेत न्यायाधीशसमक्ष जिकिर गरेका थिए ।
नाबालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि लामिछानेलाई हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।