images
images

विज्ञान तथा प्रविधिको अबको गन्तव्य

भविष्यबारे सोच्नु वा सोच्न सक्नु पनि एउटा कला हो । अनुमान, पहिचान मूल्याङ्कन र संभावनाको आँकलन गरेर भविष्यको रुपरेखा तर्जुमा गर्न सकिन्छ । अब के हुन्छ ? अथवा, यसपछि के ? भन्ने प्रश्न खोतल्दैं जाँदा भविष्यको अनुमान गर्न सहज हुन्छ । भविष्यवेत्ताहरुले भविष्य पूर्वानुमान गर्न सकिन्न, भविष्य पूर्वनिर्धारित हुँदैन वा हाम्रो आँफ्नै कारणले पनि भविष्य फरक हुन सक्छ भन्ने कुराहरुलाई आधार बनाएका हुन्छन् । त्यसो भए तापनि भविष्यवाणी आंफैमा एउटा फरक विद्या हो । भविष्य र चिन्तनको आधारमा भविष्यबारे बोल्ने गरिन्छ । भविष्यवाणी गर्ने सन्दर्भमा हाम्रो मस्तिष्कको विशेष भूमिका रहने गर्छ । जुन कुरा भएकै छैन, त्यो कुरालाई मस्तिष्कले समेत ग्रहण गरेको हुंदैन । तर, भविष्यबारे बढी चिन्तनशील हुँदै जाँदा हाम्रो मस्तिष्कको कतिपय भागले त्यो क्षमता विकास गर्दै जान्छ । भविष्यको आँकलन गर्नु नितान्त व्यक्तिगत कार्य हो (व्ल्यूमेनफिल्ड, १९९९) । 

 

भविष्यवाणी गर्ने सन्दर्भमा समसामयिक रुझान (ट्रेन्ड), ऐतिहासिक विश्लेषण तथा व्यवस्थित ढङ्गले वैकल्पिक उपायहरुको खोजी गर्नुपर्दछ । यति उच्चतम् गतिमा विकास भइरहेको प्राविधिक विकासलाई व्यवस्थित गर्न सक्ने हो भने यसले आम मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । परापूर्वकाल देखि नै मानिसले भविष्यलाई सधैं आफ्नो काबुमा राख्न खोज्यो वा यसबारे बताउने चेष्टा गर्यो । यस्को फाइदा लिनेमा ज्योतिष शास्त्रीहरु अगाडि देखिए । उनीहरुले पनि ग्रह र तिनको चाललाई आधार मानेर अनुगमन गर्ने भए तापनि वैज्ञानिकहरु ज्योतिषीहरुका तर्कमा विश्वास गर्र्दैनन् । किन कि यी तर्कहरु स्थापित वैज्ञानिक सिद्घान्तहरुमा आधारीत हुने गर्दैनन (हकिङ्ग, २०११) ।

 

भविष्यको अनुमान गर्ने सन्दर्भमा  सन् १५०३ मा लिओनार्डो द भिन्ची र सन् १८६३ मा जुल्स भर्नेलाई स्मरण गर्ने गरिन्छ । लिओनार्डो द भिन्ची चित्रकार, विचारक र परिकल्पनाकार थिए । छ सय वर्षअघि नै उनले प्यारासुट, हेलिकप्टर, हवाई जहाज, ग्लाइडर आदिको चित्र बनाएका थिए । जुल्स भर्नेले सन् १८६३  मा १०० वर्ष पछाडि अर्थात् सन् १९६० मा पेरिसमा सिसाका ठूला घरहरु, एयर कण्डिसनिङ्ग, टिभी, एलिभेटर, दु्रत गतिका ट्रेन, मोटर गाडी, फ्याक्स मेशिन आदि हुने कुरा अनुमान गरेका थिए  (काकू, २०१२) ।  यी दुबै भविष्यबेत्ताहरुले अनुमानका आधारमा मात्र नभई त्यसबेलाका विद्वान तथा वैज्ञानिकहरुसंगको लामो छलफलपश्चात् मात्र बताएका हुन् । बिजुली चम्कनु वा प्लेग रोग लाग्नु भगवानकै कारणले हो भन्ने चिन्तन हावीरहेको त्यसबेलामा यस्ता भविष्यवाणी आउनु अचम्मकै कुरा हो । 

 

भविष्यको सही आंकलन गर्न नसक्दा धेरै संस्थाहरु धारासायी भएका छन् । सन् १८९९ मा अमेरिकाको प्याटेन्ट अफिसका प्रमुख चाल्र्स डुयेलले “जे कुरा आविष्कार गर्न सकिन्थ्यो, त्यो कुरा आविष्कार भइसकेको छ” भन्ने विचार दिए । यो भनाईले उनको बौद्घिकतामा आँच पुर्यायो । सिनेमा जगत्का हस्ति हेर्री वार्नरले सन् १९२७ मा “कुन मानिस त्यस्तो बेवकुफ होला, जो कलाकारले बोलेको सुन्ने चाहान्छ” भनेको केही वर्षमै बोल्ने चलचित्रको विकास भयो । यस्तो होला भन्ने सम्मको हेक्का उनले राख्न सकेनन् । राइट ब्रदर्शले सन् १९०३ मा हवाई जहाजको विकास गरेको एक हप्ता अघि मात्रै टाइम पत्रिकाले समेत उड्ने मेशिनको संभावना नरहेको बताएको थियो (काकु, २०१२) ।

 

भविष्यको अनुमान गर्नभन्दछन् त्यति सहज छैन । तर, भर्ने र भिन्चीले झैं धेरैको परामर्श लिएर यसो गर्न सकिन्छ । काकु (२०१२) भन्छन, “प्रकृतिका नियम’ विपरीत हाम्रा अनुमान जानुहुंदैन” । न्यूटनको गुरुत्वबलको सिद्घान्त, विद्युत चुम्बकीय शक्ति, आणविक शक्ति र यसको सिर्जना अकाट्य कुरा हुन् । विभिन्न वैज्ञानिकहरुले प्रतिपादन गरेका सिध्दान्तहरु अधिकांश अकाट्य नै छन् । यी सिद्घान्तहरु विपरीत गरिने अनुमानहरु सही नहुने संभावना बढी रहन्छ । 

 

नेपालको भविष्यः वैज्ञानिक विश्लेषण
नेपालको अबको भविष्य कस्तो होला ? दोस्रो विश्वयुद्घयता आएका आरोह– अवरोहकै आधारमा भन्दा अबको भविष्य तुलनात्मक रुपमा सहज र सरल हुनेछ । बीस वर्षपछिको नेपाल कस्तो होला ? अवको २० वर्ष अर्थात् वि.स. २०९५ (सन् २०३८) को सुरुको अवस्थामा हामी कहाँ पुगेका होलाउं ? हाम्रो देशको, संस्थाहरुको तथा आम नागरिकको अवस्था कस्तो होला ? यस कार्यमा विज्ञान तथा प्रविधिको भूमिका कस्तो रहला ? ती विविध प्रश्नहरुको जवाफ खोतल्ने प्रयत्न गरिएको छु ।

 

भविष्यको अनुमान गर्न यति सहज छैन, किनकि विश्वमै अहिलेसम्म कुनै पनि व्यक्तिले गरेका भविष्यवाणी सबै नै सही सावित भएको दृष्टान्त पनि छैन । विगतको अवस्था र विद्यमान  रुझानलाई मध्यनजर गरेर यस्ता सम्भावनाहरु व्यक्त गरिन्छ । धेरै संस्थाहरुको रणनीतिक योजना बनाउने कार्यमा म संलग्न भएकोले पनि मलाई भविष्यको परिकल्पना गर्न मन लाग्छ । मैले नियमित रुपमा आफ्नो व्यक्तिगत, पारिवारिक तथा संलग्न संस्थाहरुको योजना बनाउने गरेको छु  र अरुलाई पनि यो कुरा सिकाँउछु । योजना भन्ने बित्तिकै भविष्यकै कुरा आँउछ । मैले त्यही अनुभवलाई राष्ट्रको परिप्रेक्ष्यमा र त्यसमा पनि विज्ञान तथा प्रविधिको नजरले हेर्ने प्रयत्न गरेको छु । भविष्यबारे परिकल्पना गर्न नसक्दा भविष्यमा जे भए पनि हामी खुसी हुनु पर्नेछ । परिकल्पनाले हामीलाई भविष्यप्रति आशावादी बनाउँछ । परिकल्पना धु्रवतारा जस्तै हो, जसले नाभिकहरुलाई समुद्रमा दिशानिर्देश गर्छ । 

 

नेपालकै सन्दर्भमा हेर्ने हो भने विगतको २० वर्ष अत्यन्तै परिवर्तनकारी रह्यो । देशले सयौं वर्ष पुरानो राजतन्त्रलाई नयाँ शासन व्यवस्था मार्फत् विस्थापन गर्यो । सञ्चार, यातायात आदि क्षेत्रमा युगान्तकारी परिवर्तन आयो । अबको २० वर्ष योभन्दा कैयन गुणा बढी परिवर्तनभएको हुनेछ किनकि, परिवर्तन घनात्मकरुपमा नभई गुणात्मक हिसाबले भएको हुनेछ । अहिलेसम्म भएका परिवर्तनमा टेकेर प्रगति हुने भएकोले यसको प्रकृति गुणात्मक हुन्छ । 

 

हामी ठूलाठूला परिकल्पना गर्ने गछौं । यो भविष्यलाई हेर्ने हाम्रो कला हो । यसको पछाडि विज्ञान कथा (साइन्स फिक्सन)  को ठूलो हात हुने गर्छ । विज्ञान कथाले भविष्यको परिकल्पना गर्छ । भविष्य कस्तो होला, यसले हेर्ने गर्छ । यी सबै कुरा पूरा नै हुन्छन भन्ने छैन । विज्ञानमा होस् वा अन्यत्र, ठूला सोच प्राप्तिका निम्ति ठूलो समूह लाग्नुपर्छ, यद्यपि त्यो सोच एउटै व्यक्तिबाट मात्र किन नआओस् । हामी हाम्रो देशको परिकल्पना गरौं र सुन्दर भविष्य निर्माणमा लागि परौं । यहाँ प्रस्तुत गरिएका अनुमानहरु मेरो आफ्नै व्यक्तिगत अनुभव तथा सम्बन्धित विषयबारेका अहिले सम्मका तथ्याङ्कमा आधारीत छन् । भविष्यवाणी गर्नु आफैंमा जोखिमपूर्ण काम हो, तर यहाँ बताइएका कुराहरुको निश्चितताबारे यो लेखक स्पष्ट छ । 

 

समृद्धिका २० वर्ष 
जोन केनेथ गलब्रेथले भनेका छन्, “भविष्यको समाज त्यो हो जस्मा विज्ञान तथा प्रविधिको माध्यमबाट सामाजिक–आर्थिक परिवर्तनहरु हुनेछन्” । अबको २० वर्षमा नेपालीहरु समेत बाह्य अन्तरिक्षको अध्ययन तथा भ्रमणमा अभिरुचि राख्न थाल्नेछन र नजिकैका स्पेस सटलबाट केहीले यात्रा गरिसकेको अवस्था हुनेछ । बजार, व्यवसाय अनलाइन मार्फत ज्यादा चल्नेछ । आफूलाई आवश्यक परे मस्तिष्क  बढाउन सकिने चिप वा स्वस्थ डिएनए समेत अनलाइन बजारमा किन्न सकिने अवस्था हुनेछ । हरेक बस्तु स्मार्ट अवधारणामा आधारित रहनेछ । सहर देखि गाँउ सम्म, हामीले चलाउने गाडी देखि अध्ययन अध्यापनमा प्रयोग गरिने सामग्रीहरु स्मार्ट अवधारणामा आधारित रहनेछन् । नेपाली  जनताले सहजै ७० भन्दा  बढी देशको यात्रा गर्न पाउनेछन । यस्को निम्ति उस्लाई कुनै पनि  बन्देज रहने छैन । हरेक सहरले आफूलाई आवश्यक पर्ने अधिकांश बस्तुहरु आफै उत्पादन गरेको अवस्था हुनेछ । घरघरमा नवीन आविष्कार, विज्ञान तथा प्रविधिबारे छलफल गर्ने प्रचलनको सुरुआत भएको हुनेछ । हरेक व्यक्ति सिर्जनशील भएको अवस्था हुनेछ । 

 

विज्ञान  तथा प्रविधिको क्षेत्रमा यन्त्र, उपकरण आदि बनाउने सन्दर्भमा अत्यन्त सानो स्तरमा प्रयोग गरिने प्रविधि नानो टेक्नोलोजी निकैनै प्रचलनमा आइसकेको हुनेछ । सूक्ष्म परमाणु तहमा पुगेर त्यसलाई प्रविधिको रुपमा विकास गरिने उपाय अर्थात सूक्ष्म प्रविधिबाट बनेका वस्तुहरुको गुण त्यसैको ठूलो रुपकोभन्दा भिन्न हुने गर्छ । सूक्ष्म प्रविधिका तीन मुख्य किसिम अर्थात सूक्ष्म प्रणाली, सूक्ष्म वस्तु तथा सूक्ष्म इलेक्ट्रोनिक्स, यी तीनै क्षेत्रमा यस्को प्रयो्ग भएको हुनेछ । कम्प्यूटर तथा दूरसञ्चार क्षेत्रमा प्रयोग हुने सूक्ष्म चिपहरुका कारण नेपालमा पाईने उपकरण वा सामग्रीहरुको आकार समेत सानो हुंदै जानेछ । 

 

अबको बीस वर्षमा नेपाल समेत आर्थिक रुपमा समृद्ध राष्ट्र भइसकेको हुनेछ । सन् २०१७ मा कार्यान्वयनमा ल्याईएको नेपालको संविधानले भने मुताबिक देश समाजवादतर्फ उन्मुख राष्ट्रका रुपमा विकसीत भइसकेको हुनेछ । जातपात, लिङ्ग, धर्म आदि आदिका आधारमा विकासलाई लिइएकोे अवस्थामा हामी पुगेका हुनेछौं । 

 

कृत्रिम बौद्धिकता
कृत्रिम बौद्घिकताले हाम्रो समाजमा सामान्य उपस्थिति जनाउने छ । देशभरिमा साना ठूला गरी १० हजार वटा कृत्रिम मानवले सेवा पुर्याइरहेको अवस्था हुनेछ । यस्ता कतिपय (करिब २५%) कृत्रिम मानव नेपालभित्रै निर्माण भएका हुनेछ । सहरी क्षेत्रका २० प्रतिशत घरहरुमा कुनै न कुनै किसिमले कृत्रिम मानव वा रोबोटले सहयोग गरेका हुनेछन् । सरसफाई, सुरक्षा आदिमा यस्को प्रयोग बढी हुनेछ । स्वास्थ्य तथा चिकित्साको क्षेत्रमा रोबोटको प्रयोग गरी जटिलतम शल्यक्रिया समेत गर्ने कार्यको थालनी भइसकेको हुनेछ । रोबोटको बढ्दो संख्याका कारण सरकारले रोबोटमा पनि मानिसलाई झैं कर प्रणालीको दायरामा ल्याइसकेको हुनेछ । रोबोटको कामको प्रकृति र उसले दिएको योगदानका आधारमा करको दर निर्धारण गरिएको हुनेछ ।

 

सूचना र सञ्चारमा क्रान्ति
सूचना क्रान्तिले समग्र मानवजीवनमा ठूलो असर पारेको छ । आजभन्दा ३० वर्षअघिसम्म हाम्रो पहुँचमा नभएको इन्टरनेटले अहिले सबैतिर प्रभाव पारेको छ । स्मार्ट फोनको माध्यमबाट आज हामी संसारको कुनै पनि भागमा तुरुन्तै सम्पर्कमा रहन सकेकाछौं । नेपालको सन्दर्भमा सूचना तथा सञ्चारको आगामी २० वर्ष निकै नै रोमञ्चक हुने आशा गर्न सकिन्छ । सूचना प्रविधिमा हुने विश्वव्यापी उपलब्धीको प्रभाव नेपाल आइपुग्न त्यति लामो समय लाग्दैन । विश्वव्यापी प्रभावलाई ग्रहण गर्न सक्ने पूर्वाधार तथा मानवीय स्रोत उपलव्धि भएकोले देशले छोटो समयमै ठूलो फड्को मार्न सक्छ ।

 

आगामी २० वर्षमा हरेक गाउँमा सूचना तथा सञ्चारको क्रान्ति आउनेछ । मानिसहरुले यसबाट प्रत्यक्ष फाइदा लिन थाल्नेछन् । सबैको हातमा स्मार्ट फोन हुनेछ, जसको करिब ३० प्रतिशत अंश नेपालमै एसेम्बल गरिएको वा बनाइएको फोनले लिनेछ । धेरैजसो ग्रामीण विद्यालयहरुमा समेत स्मार्ट प्रविधिको प्रयोग भएको हुनेछ । अनलाइन मार्केटिङ्ग र ई–कमर्श निकै अगाडि बढीसकेको अवस्था हुनेछ । करिब ३० प्रतिशत मानिसहरु अनलाइनबाट सामान किन्न अभ्यस्त भएका हुनेछन् । 

 

आगामी २० वर्षभित्र नेपालमा ड्रनको प्रयोग व्यापक रुपमा भैसकेको हुनेछ । यसको प्रयोग सूचना र सञ्चारका लागि मात्र नभई वातावरण संरक्षण, स्वास्थ्य सुरक्षा आदि विविध क्षेत्रमा समेत व्यापक रुपमा हुनेछ । सामान्य व्यक्तिले समेत यसको निर्माण सहज ढङ्गले गर्न सक्नेछन् । ५० किलोग्रामसम्म बोक्न सक्ने केही ठूला ड्रन निर्माणका लागि हरेक प्रदेशमा एक– एक वटा कम्पनी खुलिसकेको अवस्था हुनेछ ।  सरकारले ड्रनको प्रयोगका निम्ति कानून तर्जुमा गरिसकेको हुनेछ, जुन अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा नियन्त्रण हुँदाहुँदै देशको विशिष्ट भू–भौतिकी तथा आवश्यकताका आधारमा निकै नै लचिलो हुनेछ । 

 

बीसवर्ष भित्रै स्मार्ट फोनको स्वरुपमा परिवर्तन भई यो सामान्य रिङ्ग वा कलमको रुपमा आउने छ । स्वीच अन गर्ने बित्तिकै इलेक्ट्रोनिक पर्दा बाहिर निक्लिने छ । सन् १९८८ मा प्रख्यात विज्ञान कथा लेखक आइज्याक आशिमोभले भविष्यमा घरमै बसी स्कूल–कलेजको शिक्षा लिन सकिने बताएका थिए । यो कुरा आउँदो २० वर्षमा नेपालमा पनि सामान्य हुनेछ । शहरी विद्यालयमा तथा कलेजमा स्तरीय ई–लाइब्रेरीको स्थापना हुने मात्र होइन, समयमै किताब नपुग्ने समस्याबाट देश पूर्णतः मुक्त भएको हुनेछ । किनकि त्यसबेला कृत्रिम वास्तविकता (भच्र्यूयल रिआलिटि) तथा इलेक्ट्रोनिक किताबहरु बढी प्रयोगमा आउनेछन् । ३–डी प्रिन्टिङ्गको प्रयोग व्यापकरुपमा हुनेछ । घर, सडक आदिको निर्माणमा समेत यसको प्रयोग भएको हुनेछ । आइन्स्टाइन जब सापेक्षवादको सिद्घान्त दिंदै थिए उनले जिपिएसको बारेमा सोचेनन् । उनलाई त्यो आवश्यक परेन । तर, अबको २० वर्षमा हाम्रो जीवनमा जिपिएस (ग्लोबल पोजिशनिङ्ग सिष्टम) अपरिहार्य बनेको अवस्था हुनेछ ।  

 

जनशक्ति विकास
आउँदो २० वर्षमा नेपालका करिब ८८% जनताहरु साक्षर हुनेछन, जसमध्ये ४०% कुनै एक सीपमा पोख्त हुनेछन् । कूल जनसंख्याको २५% देशबाहिर विभिन्न काममा संलग्न भएका हुनेछन् । देशको २०% आय विप्रेशणका रुपमा देशमा भित्रिने छ । ४०% व्यक्तिहरु स्व–रोजगार भई कुनै न कुनै व्यवसायमा संलग्न हुनेछन् । तीस वटा विश्वविद्यालयहरु स्थापना भइसकेको यस बेलामा ३० वटा मेडिकल कलेजको स्थापना भइसकेको हुनेछ ।

 

अबको २० वर्षमा नेपालीहरुको  वार्षिक सरदर आय १२ हजार अमेरिकी डलर हुनेछ जुन विश्वका ४० % मुलुकहरुभन्दा राम्रो मानिनेछ । मानवीय विकास सूचाङ्कमा नेपाल ७५ औं स्थानमा आइपुग्नेछ, जुन आधाभन्दा बढी मुलुकहरुभन्दा राम्रो मानिनेछ । गरिबीको रेखामुनि रहेको जनसंख्या ५ प्रतिशत भन्दा कम हुनेछ । 

 

पूर्वाधारको विकास 
बीस वर्षपछिको नेपालमा पूर्वाधारको राम्रो विकास भइसकेको हुनेछ । १ लाख कि.मी. भन्दा बढी कालोपत्रे सडक भइसकेको हुनेछ, जुन ५ सय कि.मी. भन्दा बढी सुरुङ हुंदै छिर्नेछ । अधिकांश सदरमुकाम जोडिने मार्गहरु चार लेनका हुनेछन् भने दुइ हजार किलोमिटर रेलमार्ग हुनेछ । नेपालका बीस ठाँउमा करिब १३० किलोमिटर केवल कारको व्यवस्था हुनेछ । सहरी क्षेत्रमा ४०० किलोमिटर मोनोरेल वा यस्तै वैकल्पिक यातायातले टेवा पुर्याएको हुनेछ । एक– दुईवटा एयर– टेक्सीहरु काठमाडौं तथा पोखरामा सेवा दिन थाल्नेछन् । दु्रत गतिमा यात्रा गर्ने मनसायले हाइपर लुप (पाइप भित्र कम वायु चाप पैदा गरी द्रुत गतिको यातायात व्यवस्था) को स्थापनामा समेत जोड दिन थालिनेछ । तर, यसको पहिलो प्रवेश भने करिब ३०० किलोमिटरको यात्राका लागि बीस वर्ष पछि मात्र सुरु गरिनेछ । नेपाली माटोमा चालकरहित कारले भने अबको १५ वर्षमा टेकिसक्नेछ तर, यसको प्रभावकारिता भने ४० वर्षपछि मात्र हुनेछ । अबको बीस वर्षमा ७० प्रतिशत् भन्दा बढी सार्वजनिक यातायात नविकरणीय ऊर्जा स्रोतमा आधारित रहनेछन । बीस वर्ष पछि प्रदूषणजन्य यातायातका साधनहरु करिब ६० प्रतिशत् विस्थापित भइसकेका हुनेछन् । २५ हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन भइसकेको त्यस बेलामा उत्पादनको करिब ५० प्रतिशत देशभित्रै खपत भएको हुनेछ । ऊर्जाको सानो मात्रा सौर्य र जैविक स्रोतबाट निकालिएको हुनेछ । कृषिमा आधारीत उद्योगहरुको बाहुल्यता रहने यस समयमा सेवा उद्योगहरुको उच्चतम विकास भएको हुनेछ ।

 

विज्ञान, प्रविधि तथा इन्नोभेसन 
बीस वर्षपछिको नेपालमा विज्ञान–प्रविधिको लोकप्रियतामा केही वृद्धि भएको हुनेछ । यसबारे धेरै मानिसहरु सचेत भएका हुनेछन् । विज्ञान–प्रविधिलाई नजरअन्दाज गर्ने र यसको महत्वलाई नबुझ्ने नेता तथा अन्य व्यक्तिहरु सामाजिक रुपमा समेत बहिस्कृत भएका हुनेछन् । चिनिया तथा भारतीयहरुको स्पेस मिसन मार्फत् केही नेपालीहरुले चन्द्रमामा अवतरण गरेका हुनेछन् भने अर्को एक दुइ जनाले मङ्गल ग्रहतर्फको यात्रामा सहभागी हुने मौका पाएका हुनेछन् । इन्नोभेसनले मान्यता पाएको हुनेछ । युवाहरु स्थानीय ठाउँ सुहाउँदा तथा मस्तिष्कमा आएका विचारहरुलाई बाहिर उतार्न उद्यत रहनेछन् ।

 

विज्ञान, प्रविधि र नवीन आविष्कारको विकास दिगो विकासका निम्ति अपरिहार्य मानिनेछ । दिगो विकासको बाटो भन्नाले भविष्यको सन्ततिलाई ख्याल गर्दै गरिने विकासको अभियान हो । मानव विकासको निम्ति पनि यसको त्यत्तिकै महत्व मानिनेछ । आर्थिक वृद्घिको लागि विज्ञान, प्रविधि तथा नवीन आविष्कारमा लगानीले प्राथमिकता पाएको हुनेछ  । 

 

अबको २० वर्ष अर्थात् सन् २०३८ मा नेपालको जनसंख्या ४ करोड पुग्ने छ । करिब ७० प्रतिशत जनसंख्या सहरी क्षेत्रमा बसोबास गरिरहेका हुनेछन् । त्यसबेला हाम्रो औसत आयु ८६ वर्ष पुगेको हुनेछ  । अहिले भइरहेका कामहरुमध्ये करिब २५ प्रतिशत् त्यसबेला अनावश्यक मानिनेछन् । एच.आई.भी.÷एड्स, क्यान्सर रोगहरु करिब करिब सामान्य औषधिले नै निको हुने अवस्था त्यसबेला  भएको हुनेछ । त्यसबेला हामी नेपालको पूर्व–पश्चिमको यात्रा करिब ४ घण्टामा पूरा गर्न सक्नेछौं । नेपाली आकासमा ससाना हवाइजहाजहरु करिब ३ सयको संख्यामा प्रयोग भएको अवस्थामा हुनेछन् । यस्ता केही हवाइजहाजहरु नेपालमै एसेम्बल गरिएको हुनेछ । नेपालका करिब २० वटा सहरहरु पूर्ण रुपमा स्मार्ट सिटीको अवधारणाबाट सञ्चालन भएको अवस्थामा पुगेका हुनेछन् । राजनीतिमा युवा तथा शिक्षित पुस्ताको पँहुच बढेको अवस्था हुनेछ । 

 

इन्टरनेटको अवस्था अत्यन्त प्रभावकारी भइसकेको त्यस बेलामा हामी धेरै काम टाढैबाट समेत गर्न सक्नेछौं । देशका करिब ५० प्रतिशत जनताले अन्तर्राष्ट्रिय स्तरको जीवनशैली नेपालमै अनुभूति गर्न सकेको अवस्था हुनेछ । नेपालीहरुका निम्ति त्यसबेला चीन तथा भारतको यात्रा अत्यन्त सहज भएको अवस्था हुनेछ । दुबै देशसंगको सहजताले अन्तर्राष्ट्रिय यात्रामा समेत सहजता प्राप्त हुनेछ । नेपालबाट अमेरिकाको न्यूयोर्क १२ घण्टाको हवाई यात्रामा पुग्न सकिने अवस्था त्यसबेला भइसकेको हुनेछ ।
९लेखक विज्ञान तथा वातावरणका क्षेत्रमा कलम चलाउनु हुन्छ०।