काठमाडौँ, अनलाइन बहस, चैत २७ ।
मदन भण्डारी फाउण्डेसनको आयोजनामा आइतबार एउटा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी फाउण्डेसन, जनताको बहुदलीय जनवाद अध्ययन अनुसन्धान विभागका संयोजक महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा आइतबार यस्तो कार्यक्रम सम्पन्न भएको हो ।
यस वर्षदेखि मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक अध्ययनका लागि उपयोगी हुने गरी अंग्रेजी भाषामा जर्नल प्रकाशन गर्ने निर्णय कार्यान्वयनका लागि यस्तो अन्तक्रिया गरिएको हो । यस सन्दर्भमा फाउण्डेशनले बौद्धिक व्यक्तित्वहरूबिच अन्तर्क्रिया गरिरहेको छ । प्रकाशनलाई पठनीय बनाउन र फाउण्डेशनको उद्देश्य अनुरुप जनताको बहुदलीय जनवाद(जबज)सँग सम्बन्धित विषयलाई जोड्नका लागि कार्यक्रम यस्तो कार्यक्रम भइरहेको कुरा मदन भण्डारी फाउण्डेसनका सचिवालय सदस्य तथा सञ्चार विभाग प्रमुख घनश्याम कोइरालाले जानकारी गराउनु भयो । आजको अन्तक्र्रियामा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा.डा. शिवराज अधिकारीले जनताको बहुदलीय जनवादको आर्थिक दृष्टिकोण, त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्दीय विभागका प्रमुख प्र.डा. युवराज लुइटेलले सामाजिक विश्लेषण तथा रूपान्तरणमा जबजको दृष्टिकोण एवं त्रिभुवन विश्वविद्यालय, कुटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रीय विभागका प्रा.डा. खड्ग केसीले कुटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा जबजका मान्यताका विषयमा प्रस्तुत गर्नुभएको थियो ।
यसअघि मदन भण्डारीका काव्यिक-साहित्यिक दृष्टिकोण, जबजका दृष्टिमा सञ्चार विषयमा विज्ञहरूको प्रस्तुति भइसकेको छ भने केही विषयहरूमा थप अन्तर्क्रिया गरिने योजना रहेको छ ।