images
images

पीएचडी अध्ययनका भ्रमहरु

हालै एक अनलाईन मिडियामा क्याम्व्रिजबाट अध्ययन गरेर आएपछि समकक्षता लिन आफूले पाएको पीडाबारे एकजना सोधार्थीले विस्तारमा बताएकी थिइन । अको एक मिडियामा केही समय अघि पीएचडी बारे भ्रामक लेख छापिएको थियो । यी दुवै घटनाले मेरो ध्यान त्यसतर्फ आकृष्ट गर्यो । जिम्मा लिएर बसेकाहरुले काम नगर्दा वा विवेक प्रयोग नगर्दा सेवाग्राहीले कतिसम्म दुख पाउन सक्छन भन्ने यी दृष्टान्त थिए । 

 

समाजमा नयाँ कुराहरु प्रवेश गर्दा धेरैलाई त्यसले असहज मात्र बनाउदैन, कतिपयलाई त्यसको बिरोध गरेर दुनु सोज्याउने बाटो बन्छ । ‘कुरा नबुझी लेख्नु वा विषयलाई बङ्ग्याएर खराब सूचना प्रवाह गर्नु पत्रकारिताको नियतिनै बनेको छ । २–४ कक्षा पढेर पत्रकार बनेकाहरु समेतले पीएचडी  कार्यक्रम बारे गरेको सो टिप्पणी आफैंमा हास्यासपद थियो । उक्त पत्रकारले पीएचडीबारे भ्रम सिर्जना गर्दै केही संस्थाहरुको बदनाम गर्न मात्रै खोजेनन्, वास्तवमै गलत काम गर्ने केही अन्य विश्वविद्यालयको नाम समेत लेखेनन् । यसबाट उनी ती संस्थाहरुको प्रयोजनमा प्रस्तुत भएको प्रष्ट बुझिन्छ । त्रिविवि, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्घ विश्व विद्यालयले कसरी हचुवाको भरमा पीएचडी प्रदान गर्छ भन्ने कुराको उसलाई हेक्का समेत रहेन । नेपालबाट सो उपाधी लिदैमा राम्रो, अन्यत्र भए खराब भन्ने उसको मनस्थितिले कतिपयलाई आफ्नो दुनो सोज्याउन सहयोग पुऱ्यायो । 

 

आम सञ्चारमा आएको खुल्ला नीति र सामाजिक सञ्जालको दूरुपयोगका कारण हाम्रो समाजमा विकृत सोचको क्रम बढ्दो छ । विषयको गम्भिरतामै नपुगी केही व्यक्तिहरुले त्यस्लाई ‘सेयर’ समेत गरे । कतिपयलाई त्यस्मा सहमति पनि जनाए । समाजमा गलत कुरालाई नबुझी प्रवध्र्दन गर्दै जाँदा विकृति बढ्ने गर्छ । त्यस्को शिकार स्वयम हामी नै बन्दै जान्छौं । पत्रकारिताबाटै आफ्नो छवी बनाउन सकेका रविको ‘१२ भाई’ प्रतिको टिप्पणीले पत्रकारिताको नाममा कति जधन्य अपराध हुन सक्छन भन्ने कुरा पुष्टि हुन्छ । यस्को अर्थ सामाजिक सञ्जालको गलत प्रयोजनले सामान्य नागरिक मात्रै होइन, समग्र राज्य व्यवस्थानै धरापमा पर्छ । गलत मनिसहरु शासक समेत बन्न पुग्छन । 

 

एक अनुसन्धानदाता यस्ता खबरहरु हेरेर आफू दिक्क भएको बताउंँछन । पीएचडी अध्ययन स्व–अध्ययनमा आधारित भएकोले यस्लाई अन्य तहसंग दाँज्न नहुने उनी बताउंछन । आफूले उक्त अध्ययन पुरा गरिसकेपछि अरुले नगरोस भन्ने मनाशय धेरैको हुने गर्छ । विशेष गरी त्रिविविमा कार्यरत शिक्षकहरु यसबारेको सूचना अरुलाई दिंदा भोली आफैं संग प्रतिस्पर्धा हुने डरले, यसबारेको सूचना प्रवाह नगर्ने मात्र होइन, समाजमा गलत भ्रम फैलाउनमा उद्त छन् । किन नेपालमा पीएचडी अध्ययन अघि बढ्न सकेन, कमैले सोच्ने गर्छन । हाम्रो जस्तो जनसंख्या भएको देशमा यो संख्या न्यूनतम ५० हजार हुनु स्वभाविक हो, तर अझै सम्म यो संख्या ३ हजारको हाराहारीमा हुनुले कतै हाम्रो मनस्थिति चन्द्र शमशेरले दरवार हाईस्कूल खोले पछि “आज मैले आफ्नै खुट्टामा बञ्चरोले हाने” भने जस्तो त होइन ! 

 

पीएचडी अध्ययन अन्य तह झैं व्यवस्थित तथा स्तरीय हुनु पर्छ । शैक्षिक क्षेत्रमा ठूलो योगदान दिइरहेका व्यक्तिहरुबाट सञ्चालित यस्ता अध्ययन केन्द्रहरुको खण्डन गरेर हामी आफूलाई के पुष्टि गर्न खोज्छौ ? शिक्षाको नाममा माफिया तन्त्रको विरोध गर्ने, त्यस तर्फ गहन अनुसन्धान गर्नु तथा अध्ययनका लागि सहजकर्ताको भूमिका निर्वाह गर्नु के गलत हो ? नेपालमा गुणस्तरीय पीएचडी अध्ययनको औचित्यलाई उजागर गर्दै यसबारेको अध्ययनलाई प्रवद्र्धन गर्दै अघि बढ्नु अहिलेको आवश्यकता हो । यसबारे सबैको ध्यान जानु आवश्यक छ । 

 

नयाँ उपकुलपती आए यता सयौं दिन उन्को कार्यालयमा ताला लगाए तापनि, २–२ वर्ष सम्म नतिजा प्रकाशित नंहुदा पनि वा वर्षौं सम्म पाठ्यक्रम परिमार्जित नगर्दा पनि के हामी त्रिभूवन विश्वविद्यालयलाई नजर अन्दाज गर्न सक्र्छौ ? त्रिविविकै पूर्व उपकूलपतीले अरुको नक्कल गरेर लेख छापे वा त्यहींका प्राध्यापकहरुले गरेको अनुसन्धान कसैको पूरै नक्कल थियो भन्दैमा के हामी त्रिविविलाई विश्वविद्यालय नै होइन वा त्यस्ताले पढाएका सवै विद्यार्थीहरु गलत हुन भन्न सक्छौं ?  विश्वभरी भएका अन्य हजारौं–लाखौं विश्वविद्यालय बारे के त्रिविवि लाई जानकारी छ ? हल्लाको भरमा वा पीत पत्रकारिताको आधारमा के हामी कुनै विश्वविद्यालयका उत्पादनलाई मानहानी गर्न सक्छौ ?

 

त्रिविविको पाठ्यक्रम विकास केन्द्रले केही विश्व विद्यालयका पीएचडीलाई समकक्षता दिन रोक्नु अघि के त्रिविविले आफ्नै उत्पादनको अवस्था बुझेको छ ? महेन्द्र संस्कृत विश्व विद्यालय र लुम्विनी विश्व विद्यालयबाट पीएचडी गर्नेहरुको अवस्था बुझेको छ ? नेपालमा धेरै कलेजहरु खोले तापनि आफ्नै देश मलेशियामा अत्यन्तै कमजोर मानिने लिङ्कन विश्वविद्यालयको अवस्था बुझेको छ ? सतही आधारमा एकाध विश्वविद्यालयलाई औला ठ्डयाएर के हामी पीएचडीको गुणस्तर सुधार्न सक्छौं ? पाठ्यक्रम विकास केन्द्रको  उक्त परिपत्र हेरेर कतिपय “बौद्घिक” व्यक्तिहरु अत्यन्त हर्षित भए भने, कतिपय अबको प्रोममाशन आफूलाई  केही सहज हुनेमा मख्ख परे  । तर के यो उपयुक्त प्रक्रिया हो भन्ने बारेमा कसैले प्रश्न गरे ? 

 

पीएचडीको गुणस्तर पत्ता लगाउन अत्यन्तै सरल तरिका छ । पीएचडी गरिसकेको व्यक्तिले आफूले  तयार गरेको थेसिस प्रकाशन गर्छ वा सजिलै कसैलाई प्रदान गर्न सक्छ भने उस्को आफूले गरेको छ भन्ने बुझ्नु पर्छ । ख्याल रहोस,  अझै पनि आधा भन्दा बढी नेपाली पीएचडी होल्डरहरु आफूले तयार गरेको थेसिस अरुलाई देखाउने साहास गर्दैनन् । यसबाट हामी के पुष्टि गर्न सक्छौं ? पीएचडी अध्ययनको गुणस्तर सुधार गर्न  निम्नि कार्यहरु गर्नु उपयुक्त हुन्छः 
१. कुनै पनि विश्व विद्यालय (त्रिविविनै किन नहोस्) बाट पीएचडी गरिसकेपछि समकक्षता लिनु अघि कुनै स्वतन्त्र आयोग मार्फत स्विकृत हुनु सान्दर्भिक देखिन्छ । यस्तो स्वतन्त्र निकाय शिक्षा मन्त्रालय अन्तर्गत भए त्रिविविलाई यसबाट बोझ कम मात्रै पर्ने होइन कि नेपालका सवै विश्वविद्यालयमाथि यस्को दम्भ पनि कम हुन सक्छ । 
२. पीएचडी अध्ययन आफैंमा खुल्ला अध्ययन हो । सोधकर्तालाई सहज ढङ्गले सोध गर्न पाउने व्यवस्था हुनुपर्छ । अनावश्यक नियममा उनीहरुलाई नबाधी सबैलाई समान व्यवहार गर्नु पर्छ । 
३. विश्वविद्यालय अनुदान आयोगले कतिपय विश्व विद्यालयको नामै किटेर त्यहाँ अध्ययन गर्ने सोधार्थीहरुलाई सहयोग नगर्ने गरेको पाइएको छ । यस्तो कार्यलाई निरुत्साहित गर्नु आवश्यक छ ।
४. समकक्षता वा अनुदान सहयोगका सवालमा विद्यमान नीति नियम भन्दा माथि उठी व्यक्तिगत धारणाका आधारमा सोधार्थीहरुलाई निरुत्साहित गर्ने गरिएको पाइएको छ । यस्ता कार्यहरु त्रिविवि तथा विश्वविद्यालय अनुदान आयोगले तुरुन्तै रोक्नु पर्छ । कसैलाई काखा, कसैलाई पाखा गर्ने अधिकार कसैलाई छैन । विद्यमान नियम कानून भन्दा माथि उठेर निर्णय गर्ने अधिकार कुनै पनि पदाधिकरीलाईं हुंदैन ।

५.गलत निर्णयका आधारमा कसैलाई पीडित बनाइएकोमा यस्का कानूनी प्रावधानहरु के कस्ता छन, सम्वन्धित निकाय वा व्यक्तिहरुले खोजी गर्नु जरुरी छ ।
६. विदेशका अधिकांश विश्वविद्यालयहरुले पीएचडी गर्न एमफिललाई पूर्व शर्त मान्न छोडेका छन् । पीएचडी कार्यक्रमको पहिलो वर्षमै एमफिलको पाठ्यक्रम समाहित गरि अघि बढाउदा यो झन प्रभावकारी हुने देखिन्छ । 
७. नेपालकै जति जनसंख्या भएको देश मलेशियाले वार्षिक ६ हजार पीएचडी होल्डर विकास गरिरहेको विद्यमान अवस्थामा हामीले  वार्षिक रुपमा न्यूनतम १ हजार पीएचडी होल्डरको विकास गर्ने लक्ष्य राख्नु पर्छ । यस्को निम्ति त्रिवि तथा शिक्षाका उच्च पदाधिकारी तथा सम्वद्ध व्यक्तिहरुको मानसिकतामा परिवर्तन हुनु आवश्यक छ । पीएचडी आकासको फल होइन । शिक्षालाई अनुसन्धामूलक बनाउन वा समग्र राष्ट्रमै अनुसन्धानको वातावरण सिर्जना गर्ने एउटा प्रक्रिया हो । जिम्मेवार निकायबाट सकारात्मक सोच राखिएको भए नेपालमा हाल यो संख्या न्यूनतम ५० हजार बराबर हुने थियो । यस्तो अवस्था भएको भए हाम्रो देशको शैक्षिक तथा आर्थिक अवस्थामा ठूलो टेवा पुग्ने थियो । हचुवाका भरमा आयोजनाको थालनी गर्दै सामान्य तथ्यको महत्व नबुझी गलत निर्णय गर्ने, विद्याथीहरुलाई अनुसन्धानमुखी बनाउन नसक्ने तथा सामृध्दिका हाम्रो परिकल्पनाहरुको चरितार्थ गर्न वास्तविकता बुझ्न नसक्ने जस्ता सामान्य कमजोरीहरु हाम्रो समाजमा देखिने थिएनन्। 
८. हरेक स्थानीय तहले वर्षेनी न्यूनतम ५ जना पीएचडी सोधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने परिपाटिको विकास गर्नु पर्छ । पीएचडी तहको अनुसन्धानबाट नव प्रवर्तन (इन्नोभेसन) मा सघाउ पुग्छ । यसरी सहयोग पाउने सोधार्थीहरुलाई स्थानीय क्षेत्रको विकासमा संलग्न गराउनु पर्छ। 
९. त्रिविवि वा नेपालका एकाध विश्व विद्यालयले मात्रै पीएचडी कार्यक्रम प्रभावकारी  ढङ्गले सञ्चालन गर्न सक्ने क्षमता राख्दैनन् । यस्को निम्ति निजी क्षेत्रलाई समेत् प्रवर्धन गर्नु आवश्यक छ । 
१०. विदेशका विश्वविद्यालयसंग मिलि आफै देशमा अध्ययन गर्न मिल्ने अवस्था ‘स्प्लिट’ प्रकृतिका पीएचडी कार्यक्रम प्रवद्र्धन गर्दा स्थानीय क्षेत्रका समस्याहरुको  समाधान गर्न टेवा पुग्नुका साथै कम लागतमा यो अध्ययन पूरा गर्न सकिन्छ । यस खालको अध्ययनमा सघाउ पु्याउने संस्थाहरुलाई हेयको दृष्टिले नहेरी उनीहरुले पुऱ्याएको योगदानको कदर गर्न सक्नु पर्छ । 
११. ‘आफूले जानेपछि  अर्कोले नजानोस’ वा ‘आफूले गरेपछि अर्कोले नगरोस्’ भन्ने संकिर्ण सोचबाट विशेष गरी अध्ययन अध्यापनमा लागेका व्यक्तिहरु मुक्त हुनु पर्छ । ज्ञान जति बँंडियो त्यति आफैलाई मात्रै नभई समग्र राष्ट्रकै लागि राम्रो हुन्छ भन्ने सोच राख्नु पर्छ । 

 

पीएचडी गर्ने भनेको आफूलाई परीक्षण गर्ने विधि पनि हो । आफूले खोजेको सत्य प्राप्त नगरुन्जेल यो जारी रहन सक्छ । पीएचडी कसरी गरियो, घरमा  गरियो वा जङ्गलमा, काठमाडौंमा वा दरभङ्गामा भन्ने कुराले कुनै माने राख्दैन । पीएचडी गर्ने सन्दर्भमा कुन प्रक्रिया अपनाइयो, के कस्ता रचनाहरु प्रकाशन गरियो, कति ठांउमा आफ्ना विचार प्रस्तुत गरियो, कति ठाँउमा सहकार्य गरियो आदि कुराहरुले यसमा महत्व राख्दछन । नेपाल वा भारतमा मात्रै होइन, अमेरिका वा अष्ट्रेलियामा पनि कोठे विश्वविद्यालयहरु छन् । ‘मैले पीएडी गर्दा यसो यसो गरें आउनुस् मेरो कुरा सुन्नुहोस’ भन्नुनै पीचडीको विश्वसनीयता जाँच्ने मूलकसी हो । यस्तो कुरा सुन्न  सक्ने स्वतन्त्र  निकाय के हामी स्थापना गर्न सक्दैनौं  ? अन्यथा व्यक्ति विशेषलाई पछाडी धकेल्न वा आफ्नो पद र संस्थाको दम्भता देखाउने खालका निर्णयहरु गर्न सम्वन्धित निकायले तुरुन्त बन्द गर्नु पर्छ । मैले गरेको ठीक अरुको गलत भन्ने सोच कसैले पनि राख्नु हुँदैन । शिक्षाको विकासमा टेवा नपुर्याउने कार्यहरुलाई प्रश्रय दिनु हुंदैन । 
                                                      अनलाईन बहसका नियमित लेखक डा. तिम्सिना त्रिविविका पूर्व प्राध्यापक हुनुहुन्छ ।