दक्षिण एसिया विगत लामो समयदेखि सामाजिक विखण्डनको चपेटामा पर्दैआएको छ । यो विखण्डन कहिले उग्रधार्मिक, कहिले उग्रजातिवादी त कहिले पृथकतावादी भएर देखा पर्दैआएको छ । यहाँ सामाजमा विभिन्नताका धेरै रेखाहरू कोरिएका देखिन्छन् । परिस्थिति अनुसार तिनीहरूले पनि टकरावको रूप लिने गर्दछन् । राज्यहरूको अकर्मण्यताका कारण यस्ता समुहगत टकरावहरू पछिल्ला वर्षहरूमा झन् जटिल बन्दैआएको देखिन्छ । यो समस्या आन्तरिक मात्र नभएर यदाकदा देशहरूलाई अस्थिर बनाउन खोज्ने बाहिरियाहरूको रणनीतिक अस्त्रका रूपमा पनि प्रयोग हुँदै आएको छ । आन्तरिक रूपमा पनि राजनीतिक दलहरूले आफ्ना स्वार्थ अनुकूल यस्ता समस्याहरूलाई प्रयोग मात्र गर्ने दुष्प्रयास गरेको पनि देखिन्छ, जबकि यसको निदान राजनीतिबाट नै खोजिन पर्ने हो । फलस्वरूप सबैजसो दक्षिण एसियाली देशहरू यो समस्यासँग संघर्षरत छन् ।
यस्ता समुहगत मानसिकताहरूले अस्वस्थकर रूप लिँदा समाजमा नकारात्मक स्थिति उत्पन्न हुने गर्दछ, जसले देशलाई नै अशान्तिको बाटोतिर लैजाने खतरा रहन्छ । समाजमा घटित हुने घटनाहरूलाई न्यायिक निरूपणभन्दा आफ्नो समुहको पक्षमा सोच्ने उग्रता हाबी हुने हुँदा डरलाग्दो सामाजिक जटिलता उत्पन्न हुने गरेको देखिन्छ । यसले प्रकारान्तरमा देशहरूलाई नै नोक्सान पु¥याउँदै आएको देखिन्छ । दक्षिण एसियाका सबैजसो देशहरूमा देखिने सामाजिक समस्याको मूल कारण भनेको यही नै हो । सामाजिक भिन्नतालाई समयमा नै सम्बोधन गर्न राज्यहरू असफल रहँदै आएको हुनाले नै यो जटिल अवस्था उत्पन्न हुने अवस्था पनि अर्को कारण हो ।
यस क्षेत्रमा अंग्रेजी उपनिवेशवादको आगमनपूर्व राज्य विस्तारका क्रममा भएका हिंसालाई छोडेर हेर्दा सामाजिक टकरावमा ठुलो संख्यामा सर्वसाधरणहरूले ज्यान गुमाउँदै आएका छन् । दोस्रो विश्वयुद्धपछि यस क्षेत्रमा प्रायः स्थिर सिमानाहरू भएका आधुनिक राष्ट्रहरू देखा पर्न थालेका हुन् । यस क्रममा पुरानो नेपाल र पछिको अफगानिस्तान जस्ता देशले भने आफ्ना सिमानाहरूको फैलाव र संकुचनका बावजुद अस्तित्व बचाउन सकेका छन् । तथ्यभन्दा भावावेगमा प्रकट हुने यस्ता अन्तर्संघर्षहरूले कुनै दीर्घकालीन समाधान भेटाउन सकेका भने देखिँदैनन् । विश्वयुद्ध यताका राष्ट्रहरूमा बेलायती संसदीय लोकतन्त्रको अनुकरण गर्न थालिएपछि यस्ता अन्तर्संघर्षहरूलाई भोटबैंकका रूपमा प्रयोग गर्ने राजनीतिक स्वार्थहरूले दीर्घकालीन समाधानभन्दा क्षणिक रूपमा उपयोग गर्दैआएका हुनाले समस्या समाधान हुन नसकेको धेरै विज्ञहरूको बुझाइ रहँदै आएको छ । सामाजिक भेदभाव, पछौटेपन, गरीबी र कुशासनले गर्दा सहज बन्न नसकेको जनजीवनले गर्दा उत्पन्न नैराश्यले पनि यस्तो समस्या उत्पन्न भएको पनि भन्ने गरिन्छ ।
दक्षिण एसिया भन्नाले वर्तमानमा हिमालयभन्दा दक्षिणतिरको भूभागलाई बुझिन्छ । हाल यो भूखण्डमा भारत, नेपाल, पाकिस्तान, भुटान, बांग्लादेश, श्रीलंका, अफगानिस्तान र मालदिव्स जस्ता देशहरू रहेका छन् । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार सन् २०२३ जुनसम्ममा दक्षिण एसियाको जनसंख्या साढे दुई खर्बभन्दा बढी छ । विश्वको कुल जनसंख्याको करिब २४.८९ प्रतिशत हिस्सा दक्षिण एसियाको छ । यसरी हेर्दा यो क्षेत्र मानव श्रमका दृष्टिले सम्पन्न देखिन्छ । श्रमयोग्य उमेर समुह भएका मानिसहरूको संख्या यहाँ अन्यत्रभन्दा धेरै छ । त्यसैले विश्वका सबैजसो क्षेत्रमा यहाँका मानिसहरू रोजगारीका लागि पुगेका छन् । श्रमलाई स्वदेशमा खपत गर्ने अवस्था नभएकोले पनि बेरोजगारी यहाँको समस्या रहँदै आएको छ । त्यसैले श्रम पलायन यहाँको ठुलो समस्या रहँदै आएको छ । परापूर्वकालदेखि नै प्राकृतिक स्रोत—साधनमा सम्पन्न यो क्षेत्रमा विभिन्न समयमा भिन्न समुहका मानिसहरूको आगमन भएको देखिन्छ । समय बित्दै जाँदा हालसम्म तीमध्ये कतिपय साना र कमजोर समुहहरू ठुला समुहहरूमा स्वैच्छिक वा वाध्यात्मक रूपमा समाहित भइसकेका छन् । यो प्रक्रिया हजारौं वर्ष पहिलादेखि नै चलिरहेको छ ।
उपनिवेशकाल वा त्यसभन्दा पूर्व शक्तिका भरमा राज्यहरूका सिमानाहरू फैलिने र संकुचित हुने प्रक्रिया चलिरहन्थ्यो । यस प्रक्रियामा कतिपय कमजोर राज्यहरू लोप हुने, नयाँ बन्ने र शक्तिशाली राज्यले आफ्नो अस्तित्व कायम राख्ने पनि हुन्थ्यो । यस्तै अन्तरसंघर्षहरूले कालन्तरमा यस क्षेत्रमा एउटा साझा संस्कृति र संस्कारको विकास हँुदै आएको देखिन्छ । सम्मिलनको यस प्रक्रियाका बावजुद भिन्नताका निशानीहरू आज पनि टकरावका रूपमा प्रकट हुने गरेको देखिन्छ । जेसुकै भए पनि यस संस्कृतिलाई विविधतायुक्त समाज भनेर गौरवका साथ चित्रित गर्ने काम पनि हुँदैआएको छ ।
भारत यो क्षेत्रको सबैभन्दा ठुलो र शक्तिशाली देश पनि हो । बेलायतबाट आएका अंग्रेजहरूले सन् १७५७ देखि भारत भूमिमा झण्डै २०० वर्ष प्रत्यक्ष शासन गरे । वर्तमान भारतको आकार उनीहरूले नै बनाएका हुन् । उपस्थितिका हिसाबले अंग्रेजहरू झण्डै चार सय वर्ष यो भूमिमा रहे । अहिलेको भारत, पाकिस्तान, बांग्लादेश, श्रीलंका अंग्रेजहरूबाट मुक्त भएपछि बनेका देशहरू हुन् । यी देशहरूमा अहिले साम्प्रदायिक समस्याले उग्ररूप लिँदै आएको देखिन्छ । भारत यो समस्याबाट बढी पीडित छ । हिन्दु र मुसलमानबिचको धार्मिक टकरावबाट मात्र भारत पीडित छैन, जाति र क्षेत्रका हिसाबले प्रकट हुने असन्तोष पनि त्यहाँ भुसको आगोझैँ सल्किरहेको देखिन्छ ।
भारतबाट अंग्रेजहरू फर्किन लाग्दा त्यहाँ हिन्दु र मुसलमानबिच डरलाग्दो टकराव भयो । अंग्रेजी शासन विरुद्ध सँगै संघर्ष गरेका यी दुवै समुदायबिच त्यसबेला ठुलै दंंगा भड्कियो । अन्ततः धर्मका आधारमा हिन्दुका लागि भारत र मुसलमानका लागि पाकिस्तान नामक दुई अगल देश बनाइयो । त्यसबेला पाकिस्तानबाट हिन्दुहरू भारत आउँदा र भारतबाट मुसलमानहरू पाकिस्तान जाने क्रममा हजारौँ मानिसहरूको हत्या भयो । भनिन्छ रेलगाडिबाट आफुले चाहेका देशतिर हिँडेका मानिसहरूको बिच बाटैमा हत्या भयो र ती लासहरू बोकेर रेलगाडी दिल्ली र कराँची पुगेका थिए । यो विभाजन देशको मात्र थिएन, मनहरूको पीडादायक विभाजन पनि थियो । त्यस पछिका दिनहरूमा यो घटनाको पीडाले दुई देशको सम्बन्धलाई कहिल्यै सामान्य बन्न दिएन । पाकिस्तान कट्टर इस्लामिक देश बन्यो भने भारतले धर्मनिरपेक्ष भएर बाँकी रहेका मुसलमानहरूलाई पनि भारतमा नै रहन आश्वस्त पार्न खोज्यो ।
धर्मनिरपेक्षताका कारण भारतको एउटा वर्गमा दमित भएर रहेको हिन्दुत्वको भावना हिन्दु महासभा, राष्ट्रिय स्वयंसेवक संघ, जनसंघ हुँदै सन् १९८० मा राजनीतिमा भारतीय जनता पार्टीका रूपमा देखा प¥यो । स्थापना भएको झण्डै साढे तीन दशकपछि सन् २०१४ मा उक्त पार्टी सत्तामा आएपछि भने हिन्दु मुसलमानको धार्मीक टकराव भिन्न रूपमा देखापरेको छ । यसको अर्थ यसअघि काँग्रेसको लामो शासनकालमा यस्ता दंगाहरू भएका थिएनन् भन्ने होइन । फरक यति मात्रै हो त्यसबेला मुसलमानहरूले राज्यका तर्फबाट सहानुभूति पाउँदैआएका थिए भने अहिले त्यो अवस्था छैन । भारत अहिले पनि धर्मनिरपेक्ष हो तर पनि विभाजन कालमा भारतमा आश्वस्त भएर रहन मुसलमानहरूलाई दिइएको सुविधामाथि प्रहार भइरहेको देखिन्छ । यस्तो हुनुमा इस्लामिक कट्टरता र मुसलमानहरूका लागि भनिएको पाकिस्तानमा अल्पसंख्यकका रूपमा रहेका हिन्दुहरूमाथि हुँदै आएको चर्को भेदभाव र सांस्कृतिक दमनले भूमिका खेलेको देखिन्छ । यो अशान्तिले पाकिस्तानमा मात्र नभई भारतमा पनि आन्तरिक रूपमा सामाजिक अस्थिरतामा पर्ने खतरा बढ्दै गएको छ भने इस्लामिक विश्व र मानवाधिकारको पक्षपोषक मानिएको पश्चिमी देशहरूसँगको भारतको कुटनीतिक सम्बन्धमा समेत बेलाबखत असहज देखिँदैआएको छ ।भारतको कुल जनसंख्यामा मुसलमानहरूको संख्या झण्डै १५ प्रतिशत रहेको छ । भारत विश्वका धेरै मुस्लिम जनसंख्या भएका देशहरूमध्ये तेस्रोमा पर्दछ । मुसलमानहरूको जनसंख्या वृद्धिदर हिन्दुहरूको भन्दा उच्च रहेको हँुदा यसलाई भारतको एउटा वर्ग भविष्यमा भारत मुस्लिम बहुल देश बन्ने त्रासमा छ ।
सन् २०१४ पछि भारतको इतिहासलाई पनि पुनर्भाष्य गर्न थालिएको छ । अंग्रेजहरूभन्दा अगाडि आठसय वर्ष भारतमा मुसलमानहरूको शासनलाई पनि जोडेर एक हजार वर्ष मुसलमान र अंग्रेजहरूले भारतलाई गुलाम बनाएको भन्न थालिएको छ । मुस्लिम शासनकालमा भएका दमन र सांस्कृतिक धरोहर माथिको अतिक्रमणलाई स्मरण गर्न थालिएको छ । अंग्रेजी उपनिवेशवाद विरुद्ध मुसलमानहरूले पनि भारतमा ठुलै योगदान गरेका भए पनि त्यसलाई नकार्न थालिएको छ । गान्धी, नेहरूभन्दा ओझेलमा परेका नाथुराम गोडसे, सावरकर, माधव सदाशिवराव, गोलवालकरहरूको महिमामण्डन गर्न थालिएको छ । सन् २००१, सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकामा डरलाग्दो हमला गरेपछि भने इस्लिामिक आतंवकवादका नाममा विश्वमा घृणाको बाढी नै आयो । त्यसपछि भारतमा पनि यो लहरले काम गरेको देखिन्छ ।
इस्लाम र हिन्दुबिचको खाडल भारतमा बढिरहेको छ । अर्कोतिर भारतमा तथाकथित उच्च वर्णका हिन्दु र दलितहरूबिचको खाडल पनि कम फराकिलो छैन । भारतमा अंग्रेजहरू आएपछि नै इसाई धर्मको प्रचार हुन थालेको हो । उनीहरूले भारत भूमिमा रहेका जनजातिहरूबिच इसाई मिशनरीहरू खोलेर धर्म प्रचार गरे । अहिले पूर्वोत्तर भारतका नागाल्याण्ड, मेघालय, मिजोरम इसाई बहुल राज्य भएका छन् । अन्यत्र पनि इसाईहरूको बढ्दो उपस्थिति छ । हिन्दु र इसाईहरूबिच पनि बेलाबखत तनाव हुने गरेको छ । भारतको कुल जनसंख्यामा लगभग ३ प्रतिशत संख्या इसाईहरूको छ । तर पनि भाजपाको सरकार सत्तामा आएपछि यस्तो टकराव इसाईहरूप्रति अपेक्षाकृत कम रहेको देखिन्छ । यस्तो हुनुमा भाजपाको पश्चिमी देशहरूसँगको बढ्दो निकटतालाई मान्ने गरिन्छ । भारत यो क्षेत्रको ठुलो र शक्तिशाली देश भएको हुनाले त्यहाँ भएका सामाजिक उथल पुथलले अन्य देशहरूलाई पनि प्रभावित गर्दै आएको छ । भारतमा भएका सामाजिक विभाजनको फलस्वरूप ती देशहरूमा केही भिन्नता सहित झण्डै एकैखालको देखिन्छ, तर टकरावको अवस्थामा भने केही फरक छ ।
इस्लामिक देश भएर पनि पाकिस्तानको सामाजिक स्वरूप धर्मले एकताको सूत्रमा बाँध्न सकेको देखिँदैन । यस भित्रका सम्प्रदायहरूबिच नै चर्को अन्तद्र्वन्द देखिन्छ । यस अन्तद्र्वन्दमा बाहिरियाहरूले निकै चलखेल गर्दै आएका छन् । इस्लाममा रहेको कट्टरतालाई विगतमा हातहतियार दिएर हिंस्रक बनाउने काम बाहिरियाहरूबाट नै भएको छ । यसले गर्दा पाकिस्तान आतंकवादको नर्सरी जस्तो बन्न पुगेको हो । यसरी यो देश स्वयम् अशान्त बन्दै आएको देखिन्छ । शिया, शुन्नी, देवबन्धी, अहमदी, बरेल्वी, हिन्दु, शिख, इसाई जस्ता समुदायबिच अन्तद्र्वन्दको आगो बलिरहेको देखिन्छ । कुनै समयमा बौद्ध धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको यो भूमिमा अहिले सिन्ध र पंजाब प्रान्तमा सानो संख्यामा मात्र उनीहरूको उपस्थिति रहेको देखिन्छ । पाकिस्तानमा अल्पसंख्यकहरू ठुलो दबावमा रहँदैआएका छन् । जातीय हिसाबले पाकिस्तानमा पंजाबी, पश्तुन, सिन्धीको संख्या ठुलो छ भने सराईकी, मुहाजिर, र बलुचहरूको संख्या अपेक्षाकृत कम रहेको छ । इस्लामिक देश भएकोले धर्मका नाममा अल्पसंख्यकहरूमाथि चर्को दमन त्यहाँ पनि देखिन्छ । भारत र पाकिस्तानबिच एक—अर्कामाथि यस्तो अन्तरविरोध चर्काउने प्रोपोगाण्डा चलाउने प्रयास हुँदै आएको छ । भारतको प्रयासमा पाकिस्तानबाट विभाजित भएर बनेको देश बांगलादेशमा पनि इस्लाम बाहेकका लगभग २६ अल्पसंख्यक समुदायको बसोबास रहेको देखिन्छ । यो पनि इस्लामिक देश नै हो । यहाँ ९१ प्रतिशत मुसलमानहरूको बसोबास छ । सुन्नी सम्प्रदायका मुसलमानहरूको संख्या यहाँ बढी देखिन्छ ।
हिमालयको काखमा रहेको नेपाल पनि धेरै जातजाति, धर्म र संस्कृतिहरूले सम्पन्न देश हो । धार्मिक हिसाबले यो देश हिन्दु बहुल देश भएर पनि बौद्ध, मुस्लिम, इसाई, किरातहरूको बसोवास यहाँ छ । सानो भएर पनि नेपाली समाजभित्र जाति, धर्म, क्षेत्र, भाषाका धेरै गतिशील कित्ताहरू छन् । अपेक्षाकृत रूपमा शान्त रहेको यो देशमा सदिऔँदेखि चलिआएको दलविहीन शासन पद्धति र राजतन्त्रको पतन भएको छ । अहिले नेपाल संघीय गणतन्त्रात्मक र धर्मनिरपेक्ष देश बन्न पुगेको छ । यहाँ पनि अन्तद्र्वन्द्व चलाउने र विदेशी स्वार्थमा सामाजिक तथा राजनीतिक रूपले अस्थिरता बढाउन प्रयास भइरहेको भन्ने बुझाइ बाक्लै छ ।
पछिल्ला केही दशकमा हिंसाको चपेटामा पर्दैआएको अर्को कट्टर इस्लामिक देश अफगानिस्तान पनि हो । आन्तरिक खिचातानीले विदेशी हस्तक्षेपको मार अफगानिस्तानले झेल्दै आएको छ । यहाँको समाजिक संघर्ष अन्य देशहरूको भन्दा केही पृथक देखिन्छ । वास्तवमा यहाँको सामाजिक अन्तर्संघर्षले विदेशी हस्तक्षेपका कारण कहिल्यै ठोस स्वरूप लिन पाएन । स्वस्थ्य रूपमा उठ्ने सामाजिक अन्तर्संघर्षले राज्यलाई उचित दिशातिर लैजान मद्दत पनि गर्दछ, तर अफगानिस्तानमा त्यस्तो हुन सकेन । यहाँको भूराजनीतिक अवस्थितिले आन्तरिक कित्ताहरूलाई विदेशी स्वार्थको बन्दुक बोक्ने प्यादाको रूपमा उपयोग गर्दै आएको देखिन्छ । इस्लामिक कट्ट्रताले यो देश मध्ययुगीन बर्बरताबाट कहिल्यै मुक्त हुन दिएको छैन ।
यस्तै सामाजिक विखण्डनको पीडा भोग्दै आएको अर्को देश श्रीलंका पनि हो । यो देश थेरवादी बौद्ध धर्मावलम्बी सिंहला जातिको बाहुल्य रहेको देश हो । यो देश सन् १९४८ मा अंग्रेजी उपनिवेशबाट स्वतन्त्र भएको देश हो । उत्तरी भागमा तमिल भाषा बोल्ने हिन्दुहरूको बसोवास रहेको छ । यस बाहेक मुर भनिने मुसलमानहरूको र इसाईहरूको पनि बसोवास रहेको छ । विगतमा यस देशले तमिल पृथकतावादको डरलाग्लो पीडा झेलेको छ । सिंहला र इस्लामको टकरावले पनि यो देश पीडित छ । कुनै समयको सम्पन्नशाली यो देश यस्तै सामाजिक टकरावबाट कमजोर बन्न पुगेको छ ।
समाज सधै गतिशील हुने हुनाले त्यसमा द्वन्द्व हुनु स्वभाविक हो । त्यसलाई स्वस्थ्य ढंगले प्रबन्ध गर्ने हो भने देशका लागि हितकर हुने हो । यसलाई अन्त्यहिन टकरावतिर लैजाने हो भने देशमा अशान्ति बढाउँछ । समग्रमा दक्षिण एसियाले सामाजिक अस्थिरता हुँदै खण्डीकरणको जोखिमसंग संघर्ष गरिरहेको देखिन्छ ।
(लेखक इतिहास तथा राजनीतिका जानकार हुनुहुन्छ ।)