images
images

महिला सङ्घको ७५औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २४ साउन (रासस
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको ७५औँ स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दैनिक चुलोचौकामा सीमित महिलालाई नेपाली राजनीतिमा स्थापित गर्नका लागि महिलानेत्री  मङ्गलादेवी सिंहको सक्रियतामा विसं २००४ साउन २४ गते नेपाल महिला सङ्घको स्थापना भएको हो ।  सिंहको सक्रियतामा काठमाडौँको भेडासिंस्थित चिनियाँलाल श्रेष्ठको घरमा भूमिगतरूपमा महिला भेला भएको थियो । सो भेलाले मङ्गलादेवी सिंहका अध्यक्षतामा सङ्घको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाली कांग्रेस स्थापना भएकै ताका सङ्घको स्थापना भएको हो ।

महिला अधिकारका लागि स्थापना भएको राजनीतिक सङ्गठन स्थापना भएको साउन २४ लाई नै नेपाली राजनीतिमा महिलाहरूको प्रवेशका लागि कोशेढुङ्गाका रूपमा लिने गरिन्छ । नेपाली कांग्रेसकी नेत्री एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला नेपाली राजनीतिमा महिलाको ठूलो योगदान रहेको बताउनुहुन्छ । “लोकतन्त्र स्थापनामा नेपाली महिलाको महत्वपूर्ण भूमिका रहेको छ”, उहाँ भन्नुहुन्छ । नेत्री कोइराला नेपाली महिलाले नेपाली राजनीतिमा गरेको योगदानको आधारमा आगामी निर्वाचनमा महिलालाई टिकट दिनुपर्ने बताउनुहुन्छ ।

घरभित्रको काममा सीमित महिला विसं २००४ मा सङ्गठित भएसँगै विसं २००७, २०३६, २०४६ र २०६२/६३ मा भएको राजनीतिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाल महिला सङ्घकी निवर्तमान अध्यक्ष एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी महिला आन्दोलनका कारण प्रतिनिधि तथा प्रदेशसभामा ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित भएको हो भन्नुहुन्छ । “स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने, राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्ने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने नियम महिला आन्दोलनका कारण भएको हो”, उहाँ भन्नुहुन्छ ।

देशको कुल जनसङ्ख्याको आधा जनसङ्ख्या भएको महिलालाई हरेक क्षेत्रमा बराबर अधिकार स्थापित गर्नका लागि आगामी दिनमा महिला सङ्घ लाग्नुपर्ने उहाँको भनाइ छ ।

सङ्घकी पूर्वअध्यक्ष एवं सांसद डा डिला सङ्ग्रौला पन्त महिलाले निर्वाचनमा जुन हिसाबले टिकट पाउनुपर्ने हो त्यो पाउन नसकेको गुनासो गर्नुहुन्छ । “देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी जनसङ्ख्या रहेको महिलालाई जनसङ्ख्याको अनुपातमा टिकट दिँदा पुरुष पनि समानुपातिकमा जाने मौका पाउन सक्छन्, यो पुरुष र महिला दुवैका लागि राम्रो कुरा हो”, उहाँ भन्नुहुन्छ । राजनीतिक दलले महिलालाई प्रत्यक्षमा निर्वाचन लड्ने मौका दिनुपर्ने उहाँको भनाइ छ ।

विसं २००३ मा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमिलमा भएको आन्दोलनमा दिव्यादेवी कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीलगायतका जेल पर्नुभएको थियो । उहाँहरू महिला अधिकार र श्रमिक अधिकारका लागि आन्दोलन गर्दागर्दै जेल पर्नुभएको हो । विसं २००७ को क्रान्तिपछि पार्टीहरू स्वतन्त्र भएपछि नेपाल महिला सङ्घले पनि खुलारूपमा काम गर्न थालेको थियो ।

कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम महिला आन्दोलनका कारण पछिल्लो समय महिलाहरू राजनीति र देशका अन्य तहमा पुगेको बताउनुहुन्छ । “महिला आन्दोलनको उपलब्धि जुन हिसाबले अगाडि बढ्नुपर्ने हो, त्यो बढ्न नसक्नु दुःखको कुरा हो, तर संविधानमा ३३ प्रतिशत महिला अधिकार सुनिश्चित गरेको छ त्यो महिला आन्दोलनका कारण भएको हो”, उहाँ भन्नुहुन्छ ।

महिला नेत्री गौतम अहिले प्राप्त महिला अधिकारको रक्षा गर्दै आगामी दिनमा अगाडि बढ्नुपर्ने बताउनुहुन्छ । महिला आन्दोलनकै कारण देशको कार्यकारी पदमा महिला पुगेको उहाँको भनाइ छ ।