विख्यात दार्शनिक कार्ल माक्र्ससले धर्मलाई अफिमको संज्ञा दिए भने फ्रायडले यसलाई गुलियो विष भनेका थिए । अफिम लागु पदार्थ हो । यसको सेवनबाट मानिस लठ्ठिन्छ, विवेक गुमाउँछ, चेतना गुमाउँछ र त्यसको नशाले छोडेपछि जीवनभर पश्चात्तापमा तड्पिई तड्पिई बाँच्नुपर्ने गल्ती गर्छ । त्यसैगरी यसले मार्न र मर्न किञ्चित परवाह गर्दैन । धर्मकै कारणले गर्दा निरपराध यहुदीहरूले ग्यास च्याम्बरमा तड्पिई तड्पिई मर्नुपरेको थियो । माक्र्सले धर्मलाई अफिमजस्तो निकृष्ट वस्तुसँग तुलना गर्नुका पछाडि यस्तै कारणहरू रहेको हुनुपर्छ । कुनै पनि विषय प्रतिको क्रिया वा प्रतिक्रिया खास सन्दर्भले प्रकट गर्दछ ।
जेरुसलम, सिरिया, प्यालेस्टाइन र लेबनान वरिपरि विकसित हिब्रु सभ्यताले कालान्तरमा यहुदी धर्मको रूप लियो । यसका धर्माधिकारीहरूले आफूसँग विमति राख्ने व्यक्ति वा समुदायको निर्मम दमन गरे । त्यतिबेला मोसा र अब्राहमलाई मन नपर्ने मानिसहरूलाई जिउँदै जलाएर मार्ने जस्तो जघन्य अपराध गरियो । त्यस धर्मले गरेको अन्याय र अत्याचारको बिरुद्धमा जिससले ठुलै यातनामय सङ्घर्ष गर्नुपरेको थियो । जिससको यही सङ्घर्ष र बलिदानबाट जन्मिएको धर्म नै क्रिस्चियन धर्म हो । अन्ततः यस धर्मले पनि त्यसैको अनुसरण गऱ्यो ।रोमन क्याथोलिकहरूले क्रिस्चियन धर्म अन्तर्गतका अन्य सम्प्रदायमाथि समेत असहिष्णु र आक्रामक व्यवहार गरे । इसाको बाह्रौँ शताब्दीपछि क्याथोलिकहरूले ‘हेरिसी’ र ‘हेरेटिक’ अर्थात् क्याथोलिक धर्मका विरोधी र इसाई धर्मभन्दा भिन्न धर्म मान्नेहरूका बिरुद्ध बर्बरतापूर्ण अमानवीय दमन गरे । त्यस दमनलाई ‘रोमन क्याथोलिक इन्क्विजिसन’ भनिन्छ । यो मूलतः क्याथोलिक मत नमान्ने ‘क्याथर्स र वालडेन्जियन्स’ सम्प्रदायप्रति लक्ष्यित थियो । ई.सन् ११७९मा यहाँ भिन्न मतावलम्बीहरूलाई बलपूर्वक दमन गर्ने अभियानको थालनी गरियो । यस क्रममा एकै दिन सात सयभन्दा बढी मानिसहरूको निर्मम हत्या गरिएको थियो । ई.सन् १२२९ सम्म चलेको त्यस रक्तपातपूर्ण दमनलाई ‘धर्मयुद्ध’को नाम दिइएको थियो । तर त्यो वास्तवमा यो ज्यादती धर्मयुद्ध नभएर बर्बर दमन, हत्या, आत्महत्या र क्रुरताको मञ्चन मात्र थियो ।
ईसाको १४औँ शताब्दीमा प्रादुर्भाव भएको त्यस धर्मले अन्य सबै धर्मावलम्बीहरूलाई नास्तिक घोषित गऱ्यो र उनीहरूको ६ इन्च उँचाइ घटाइदिँदा (टाउको छिनाली दिँदा) पाप नलाग्ने बरु धर्म नै हुने उद्घोष गऱ्यो । तरबारको बलमा विकसित यस धर्मले आफूभित्रको अर्को सम्प्रदायप्रति समेत अत्यन्त असहिष्णु व्यवहार देखायो र अद्यापि देखाइरहेको छ । एउटा धर्मले पशुलाई रेटेर मार्ने भन्छ, अर्कोले छप्काउने भन्छ । एउटाले जुठो—चोखोको मतलब राख्दैन भने अर्काको जहान पिच्छेका चुला । एउटाले अल्लाहका अतिरिक्त अर्काको संसारमा नामै रहन दिन चाहन्न । अर्कोतिर देवताहरू अनगिन्ती । यसैमा मतान्तर, लडाइँ, हिंसा, काटमार, ज्यादती भएपछि त्यसलाई के भन्ने ?
यसरी धर्मको नाउँका सम्रदायहरू धेरै छन् र तिनीहरूमा निकै ठूलो मतभेद पनि छ । यिनै मतभेदका कारणले विगत दुई हजार वर्षमा विश्वमा अनगिन्ती गलत क्रियाकलापहरू भएका छन् । यिनै मतभेदका कारण युनान र रोमका कलाकारहरूका कलाकृतिहरू लोप भएर गए । यस्तै यस्तै पढेका, देखेका कार्ल माक्र्सले के भनून् ? अहिले कार्ल माक्र्स जीवित रहेका भए उनका नाममा भएका असङ्गत व्यवहारलाई उनी के भन्दा हुन् ? यो प्रश्न पनि नउठ्ने होइन ।
यदि कार्ल माक्र्सले पूर्वीय दर्शनको गहिरो अध्ययन गरेका भए धर्मलाई किमार्थ अफिमजस्तो निकृष्ट वस्तुसँग तुलान गर्ने थिएनन् । उनले रिलीजन-Religion को पर्यायवाची शब्द धर्म लगाए, त्यहाँ त्यसका नाममा गरिएका अत्याचारलाई त्यस्तो नाम दिए । परन्तु रिलीजन-Religion को पर्यायवाची शब्द सम्प्रदाय वा पन्थ वा मजहव हो, धर्म होइन । त्यस्ता सम्प्रदायहरू विश्वमा धेरै छन् । जस्तै: हिन्दु, इस्लाम, इसाई, सिन्तो, ताओ, कन्फुसियस, यहुदी, सिख, बौद्ध, जैन, वहाई, फारसी, जरथुस्र आदि । यद्यपि, यी सबैले आफ्ना मान्यता वा सम्प्रदायलाई धर्म नै भनेका छन् । मानवसमुदायका बिचमा भएका मतभेदहरू, हत्या—हिंसाका घटनाहरू धर्मका कारणबाट नभएर सम्प्रदायका मतभेदबाट भएका हुन् ।
धर्ममा कसैको पनि मतभेद छैन, सम्भतः कहिल्यै हुने पनि छैन, किन भने मानवधर्म एउटै हुन्छ । त्यहाँ कसैको झगडा छैन र कहिल्यै हुँदैन पनि । ‘ध्रियते लोको अनेन’ अर्थात् जसले धारण गर्दछ, त्यो धर्म हो । धर्मको अर्थ कर्तव्य, आचार, कानुन, प्रचलन, अनुविधि, नैतिक गुण, स्वभाव, चरित्र, मूल वृत्ति, निर्धारित कार्य आदि हुन्छ । धर्म त्यो निष्ठा, विचार तथा क्रियापद्धतिको नाम हो, जसले सबैलाई धारण गर्दछ, जसमा सबै अटाउँछ र जसबाट मनुष्य मात्रको सात्विक उत्थान हुन्छ । जुन प्राणीमात्रको हित तथा सुखको साधन हो र अन्त्यमा ‘निःश्रेयसः’ वा मोक्षप्रप्ति हुन्छ, त्यो नै धर्म हो । ‘यतो अभ्युदय निःश्रेयसःसिद्धि स धर्म :’ (वैशेषिक उपनिषद्१/२) । त्यसैगरी धर्मको बारेमा महाभारत भन्दछ : ‘धारणात् धर्ममित्याहु धर्मेण विधृता प्रजाः । य स्यात् धारण संयुक्त स धर्म इति निश्चय अर्थात् “सबैलाई धारण गर्ने भएकाले यसको नाम धर्म रहन गएको हो । धर्मले नै सबै नागरिकलाई धारण गरिराख्दछ, अर्थात् थामिरहन्छ । जसद्वारा धारण अथवा पोषण प्राप्त हुन्छ, त्यो नै धर्म हो । मनुस्मृतिले धर्मका दस लक्षण बताएको छ: ‘धृतिःक्षमा दमोस्तेअयं शौचमिन्द्रियनिग्रहः । धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् अर्थात् धैर्य, क्षमा, दम अर्थात् विषयहरूको संसर्ग हुँदा पनि मनलाई निर्विकार राख्नु, अस्तेय अर्थात् नचोर्नु, भित्र र बाहिर शुद्ध हुनु, इन्द्रिय निग्रह गर्नु, आत्मविषयणी बुद्धि, विद्या, सत्य र नरिसाउनु यी धर्मका दस लक्षण हुन् ।’ ‘आचारः परमो धर्म अर्थात् राम्रो व्यवहार नै धर्म हो ।’ ‘अहिंसा परमो धर्म अर्थात् मन, वचन र कर्मले परहिंसा नगर्नु नै धर्म हो ।’ ‘परोपकार पुण्याय पापाय परपीडनम् अर्थात् अरुलाई दुःख दिनु पाप हो भने अरुको उपकार गर्नु धर्म हो ।’
पूर्वीय दर्शनले धर्मका बारेमा विशद प्रकाश पारेर ‘वसुधैव कुटुम्बकम् सारा संसार एउटै कुटुम्ब—परिवार हो’ भन्ने भावनालाई मूर्त रूप दिएको छ । त्यसै गरी ‘सत्यं ब्रूयात् प्रियं ब्रूयात् न ब्रूयात् सत्यमप्रियम् । प्रियं च नानृतं ब्रूयादेष धर्म: सनातनः अर्थात् सत्य बोल, मिठो बोल, सत्य भए पनि नमिठो नबोल, मिठो भए पनि असत्य नबोल यही नै सनातन धर्म हो ।’ यसरी हेर्दा र बुझ्दा धर्म अफिम हुँदैन र बुझिँदैन । धर्मका नाममा हुने साम्प्रदायिक झगडा र धर्मविपरितका व्यवहार अफिम होला परन्तु धर्म भने अमृत हो ।
(लेखक पूर्वीय वाङमयका जानकार हुनुहुन्छ ।)