कार्ल मार्क्स
सन् १८४१ मा जेना विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका मार्क्स को खास नाम कार्ल हाइनरिख माक्र्स थियो । उनको जन्म जर्मनीको प्रशा प्रदेशको त्रियर नगरमा सन् १८१८ मे ५ तारिखमा भएको थियो । सामान्य घरपरिवारमा जन्मेका उनलाई वकिल बनाउने उनको बाबुको इच्छा पूरा हुन सकेन । क्रान्तिकारी विचारक भएकै कारण माक्र्सलाई बोन विश्वविद्यालयमा पढाउन दिइएन । सन् १८४३ मा उनको विवाह जेनीसँग भयो । कार्लमार्क्स विश्व सर्वहारा, मजदुर, किसान लगायत सबै शोषित पीडित, श्रमजीवी वर्गका महान शिक्षक एवम् समाजवादी क्रान्तिका नायक थिए । ऐतिहासिक भौतिकवादी क्रान्तिका प्रवर्तक थिए । सन् १८४८ मा मार्क्स र एङ्गेल्सको सहयोगमा लण्डनबाट कम्युनिष्ट घोषणा पत्र प्रकाशन गरेका थिए । यो नै संसारका कम्युनिष्टहरूका लागि मुख्य आधारशीला बनेको छ । गरिवीको पराकाष्टा भोगेका मार्क्सले आफ्नी छोरीको अन्त्येष्टिका लागि अरुसँग कर्जा लिन परेको दर्दनात्मक इतिहास पढ्न सकिन्छ । जर्मनमा जन्मिएका मार्क्स निर्वासनमा विभिन्न देश पुगेका थिए । लण्डनमा उनले जीवनको ३४ वर्ष बिताउँदै गर्दा सर्वप्रिय पुस्तक पुँजी लेखेका थिए । सन् १८८३ को मार्च १४ मा मृत्युवरण गरेका उनको पार्थिव शरीर आज पनि लण्डनको हाइगेट समाधिस्थलमा भेट्न सकिन्छ ।
एङ्गेल्स
सन् १८२० को नोभेम्बर २८ मा जर्मनीको बार्मेन पर्सियामा जन्मिएका उनले सन् १८९५ अगस्त ५ तारिखमा लण्डनमा मृत्युवरण गरेका थिए । उनको खास नाम फ्रेडरिक एङ्गेल्स थियो । धनी व्यापारीका छोरा एङ्गेल्स गरीब नागरिकको सहारा बन्ने सङ्कल्प गरेका थिए । उनकी श्रीमती बनर्स क्रान्तिकारी विचारक भएकै कारण एङ्गेल्सलाई रूपान्तरित हुन प्रेरणा मिलेको देखिन्छ । मार्क्स र एङ्गेल्स मिलेर नै कम्युनिष्ट घोषणा पत्र र पुँजी नामक पुस्तक प्रकाशन गरेका हुन् । मार्क्सवादी चिन्तन र विचारलाई एङ्गेल्सले फराकिलो बनाउन सहयोग पुऱ्याएका थिए । उनले आफ्नो जीवनको लामो कालखण्ड लण्डनमा बिताए । उनी विश्व सर्वहारा क्रान्तिका शिक्षक, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका सह–अन्वेषक,वैज्ञानिक समाजवाद र साम्यवादी सिद्धान्तका प्रवर्तक मध्येका एक एवम् कार्लमाक्र्सका सहयोद्धा थिए । सम्पूर्ण शोषित पीडित वर्गका महान नेता समेत थिए ।
लेनिन
लेनिनको खास नाम भ्लादिमिर इलिच उल्यानोभ थियो । लेनिन उनको उपनाम थियो । जुन नाम साइबेरियाली नदी लेनाबाट राखिएको थियो । सन् १८७० अप्रिल २२ मा जन्मिएका उनी ५३ वर्षकै उमेरमा अर्थात् सन् १९२४ जनवरी २१ मा बिते । मध्यमवर्गीय परिवारमा जन्मिएका उनी कानूनमा डिग्री हासिल गरेका थिए । आफ्ना दाजुलाई रुसी जार सरकारले फाँसी दिएपछि क्रान्तिकारी बनेर राजनीतिमा हाम फालेका थिए । निर्वासनकै बेलामा नाडेज्दा क्रुप्स्कायासँग बिहे भयो । अक्टोबर क्रान्तिका नेतृत्वकर्ता उनले रुसी जार सरकारलाई पल्टाउन महत्वपूर्ण भूमिका खेलेका उनका बाबा प्रगतिशील विचार राख्थे । उनी मार्क्सवाद, लेनिनवादका संस्थापक हुन् । साथै महान अक्टोबर समाजवादी क्रान्तिका नेता समेत हुन् । विश्व सर्वहारा, मजदुर, किसान र शोषित पीडितहरूका नायक हुन् ।
स्टालिन
जोसेफ स्टालिन उनको पूरा नाम हो । सानोमा उनलाई जोसेफ बिसारियोनोविच जुगास्बिली भनेर पुकारिन्थ्यो । उनको जन्म रुसको तिफालिस नगरको जार्जिया गोरीमा सन् १८७८ डिसेम्बर १८ मा भएको थियो । उनका बाबा बिसरियोन जुत्ता सिलाउने सार्की थिए । आमाले कपडा धुने काम गर्थिन् । बाबा जड्याहा भएकै कारण उनलाई स्कूलको शुल्क तिर्न मुस्किल परेर आमाले पादरी स्कूल भर्ना गराइ दिएकी थिइन् । अन्तिम परीक्षामा शुल्क तिर्न नसकेर उनी भागेर पार्टीको पूर्णकालीन कार्यकर्ता बन्न गएको बारेमा लेखिएको रोचक एवम् पीडादायी कथा पढ्न पाइन्छ । रुसी जार सरकार ढलेपछि उनी सन् १९२२ देखि १९५२ सम्म रुसी कम्युनिष्ट पार्टीको महासचिव छानिएका थिए । लेनिन निर्वासित हुँदा स्टालिनले नै नेतृत्व सम्हालेका थिए । सोभियत संघको मन्त्रिपरिषदको अध्यक्ष समेत भएका उनलाई सात लाख ५० हजार मानिसको हत्या गरेको आरोप यिनीमाथि लगाइन्छ । सन् १९३४ मा उनले फाउण्डेसन अफ लेनिनिज्म र प्रब्लम अफ लेनिनिज्म पुस्तक प्रकाशन गरेका थिए । उनी रुसी समाजवादी क्रान्तिका निर्माता लेनिनका सहयोद्धा हुन् । सर्वहारा अन्तर्राष्ट्रवादका अग्रदूत हुन् ।
माओ
स्नातकसम्म अध्ययन गरेका माओको पूरा नाम माओत्सेतुङ हो । सन् ११९३ डिसेम्बर २६ मा उनको जन्म चीनको साओसान, जिआङ्तान, हुनानमा भएको थियो । माओले युद्धकालीन समयमा आफ्ना लालसेनालाई अनुशासनका लागि आफ्ना सबै काममा आदेशहरूको पालना गर, जनताबाट सित्तैमा
एउटा सियो र धागोको टुक्रा समेत नलेऊ, कब्जा गरेको प्रत्येक कुरा सङ्गठनमा बुझाउ भनी तीन नियम प्रतिपादन गरेका थिए । सन् १९४३ मा पार्टीको राजनीतिक ब्युरो अध्यक्ष बनेपछि माओले तीन कार्यशैली तयार पारेका थिए । जुन कार्यशैलीले सिद्धान्तलाई व्यवहारसँग जोड्ने, जनतासँग घनिष्ट सम्बन्ध कायम गर्ने, आलोचना–आत्मालोचनालाई नियमित बनाउने कुरामा जोड दिएको छ । उनलाई विश्व सर्वहारा मजदुर र किसानका शिक्षक, साम्राव्यवाद, सर्वहारा क्रान्तिको युगमा सामन्ती वा अर्धसामन्ती, उपनिवेशिक तथा अर्ध उपनिवेशिक देशमा क्रान्तिका मार्गदर्शक महानसर्वहारा सांस्कृतिक क्रान्तिका प्रवर्तक र चीनका महान नेताका रूपमा लिइन्छ । सन् १९४९ मा चीनमा नौलो जनवादी क्रान्ति सम्पन्न गरेपछि उनले सहकारी आन्दोलन, क्रान्तिकारी भूमिसुधार, सेनालाई जनताको कामसँग मिलाउने, पुराना अवैज्ञानिक नीतिहरूलाई हटाएर जनमुखी व्यवस्था, समाजवाद र समाजवादी क्रान्तिको मूलआधार तयार पार्ने काम गरेका थिए । सन् १९७६ सेप्टेम्बर ९ मा उनको मृत्यु भएको थियो । उनको पार्थिव शरीरलाई अझै पनि समाधिमा राखिएको छ ।
पुष्पलाल
पुष्पलाल श्रेष्ठको जन्म सम्वत् १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा बाबा भक्तलाल र आमा तुलसीमायाको कोखबाट माइलो छोरोका रूपमा भएको थियो । उनले सम्वत् २००६ सालको बैसाख १० गते ( सन् १९४९ अप्रिल २२ तारखेमा ) कलकत्तामा रहेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव समेत हुन् । तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि कू गरेपछि उनी २०१७ मा उनी भारत निर्वासित भए । भारतस्थित नयाँ दिल्लीमा उपचारको क्रममा २०३५ साउन ७ गते पुष्पलालको मृत्यु भएको थियो । राणा शासनलाई हटाउनका लागि उनका दाजु गङ्गालालले प्राण आहुति दिएका थिए । सायद दाजुको राजनीति दायित्व र भार पूरा गर्नका लागि उनी नेपाली राजनीतिमा उदाएका थिए । नेपालमा कम्युनिष्ट र काँग्रेस मिलेमा नेपालमा पुनः प्रजातन्त्र बहाली हुन्छ भन्ने विचार बोकेका उनले भारतको बनारसमा रहँदा नेपाली काँग्रेसका नेताहरूसँग सोही विषयमा बारम्बार सल्लाह गर्दथे । २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्बहाली संयुक्त वाममोर्चा र काँग्रेसकै नेतृत्वमा सम्पन्न भएको थियो । त्यतिबेला उनकी जीवनसङ्गिनी साहना प्रधान, संयुक्त वाममोर्चाको तर्फबाट नेतृत्व गर्दै थिइन् ।
मनमोहन अधिकारी
नेपालको प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी दक्षिण एसियाकै पहिलो जननिर्वाचित प्रधानमन्त्री समेत हुन् । उनी नेपालका ३१ औँ (सम्वत् २०५१ मसिर १४ गतेदेखि २०५२ भदौ २७ गतेसम्मका) प्रधानमन्त्री हुन् । २०५१ मा एमालेको अल्पमतको सरकारमा उनी प्रधानमन्त्री बनेका थिए । आफ्नो गाउँ आफै बनाऔँ, वृद्ध भत्ता र नौ स को कार्यक्रममार्फत नेपाली जनताबिच स्थापित हुन पुगेका थिए । भारतमा बिएस्सी पढ्न गएको बेला सम्वत् १९९८ मा उनी ‘भारत छोड’ आन्दोलनमा ब्रिटिस सरकारको विरुद्ध भारत स्वतन्त्रता सङ्ग्राममा आन्दोलनकारीका रूपमा भाग लिएका थिए । १९७७ जेठ २८ गते काठमाडौँको लाजिम्पाटमा जन्मिएका उनी २०५६ बैसाख १३ गते चुनावी सभालाई सम्बोधन गर्नेक्रममा बेहोश भएका उनी कहिले उठेनन् । २०४७ सालमा नेकपा(मार्क्सवादी) र नेकपा(माले) एकीकरण भएपछि उनी नेकपा (एमाले)का संस्थापक अध्यक्ष समेत भएका थिए ।
मदन भण्डारी
मदनकुमार भण्डारी उनको खास नाम हो । जनताको बहुदलीय जनवाद उनको नवीनतम राजनीतिक कार्यक्रम हो । नेपाली राजनीति वृत्तमा उनले यही कार्यक्रम निर्माण गरेकै कारण संसारभरका कम्युनिष्टहरूले उनलाई चिन्दछन् । तीक्ष्ण बुद्धिका धनी, तार्किक क्षमता भएका, शालीन व्यक्तित्वका रूपमा उनलाई नेपाली राजनीतिमा चिनिन्छ । मदन भण्डारीले वि.स.२०४८ सालको आमनिर्वाचनमा काठमाडौँका दुई स्थानबाट एकैपटक जित हासिल गरेका र अन्तरिमकालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मात्र हराएनन् तत्कालीन राजा बीरेन्द्रलाई ‘राजनीति गर्ने भए श्रीपेच खोलेर मैदानमा आऊ’ भन्ने ठाडो चुनौतीले नेपाली राजनीतिमा उनको प्रख्याति ह्वात्तै बढाएको थियो । बनारस विश्वविद्यालयबाट सम्वत् २०२३ सालमा उनले भाषा साहित्यमा स्नातकोत्तर गरेका थिए । त्यहाँ रहँदा बस्दा उनी मन छुने कविता लेख्थे । दमदार भाषण गर्थे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव उनी प्रभावशाली नेता थिए । सम्वत् २००९ सालको असार १४ गते ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारीको कोखबाट माइलो छोरोको रूपमा जन्मिएका उनी २०५० जेठ ३ गते दासढुङ्गामा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितसँगै रहस्यमय दुर्घटनामा परेका थिए । उनकी जीवनसँगिनी विद्या भण्डारी हुन् ।