—घनश्याम कोइराला, काठमाडौँ ।
भनिन्छ, ‘अति गरे खति (क्षति) हुन्छ ।’ अहिले राजनीतिमा ‘अति’ भयो । राजनीतिमा नागरिक विश्वसनीयता गुम्दै गइरहेको छ । राजनीतिमा सम्वेदना हराउँदै गएको छ । यसो हुनु राजनीतिक दल, विचारहरू, व्यवस्था र समाजका लागि समेत हितकर होइन । राजनीतिक दलहरूले जनता तथा राष्ट्रको हितका लागि भनेर गरेका सङ्घर्ष, प्राप्त उपलब्धिहरू, विकास तथा अवलम्बन गरेका विचारहरू, निर्माण गरेका सङ्गठनहरू प्रतिको चरम अविश्वास अत्यन्त चिन्ताजनक विषय हो ।
देशको भौतिक तथा पूर्वाधार क्षेत्रको विकासका लागि आर्थिक अभाव होला । जनताका असीमित आकाङ्क्षा पूरा गर्न नसकिएला । तर, राजनीतिक पार्टी र नेताहरू यही समाजका हुन्, उनीहरू जनताकै बिचमा रहेर जनताका अपेक्षा, भावना, गुनासा, असन्तोषका आवाजहरू सुन्न पनि नसक्ने भएजस्ता देखिन्छन् । पार्टी र नेताहरूप्रति जनतामा तीव्र असन्तोष दिन प्रतिदिन बढिरहेको छ । कानुनी रूपमा दलबदल गर्न प्रक्रिया पूरा गर्नुपर्ने ठाउँका बाहेकका कार्यकर्ताले सहजै दलबदल गरिरहेका छन्, एउटा पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गरिरहेका छन् । साबिकको आप्mनो पार्टी र त्यसका नेतालाई सत्तोसराप गरेर अर्को पार्टीमा लाग्ने, अनि आफुले भने वा सोचेजस्तो नभएपछि पुनः त्यस पार्टी र नेतालाई झन् बढी खुइल्याएर पुरानै पार्टी प्रवेश गर्ने प्रवृत्ति आमचरित्र जस्तो बनेको छ । कतिपय नेताहरू अर्को पार्टीका नेता—कार्यकर्ता आफ्नो पार्टीमा ल्याउन नै खटिइरहेका जस्ता देखिन्छन् । उनीहरू वैचारिक रूपान्तरणका विषयभन्दा घटना र असन्तुष्टिलाई आप्mनो कर्म बनाइरहेका देखिन्छन् । यस्ता व्यवहारले स्वयं राजनीतिक दलहरू हलुङ्गिएका छन् । यो गतिलो सङ्केत होइन ।
हरेक पार्टीले आफुलाई वैचारिक भएको, आफ्ना कार्यकर्ता अनुशासित र सिद्धान्तनिष्ठ रहेको, जनताका लागि त्यागतपस्या र योगदान गरेका भनिरहन्छन्, तर ती सबै त्यस्तो क्वालिटीका छैनन्, बरु त्यस्तो बनाउनुपर्ने छ भन्नेतर्फ ध्यान दिइरहेको देखिँदैन । प्रत्यक्ष—अप्रत्यक्ष रूपमा सामाजिक सञ्जालहरूमा आप्mना नेता विरुद्ध लेख्ने, पाटीभन्दा राष्ट्र ठूलो भन्ने प्रयोग गरेर अराजकता बढाउने, गोप्य मतदानमा अर्कै पार्टीका उम्मेदवारसँग मिलेमतो गरी आफ्ना लाई हराउने गोरखधन्दा गरिरहने प्रवृत्ति अचाक्ली बढ्दो छ । यसलाई रोक्नेतर्फ पार्टी नेतृत्वले खासै ध्यान दिन सकेको छैन ।
केही नेताहरू गम्भीर दुर्घटनामा पर्दा, सिकिस्त बिरामी परेर औषधि उपचार गराइरहँदा कुनै शुभचिन्तकले स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा लेख्नु पनि जोखिम छ । त्यसमा दिइने प्रतिक्रिया मानवीय सम्वेदनाका सबै हद नाघेका हुन्छन् । ‘उहिल्यै मनुपर्ने, धर्तीको भार, लुटको पाप, भ्रष्टाचारको पाप’ आदि इत्यादि सुनिनसक्नु—पढिनसक्नुका टिप्पणीको ओइरो लाग्दछ । कुनै नेताले आप्mना कार्यकर्तालाई त्यसो नगर्न सुझाउँदैनन्, देखेको नदेख्यै, पढेको नपढ्यै गर्दछन् र अप्रत्यक्षतः उनीहरूको मनोबल बढाउँछन् ।
सबै दलका नेता—कार्यकर्ता भ्रष्टाचारको विरुद्धमा देखिन्छन् । उनीहरू कर्मचारीतन्त्रमा भ्रष्टाचार देख्दछन्, त्यहाँका मानिसहरू (कर्मचारी—प्रशासक) कुनै न कुनै पार्टीनिकट छन्, आप्mनो पार्टी निकट छन् भन्ने कुरा थाहै नपाएझैँ गर्दछन् । यातायात क्षेत्रमा रहेको सिन्डिकेट—कार्टेलिङका विषयमा गोहीका आँसु झार्दछन्, त्यस्ता संस्थाहरूको नेतृत्व निर्माणमा प्रत्यक्ष—अप्रत्यक्ष रूपमा (अधिवेशन, साधारण सभा, निर्वाचनमा) दलीय संलग्नता रहेको छर्लङ्ग देखिन्छ । यहाँ उनीहरूले समाधान खोजेको देखिँदैन । सरसफाइ, खानेपानी, सिँचाइ, बजार समिति, विद्यालय प्रशासन र व्यवस्थापन समिति, मन्दिर आदि धार्मिक क्षेत्र, सहकारी, सामुदायिक वन आदि सबैतिर यस्तै अवस्था छ । यस्ता सबै ठाउँमा पार्टीका नेता—कार्यकर्ताहरू रहेकै हुन्छन् र छन् । प्रायः सबै पाइलट, चालक, सहचालक, बैङ्कर, होटल व्यवसायी, शिक्षक, विद्यार्थी, सामाजिक सङ्घ—संस्था, चिकित्सक, सुनचाँदी व्यवसायी, निर्माणकर्मी, निर्माण व्यवसायी, सञ्चारकर्मी आदि कुनै क्षेत्रको नेतृत्व राजनीतिक पहुँचभन्दा बाहिरको छैन । तर, नेताहरूले भाषण र चिन्ता गर्दा यी सबै क्षेत्रमा विकृति—विसङ्ति रहेको उल्लेख गर्न बिर्सेका हुँदैनन् ।
मानिसहरू अराजक भएकोमा राजनीतिक नेतृत्वलाई त्यति चिन्ता छैन, तर आफ्नो पार्टीमा अराजकता बढेकोमा सबैलाई चिन्ता छ । यसको अर्थ हो अराजक बन, तर आफ्ना नेतालाई आक्रमण नगर, प्रहारको निशाना नबनाऊ । यसको परिणाम के हुन्छ ? हरेक अर्को पार्टीका कार्यकर्ता अन्य पार्टी र अन्य पार्टीको नेतृत्वप्रति असहिष्णु, अराजक र उत्तेजक बन्दछ । उनीहरू गालीगलोजमा मुख खोल्न सिपालु हुन्छन् र छन् । एमाले नेताहरू माओवादीलाई खुइल्याउँछन्, नेपाली काँग्रेस र त्यसका नेतालाई खुइल्याउँछन् । काँग्रेस, माओवादी पार्टीका नेताहरू एमाले पार्टी र त्यसको नेतृत्वलाई खुइल्याउँछन् । अन्य पार्टीको कुरा पनि यस्तै हुन्छ अर्थात् नेता र पार्टीहरूलाई खुइल्याउने गालीका स्रोतव्यक्ति पार्टीका नेताहरू नै हुन् । सम्बन्धित पार्टीका कार्यकर्ताहरू केपी ओली, शेरबहादुर देउबा, प्रचण्ड, राजेन्द्र लिङ्देन, बाबुराम भट्टराई, चित्रबहादुर केसी, गगन थापा, उपेन्द्र यादव, सिके राउत, ज्ञानेन्द्र शाही आदिकै शब्द टिपेर यिनीहरूलाई नै खुइल्याउँछन्, खुइल्याइरहेका छन् । अनेकौँ व्यङ्ग्यवाण, अरुलाई नङ्ग्याउनका लागि शास्त्रीय वचनको उल्लेख, अन्यत्रका लेखक तथा नेताहरूको उल्लेख गरेर गरिएका भाषणका अंश प्रयोग गरेर गालीगलोज गर्न र खुइल्याउने संस्कृति हुर्कारहेका छन् । गीताको यो श्लोक नेताहरू पढेका छैनन् कि, ‘यद्यदाचरति श्रेष्ठ तत्तद्देवेतरो जना : । स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते अर्थात् अगुवाहरू जे जस्तो व्यवहार गर्दछन् र प्रमाणका रूपमा स्थापित गर्दछन्, सामान्य मानिसहरू त्यसैलाई पछ्याउँछन् ।’
अतः नेताहरूले फरक विचार, सिद्धान्त र दृष्टिकोण राख्ने अन्य राजनीतिक पार्टीहरू, तिनका नेताहरूका सन्दर्भमा आफ्ना भनाइहरू राख्दा संयमित हुन आवश्यक छ । तथ्यमा आधारित, गालीगलोज रहित आलोचना गर्ने अभ्यासमा अभ्यस्त हुन आवश्यक छ । आलोचना, विरोध, असहमति, गालीगलोज र निन्दाबिच भिन्नता बुझ्न आवश्यक छ ।
नेतृत्वका बोली, बोल्ने शैली, व्यवहार कस्तो हुनुपर्छ ? जस्तो गर्दा समाजमा सकारात्मकता, सिर्जनात्मकता विकास हुन्छ । नेताहरूले आफुमाथि विश्वास गर्नुपर्दछ कि उनीहरूका पछाडि समर्थक छन्, अनुयायीहरू छन् । नेता हुने भनेको आप्mनो निजी विचार पोख्ने, छिरोल्ने, बिथोल्ने नभई बहुजनका विचार बुझ्ने, उनीहरूलाई वैचारिक रूपमा सङ्गठित गर्ने र सामाजिक हितहरूका लागि मानिसहरूलाई समेट्ने हुनु हो । तर, अहिले हरेकले हरेकलाई दोषी, द्रोही, भ्रष्ट, अपराधी जसरी बोल्ने गरेको देखिन्छ । हरेकका प्रत्युत्तर हरेकले त्यसरी नै दिँदा र हरेक पार्टीका कार्यकर्ताहरूले ती विषयलाई प्रयोगमा ल्याउँदा समाजमा कस्तो भाषा, कस्ता शब्द, कस्ता धारणा प्रवाहित र गुञ्जायमान होला ?
राजनीति, त्यो पनि लोकतान्त्रिक राजनीति कस्तो हुनुपर्छ ? तुलनात्मक रूपमा आफुभन्दा ठुलाको धज्जी उडाउनुपर्ने, उसको विरोधमा नै ओर्लिनुपर्ने, पुराना भनेपछि सखापै पार्नुपर्ने, तुलनात्मक रूपमा कमजोर देख्नासाथ अस्तित्वमै धाबा बोल्नुपर्ने, नयाँ भनेपछि कहीँबाट परिचालित भएको आरोप लगाउनैपर्ने आदि जस्ता विषय हल्लाका विषय बनाउनु आवश्यक होला र ?
हो, हामीले हाम्रो देशको विशिष्ठ अवस्थाको अतिरिक्त लाभ उठाउन खोज्नेहरू नभएका होइनन् । यहाँको राजनीतिक अवस्थालाई कमजोर बनाएर आप्mनो स्वार्थको दुनो सोझ्याउने खेल नभइरहेको पनि होइन । छिमेकी लगायत अन्य शक्ति राष्ट्रहरूले रणनीतिक महत्वको नेपाललाई आफ्नो प्रभावभित्र राख्ने प्रयास भइरहेको आभाष नभएको पनि होइन । तर, के यस्ता विषयमा नेताहरूले राजनीतिलाई झन् अल्झाउन—बल्झाउन हुन्छ र ? कुनै राजनीतिक चुनाव जितिसकेपछि बाहिरी शक्तिको इसारामा चलेको वा चल्ने हुन सक्दछ । तर उनीहरूलाई मतदान गर्ने त नेपाली नागरिक नै हुन् नि ! हरेकका स्थानीय कमिटी—समिति छन्, हरेकमा पार्टीको माथिल्लो तहका जिम्मेवारहरू तोकिएका छन्, धेरैजसो पार्टीका जनसङ्गठन (भातृ—भगिनी सङ्गठन) छन् । आप्mनो पार्टीका विचार जनसमक्ष पुऱ्याउन यिनको भूमिका हुँदैन ? कि यी सक्षम छैनन् ? यिनलाई सक्षम बनाउन सकिँदैन ? यिनीहरूलाई जिम्मेवार, सभ्य, अनुशासित, सक्षम बनाएर आआफ्ना राजनीतिलाई बलियो बनाउन सकिँदैन ? यसो गर्न नसक्दा हरेक प्रकारका निर्वाचनमा अन्तर्घात हुने गरेका अनेकौँ घटना घटिरहेका छन् ।
राजनीतिक पार्टीहरू र पार्टी नेतृत्वमा भएकाहरू जनताको सल्लाहकार बन्न सक्नु पर्दछ । दुःखसुखका साथी बन्न सक्नु पर्दछ । आवश्यकता अनुसार प्रेरक र भरोसा बन्न सक्नु पर्दछ । सही जानकारीको स्रोत बन्न सक्नु पर्दछ । समानताका उदाहरण बन्न सक्नु पर्दछ । समावेशी र सहभागिताका पक्षधर बन्नु पर्दछ । जाति, भाषा, धर्म, संस्कृतिका सहजकर्ता बन्न सक्नु पर्दछ । यी सबैका लागि पार्टी नेतृत्वमा सुधार आउनु पर्दछ । संयम र सम्वेदनशीलता जागृत हुनु पर्दछ ।
चुनाव नजित्दासम्म सेवकजस्तो देखिने, हरेक समस्या समाधानका लागि तत्पर देखिने, नियमकानुन परिवर्तनका सपना देखाउने तर चुनाव जितेपछि दूरदर्शी र सर्वज्ञ जस्तो देखिने, नीतिनियम, कानुन फेर्ने कुरा त परैरहोस्, भएका नीतिनियम, कानुन अनुसारका काम गर्नबाट समेत तर्किने—अवगुणहरू बढ्ने रोगबाट पार्टीका नेता कार्यकर्ताहरू जोगिन सक्नु मात्र पनि ठुलो सुधार हुनेछ ।
विरोध, असहमति, आलोचनाका नाममा निन्दा, गालीगलोज, अभद्रता, अशिष्टताले असहिष्णुता र दुर्भाव बढाउँछ, सामाजिक सद्भाव खल्बल्याउँछ । बदलाको भावना, पूर्वाग्रह बढाउनु हुँदैन, यस्तो कामले सिर्जनशीलतामा ह्रास आउँछ, सम्वेदनशीलता नाश गर्दछ । राजनीतिलाई धमिल्याउन, राजनीतिक दल तथा राजनीतिक व्यवस्थाप्रति वितृष्णा बढाउन यी विषय कारकका रूपमा रहेका छन् । राजनीति र व्यवस्था उपभोगका लागि होइन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।
राजनीतिक क्षेत्रले देश र जनताका अनेकौँ अपेक्षाहरू सम्वोधन गर्न नसके पनि यति साह्रो अविश्वासको वातावरण रहन दिनुहुँदैन । राजनीतिक विचार तथा व्यवस्थाप्रति विश्वासको वतावरण निर्माण गर्नु पर्दछ । भ्रष्टाचार निवारण गर्ने उपाय के हो ? यसबारे दलहरूबिच विनापूर्वाग्रह विचार विमर्श हुन सक्दछ, तर यस विषयमा उठेका मुद्दाहरू सल्टाउन उच्च नेतृत्वबिच भेटघाट तथा सम्वाद सुरू भएका समाचारहरू आएका छन्, तर कानुनी कारबाही अघि बढाउने विषय ओझेल पर्दै गइरहेको आशङ्का बढ्दो छ । जोसुकै होस्, कानुनी राज्यमा आरोप पद हेरेर नभई घटनाक्रम हेरेर लाग्ने गर्दछ र प्रहरीले खोजतलासी लिने, पक्राउ पुर्जी जारी गर्ने, पक्राउ नै गर्ने काम पनि गर्न सक्दछ । आरोपका सन्दर्भमा कानुनी लडाइँ लड्ने, सफाइ प्राप्त गर्ने, निर्दोष प्रमाणित हुने बाटो खुलै हुन्छ, आरोप र अपराध फरक हो, पक्राउ पर्नासाथ कोही पनि अपराधी हुँदैन । यी सबैका वाबजुद लुक्ने—भाग्ने काम राम्रो होइन । बरु, सम्बन्धित निकायलाई सहयोग गर्नुपर्नेमा आरोपी भागेको, लुकेको भन्नेजस विषय आएको छ, यस्तो हो भने लज्जाजनक हो ।
‘दोषी नछुटून्, निर्दोष नफसून्’ भन्नेमा सबैको ध्यानाकर्षण हुनुपर्दछ । राजनीतिक हिसाबले प्रशासनलाई सहयोग गर्नुपर्ने, बरु आपूm रहेका सार्वजनिक जिम्मेवारीहरूबाट (तत्कालका लागि—विषयको टुङ्गो नलागेसम्म) अलग हुनु पर्दछ । पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, संसद सदस्यहरूमाथि आरोप लाग्दा थप उदाहरणीय हुनुपर्नेमा अन्यथा हुँदा नागरिकहरूमा आक्रोश बढिरहेको छ ।
सबै तिरको अव्यवस्था यति बढेको छ कि राज्यको कुनै क्षेत्र सन्तोषजनक छैन, सबैतिर असन्तोषको पहाड चुलिएको छ । अब त हुँदा हुँदा संसदमा माननीय सांसद नै अर्धनग्न हुने अवस्था उपस्थित भएको छ । यसो हुनु हामी सबैका लागि शर्मनाक विषय हो । त्यस्तो शर्मनाक कार्य हुनु—गर्नु र त्यस्तो अवस्था सिर्जना हुनु दुवै अति हो । अति सर्वत्र वर्जयेत् !