images
images

मन भक्कानिन्छ, दासढुङ्गा बिझाउँछ !

—घनश्याम कोइराला, काठमाडौँ ।
जेठ ३ गते हरेक वर्ष आउँछ । आङ सिरिङ्ग पार्ने, मन भक्कानिने जेठ ३ गते नेपाली रानीतिक आकाशका दुई उज्वल नक्षत्र, आसलाग्दा ओजस्वी दुई नेता मदन भण्डारी र जीवराज आश्रितको देहावसान भएको दिन हो । चितवनको दासढुङ्गामा वि.स. २०५० सालको जेठ गते बीभत्स र रहस्य दुुर्घटनामा उहाँहरू दुवै जनाको एकसाथ निधन भएको दिन हो ।  

 

वि.स. २००९ साल असार १४ गते ताप्लेजुङ जिल्लाको विकट पहाडी गाउँ ढुङ्गेसाँघुमा मदन भण्डारीको जन्म भएको थियो । सैद्धान्तिक जडता र वैचारिक सङ्कीर्णतामा जकडिएर अनेकौ चिराचिरामा बााडिएको नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्न र राजतन्त्रात्मक निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य तथा २०१७ सालमा राजाद्वारा हरण गरिएको बहुदलीय व्यवस्था पुनःस्थापित गर्न नेपाली काँग्रेसलाई सहकार्यमा ल्याई संयुक्त जनआन्दोलन विकास गर्ने भूमिकाको नेतृत्व गर्नुभयो । यसो गरेर मदन भण्डारीले नेपाल कम्युनिष्ट पार्टीले स्थापना कालदेखि उठाउँदैआएको प्रजातन्त्र प्राप्तिको आन्दोलन अघि बढाउने नेतृत्व त गर्नु नै भयो, पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ‘संयुक्त जनआन्दोलन’को विचारलाई सार्थकता प्रदान गर्नुभयो । यसबाट स्थापनाकालको पार्टी विरासतलाई आफु संलग्न रहनुभएको—नेतृत्व गरिरहनुभएको पार्टीसँग जोड्नु भयो अर्थात् इतिहासको सम्मान गर्नुभयो । 

 

मदन भण्डारीले विभाजित कम्युनिष्ट पार्टीहरूलाई तात्कालिक रूपमा साङ्गठानिक रूपमा एकताबद्ध मात्र पार्नुभएन, यसका लागि सैद्धान्तिक—वैचारिक आधार समेत प्रस्तुत गर्नुभयो । अनेकौँ सैद्धान्तिक जडता र वैचारिक सङ्कीर्णताबाट कम्युनिष्ट आन्दोलनलाई माथि उकास्ने साहस गर्नुहुने मदन भण्डारीले आफ्ना  साथीहरूको सहयोगमा नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ र सिर्जनात्मक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद—(जबज)’ प्रतिपादन गर्नु भयो । यो नै कम्युनिष्ट आन्दोलनलाई सङ्गठित, सुदृढ र विस्तार गर्ने मुख्य आधार थियो । 

 

हातहतियार सहितको लालसेना नभएको पार्टी कम्युनिष्ट—क्रान्तिकारी पार्टी हुनै नसक्ने, एउटा देशमा एकभन्दा बढी क्रान्तिकारी पार्टी हुनै नसक्ने, दीर्घकालीन सशस्त्र युद्धबाहेक क्रान्तिको अर्को बाटो नै नहुने, क्रान्तिको नेतृत्व सर्वहारावर्ग(दृष्टिकोण होइन)कै हुनुपर्ने, अमुकअमुक देशलाई साम्राज्यवादी, प्रभुत्ववादी, विस्तारवादी भनी प्रवृत्तिगत रूपमा नभई सैद्धान्तिक रूपमा नै उल्लेख गर्नुपर्ने, निर्वाचनमा भाग लिन नहुने, निर्वाचनमा भाग लिए पनि सरकारको नेतृत्व गर्न र सरकारमा सहभागी हुनै नहुने, क्रान्ति सम्पन्न नभएसम्म पार्टीको नेतृत्व खुला हुनै नहुने—विभिन्न मोर्चाको माध्यमबाट मात्र खुला राजनीति गर्नुपर्ने आदि जस्ता खण्डित विचार प्रवृत्ति र मान्यताहरूलाई किनारा लाउँदै माक्र्सवादको नेपाली संस्करणका रूपमा जनताको बहुदलीय जनवाद—जबज प्रतिपादन गर्नु नेपाली कम्युनिष्ट आन्दोलनका लागि मात्र नभई सिङ्गो नेपालको राजनीतिका लागि समेत दुरगामी महत्वको योगदान हो । यसका लागि मदन भण्डारीलाई नेपाली राजनीतिले बिर्सन नसक्ने व्यक्तित्वका रूपमा स्थापित गरेको छ । 

 

आज पनि नेपाली कम्युनिष्ट पार्टीहरू र आन्दोलनमा समस्या नै नरहेका होइनन्, तर देखिएका सबै समस्याहरूको समाधानका लागि मार्गदर्शन गर्न जबज सक्षम छ । यसलाई सही ढङ्गले बुझ्न र कार्यान्वयन गर्न जबजको यथार्थ विश्लेषण र तदनुसारको आचरणको आवश्यकता भने खड्किइरहने विषय रहँदैआएको छ । कुनै पनि सिद्धान्तको उपयोगिता त्यताबेला बढेको हुन्छ—त्यतिबेला खट्किन्छ—जतिबेला आन्दोलन सही मार्गबाट भड्किन्छ । जबजलाई यसै अनुरूप बुझ्नु सान्दर्भिक हुनेछ । नेपाली कम्युनिष्ट आन्दोलनका सन्दर्भमा आजको समस्या जबजको सिद्धान्तको नभई सही बुझाइ र गराइमा रहेको छ । 

 

जेठ ३ र दासढुङ्गामा बिझाउने अर्का व्यक्तित्वको नाम हो— जीवराज आश्रित । जीवराज आश्रितको जन्म वि.स. २००१ साल साउन १८ गते गुल्मी जिल्ला, हरेवाको रिठारुख गाउँमा भएको थियो । पुख्र्यौली थर न्यौपाने भए पनि उहाँले आफुलाई जातथरभन्दा फरक राख्न आप्mनो नामको पछाडि ‘आश्रित’ लेख्नुभएको थियो । अनेकौँ कष्ट, भूमिगत, जेलजीवनका भुक्तभोगी जीवराज मदन भण्डारीका विश्वासिला र आडभरोसाका साथी हुनुहुन्थ्यो ।  हामी सुरूसुरूमा सङ्गठनमा सङ्गठित हुँदै गर्दा सिद्धान्त र सङ्गठन बिचको अन्तर्सम्बन्ध बुझाउन ‘सिद्धान्त विनाको व्यवहार अन्धो हुन्छ भने व्यवहार विनाको सिद्धान्त लङ्गडो हुन्छ’ भन्ने प्रशिक्षण नै दिइन्थ्यो । (यद्यपि, अहिले अन्धो, लङ्गडो अपमानजनक शब्द भएको र प्रसङ्गवश उधृत गर्नुपरेकोमा क्षमा चाहन्छु) हुन पनि यो भनाइ अत्यन्तै सारगर्भित रहेको छ । 

 

मदन सिद्धान्तकार हुनुहुन्थ्यो, आश्रित कुशल सङ्गठक हुनुहुन्थ्यो । सिद्धान्तभित्र मार्गदर्शन, निष्ठा पर्दछ भने सङ्गठनभित्र व्यवस्थापन र अनुशासन पर्दछ, यिनैको जोड पार्टी शक्ति हुन्छ । त्यसैले, सिद्धान्त र सङ्गठन एक—अर्काका परिपूरक हुन् । कमरेड पुष्पलालले सिद्धान्त, सङ्गठन र सङ्घर्षमा जोड दिनुभएको थियो, जसलाई ‘तीन स’ भन्ने गरिन्छ । मदन भण्डारीको अगुवाइमा ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग’ सँगै यी ‘तीन स’मा सिर्जनात्मकता—सिर्जनशीलताको थप ‘स’मा विशेष ध्यान दिइएको छ । देश विकासका लागि उत्पादन, निर्माण र सिर्जनाको उत्तिकै महत्व छ ।  मदनका सिद्धान्त, विचारलाई अनुशासन र सङ्गठनमा जोड्ने आश्रितको क्षमता र योगदान अविस्मरणीय छ । 

 

संसारकै कम्युनिष्ट आन्दोलनका सन्दर्भहरू हेर्दा पनि सिद्धान्त र सङ्गठनको मेल हुँदा सफलता प्राप्त भएको र त्यो नहुँदा भत्केको देखिएकै छ । उदाहरणका लागि सिद्धान्तमा आधारित वर्गसङ्घर्ष विजयी इतिहास बोकेको ‘पेरिस कम्युन’मा टिकिरहने बल देखिएन, त्यसलाई त्यति बेलाको कम्युनिष्ट सङ्गठनले जोगाउन र धान्न सकेन, ७२ दिनमा गल्र्यामगुर्लम ढल्यो । यसले कुनै गल्ती गरेर यस्तो भएको होइन, सन् १८७१, मार्च १८ देखि मे २८ सम्मका यी ७२ दिन विश्व सर्वहारावर्गको राजनीतिक विजयको स्वर्णिम दिन हुन् । यति दिनमा इतिहासमा लेख्नयोग्य काम नभएको पनि होइन तर, टिक्न नसक्नुका पछाडि यसो आफ्नै  अनुभव नहुनु, सत्ता सञ्चालनका लागि दक्ष जनशक्तिको अभाव, निरन्तरताको योजना नहुनु आदि कारणले यो क्रान्तिकारी सत्ता टिक्न नसकेको हो । समग्रमा के भन्न सकिन्छ भने सिद्धान्त अनुसारको शक्ति र शक्ति अनुसारको कदम नै उचित हुन्छ । यद्यपि, पेरिस कम्युनको जय र पराजय दुवैबाट सिक्न सकिने विषय अरु पनि नभएका होइनन् । 

 

यी सबैको अनुभव विश्लेषण पनि लेनिनवाद विकास हुने आधार हो । लेनिनले माक्र्सवादी सिद्धान्त कार्यान्वयन गर्ने सङ्गठनात्मक सिद्धान्त प्रतिपादन गरेर लागु गरिएको हुनाले त्यसयताका कम्युनिष्ट पार्टीहरू थप व्यवस्थित बन्नसकेका हुन् । यही सिद्धान्त माक्र्सवादको अभिन्न अङ्ग बनेर ‘माक्र्सवाद—लेनिनवाद’ भएको हो । जसले संसारको कम्युनिष्ट पार्टी र आन्दोलनलाई मार्गदर्शन गरिरहेको छ । यही सिद्धान्तको सही अवलम्बनबाट रुसमा क्रान्ति सम्पन्न भयो, सोभियत संघ निर्माण भयो । सोभियत सङ्घ ७० वर्ष टिक्यो । सैद्धान्तिक मार्गदर्शन र साङ्ठानिक अनुशासन सकिएपछि सोभियत सङ्घसँगै पूर्वी युरोपका कम्युनिष्ट सत्ता पनि ढले । 
अरु कसैले भने या नभने पनि संसारमा प्रचलनमा रहेको सङ्गनात्मक सिद्धान्त र ढाँचामा लेनिनवादको सार रहेकै छ । यसबारे कहीँ, कतै, केही चर्चा हुँदैन, तर परम्परागत प्रजातान्त्रिक—लोकतान्त्रिक भनिनेहरूले प्रयोग गरेका कुनै गतिला कुरा कम्युनिष्ट पार्टीले ग्रहण गर्दा, अपनाउँदा गैरक्रान्तिकारी भएको ढोल पिटिन्छ । मदन भण्डारीले आफुलाई यस्ता खण्डित चिन्तनका विरुद्ध दृढतापूर्वक उभ्याउनु भयो र नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ सिद्धान्त, नयाँ विचार दिनुभयो । 

 

नेपालको कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार र कुशल सङ्गठक मदन भण्डारी र जीवराज आश्रित सिद्धान्त र अनुशासनका समन्वित रूप हुनुहुन्थ्यो । उहाँहरू बिचको यही सहकार्य र समन्वित रूपका कारण जीवनको अवसान पनि सँगै हुन पुग्यो । आजभन्दा ३० वर्षअघि अर्थात् वि.स.२०५० साल जेठ ३ चितवनको दासढुङ्गामा बीभत्स हत्याको अनुमान गरिएको भए पनि यसको रहस्योद्घाटन भने हुन सकेको छैन । कतिपयले यस विषयलाई नेकपा एमालेको मात्र जिम्मेवारी रहेको ठान्दछन् । तर, यस्तो विषय कुनै एउटा पार्टी विशेषको, कसैको नेतृत्वमा बनेको सरकार विशेषको मात्र ठानिनु हुँदैन । सम्पूर्ण राज्यशक्ति, राजनीतिक शक्तिहरू, विषयविज्ञ अनुसन्धाताहरू आदि सबैको साझा जिम्मेवारी हो । उहाँहरूको देहावसानपछि उहाँहरूले नेतृत्व गर्नुभएको नेकपा (एमाले)ले मदन भण्डारीलाई ‘जननेता’ तथा जीवराज आश्रितलाई ‘कुशल सङ्गठक’को सम्मान गरेको हो । 

 

तिसौँ स्मृति दिवसका अवसरमा जननेता मदन भण्डारी र कुशल सङ्गठकलाई श्रद्धापूर्वक स्मरण गरिरहँदा उहाँहरूद्वारा अघिसारिएका सिद्धान्त, विचार, अनुशासन र आदर्शलाई नछोड्ने—पछ्याइरहने सङ्कल्प गर्नु नै उहाँहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।