अहिलेको नेपाल एक अर्थमा ‘नयाँ नेपाल’ बनेको छ । विगतको राणा—शाहवंशीय महाराजाहरूबाट सञ्चालन हुँदैआएको व्यवस्थाको अन्त्य भइसकेको छ । शाहवंशका राजाबाट एकलौटी रूपमा चलाइँदै आएको सत्ता निर्मूल गरी पछिल्लो समयमा उनै राजाहरूलाई संविधान बमोजिम चल्नुपर्ने व्यवस्था आयो । अहिले त्यो व्यवस्था पनि पूर्ण रूपमा समाप्त भएको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएको छ । कुनै व्यवस्था सबैलाई उत्तिकै मनपर्ने वा मन नपर्ने हुन सक्दैन ।
कोशी प्रदेशमा केही विवाद देखिएको भए पनि अन्यत्र सबैतिर प्रदेशहरूको नामकरण र प्रादेशिक राजधानी तोक्ने काम भइसकेको छ । सातै वटा प्रदेशमा प्रादेशिक छन् र सम्बन्धित प्रदेशको विकास—निर्माण, शिक्षा, स्वास्थ्य जस्ता जनसरोकारका सेवा—सुविधा विस्तार गर्ने योजनाका तानाबाना बुन्ने क्रम वाचा—कसमका रूपमा सुरु भएका छन् । एउटा मात्र सरकार, एउटा मात्र संसद रहेको नेपालमा तीन तहका सरकार बन्नु बिल्कुलै नयाँ विषय हो । जिम्मेवारी लिएकाहरूलाई यसको उचित व्यवस्थापन गर्न र सर्वसाधारण जनतालाई यसलाई बुझ्न तथा अभ्यस्त हुन केही समय लाग्न सक्छ ।
सबै तहका सरकार ‘नेपालको संविधान’ अन्तर्गत छन् । कुनै तहको सरकारको मातहत कुनै सरकार छैनन् । संविधानमा तोकिएका अधिकार प्रयोग गरी आफ्ना तहको लागि आफै व्यवस्थापिका(कानुन बनाउने), कार्यपालिका(दैनिक प्रशासन चलाउने) र न्यायपालिका (न्यायिक कार्य सम्पादन गर्न) सक्ने अधिकारयुक्त छन् । अब पहिले गाविस ÷ नगरपालिकाले दिने अधिकांश सेवा गाउँपालिका/ नगरपालिकाका वडा कार्यालयहरूबाट पाइँदैछ । पहिले जिविसबाट पाइने सेवाहरू अब गाउँपालिका / नगरपालिकाबाट लिन सकिने छ । जिल्लास्तरका सबैजसो कार्यालयबाट पाइने सेवा लिन अब जिल्ला सदरमुकाम धाउन पर्ने छैन, स्थानीय तहको सरकारबाट धेरै प्रकारका सेवा पाइने छ । अब राष्ट्रको राजधानी काठमाडौँबाट हुने धेरै काम प्रदेशबाट नै हुनेछन् ।
नेपालको राजकीय (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) शक्तिमा अर्को एउटा महत्वपूर्ण आयाम थपिएको छ । त्यो नयाँ आयाम समावेशी सहभागिता हो । मुलुकका कुनै जातिसमुदाय, लैङ्गिक, भौगोलिक क्षेत्र, अल्पसङ्ख्यामा रहेका समुदाय, फरक शारीरिक अवस्था भएका आदि पक्ष पाखा पारिने छैन । सबै पक्ष हाम्रो मुलुकको नीतिनिर्माण तथा कार्यान्वयन तहमा सुनिश्चिततासाथ समेटिने व्यवस्था कार्यान्वयन भएको छ । अझ भन्ने हो भने समावेशी सहभागिताको संरचना समानुपातिक रहेको छ । आफैले छानेका प्रतिनिधिमूलक संस्थाहरूले ‘ठाउँका ठाउँ’ सेवा दिने व्यवस्था गणतन्त्रको खास विशेषता हो । यस्तो हुनु हाम्रो देशको सन्दर्भमा नयाँ भएको हुनाले ‘नयाँ नेपाल’ भन्न मिल्ने भएको हो । अब सबै तहका सरकारले आ—आफ्नो क्षेत्रभित्र त्यहीँको आवश्यकता—त्यहीँको सहभागितामा आधारित भएर विकास गर्नेछन् । जनताले विगतभन्दा बढी सेवा—सुविधा र अधिकारको उपभोग गर्न पाइने छ र थप दायित्व पनि निर्वाह गर्नुपर्ने छ । अधिकार, कर्तव्य, सेवा—सुविधाको बढोत्तरी नै विकासको वास्तविक परिसूचक हो । ‘जे जस्तो थियो, जे जहाँ थियो’लाई विकास मान्न सकिँदैन ।
नयाँ व्यवस्था अनुसार नेपाल ‘धर्मनिरपेक्ष’ भएको छ । यो हाम्रो लागि अर्को नयाँ र भिन्न पक्ष हो । यो ‘धर्मनिरपेक्षता’को विषयमा पनि मानिसहरूका फरक—फरक धारणाहरू छन् । संविधानमा लेखिएका धर्मविषयका दृष्टिकोण हेर्दा हाम्रो सन्दर्भमा ‘धर्मनिरपेक्ष’ भनेको ‘धर्मविरोधी’ हो भन्ने अर्थ लाग्दैन । संविधानको प्रस्तावनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै’ लेखिएबाट राज्यको धर्म—संस्कृतिप्रतिको सकारात्मक सङ्कल्प स्पष्ट हुन्छ ।
नेपालको संविधानको भाग—१, प्रारम्भिक (३.) मा लेखिएको यो— ‘राष्ट्र: बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ लेखाइले पनि हाम्रो राष्ट्र धर्मविरोधी हो भन्न मिल्दैन । बरु विगतमा धर्मसापेक्ष ‘हिन्दुराष्ट्र’ रहेको बखत परम्परादेखि चलिआएको ‘हिन्दु’ भनिएको ‘सनातनधर्म’का विषयमा व्यवस्थाद्वारा जोगाइदिइएको धर्मको रूपमा चित्रित गरी सनातनीहरूलाई विभेदीको लाञ्छना लगाइन्थ्यो । जे भए पनि राजनीतिक व्यवस्थाद्वारा ‘जोगाइएको’ धर्म—संस्कृतिबाट स्वतन्त्र भएर आफ्ना धर्म—संस्कृति अवलम्बन गर्न, वैज्ञानिकता र औचित्य साबित गर्न, तिनीहरूको विकास गर्न पाइने विषय हीनताबोध र कुण्ठाको विषय हुनुहुँदैन ।
बदलिएको राजनीतिक अवस्था र व्यवस्थामा हाम्रा पुर्खाबाट सरिआएका परम्पराका मौलिक एवं कालजयी सन्दर्भहरूको विकास गर्न के गर्नुपर्ला ? हाम्रा जनजीवनका मौलिकताहरूको संरक्षण कसरी गर्न सकिएला ? संस्कृति र सभ्यताका आधार तथा प्राचीन प्रवन्धहरूको जीवन्तताका लागि राज्यबाट कस्ता नीति र नागरिकहरूबाट कस्ता कर्म गरिनुपर्ला ? आदि विषयमा ध्यान दिन आवश्यक देखिन्छ ।
यद्यपि, धर्म मानिसको निजी विश्वास, आस्था र विश्वासको विषय हो । कसैले मान्न, नमान्न या फरक धर्म मान्न पाउने स्वतन्त्रता छ, तर नेपाली समाजमा धर्मसँगै जोडिएर आएका सांस्कृतिक विषयहरू निजी मत—मान्यताका विषयमा मात्र सीमित हुने खालका छैनन् । यी विषयहरूका अन्तर्वस्तुमा ज्ञान—विज्ञानका, प्रवन्धका, सोच—चिन्तनका आधार छन् । जीवन र जगतका जिज्ञासाका जबाफहरू छन् । त्यसैले अब हाम्रा धर्म—संस्कृति पुस्तक, मठ—मन्दिर र निजी कर्मकाण्डमा सीमित राख्ने होइन । यिनीहरू भित्रका ‘सर्वजन हिताय, सर्वजन सुखाय’का मर्महरूलाई पुनर्जागृत गर्न आवश्यक छ ।
हाम्रा पुर्खाले गुणकारी ठह¥याएका पञ्चपल्लव कर्मकाण्डको वेदीमा मात्र होइन, पर्यावरणको रक्षाका क्षेत्रमा प्रयोग गरिनुपर्छ । पञ्चपल्लवका वन विस्तार गर्न यसका पक्षधरहरू लागिपर्नु पर्दछ । हाम्रो संस्कृतिमा ‘श्राद्ध’ गर्ने परम्परा छ, त्यो भनेको ‘श्रद्धा’ गर्ने संस्कृतिको विकासको लागि हो । त्यसैले यसका पक्षधरहरू ज्येष्टनागरिकहरूको सार्वजनिक सम्मान गर्ने, उनीहरूका अनुभवहरू सुन्ने—सुनाउने, लेख्ने—लेखाउने, उनीहरूका लागि सुविधाका सार्वजनिक स्थलहरू निर्माण गर्ने—गराउने काममा लाग्नु पर्दछ । सर्वसाधारण मानिसहरूमा ज्ञान, योग र भक्ति विकास गर्न सार्वजनिक प्रवचन कार्यक्रमहरू सञ्चालन गर्नु—गराउनु पर्दछ ।
अब ज्ञान, योग र भक्तिका पक्षधर सनातनीहरूले नयाँ पुस्तालाई भन्नैपर्छ :
१. ज्ञान भनेको— अधिकार के हो ? कर्तव्य के हो ? गर्न हुने के हो ? गर्न पर्ने के हो ? गर्न नहुने के हो ? गर्न नपर्ने के हो ? खान हुने के हो ? खान नहुने के हो ? के किन ? के किन होइन ? आदि छुट्ट्याउने विवेक हो ।
२. योग भनेको— ज्ञानलाई कर्मसँग जोड्नु हो, जोड्ने अभ्यास हो । आफूले गर्ने कामलाई तत्परता, कुशलता र एकाग्रतापूर्वक सम्पन्न गर्नु हो । शारीरिक क्रियाकलापलाई ज्ञानसँग जोड्नु हो, मनसँग जोड्नु हो, चित्तसँग जोड्नु हो ।
३. भक्ति भनेको— समर्पण हो, निष्ठा हो । शास्त्रमा यसका विभिन्न आयामहरू बताइएका छन् । भक्ति भनेको आस्था—निष्ठाप्रति समर्पित रहने भाव हो । देवभक्ति मात्र होइन, देशभक्ति हो । यस भक्तिभित्र मातृभक्ति, पितृभक्ति, मित्रभक्ति, वन्धुभक्ति, ....आदि भक्ति पर्दछन् ।
शास्त्रमा भनिएको :
अमन्त्रं अक्षरं नास्ति नास्ति मूलमनौषधम् । अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभ: ।।
अर्थात्, ‘मन्त्र नहुने कुनै अक्षर छैन, ओखती नहुने कुनै जरो छैन, अयोग्य मानिस छैन, यी सबैलाई संयोजन गर्ने दुर्लभ छन् ।’
यो शास्त्रीय वचन ‘ज्ञान’ हो । यसले कसैलाई तल—माथिको विभेद नगर्न सिकाएको छ । सबैका योग्यता—क्षमताबाट लाभ लिन सिकाएको छ ।
त्यति मात्र होइन, हाम्रा शास्त्रमा मानिसलाई मात्र होइन, पशु—पङ्क्षीहरूलाई पनि ज्ञानको स्रोत मानेका अनेकौँ दृष्टान्तहरू छन् ।
शास्त्रमा भनिएको छ :
सिंहादेकं बकादेकं शिक्षेच्चत्वारी कुक्कुटात् । वायसात्पञ्च शिक्षेच्च षट्शूनस्त्रिणि गर्दभात् ।।
अर्थात्, ‘सिंहबाट एक– प्रारम्भदेखि नै पूरा शक्ति लगाएर काम गर्नु । बकुल्लाबाट एक– पूर्ण आत्मसंयम र एकाग्रतासाथ काम गर्नु पर्दछ । कुखुराबाट चार– उचित समयमा निद्राबाट जाग्नु, सङ्घर्षका लागि सधै तयार रहनु, बाँडिचुँडी खानु, आफ्नै प्रयासले खानेकुरा जुटाउनु । कागबाट पाँच– लुकेर मैथुन गर्नु, सित्तिमिति कसैलाई नटेर्नु, समयअनुसारका वस्तुहरू जम्मा पार्नु, निरन्तर सावधान रहनु । कुकुरबाट छ– पाएजति खाने, नपाएमा सन्तुष्ट रहने, राम्रो गरी निदाउने, तुरुन्त जाग्न सक्ने, स्वामीभक्त—इमान्दार, लडाईँ गर्न परे नआत्तिने । गधाबाट तीन वटा– सुम्पिएको दायित्वको भारी बोक्ने, जाडो वा गर्मीले नआत्तिने, सधै सन्तोषपूर्वक रहने शिक्षा लिन सकिन्छ । यसरी हरेकबाट ज्ञान—शिक्षा बटुल्ने र गुरु मान्ने प्रावधान रहेको हाम्रो संस्कृति उदात्त संस्कृति हो ।
यी माथि भनिएका कुनै पनि विषय कुनै जातजाति, भाषाभाषी, कुनै वर्ण, वर्ग, लिङ्ग, क्षेत्र, धर्मविशेषका लागि मात्र काम लाग्ने या कसैलाई काम नलाग्ने विषय होइनन् । यी साझा शिक्षा, विद्या, ज्ञानका विषय हुन् । अधिकांशतः धर्मलाई परमार्थको, मृत्युपछिको लागि छुट्ट्याइएको पाइन्छ । तर संस्कृति भने जीवनकै लागि हुन्छ । धर्मलाई प्रायः स्थिर बनाइएको पाइन्छ भने संस्कृति गतिशील रहेको हुन्छ । गतिशील भएन भने संस्कृति साँचो अर्थमा संस्कृति हुदैन । त्यसैले हिन्दुको नाममा रहेको सनातन धर्मभित्रको सांस्कृतिक पक्षभित्र जीवनोपयोगी गतिशील पक्ष छन् । तिनलाई व्यवहारमा लागू गर्न सक्दा हरेक व्यक्ति, समाज, राष्ट्र र सिङ्गो संसार लाभान्वित हुन सक्दछ । ‘नयाँ नेपाल’ निर्माणसँग हाम्रो सांस्कृतिक भूमिकाको महत्वलाई जोड्न आवश्यक छ ।
(लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)