काठमाडौं, असोज २८ (रासस)
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु हुँदै छ । कात्तिक २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि बेनीको खुल्लामञ्चमा खेल सामग्रीको वन्दोवस्त, खेल मैदान निर्माण तथा मर्मत र सजावटको काम सकिएको छ । खेलाडीको आवास र अभ्यासस्थलसहित व्यवस्थापकीय काम सकिएको र भव्य समारोहकाबीच उद्घाटन गर्ने तयारी गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए ।
जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिबल सङ्घको नेतृत्व र पालिकाको सहयोगमा प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार तयारी भएको छ । “राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा सहभागिता जनाएका खेलाडीको उपस्थिति हुने उक्त प्रतियोगिताले जिल्लामा खेलकुद क्षेत्रको विकासमा थप टेवा पुर्याउने देखिन्छ, राष्ट्रियस्तरको प्रतियोगिता यस जिल्लामा आयोजना हुनु सम्पूर्ण म्याग्देली खेलप्रेमिका लागि गौरवको कुरा भएकाले हामी प्रतियोगितालाई सफल बनाउन जुटेका छौँ’’– अध्यक्ष
केसीले भने ।
महिला भलिबलमा सहभागी हुने सात प्रदेशसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका खेलाडी बेनीमा आइसकेको जिल्ला भलिबल सङ्घका अध्यक्ष तेजेन्द्र बाँनियाले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई होटल व्यवसायी सङ्घको समन्वयमा आवासको प्रबन्ध मिलाइएको छ । आज बेनीमा झाँकीसहितको र्याली मार्फत खेलाडीलाई स्वागत गर्दै प्रतियोगिता औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
उद्घाटनका अवसरमा जिल्लाका मौलिककला, संस्कृति, वेषभूषा र बाजागाजासमेत प्रदर्शन गरिने भएको छ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पूर्वसन्ध्यामा बेनीबजार र खेल सञ्चालन हुने खुलामञ्च परिसर सरसफाइ गरी तुल, ब्यानर र तोरण टाँगेर सिँगारिएको छ । गण्डकी प्रदेशमा ३९ वर्षपछि भएको उक्त प्रतियोगिताअन्तर्गत जिल्लामा महिला भलिबलसँगै तेक्वान्दो प्रतियोगितासमेत सञ्चालन हुँदै छ । कालीपुलस्थित कवर्ड हलमा हुने तेक्वान्डो प्रतियोगिताका लागिसमेत खेल मैदानको व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको छ ।