फेब्रुअरी २०, पुणे, महाराष्ट्र ।
प्रवासी नेपाली संघ भारतको आयोजनमा सम्पन्न हुन लागेको आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलनमार्फत बन्ने केन्द्रीय नेतृत्व चयन सहमतिमा हुने भएको छ । सहमतिका लागि संगठनका अगुवाहरूको प्रयास भइरहेको छ र सहमति नजिकै पुगेको जानकारी स्रोतले गराएको छ ।
संघको सातौँ अखिल भारत सम्मेलनद्वारा पारित विधानको व्यवस्थाले प्रत्येक ५ वर्षमा हुनुपर्ने यो अखिल भारत सम्मेलन विभिन्न परिस्थितिजन्य कारणले यस पटक १२ वर्षमा सम्पन्न भइरहेको छ ।
सम्मेलन आयोजक समितिका सदस्य एवं स्वयंसवेक प्रमुख मोहन थापाको बुझाइमा प्रवासी नेपाली आन्दोलन नेपाल कम्युनिष्ट पार्टीले चलाएको वाम–प्रजातान्त्रिक आन्दोलनसँग अन्योन्याश्रित ढंगले जोडिएर आएको छ । प्रवासी नेपाली आन्दोलनको संगठित इतिहास ६ दशक पूरानो हो । सेवा, सहयोग र राजनीतिक लडाइँसँग जोडिएको यो आन्दोलनसामु प्राप्त उपलब्धिलाई ग्रहण गर्नुपर्ने, यसका लागि आफ्नो भूमिकाको प्रभावकारिता वृद्धि–विकास गर्नुपर्ने र नेपालको सबल अर्थतन्त्र
निर्माणको क्षेत्रमा अपेक्षित योगदान गर्न सक्ने ज्ञान, सीप र प्रविधिमैत्री नवोदित पंक्तिलाई नेतृत्व विकास क्रमसँग जोड्दै ल्याउनुपर्ने अवस्था छ ।
सम्मेलनको प्रमुख अतिथि नेकपा (एमाले) महासचिव शंकर पोखरेललगायत अधिकांश अतिथिहरूले समुन्नत सामाजिक–सांस्कृतिक रूपान्तरण र व्यवस्थापनको अभियानमा प्रवासी नेपालीलाई अवैतनिक आर्थिक कूटनीतिकको भूमिकामा रहनुपर्ने राय सुझाएसँगै सम्मेलनमा सहभागी आयोजक, प्रतिनिधि, कलाकार, पर्यवेक्षक सहितको सहभागी पंक्ति आशातीत खुसी र हर्षित भएको देखिन्छ । यो समुदायले सम्मेलन उद्घाटन समारोहमा व्यक्त अवधारणा अनुसारको नीति, विधि र यसलाई कार्यान्यनमा ल्याउन सक्ने चुस्त नेतृत्व चाहेको आयोजक कमिटी सदस्य रामायणप्रसाद धमलाले बताउनुभयो ।
तीन दिनसम्म चल्ने सम्मेलनको देस्रो दिन यसको बन्द प्रतिनिधिसत्र पूणे सहरको डा. भीमराव अम्बेडकर सभाकक्षमा चलिरहेको छ । बिचबिचमा देशभरिको कला र संस्कृतिको झल्को दिने झाँकीबद्ध प्रस्तुतिले सम्मेलनलाई अत्यन्तै मनोरम र सहज बनाएको छ ।