images
images

पार्टी प्रशिक्षण निर्देशिका तयार हुँदै 

काठमाडौँ, जेठ । 
नेकपा एमालेले आफ्नो वैचारिक तथा सांगठानिक क्रियाकलापलाई तीव्र बनाएसँगै बुद्धिजीवीहरूको भूमिका पनि बढेको छ । नेकपा एमाले केन्द्रीय स्कुल विभागले हालै सम्पन्न गरेको एउटा आन्तरिक कार्यशालामा प्राडा तत्व तिम्सिनाको प्रस्तुति भएको छ । ‘पार्टी प्रशिक्षणका विषय तथा विधिहरू’ विषयक छलफलमा प्राडा तत्व तिम्सिनाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस कार्यपत्रलाई पार्टीको स्कुल विभागले पार्टी प्रशिक्षण निर्देशिकाको मस्यौदाको रूपमा यसलाई ग्रहण गरेको छ । 

 

पार्टीका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीको अध्यक्षता एवं स्कुल विभागका सदस्यहरूको सहभागिता रहेको सो कार्यक्रममा प्राडा तिम्सिनाले प्रस्तुत गर्नुभएको कार्यपत्रमा पार्टी संगठन निर्माण, परिचालन, व्यवस्थापन, वैचारिक शिक्षा, युवा नेतृत्व विकास, जनसमुदायका अन्य मागहरूको सम्बोधन आदि विषय समेटिएको छ । प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूद्वारा आआफ्ना सुझावहरू प्रस्तुत गरिएको थियो । यसलाई तत्व तिम्सिना, स्कुल विभाग सदस्यद्वय इन्दिरा पन्त र रामशरण प्याकुरेलले अन्तिम रूप दिई पार्टी स्कुलमा बुझाउनुहुने र त्यसपछि त्यसबारे अन्तिम टुंगो लगाइने जानकारी गराइएको छ । मस्यौदाले छिटै पूर्णता पाउने प्रस्तोता तिम्सिनाले बताउनु भएको छ । 

 

कन्द्रिय स्कुल विभागले अब देशब्यापीरुपमा पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिहरुकालागि प्रशिक्षणहरु संचालन गर्न गइरहेको कुरा उक्त कार्यक्रममा बताईयो । युवाहरुलाई लक्षित गर्दै नव प्रवर्तन र स्टार्टअप सम्बन्धि युवा नेतृत्व विकास कार्यक्रमहरुको आवश्यकताबारे पनि उक्त कार्यक्रममा छलफल गरियो ।