काठमाडौँ - राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) ले पूर्ण समानुपातिक संसद, कार्यकारी प्रधानमन्त्री र अभिभावकीय राजाको प्रस्ताव अघि सारेको छ ।
बुधबार र बिहीबार धुलिखेलमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद र अभिभावकीय भूमिकामा भने राप्रपाले राजा रहने प्रस्ताव अघि सारेको हो ।
राप्रपाले स्थानीय तहको चुनावको समीक्षा गर्दै पार्टीको सम्पूर्ण शक्ति आउँदो संघ र प्रदेशको चुनावमा केन्द्रित गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राप्रपाले तीन तहको संघीयतालाई खारेज गर्दै अधिकार सम्पन्न स्थानीय तहसहितको दुई तहको शासकीय स्वरुप हुनुपर्ने मत अघि सारेको छ।
‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरता अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री,’ राप्रपाले अगाडि भनेको छ, ‘र अभिभावकीय संस्थाका रूपमा राजा रहने, तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी निर्वाचनमा यो विषयलाई राप्रपाले जोडदार रूपमा उठाउने।’
राप्रपाले संघ र प्रदेशको चुनावमा पार्टीबाट उम्मेदवार बन्न चाहनेहरुका लागि खुला आह्वानसमेत गर्ने भएको छ।