काठमाडौँ, अनलाइन बहस ।
प्रकृति, संस्कृति, साहसिक र आध्यात्मिक क्षेत्र— Nature, Culture, Adventure, Spiritual नेपालमा पर्यटनका विशेष क्षेत्र हुन् । यी चार वटै क्षेत्रलाई समेटेर नेपालमा पर्यटकहरूलाई आकर्षित गर्ने विशेष योजनासाथ एभरेष्ट पाथवेज नामक ट्राभल एजेन्सी सुरू गरिएको छ । गैरआवासिय नेपाली परिवारलाई समेत पारीवारिक पुनःताजगी (रिट्रिट) का लागि नेपाल घुम्न आउन प्रोत्साहित गर्ने योजना रहेको यसका सञ्चालकहरूबाट जानकारी गराइएको छ ।
शिक्षा, सीप र जाँगर भएका नेपाली युवाहरू विदेश पलायन भइरहेको समयमा शिक्षित, सिपालु र जाँगरिला युवाहरूको यस्तो पहल प्रशंसनीय रहेको पर्यटन तथा विकास क्षेत्रका जानकारहरू बताउँछन् । ट्राभल एजेन्सीको योजनाअनुसार यसै वर्ष २०८० भित्र भारत, बंगलादेश, जापान, जर्मनी, अष्ट्रेलिया र अमेरिकामा आफ्नो सम्पर्क सञ्जाल निर्माण गरी सेवा विस्तार गर्ने लक्ष लिइएको छ । ‘अतिथि देवो भव’को नेपाली संस्कृतिलाई नेपालको समृद्धिसँग जोड्ने सोच र योजनासहित काठमाडौँको गैरीधारामा कार्यालय खोली सेवा प्रारम्भ गरेको यस संस्थाले नेपालको प्राकृतिक, सांस्कृतिक, साहसिक, आध्यात्मिक विशेषता तथा सुन्दरतालाई विश्वव्यापी रूपमा चिनाउँदै पर्यटक भित्र्याउने लक्ष लिएको छ ।
शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो । नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमका सहभागीहरूले युवाहरूको यस योजनाको खुलेर प्रशंसा गर्दै सफलताको शुभकामना दिएका थिए । संस्थाले यसअघि चितवन मिडटाउन रिसोर्टसँग साझेदारी गरिसकेको छ । अन्य संघ—संस्था, सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने योजना रहेको संस्थाका कार्यकारी प्रमुख दिनेशराज पनेरुले जानकारी दिनुभयो । यस क्रममा उहाँले आपूmहरू प्रचारभन्दा कामबाट अघि बढ्न चाहेको बताउनु भयो ।