काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधकै बीच संसदबाट नागरिकतासम्बन्धी विधेयक फिर्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता पहिलो संसोधन विधेयक २०७५ प्रतिनिधि सभाबाट फिर्ता भएको हो ।
प्रमुख प्रतिपक्ष दलका सांसदहरुले विधेयक फिर्ता लिने प्रस्तावको विरोध गरेका थिए । उनीहरुले लामो समय छलफल भएको र संसदको मस्यौदा समितिबाट पनि पास भइसकेको विधेयकलाई नै अगाडि बढाउन आग्रह गरेका थिए ।
गृहमन्त्री खाँणले आजै बस्ने मन्त्रिपरिषद्को बैठकबाट नागरिकता विधेयक फेरि प्रस्तुत गरिने जानकारी दिएका छन् । उनले सबै नेपालीलाई नागरिकताबाट वञ्चित नहोस् भन्नकै लागि नयाँ विधेयक ल्याउन लागिएको उनले बताए । तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ गते यो विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको थियो ।