फागुन १७ ।
एक्का नेपाल (वातावरण संरक्षण शिविर नेपाल) ले नयाँ काउन्सिलर ब्याचका ४ दिने तालिम सम्पन्न गरको छ । सन् २०२३ फेब्रुअरी २१ देखि २४ तारिखसम्म ज्वागल, ललितपुरमा आयोजित उक्त काउन्सिलर तालिम शिविरमा विविध पृष्ठभूमिका १९ युवाहरूले भाग लिएका थिए । विभिन्न विधाहरूमा अवसरहरू सिजना गर्दै ज्ञान र सीप विकासमा पहुँच प्रदान गरी युवाहरूलाई सशक्त बनाउने तालिमको मुख्य उद्देश्य रहेको तालिम सयोजक मनिषा गोदारले बताउनु भयो ।
उक्त तालिममा विद्यालय वातावरण सुधार, प्रारम्भिक बाल विकास, बहु–ग्रेड मल्टि लेभल पद्धति, WASH (पानी, सरसफाइ र स्वच्छता), प्रकृति क्लब र व्यवस्थापन, बाल कमिक, बाल म्यागजिन, महिला र बालबालिका अधिकार, सामाजिक समावेशीकरण र अपाङ्गता, वातावरण कार्यक्रम, परियोजना व्यवस्थापन र सामुदायिक परिचालन, स्थलगत भ्रमण, आधारभूत जीवन सीप, दिगो जीवन, ग्लोबल लर्निंग जस्ता विषयवस्तुहरूमा अन्तरक्रियात्मक
सत्रहरू सञ्चालन भएको थियो । प्रशिक्षणका प्रशिक्षक रुपेन्द्र महर्जनले सकारात्मक सोधखोज विधिबाट साझा परिकल्पना अभ्यास सहजीकरण गर्दै सहभागीहरुलाई समुहगत परियोजना रणनिती र कार्ययोजना तयार गर्न लगाएको एक्का नेपालका कार्यकारी निर्देशक योगेन्द्र चित्रकारले जानकारी गराउनु भयो । यस अन्तर्गत ६ महिनाभित्र नतिजा हासिल गर्न सकिने गरी कार्ययोजना तर्जुमा गरिएको छ । ती योजनामा ग्रामीण क्षेत्रमा बाल शिक्षा सम्बन्धी वृत्तचित्र तयार गर्ने, महिला हिंसा विरुद्ध सडक नाटक आयोजना गर्ने, बाल मनोविज्ञान विषयमा कार्यक्रम गर्ने, लघु चलचित्र नाटक मार्फत समुदायलाई जनचेतना कार्यक्रमहरु गर्ने, बालबालिकाका लागि निःशुल्क थेरापी सत्रहरू सञ्चालन गर्ने, फोहोर व्यवस्थापन कार्यक्रम गर्ने, सडक कुकुरहरूको लागि नियोन बेल्ट वितरण गर्ने विषयहरू समेटिएका छन् । तालम कार्यक्रमका सहभागीहरूले निर्धारित गतिविधिहरू कार्यन्वनमा ल्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।