काठमाडौँ, माघ २७ (अनलाईन बहस)
अभिव्यक्ति कला (Expressive Art) सम्बन्धी एक दिवसीय कार्यशाला हालै सम्पन्न भएको छ । Institute of Cultural Affairs (ICA) को आयोजनामा सम्पन्न भएको यस कार्यशालामा ३० जनाको सहभागिता रहेको थियो । कार्यशालाका सहभागीहरू सामाजिक अभियन्ता, प्राध्यापक, विद्यार्थी, लेखक, अध्यात्म तथा सामाजिक नेतृत्व लगायत क्षेत्रमा क्रियाशील व्यक्तित्वहरू रहनुभएको थियो ।
यो कार्यक्रम मूलतः सामाजिक कलाकारिता (Social Artistry) विषय अन्तर्गतकै एउटा महत्वपूर्ण पाटो हो । यसका जानकारहरूले विविध ढङ्गले यस विषयलाई स्पष्ट्याउने प्रयत्न गर्नुभएको थियो । वहाँहरूको भनाइ थियो, ‘अरुलाई हानि नपुर्याई, अरुका कमजजोरी नखोजी, अरुको गोपनीयता भङ्ग नगरी आफ्नो अभिव्यक्तिलाई कलात्मक रूप प्रदान गर्नु र कलात्मक तथा प्रभावकारी रूपमा प्रस्तुत गर्नु नै खासमा कलात्मक अभिव्यक्ति हो र अभिव्यक्ति कला हो ।’
कार्यशालामा गरिएका क्रियाकलापले पनि यो विषय वास्तवमा बोली, भाषणको मात्र विषय नभई समाजका हरेकले आफ्नो सुविधा अनुसार आफ्ना विचार अभिव्यक्त गर्न सक्दछन्
भन्ने स्पष्ट पारिएको थियो ।
मनलाई एकाग्र गर्ने, काममा ध्यान दिने, आफ्नो सोचाइ अरुसम्म पुर्याउनेबारे गरिएको अभ्यासका क्रममा सहभागीहरूले स्वनिर्मित चित्रहरूद्वारा आफ्नो मनका गहन भाव अभिव्यक्ति गरेका थिए ।
कार्यक्रमको सहजीकरण विषय विज्ञद्वय जेनेट सेन्डर्स र ब्लेस सेन्ड्सले गर्नुभएको थियो । जेनेट पिपुल इनर्जी, क्यानडाका अध्यक्ष र ब्लेस एकेडेमी अफ न्यु अर्थ, अमेरिकाका सहनिर्देशक हुनुहुन्छ ।
आईसीए नेपालका संस्थापक अध्यक्ष समेत रहनुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तत्व तिम्सिनाले सहभागी तथा विज्ञहरूलाई धन्यवाद दिँदै मानव जातिले जुनसुकै क्षेत्रमा विकास गरेका ज्ञानबाट सबैले लाभ लिनुपर्दछ र समाजका लागि सदुपयोग गर्नु पर्ने विचार राख्नुभएको थियो । कार्यक्रममा आईसीए नेपालका कार्यकारी प्रमुख इशु सुब्बा, सामाजिक कालाकारिताका क्षेत्रमा अभ्यास र सहजीकरण गर्दै आउनुभएका प्रमिला केसी, अम्बादत्त भट्टको सहभागिता रहेको थियो । सहभागीहरूले कार्यशालाबाट भएको सिकाइ जीवनोपयोगी रहेको बताएका छन् ।