images
images

कानूनी विवाह गर्दै हुनुहुन्छ ?

काठमाडौं, कार्तिक १७

                                                                                             -अधिवक्ता सुलोचना धिताल
मानिसको जन्म देखि मृत्यु पर्यन्त गरिने विभिन्न सामाजिक संस्कार मध्ये विवाह  पनि एक सामाजिक संस्कार हो । विवाहसंग जीवनका विभिन्न आयामहरु जोडिएका हुन्छन्  व्यक्तिगत तवरले हेर्दा बिबाहलाई  विवाहित व्यक्तिको जीवनमा नयाँ पाटो आरम्भ भएको मानिन्छ । सामान्यतया सामाजिक परम्परा, प्रथा, प्रचलन बमोजिम परिवारका सदस्यहरु, आफन्तजन, साथीभाई भेला भई औपचारिक समारोह आयोजना गरी बिबाह सम्पन्न गर्ने प्रचलन छ तर पछिल्लो समय कुनै सभा समारोह नगरी विवाह गर्न चाहने महिला र पुरुष अदालत वा कानून बमोजिम तोकिएको निकायमा आफू मात्र उपस्थित भई कानूनी बिबाह गर्ने प्रचलन बढ्दो छ त्यसलाई दर्ता द्धारा गरिने विवाह , कानूनी विवाह तथा अंग्रेजीमा court marriage भनिन्छ । छिटो छरितो र कम खर्चमा बिबाह सम्पन्न हुने हुँदा आजकल मानिसहरुको यस तर्फ आकर्षण बढ्दो छ । खासगरी विदेश जाँदा पति पत्नीको रुपमा कानूनी विवाहलाई मान्यता दिइने कारण बिदेश जान चाहने वा जाने युवा युवतीले कानूनी विवाह गर्दछन् ।  
कानूनी प्रावधान 
दर्ता द्धारा गरिने कानूनी बिबाह सम्बन्धमा बिद्यमान मुुलुकी देवानी संहिता, २०७४ तथा मुलुकी देवानी कार्यविधि नियमावली, २०७५ मा व्यवस्था गरिएको छ जस अनुसार कुनै पुरुष वा महिलाले दर्ता द्धारा बिबाह गर्न चाहेमा आफनो नाम, थर , उमेर, ठेगाना, पेशा, बाबु, आमा, बाजे बज्यैको नाम, यस अघि विवाह भए वा नभएको, बिबाह भएको भए बैबाहिक सम्बन्ध अन्त्य भएको व्यहोरा उल्लेख गरी बिबाह गर्न चाहने महिला र पुरुषको हालसालै खिचेको ४/४ प्रति पासपोर्ट साईजको फोटो र  साक्षीको परिचय खुल्ने कागजात (नागरिकता, राहदानी आदि) संलग्न गरी कम्तीमा २ जना साक्षीको पुरै बिबरण खुलाई सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्दछ ।
निवेदनमा उल्लेखित बिवरणको अतिरिक्त निवेदकले कानून बमोजिम आफनो बिबाह गर्ने उमेर पुगेको,  हुन गईरहेको विवाह हाडनाता भित्र नपर्ने, विवाह गर्न दुबै पक्षको मञ्जुरी रहेको, निवेदक मध्ये कुनै एक वा दुवैजना पन्ध्र दिन अगाडि देखि सम्बन्धित जिल्लामा बसोबास गरिरहेको स्वघोषणा समेत गर्नुपर्दछ । 
त्यसैगरी, बिदेशमा बसेका नेपाली नागरिकहरुले दर्ताद्धारा कानूनी विवाह गर्न चाहेको अबस्थामा माथि उल्लेखित सम्पूर्ण व्यहोरा उल्लेख गरी निवेदन तयार गरेर सम्बन्धित देशमा रहेको नेपालको राजदूतावास वा महावाणिज्य दूतावास समक्ष निवेदन दिनुपर्दछ । अध्ययन वा रोजगारीको शिलशिलामा सम्वन्धित देशमा लामो समय देखि नबसेको अवस्था छ भने विवाह गर्न चाहने व्यक्ति सम्वन्धित देशमा कम्तीमा १५ दिन देखि रहे बसेको  हुनुपर्दछ ।
त्यतीमात्र नभई नेपाली महिला तथा पुरुषले बिदेशी पुरुष तथा महिलासंग विवाह गर्ने क्रम पनि पछिल्लो समय बढेको देखिन्छ । कुनै नेपाली महिला वा पुरुषले बिदेशीसंग दर्ताद्धारा अथवा कानूनी विवाह गर्न चाहेको अवस्थामा निवेदनमा उल्लेखित बिबरण र स्वघोषणाको अतिरिक्ति विदेशीको हकमा आफनो मुलुकको विवाह सम्बन्धी कानूनको मूल प्रति र नेपालीमा अनुवादित प्रतिलिपि निवेदन संग संलग्न गर्नुपर्दछ ।  
यसरी निवेदन दर्ता गरिसकेपछि निवेदन परेको बढीमा ७ दिन भित्र नै सम्बन्धित अधिकारीले आवश्यक छानवीन गरी बिबाह हुने वा नहुने बिषयमा निर्णय दिन्छन् । निवेदन बमोजिम दर्ताद्धारा विवाह  हुने भएमा सम्बन्धित अधिकारीले बिबाह गर्ने पक्षहरु कानून बमोजिम एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गर्न मञ्जुर भएको व्यहोरा समेत खुलाई विवाहको सहमतिपत्र तयार गरी बिबाह गर्न चाहने महिला र पुरुष तथा उपस्थित साक्षीहरुको सहीछाप गराउँदछन् र अन्त्यमा सम्बन्धित अधिकारीले कानूनले तोकिदिएको ढाँचामा बिबाह दर्ताको प्रमाणपत्र दिन्छन् । बिबाह दर्ताको प्रमाणपत्र पाएको दिन देखि निवेदकहरु बीच विवाह  भएको मानिन्छ । 
यसरी छिटो छरितो, आर्थीक रुपले कम खर्चमा सम्पन्न हुने, बिबाहित व्यक्तिहरुको गोपनियता समेत कायम भई पति पत्नीको रुपमा पूर्णरुपले कानूनी हैसियत प्राप्त हुने हुँदा बिदेश जाने प्रयोजनको लागि मात्र नभई अन्य युवा युवती समेतले कानूनी विवाह  गर्नु आजको समयमा बढी सान्दर्भिक देखिन्छ ।