काठमाडौँ, माघ २० ।
नेतृत्व व्यवस्थापन तथा सुशासन विषयमा प्रशिक्षण (Training on leadership, management & governance) प्रारम्भ भएको छ । आइसीए नेपाल (ICA Nepal) को आयोजनामा भएको हो ।
तालिमको प्रारम्भमा यसको औचित्य तथा उद्देश्यमाथि प्रकाश पार्दै आइसीए नेपालका संस्थापक अध्यक्षसमेत रहनुभएका प्रा.डा. तत्वप्रसाद तिम्सिनाले भन्नुभयो, ‘सामाजिक, आर्थिक एवं राजनीति रूपान्तरणमा नेतृत्व तथा व्यवस्थापनका पृथक पृथक अभ्यास भइरहेको छ । अवस्थामा परिवर्तन ल्याई नेतृत्व र व्यवस्थापन दुवै क्षेत्रलाई एकीकृत रूपमा अघि बढाउन सक्दा नीतिगत नेतृत्व र प्रशासनिक नेतृत्वबिच समान अवधारणा विकास गर्न सकिन्छ ।’ नीति निर्माण गर्ने र नेतृत्व गर्ने एकातिर,
कार्यान्वयन र परिचालन गर्ने अर्कोतिर हुने गरी भइरहेको अवस्था सान्दर्भिक नरहेको औँल्याउँदै ‘यी दुवै पक्ष सँगै रहेर बनाइने योजना एवं कार्यान्वयनको ढाँचा नै बढी प्रभावकारी हुने हुँदा अब नीति, नेतृत्व, योजना र कार्यान्वयनका पक्षहरू एकाकार भई विकास र सुशासनको प्रत्याभूति गर्न सकिन्छ’ भन्ने विचार डा.तिम्सिनाले व्यक्त गर्नुभयो ।
सामाजिक संस्थाको नेतृत्व, प्राध्यापक, लेखक, सांस्कृति अध्येता, संस्थाको विभिन्न जिम्मेवारीमा रहेका कर्मचारी समेतको सहभागिता रहेको तालिमलाई प्रा.डा. तत्वप्रसाद तिम्सिनाले गरिरहनु भएको छ । तालिम कार्यक्रम सञ्चालन आइसीए नेपालका कार्यकारी निर्देशक इशु सुब्बाले गर्नुभएको थियो । कार्यक्रममा नेपाली तथा विदेशी समेत गरी २० जनाको सहभागिता रहेको छ । कार्यक्रम माघ २१ सम्म सञ्चालित हुनेछ ।