पाल्पा, दोभान, जेठ २ । तिनाउ गाउँपालिका, दोभान पाल्पाले आफ्नो पालिकामा शैक्षिक सुधारका लागि शैक्षिक विमर्श कार्यक्रम, मंगलवारदेखि दोभानमा सुरु गरेको छ । कार्यक्रममा शिक्षा नीति र गाउँ शिक्षा योजना निर्माण तथा प्रस्तुतीकरण शिक्षा समिति तिनाउका सदस्य दलबहादुर गुरुङले गर्नुभएको थियो । शिक्षा ऐन २०७६ निर्माण भए तापनि शिक्षा नीति र कार्यनीति नबनेको कारण समस्या भइरहेकोले आगामी बजेट अधिवेशनमा छलफल गरी पारित गर्ने गरी मस्यौदा तयार पारिएको गुरुङले बताउनु भयो ।
शिक्षा समितिका सदस्य राजेश श्रेष्ठले गाउँ शिक्षा योजनालाई टुङ्गोमा पुऱ्याउने गरी आवश्यक रायसुझावसहित सहजीकरण गर्नुभएको थियो । शिक्षा ऐनलाई व्यावहारिक ऐनका रूपमा प्रयोग गर्ने गरी थप परिमार्जनका गर्नका लागि शंकर पुरीको प्रस्तुतीकरण रहेको थियो । सबैका प्रस्तुतिमाथि शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले बुँदागत रूपमा पृष्ठपोपण दिँदै तिनाउको शिक्षालाई व्यावहारिक, वैज्ञानिक र जीवनोपयोगी बनाउन स्थानीय साधन, स्रोत र जनशक्ति प्रयोग गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ र उपाध्यक्ष लालबहादुर थापाले तिनाउको शैक्षिक विकासका लागि बजेट विनियोजन गर्न कुनै कञ्जुस्याईँ नगर्ने र सुधारका लागि डटेर लाग्ने जानकारी दिनुभयो । विमर्श कार्यक्रममा तिनाउ गाउँपालिकाका निवर्तमान अध्यक्ष ओमबहादुर घर्तीमगर, पूर्ववडाध्यक्ष प्रेम पाण्डेय, मस्याम एकीकृत क्याम्पसका प्रमुख गोपाल श्रेष्ठ, शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवर, कर्मचारी निरञ्जन लामिछाने लगायतले तिनाउको खस्कँदो शैक्षिक अवस्थालाई सुधार गर्न विगतलाई केलाउने, वर्तमानलाई बुझ्ने र भविष्यका लागि योजनाबद्ध रूपमा गतिशील हुनुपर्ने बताउनु भएको थियो ।