परम्परा तथा चाडपर्वहरूको बारेमा चासो नदिने तथा आफ्नो संस्कारलाई अवलम्बन गर्न नचाहने वर्गको बाहुल्य बढ्दै गएमा समाजको आफ्नोपन र संस्कृति हराउँदै जाने गर्दछ । यसको ज्वलन्त उदाहरणको रूपमा गौरा पर्वलाई लिन सकिन्छ । प्राचीन कालदेखि नै आफ्नै मौलिकता बोकेकोे गोरा पर्व भारतको कुमाउँ, गढवाल क्षेत्र, नेपालको सुदूरपश्चिमदेखि कर्णाली प्रदेशका केही जिल्लामा आफ्नै मौलिक रूपमा रहे पनि बिस्तारै मध्यमाञ्चलमा आएर रूप र नाम परिवर्तन गरेर मनाइने गरिन्छ । आफ्नो धर्म बचाउन निस्किएका हिन्दुहरूले आफ्नो संस्कृति पनि साथै लिएर आउने क्रममा सँगै आएको एक महत्वपूर्ण पर्व हो गौरा । नेपाली भाषामा पूर्वतिर आउँदा भएको परिवर्तनझैँ सांस्कृतिकको स्वरूपमा पनि परिवर्तन हुँदै आएको छ । सुदूरपश्चिम तथा कर्णली, दाङ, पाल्पा बागलुङ्ग, काठमाडौँ लगायत नेपालको विभिन्न ठाउँमा भिन्नभिन्न नामबाट मनाइने यस पर्वलाई सुदूरपश्चिम तथा कर्णली प्रदेशमा गोैरा, दुर्वाष्टमी, गमरा, अँठ्यावाली, लोलीगमरा आदि नामले चिनिने गरिन्छ । यस पर्वलाई एकातिर समाजिक सद्भावको पर्वको रूपमा लिने गरीन्छ भने अर्कातर्फ महिलाहरूको सामाजिक सम्मानको रूपमा लिइन्छ ।
वर्षा ऋतुको समाप्तिसँगै बिरुणा पञ्चमीले चाडपर्व निम्त्याउने गर्दछ र गौरा पर्वले समाजमा उमङ्गको वातावरण सिर्जना गर्ने गर्दछ । प्रायः यो पर्व भाद्र महिनामा पर्दछ । गौऱ्या एकादशीदेखि नै ब्रतालु महिलाहरूले माछा, मासु नखाएर शुद्ध भोजन गर्दै डेउडा, ठाडोखेल सहित चहल पहल सुरु गर्दै बिरुणाको खोजी गर्ने र आवश्यक अन्य तयारी गर्ने काम सुरु हुन्छ । प्रथम दिन बिरुणा भिजाउन पूर्व निराहार व्रत बसेर तामा वा पितलको भाडामा शुभ साइत हेरेर मङ्गलगान सहित बिरुणा भिजाएर औपचारिक रूपमा पर्वको सुरुवात गरिन्छ । यो पर्व भाद्र महिनाको कृष्ण पक्ष वा शुक्ल पक्षमा पर्दछ । यो पर्व अगस्त अदय हुनुभन्दा अगाडिको अष्टमीमा पर्दछ । नेपालमा अगस्त उदाउने कुरा भाद्र १९ गतेदेखि २३ गते सम्म हुने भएकोले यो मितिको अगाडि कृष्ण पक्षको अष्टमी परेमा मनाइने गौरालाई अनारी र शुक्ल पक्षको अष्टमी परे उजेली गौरा भन्ने गरिन्छ । गौरा पर्व अगस्त उदयपछि पर्दैन अर्थात भाद्र २३ गतेपछि पर्देन, बरु साउनमा पर्न सक्छ । यस वर्ष काठमाडौँंमा अगस्त उदय भाद्र २१ गते बिहान हुने र सुदूरपश्चिममा २३ गते हुने ज्योतिषीहरूको गणनाले देखाएकोले स्थान दोषको हिसाबले काठमाडौँमा भाद्र ७ गते र सुदूरपश्चिम लगायतको पश्चिमका केही स्थानमा भाद्र २१ गते गौरा पर्व मनाउने कुरा भएको छ ।
जागिर, पढाइ र व्यवसायको सिलसिलामा जन्मथलो छोडेर गाउँबाहिर भएका व्यक्तिहरू गौरा पर्वको पूर्वाद्धमा गाउँ टोलमा पुगिसकेका हुन्छन् त्यसकारण यस पर्वलाई सुदूर पश्चिमको केही भेकमा दसैँभन्दा पनि ठूलो चाडोको रूपमा मानिन्छ । यस पर्वमा मूख्य रूपले महिलाहरूको भूमिका बढी रहेको हुन्छ । भगवान शिवलाई पति पाउनको निम्ति हिमालय पुत्री पार्वतीले गौरी देवीीको निराहार उपासना र आराधना गरी सिद्धि प्राप्त गरेको भन्ने प्रसंग हिमवत्खण्ड र अन्य पुराणहरूमा उल्लेख गरेको पाइन्छ । महिलाहरूले आफ्नो पति, पुत्रादि तथा परिवारको दिर्घायु, सुख, सौभाग्य प्राप्तिका लागि निराहार बसी, शुद्ध भई गौरी र महेश्वरको पूजा आराधना गर्ने परम्परा सहित सताब्दीयौँदेखि यो पर्व चल्दै आएकोछ ।
विवाहित महिलाले मात्र व्रत लिने यस पर्वको पहिलो पटक गौराको उपासना लिँदा उज्याली गौरा परेको वर्षदेखि व्रत बस्ने परम्परा रहेकोले यस पटकको उज्याली गौरामा नयाँ ब्रतालुहरू (नौली गोरिया)हरू समेत सहभागी हुने अवसर रहेको छ । नौली गोरियाले बिरुणाले आफ्नो श्रीमान् र अन्य परिवारजनको पूजा गरेर मात्र खाना खाने गर्दछन् । त्यसकारण नौली गोरिया हुनको लागि उज्याली गौरामा श्रीमान् घर भएको बेला उपयुक्त मानिन्छ । यस चाडमा विवाहित हिन्दु महिलाहरूले आफ्नो पति, सन्तान लगायत र सम्पूर्ण परिवारजनको सुस्वास्थ्य एवम् दिर्घायुको कामनाको लागि व्रत लिने गर्दछन् । नवविवाहित महिलाले उज्याली गौराबाट व्रत आरम्भ गर्ने गर्दछन् ।
गोऱ्या एकादशीबाट चहल पहल सुरु हुने र बिरुणा पञ्चमीदेखि गौरा नसेलाएसम्म विधिवत रूपले मनाइने यस पर्वमा विषेश गरी निम्न दिनहरू प्रमुख हुन्छन् ।
१. गोऱ्या एकादशी
२. बिरुणा पञ्चमी
३. षष्ठी
४ .सप्तमी
५. अष्ठमी
६. गौरा सेलाउने दिन
गोऱ्या एकादशीः अनारी गौरामा जनै पूणिमाभन्दा अगाडिको एकादशीलाई र उज्याली गौरामा जनै पूर्णिमाभन्दा पछाडिको एकादशीलाई गोऱ्या एकादशी भनिन्छ । गोऱ्याको उपवास बस्ने महिलाहरूले गोऱ्या एकादशीको व्रत लिनु पर्ने हुन्छ । गोऱ्या एकादशीपछि माछा, मासु नखाएर शुद्ध शाकाहारी खाना खाने चलन रहेको छ ।
बिरुणा पञ्चमीको दिन पञ्च अन्न (गहुँ, केराउ, गहत, मास, गुरौस) लाई तामाको वा पित्तलको भाँडामा घर घरमा, एउटै परिवारको नजिकको नाता पर्नेहरूले सगोलमा, एउटै ठाउँमा भिजाएर मङगलगान (सगुन) सहित गौरा पर्वको सुरुआत हुन्छ, जसलाई बिरुणा भिजाउने भनिन्छ । षष्ठीका दिन भिजाएका बिरुणा (पञ्चअन्न) लाई न्वाला (पानी पँधेरो) धारा वा अन्य जलासयमा लगेर मङ्गलगान गाउँदै धोइन्छ र धोइसकेपछि आ–आफ्नो घर, ठाउँ वा गोऱ्या घरमा लगिन्छ । यस दिनमा नोलाकी गौराको स्थापना गरिन्छ । सप्तमीको दिन खेतबारीबाट धान, साउँ, अपामार्ग, तील आदिका बोटहरूलाई कन्या कुमारीहरू मार्फत डालामा राखी भगवती गौरीको प्रतिमा तयार पारी प्रतिमालाई गौरा घरमा भित्र्याएपछि औपचारिकरूपमा गौरा पर्व सुरु हुन्छ । प्रत्येक गाउँको मूल घरमा मनाउँदै आइरहेको गौरा पर्व कतैकतै मानिसहरू बिचको असमझदारी वा बढी जनसंख्याका कारण एउटै गाउँमा पनि धेरै ठाउँमा गौरा घर बनाई छुट्टै गौरा बनाउने गरेको पनि देखिन्छ । महेश्वरको प्रतीकको रूपमा काठको पिर्का (जसलाई पहेलो कपडाले बेरेर राखेको हुन्छ) र गौरीको रूपमा सजाएको डालोलाई पूजाआजा गरी प्राण प्रतिष्ठा गर्ने काम गरिन्छ । यो काम सँगसँगै सप्तम्या (विशेष प्रकारको पहेँलो धागो, जसमा सात वटा विशेष गाँठो पारी राखिएको हुन्छ) र दुबधागो (रातो र बिचमा कालो धागोबाट बनेको डोरी) लाई गौरीको प्रतिमामा राखेर पूजाआजा गरिन्छ । यस दिन दुबोले पञ्चगव्य सहित सप्तमीको पूजा गरिन्छ । यस दिन महिलाहरू पूर्ण निराहार(उपवास)मा रहेका हुन्छन् भने कसैकसैले फलाहार गर्दछन् ।
अष्टमीको दिन गौरा पर्वको महत्वपूर्ण दिन हो । यस दिनमा उपासना बसेका विवाहित महिलाहरूले आफ्नो बिरुणाको भाडाबाट बिरुणा लगेर अठेवाली पूजाको लागि गौरा घरमा गएर सबै जनाले एकैसाथ वरिपरि घुम्दै बिरुणाले पूजा गर्ने कार्य गर्दछन् । गो¥या खलोमा – गौरा नचाउने स्थान)मा विभिन्न किसिमका नृत्यहरू गरिन्छ । गौरा तथा महेश्वरलाई टाउकोमा राखेर नाँच्दै हल्लोरीवाला हल्लोरी भन्दै तथा महेश्वर र पार्वतीको प्रतिमालाई बिचमा पारी कान्छी औँला समाती मङ्गलगीत गाइन्छ । यसरी ६÷७ घण्टा लगाएर पूजा सकेपछि एकएक गरी गौरीको प्रतिमा राखिएको डालो (गो¥या डालो)लाई टाउकोमा राखी कम्मर मर्काई घेरामा नाच्छन्, जसलाई गौरा नचाउने भनिन्छ र अन्य महिलाहरूले नचाउँदै गरेको गौरालाई फूल र अक्षताले पूजा गर्दछन् ।
फागको अंश
हल्लोरिवाला हल्लोरी
नाच हो खेल हो लोली गमरा धै तेरो कसो नाच
दिनभरि नाचगान गरी गौरालाई नचाई सकेपछि बेलुकातिर डालो भित्र राखिएको फलपूmल र बिरुणालाई एउटा लामो कपडा वा सफा तन्नामा राखिन्छ र पुरुषहरूले चारैैतिरबाट उचालेर जोरले चार पटक चारै दिशामा आकाशतिर फाल्दछन्, यसलाई फल फट्काउने भनिन्छ । आकाशतिर फालेको फललाई सबैले खालि हात, छाता, रुमाल, पछौरी थापी समात्ने प्रयास गर्दछन । प्रसाद प्राप्त गर्न त्यहाँ उपस्थित समुदायमा तँछाड मछाड गरिन्छ । जसले प्रसाद भुइँमा नखस्दै आकाशमा नै समात्न सक्यो, त्यो शुभ लक्षण र वर्षभरि सुख शान्ति हुन्छ भन्ने विश्वास गरिन्छ । जनै पूणिमामा पुरुषहरूले जनै लगाएझैँ महिलाहरूले यस दिन नयाँ दुबधागो लगाउने चलन चलिआएकोछ । दुबधागो ग्रहण गरी व्रत बसेका महिलााहरूले आफ्ना नातागोता तथा आफ्न्तहरूलाई बिरुणाले पूजेर आशीष दिने गर्दछन् । सबैभन्दा पहिला आफनो पतिलाई बिरुणाले पूजा गर्छन् । त्यसपछि छोरा, छोरी र अन्य त्यहाँ भएका नाता पर्ने जतिलाई पूजा गरिन्छ जसलाई बिरुणा पुज्ने भनिन्छ । यस दिन बिरुणाले पुजेर विभिन्न किसिमका आशिर्वाद दिने चलन छ । जस्तैः
‘ऐराकी जसी झाल होइझौ,
दुबाकी जसी चउड होइझौ,
सिरानो कुलो होइझौ,
पयानो जग्गा होइझौ,
जोलागाई दुन पाया,
जोला पुत पाया,
घुपा जती फूलीझ्या
बाघ झो बलियो
भया
स्याल झो चलाख भया
दुत्याका चिउडा, अष्ठमीका बिरुणा, दसैँको जोरा माथ पढ्ढाइ रौन
केलाकी जसी राई होइझौ
हिमाञ्चल हिउ छन्ज्या सम्म, गंगाको जल छन्ज्यासम्म बाचि¥या
एैलकी पंचमी पूजी
औना पंचमीको निउतो ।’
गौराको दिन पुरुषहरू तथा महिलाहरू अलग अलग डेउडा खेल र वृद्धवृद्धाबिच धुमारी, ढुस्को खेलहरू खेलिन्छ, जसमा रामायण महाभारत तथा अन्य धार्मिक गाथाहरू समेत उल्लेख भएको पाइन्छ । डेउडा खेल, ठाडो खेल, धुमारी आदि राती अबेरसम्म पनि हुन्छ । त्यस पछिका दिनमा आ आप्mनो मनोकामना पूरा होस् भन्ने हेतुले र मनोरञ्जनका लागि नेजा (झण्डा जस्तै) सहित बाजा बजाई जाँत (जात्रा) गरिन्छ जसमा गौरालाई बिचमा राखी बाजा सहित परिक्रमा गरिन्छ र अन्तमा नेजा एकै ठाउँमा गाडिन्छ । यसपछि धामी (झाँक्री) काँप्दै आउछन् र सबै समुदाय धामीले भनेका शब्दहरू सुन्दछन् । यसरी आप्mनो इच्छा पूर्णताको कामना गर्दछन् । धामी काप्न छोडिसकेपछि आ आप्mनो खेल मैदानमा रमाउँछन् ।
गौरा पर्वका दिन डेउडा गाउने सबै एकै स्थानमा एकजुट हुने काम काठमाडौँमा विभिन्न किसिमले गर्दै आए पनि यस पर्वलाई विधिवत रूपमा बिरुणा भिजाउने, दुबधागो ग्रहण गर्ने तथा सबैलाई बिरुणाको प्रसाद वितरण गर्ने वातावरण सिर्जना गर्ने कार्य २०५५ सालदेखि प्रशंसा संरक्षण समुहले सुरु गरेको थियो । सुदूर तथा कर्णालीबासीहरूलाई एकै ठाउँमा भेला गरी परिचयात्मक तथा मेलमिलापको वातावरण सिर्जना गर्नुका साथै संस्कृति संरक्षण गर्नु पर्छ भन्ने प्रमुख उद्देश्य संस्थाको रहेकोछ । आपसी मनमुटाव, आफ्ना कमीकमजोरीहरूलाई बिर्सेर एक जुट भई धार्मिक तथ संस्कृतिको विरासतहरूको संरक्षण र सम्बर्धन गर्न अभिप्रेरित गरी आपसी सहयोग, सद्भाव र समझदारी बढाउन गौरा पर्वले ठुलो मद्दत गर्नेछ भन्ने विश्वास लिइएकोछ । प्रशंसा संरक्षण समूहले गौरा पर्वलाई खुला रूपले टँुडिखेलमा प्रस्तुत गरी सांस्कृतिक पर्वहरूलाई सार्वजनिक रूपमा मनाउने प्रचलन चलाएपछि अन्य जाजातिहरूले पनि विभिन्न पर्वहरू टुँडिखेलमा मनाउने चलन चलाएका छन् । प्रशंसा संरक्षण समुहले यसरी अन्य जाति तथा सम्प्रदायलाई पनि सामूहिकरूपले मनाउन प्रेरणा दिएको छ । गौरा पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउने र गौराको दिन राष्ट्रिय पर्वको रूपमा स्थापना गर्न प्रशंसा संरक्षण समूह सफल भएको छ ।
यस पर्वमा सबै उमेर समूहको सहभागिता हुने गर्दछ । यस पर्वमा नयाँ लुगा सिलाउने चलन छ । देउताको झंण्डा बोकेर स्थानीय बाजा बजाउँदै देउताको जयजयकार गर्दै जात्रामा सहभागी हुने प्रचलन रहिआएको छ । गौराका लागि गो¥याघर मन्दिर वा कुनै व्यक्तिको घरमा पनि रहने गर्दछ । प्रत्येक गाउँमा गो¥या खलोको व्यवस्था हुन्छ र त्यस गाउँका सबै मानिसहरू लगातार गौराको बेलामा गोऱ्याघरमा भेटघाट गर्ने गर्दछन् । गौराको अर्को दिनबाट जात्राको आयोजना गरिन्छ । मन्दिरमा गो¥याघर भएको ठाउँमा जात्राको आयोजना गरिन्छ । वरिपरिका गाउँका सबै मिलेर पालैपालो मन्दिरमा जात्रा गर्ने चलन छ । कुन दिन कहाँ गो¥याजात हुन्छ त्यो कुरा परम्पराबाट तोकेको हुन्छ । यो जात्रालाई गो¥याजात भन्ने गरिन्छ । गोऱ्याजात गोराको एक अङ्गको रूपमा लिने गरिन्छ । गौराका समयमा भेटघाट हुने, नयाँ कपडा फेर्ने, परदेश गएकाहरू घर आउने, हाटबजारको जसरी व्यापार गर्ने, भगवानको भक्ति गर्ने, डेउडा खेल्ने, ठाडो खेल खेल्ने काम गरिन्छ । जात्राको बेलामा र गौराको दिनमा धामीहरूले अक्षता लगाएर आशिर्वाद दिने चलन छ ।
ठाउँ अनुसार केही फरक रीति वा चलन भए पनि प्रायः गरी ४, ५ दिनमा नै गौरा देवीलाई विर्सजन गरिन्छ । यस दिन बाजा बजाई मंगलधुन गाई गौरा पर्व विर्सजन गरिन्छ । गौरा पर्वको धार्मिक महत्व त छँदैछ, सांस्कृतिक महत्व पनि कम छैन । डेउडा गीत, धुमारी, ढुस्को, ठाडो खेल आदि धार्मिक व्यक्तित्व भावकासाथै देवीदेवता गुणगान गाएको पाइन्छ । साथै, महिलाहरूले वर्षभरिको पीडा, व्यथा र समाजमा रहेका विसंगतिहरूलाई गीतको (डेउडाको) माध्यमबाट प्रस्तुत गरेको पाइन्छ । वर्षभरिको कामबाट फुर्सद पाएर तीतामिठा कुराहरूलाई एउटै थलोमा बसेर भेटघाट गरी साटासाट गरिने गर्ने हुँदा यस गौरा पर्वले समाजमा महत्वपूर्ण प्रभाव पारेको छ । जाति, धर्म तथा लिङ्गको भेदभाव नगरी सद्भावले सामूहिक रूपमा डेउडा, धुमारी, ढुस्को खेलहरू खेलिन्छ ।
ठाडो खेलका केही अंशहरू
‘सौन्या पन्यौ कि झौ मालिका
क्या वर दिन्ना मालिका देवी
पुत वर दिन्ना मालिका देवी ।’
काठमाडौँमा पनि सुदूर तथा कर्णालीबासीहरूलाई एकै ठाउँमा भेला गरी परिचयात्मक तथा मेलमिलापको वातावरण सिर्जना गर्दै गौरा पर्वको दिन दुबधागो ग्रहण गर्ने तथा सबैलाई बिरुणाको प्रसाद तिरण गर्ने वातावरण सिर्जना गर्नेकार्य २०५५ साल देखि प्रशंसा संरक्षण समुहले गर्दै आएको छ र शिव पार्वतीको पूजा गरिने गौरा पर्व हाल आएर राष्ट्रिय पर्वको रूपमा स्थापित भएको छ ।
काठमाडौँ यो पर्व विगतमा निश्चित (खास गरी प्रा.डा. स्व. त्रैलोक्यानाथ उप्रतीको घरमा) ठाउँमा दुबधागो ग्रहण गर्ने काम मात्र गर्ने गरेकोमा २०५५ साल देखि प्रशंसा संरक्षण समूहले खुलामञ्च तथा कोटेश्वर महादेवस्थानमा सम्पूर्ण विधिविधानपूर्वक गौरा पर्वको आयोजना गर्न थालेपछि यस पर्वका बारेमा सबैलाई जानकारी भएको छ । यस पर्वलाई नेपालका अन्य विभिन्न भेक तथा विदेशमा समेत मनाउन थालिएको छ ।
मुख्य विशेषताहरू : इतिहास बोकेको, सात्विक, मादक पदार्थमा बन्देज, महिला सशक्तीकरण, खुसी, रमाइलो, भेटघाट, सदभाव, एकतामा बाँध्ने, मिलन र नयाँपन, सबै उमेरको सबै लिंगका मानिसहरूको सहभागिता आदि विशेषता भएको यो पर्व आवश्यक परिमार्जनसहित अझ व्यवस्थित रूपमा मनाउँदै जानुपर्दछ । यस पर्वलाई काठमाडौँमा हवलो पर्वको रूपमा मनाउने गरिन्छ र बिरुणालाई बिरौँला भन्ने गरिन्छ । काठमाडौँमा तिवारी, पाण्डे, लोहनी र पन्त आदि थरका व्यक्तिहरूले मनाउने गरेको पाइन्छ । काठमाडौँमा बिरौँलामा ठुलो केराउ, सेतो सानो केराउ, चना, बोडी, मुङ्ग, मास तथा गुरौँस ७ अन्न प्रयोग गर्ने गरिन्छ ।
केही शब्दको अर्थ
बिरुणा : बिरुणा गौराको प्रसादको रूपमा लिने डेडागुडी हुन् । पाँच वटा अन्न गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर बिरुणा तयार गरिने भएकोले यसलाई पञ्चबिरुणी पनि भन्ने गरिन्छ ।
गोऱ्याखलोः गौरा पर्वको आयोजना गर्ने घर वा मन्दिरको आँगन, जहाँ गौरा नचाउने गरिन्छ ।
गोऱ्याघरः गौराको लागि आवश्यक पर्ने डालो सहित समानहरू राख्ने र सप्तमी पूजनको दिन सबै ब्रतालुहरू जम्मा भएर पूजा गर्ने घर । ठाडो खेलः विशेष गरी जेष्ठ नागरिकहरूले ढोलकको तालमा देवगाथालाई गाउँदै नृत्य गर्ने गरिन्छ । विभिन्न देवीदेउताहरूको महिमा, गुनगान गाउँदै नृत्य सहित ठाडो खेल खेलिन्छ । डेउडाः महिला र पुरुषले आफ्नो समूहमा एक आपसमा हात समातेर गोलो पैतलाको तालमा नाचिने खेल हो । यसमा एकै गोलो घेरामा २ समूह हुन्छन् । दुवै समूहमा एक जना डेउडिया हुन्छ । डेउडामा नाचको तालमा घुमिन्छ भने डेउडीयाहरूको गीतमा भएको सवाल (दोहोरी) जवाफको महत्व हुन्छ । उेउडीयाहरू महिलाको समूहमा महिला र पुरुषको समूहमा पुरुष नै हुन्छन् । डेउडा २४ घण्टासम्म पनि खेल्ने चलन छ । यसमा डेउडीयाहरूबिच ठुलो प्रतिस्पर्धा हुने गर्दछ, जुन तिनीहरूको प्रतिष्ठाको रूपमा रहेको हुन्छ । डेउडामा समाजका विसंगति, कुरिती तथा डेउडीयाको व्यक्तिगत कुरालाई जोडेर सवाल जवाफ गर्ने गरिन्छ । डेउडा खेल्न उमेरको कुनै छेकबार हुँदैन ।
गौरा सेलाउनु : गौराको सबै चरण पूरा गरिसकेपछि गौरा विसर्जन गर्ने काम ।
फलफट्काउनुः गौराको पूजाको काम सकेपछि गौरालाई चढाएको फलफूल तथा बिरुणा र अक्षता ४ जना पुरुषले कपडा समेत गरी ४ पटक चारै दिशामा पर्ने गरी आकाशमा फ्याक्ने काम । यसबेला आकाशबाट खस्दै गरेको प्रसाद लिनका लागि सबै सहभागीले आफ्नो बिछौरा थाप्ने गर्दछन् र फलफट्काउने क्रममा पाएको वस्तु प्रसादको रूपमा लिएर मुन्टो पूजनको लागि राखिने बिरुणामा थप्ने गरिन्छ । फलफट्काउँदा कसैले अम्बाको दाना वा अन्य कुनै फल भूइँमा नखस्दै आकाशमा नै पाएमा मनोकामना पूरा हुने र वर्षभरि राम्रो हुने विश्वास गरिन्छ । दुबधागोः तीन रंग (रातो, पहेँलो र कालो) धागोले बनेको ब्रतालु महिलाहरूले घाँटीमा माला जसरी लगाउने डोरी । गाईको गोबरमा दुबोको चौर जस्तो बनाएर पुजेर सप्तमीको दिन पञ्चगव्यले मन्त्रसहित शुद्ध पारिने भएकोले दुबधागो भनिएको हो ।
(लेखक प्रशंसा संरक्षण समुहका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)