images
images

पञ्चकोट चिनाउन दोहोरी

काठमाडौं, कार्तिक १४ (रासस)
शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै पञ्चकोट लोकदोहोरीमय बन्यो । 

चल्तीका गायक/गायिकाले लोकसङ्गीतप्रेमीलाई मन्त्रमुग्ध पारे । प्रत्यक्ष दोहोरीको घम्साघम्सी हेर्न/सुन्न पाएका दर्शक मक्ख भएर फर्के । बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोटको प्रवद्र्धन गर्ने ध्येयले ‘इनेपाल रोधीघर’ले प्रत्यक्ष लोकदोहारीको चाँजोपाँजो मिलाएको हो । चर्चित कलाकार पशुपति शर्मा, अस्मिता डिसी, श्याम राना, रेनुका भट्टराईलगायत दोहोरीमा जमेका थिए । गायक/गायिकाको रोचक सवालजवाफले दर्शकदीर्घाबाट वाहीवाही पायो । कलाकारले पञ्चकोटको महत्व र प्राकृतिक महिमालाई पनि गीतमा उतारे । रोधीघरका सञ्चालक राजन क्षेत्रीले पञ्चकोटलाई चिनाउन प्रत्यक्ष दोहोरी राखिएको बताए ।

“आफू जन्मेको ठाउँ, आफ्नो मातृभूमिको प्रचार होस्, पर्यटन प्रवर्धनमा टेवा पुगोस् भनेर दोहोरीको आयोजना गरिएको हो”, उनले भने , “यहाँ छायाङ्कन गरिएको कार्यक्रम युट्युबलगायतका माध्यमबाट पनि प्रसारण हुन्छ ।”

सञ्चालक क्षेत्रीले युट्युबलाई सामग्री मात्र बनाउन नभई पञ्चकोटको प्रवर्धन गर्नु आफूहरुको मुख्य ध्येय रहेको उल्लेख गरे । हालै अमेरिकाबाट आएका क्षेत्रीको घर पनि पञ्चकोट नजिकैको सिम गाउँमा पर्छ । 

वाद्यवादकसहित झण्डै ५० जना कलाकारलाई रोधीघरले पञ्चकोटमा जमघट गराएको थियो । बागलुङ–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले कलाका माध्यमबाट पञ्चकोटको प्रवर्धन गर्न सो कार्यक्रमले सघाउ पुर्याउने विश्वास व्यक्त गरेका छन ।

“धेरै कलाकार एकसाथ आएर यहाँ प्रस्तुति दिँदा राम्रो सन्देश प्रवाह भएको छ, लोकदोहारी हाम्रो मौलिक संस्कृति पनि भएकाले यसबाट पञ्चकोटको चिनारी बढाउनमा पनि अवश्य टेवा पुग्नेछ”, उनले भने ।

चर्चित कलाकारको दोहोरी सुन्न आतुर स्रोता/दर्शकको बिहानैदेखि पञ्चकोटमा चहलपहल थियो । बिदाको दिन परेकाले बाहिरी जिल्लाबाट घुम्न आउने पर्यटकको पनि उस्तै चाप देखिन्थ्यो । पञ्चकोट धार्मिक र प्रकृतिप्रेमी पर्यटकका लागि उपयुक्त गन्तव्यका रुपमा दरिँदै आएको छ ।

मठ, मन्दिरको दर्शन र मनोरम प्राकृतिक दृश्यावलोकनका लागि पर्यटक पञ्चकोट पुग्छन् । देशका विभिन्न भागबाट धर्मवलम्बीसहित पर्यटक आउने गरेको पञ्चकोटका कार्यालय सचिव रामबहादुर क्षत्रीले बताए । 

पञ्चकोटमा निर्माणाधीन विश्वकै अग्लो एक सय ३५ फिटको विश्वशान्ति कलश र पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्टका कारण पनि चर्चामा छ । अहिले कलश र महाघण्ट राख्नका लागि संरचना निर्माणको काम भइरहेको छ । 

कलश निर्माणमा मात्रै रु ३२ करोड लागत लाग्ने जनाइएको छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ मा उक्त कलशको शिलान्यास गरेका थिए । हालसम्म पञ्चकोटमा रु ३० करोडभन्दा बढी लगानी भइसकेको छ । 

धार्मिक तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित आठ वर्षअघिदेखि पञ्चकोटका संरचना बनाउन सुरु गरिएको थियो । सम्पदा निर्माणले पूर्णता नपाउँदै पञ्चकोट पर्यटकको रोजाइमा पर्न थालेको छ 

पञ्चकोटमा हाल गणेश, गण्डकी माताको मन्दिर, हनुमानको मूर्ति, गरुड–शिला, सत्कसङ्ग भवन, अतिथि आवास, कन्या गुरुकुल, सिस महल, पदमार्गलगायतका संरचना बनीसकेका छन् । दक्षिण भारतीय शैलीका कलात्मक मठ, मन्दिरले पञ्चकोटको आकर्षण बढाएका छन् । पञ्चकोट नेपालका एक सय एक गन्तव्यमध्येमा पर्छ । बागलुङ बजारदेखि आठ किमिमा पञ्चकोट पर्छ । पदयात्रा रुचाउनेका लागि पनि बाटो सहज छ ।