काठमाडौँ - अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच मिलापत्र भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयको रहोबरमा फुर्वाले गल्ती स्वीकारे र माफी मागेपछि नायिका मगरले भाइ सम्झेर माफी दिएपछि यो मुद्दामा सहमति भएको छ।
दुवै पक्षले केही बौद्ध लामा गुरुहरु र कबड्डी सिरिजका अभिनेता दयाहाङ राईसहितको उपस्थितिमा मिलापत्र गरेपछि यो विवाद मिलेको हो ।दुवैका अभिभावकहरू छलफलमा बसी आगामी दिनहरूमा यस विषयलाई लिएर विवाद नगर्ने, एक अर्कालाई अनावश्यक टिका टिप्पणी नगर्ने सहमति भएको हो।
अभिनेत्री मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिङ्गो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना मागेकी छिन् ।