काठमाडौँ । नेकपा एमाले उपत्यका विशेष कमिटीको पहलमा कला, साहित्य र संस्कृतिका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सङ्गठित गर्ने काम अघि बढाइएको छ । यी क्षेत्रमा पार्टीका जनवर्गीय सङ्गठनहरू क्रियाशील रहँदैआएका छन् । पार्टीले यसलाई थप महत्व दिँदै पार्टी कमिटीकै रूपमा यी क्षेत्रलाई समेट्ने काम अघि बढाएको हो ।
आइतबार यहाँ आयोजित नेकपा एमाले उपत्यका विशेष कला साहित्य संस्कृति इलाका सङ्गठनद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा पार्टी पोलिट्ब्युरो सदस्य तथा उपत्यका विशेषका इन्चार्ज सुजिता शाक्यले सम्बन्धित जनसङ्गठनमा नसमेटिएका, अन्यत्र भूगोलबाट काठमाडौँ उपत्यकामा आएर बसोवास गरिरहेका कला, साहित्य, संस्कृति क्षेत्रका व्यक्तित्वहरूलाई गोलबन्द गर्न विशेष इलाका कमिटी निर्माण गरिएको बताउनु भयो । कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै नेता शाक्यले भन्नुभयो, ‘कला, साहित्य र संस्कृतिको संरक्षण सम्वद्र्धनका लागि यी क्षेत्रका व्यक्तित्वहरूलाई गोलबन्द गर्दै राजनीतिक रूपमा सचेत, सक्षम र सशक्त पार्नुपर्ने आवश्यकता छ । समृद्ध नेपाल निर्माण गर्न अन्य कुराका साथै साहित्य, कला र संस्कृतिको ठूलो भूमिका रहने हुँदा पार्टीले यो विशेष पहल गर्नुपरेको हो ।’ नेता शाक्यले आफू पनि साहित्य क्षेत्रबाट आएको र राजनीतिसँगै कला, साहित्य, संस्कृतिको संरक्षण विशेष पहल गर्न लागिपर्ने उल्लेख गर्नुभयो । उहाँले पार्टीभित्र विचार, नेतृत्व र व्यक्तित्वका बिचमा कहिलेकाहीँ अन्तर्विरोध पनि आउन सक्ने र त्यस्ता विषय निश्चित विधिप्रक्रियाबाट समाधान हुने बताउनुभयो । तर, पार्टीले अघिसारेका समृद्धि, सुशासन र विकासका सवालमा एकढिक्का भएर अघि बढ्नु सबैको दायित्व भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै एमाले केन्द्रीय सदस्य एवम् उपत्यका विशेष कमिटीका सह–इन्चार्ज बिना श्रेष्ठले भन्नुभयो, ‘पार्टी बलियो भए राजनीति बलियो हुने र राजनीति बलियो हुँदा देश बलियो हुने उल्लेख गर्दै यसका लागि एमालेका कार्यकर्ताहरू साङ्गठानिक तथा वैचारिक रूपमा सशक्त हुनुपर्छ ।’ उहाँले पार्टी सदस्यता विस्तार एवं नवीकरण गर्न विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । तत्कालै बसेको कमिटीको बैठकले कला, साहित्य, संस्कृति, चलचित्रलगायत विधामा जिम्मेवारीसमेत तोकेको छ ।