images
images

नेपाल प्रहरी श्रीमती संघ र एन–प्याबसनबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ - नेपाल प्रहरी श्रीमती संघ र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएशन नेपाल (एन–प्याबसन)बीच बहालवाला प्रहरी कर्मचारीका परिवार, अमर प्रहरी परिवार तथा पुर्व प्रहरी परिवारका सन्ततीहरूलाई एन–प्याबसनसँग आवद्ध विद्यालयहरूमा छात्रवृत्ति तथा भर्ना शुल्क सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

नेपाल प्रहरी श्रीमती संघकोतर्फबाट संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंह र एन–प्याबसनकोतर्फबाट एन–प्याबसनका सह–अध्यक्ष सुवास न्यौपानेले संघको कार्यालय भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौतापत्र आदानप्रदान समेत गरे ।

कार्यक्रममा संघकी अध्यक्ष सिंहले शान्ति सुरक्षाको अतिरिक्त प्राकृतिक प्रकोप, आपद विपद तथा अपराध नियन्त्रणमा समेत आफ्नो ज्यानको प्रवाह नगरी देश र जनताको लागि खटिएका प्रहरी कर्मचारी, अमर प्रहरी तथा पूर्व प्रहरी कर्मचारीहरूले पुर्याफएको योगदानको उच्च मुल्याङ्कन गरी एन–प्याबसनले प्रदान गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरे । शैक्षिक सेवा विस्तार तथा योगदानका सत्प्रयासहरू आगामी दिनमा अझै विस्तारित हुने कामना उनले व्यक्त गरे । 

एन–प्याबसनका सह–अध्यक्ष सुवास न्यौपानेले राम्रो काम थलानी भएको चर्चा गर्दै नेपाल प्रहरीका परिवारलाई शैक्षिक सहयोग गर्न पाउँदा खुसी लागेको बताए । 

एन–प्याबसनसँग आवद्ध देशभरका विद्यालय तथा १०‍+२ सम्मको लागि प्रत्येक विद्यालयमा बढीमा १ जना छात्रवृत्ति पर्ने गरी अमर प्रहरी, असहाय र अन्यलाई वार्षिक भर्ना शुल्क नलिने गरी विद्यार्थी भर्ना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ । प्रस्तुत  सम्झौता आगामी साउन १ गतेदेखि कार्यान्वयन भई २०८१ असार ३० गतेसम्म २ वर्षका लागि लागू हुनेछ । 

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, श्रीमती संघका पदाधिकारीहरु, एन–प्यावसनका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।