नेपाल यतिबेला असाधारण समस्यामा अल्झिरहेको छ । नेपालका राजनैतिक दलहरूलाई बर्तमान समस्याको निकासको गोरेटो यो हो भन्दै नेपालमा रहेका प्रमुख राजनीतिक दलहरूलाई समन्वय र सहकार्य गर्दै एउटै मुद्दामा केन्द्रित गरेर निकास निकाल्न सक्ने मदन भण्डारी जस्तै नेताको अभाव खड्किएको छ । जतिबेला पञ्चायती व्यवस्थाको चरम दमन थियो र नेपालका राजनीतिक दलहरूको संयुक्त आन्दोलनविना देशमा प्रजातन्त्रको स्थापना असम्भव जस्तै थियो । त्यतिबेला मदन भण्डारी आफ्नो पार्टीमा उक्त विचारको बिजारोपण गर्दै पार्टीको नेतृत्व आफुले लिनुभयो । उहाँले विभाजित कम्युनिष्ट पार्टीहरू र कम्युनिष्ट पार्टी भनेपछि नामसम्म सुन्न नचाहने काँग्रेस पार्टीलाई समेत संयुक्त जनआन्दोलनमा सहमत बनाउनु भयो । संयुक्त जनआन्दोलनको सांगठनिक नेतृत्व पनि नेपाली काँग्रेस र संयुक्त वाममोर्चालाई नै दिनुभयो । ती सबैको आन्तरिक समन्वय र नेतृत्व आपूmले लिई ६ महिनाभित्रै नेपालको राजनीतिक आन्दोलनकै दिशा परिवर्तन गरी करिब दुईसय २४० वर्षदेखिको शाही राजतन्त्र र ३० वर्षदेखिको पञ्चायत नामको निरकुंश राजतन्त्रलाई कानुनको मातहतमा ल्याउने संयुक्त जनआन्दोलनलाई सफलतामा पु¥याउने भूमिका निर्वाह गर्नुभयो । यो कार्य सामान्य विषय थिएन । मदन भण्डारीले ३८ वर्षको युवा अवस्थामै यस्तो महत्वपूर्ण र चुनौतीपूर्ण कार्यलाई वैचारिक नेतृत्व दिँदै निरंकुश पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था पुनःस्थापनामा असाधरण क्षमता देखाउनु भयो । नेपालमा माक्र्स जीवित छन् भन्ने कुरामा संसारलाई समेत कान ठाडो पार्ने बनाउन सक्नु ज्यादै महत्वको विषय थियो । यिनै महत्वपूर्ण कार्यले गर्दा आज मदन भण्डारीलाई नेपालको राजनेताको पंक्तिमा उभ्याउन सकिन्छ ।
कुशल नेतृत्व र असाधारण क्षमता भएका मानिसहरूलाई कुनै पनि कार्य अरुको तुलनामा ज्यादै छिटो र ज्यादै सुव्यवस्थित रूपमा सम्पन्न गर्दछन् भन्ने कुरा नेपालको कम्युनिष्ट आन्दोलनका सफल व्यक्तित्व कमरेड मदन भण्डरीको जीवनकालबाट पनि प्रमाणित हुन्छ । उहाँ पार्टीको केन्द्रीय कमिटीमा संगठित भएको एक दशकमै पार्टीको सर्वोच्च पदमा पुग्नु, चौथो महाधिवेशनले बिजारोपण गरेको नयाँ विचारलाई ६ महिना मै प्रयोगमा ल्याउनु र नेपालको लामो समयको निरंकुश राजतन्त्रलाई समाप्त गर्नका लागि सबै राजनीतिक दलहरूलाई एक स्थानमा ल्याउनु, नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विचार स्थापित गर्दै त्यसको सफल प्रयोग गरी विश्व कम्युनिष्ट आन्दोलनमा समेत एउटा नयाँ बहसको सुरुआत गराउनु निकै चुनौतीपूर्ण कार्यहरू हुन् । मदन भण्डारीले यी सबै कार्यहरू बदलिँदो राजनीतिक परिवेशमा कुशलताका साथ निर्वाह गर्नुभयो । यस्तो काममा पार्टीलाई एक ढिक्का बनाउँदै सम्पन्न गराउन सक्नु विलक्षण प्रतिभाकै नतिजा हो । उहाँले नेपालको राजनीतिमा ४२ वर्षको युवा अवस्थामै यी असाधारण क्षमताको प्रदर्शन गरेकै कारण प्रतिक्रियावादीहरूको षड्यन्त्रमा परी नेपालको धर्तीबाट सदाका लागि विदा भएर जानु भयो । उहाँको भौतिक शरीर हाम्रा सामु नरहे पनि उहाँको वैचारिक नेतृत्व नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनमा अत्यन्त सान्दर्भिक छन् ।
मदनले आफ्नै जीवनकालमा आफुले नेतृत्व गर्नु भएको विचारलाई व्यवहारमा प्रमाणित गर्नु भयो :
०४६ सालको चौथौ महाधिवेशनवाट विषय प्रवेश भएको प्रतिष्पर्धाको आधारमा कम्युनिष्ट पार्टीलाई जनतामा स्थापित गर्दै आमूल परिवर्तनको दिशामा अगाडि बढ्ने कार्यनीति तथा कार्यक्रमहरूलाई व्यवहारबाटै स्थापित गर्नका लागि ६ महिनाभित्रै संयुक्त जनआन्दोलनको तयारीमा जुट्नु भयो । यसका लागि पार्टी पंक्तिलाई प्रशिक्षित गर्ने, वाम पार्टीहरूसँग संवाद गर्देै वाममोर्चा निर्माण गर्ने र नेपाली काँगे्रसलाई संयुक्त जनआन्दोलनका लागि सहमत बनाउँदै छोटो समयमा ०४६ सालको संयुक्त जनआन्दोलनलाई सफलतामा पु¥याउन नेतृत्व गर्नुभयो । जनआन्दोलनको सफलतापछि नेपालको नयाँ संविधान तयार गर्ने, पार्टीलाई खुला परिवेशमा नयाँ ढंगबाट पुर्नगठन गर्ने क्रममा वाम एकीकरणका लागि नेकपा माक्र्सवादी लगायतका पार्टी तथा अन्य कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूलाई एकीकृत गर्दै कम्युनिष्ट पार्टीलाई एकीकरण गर्ने, महाधिवेशनले नवीन विचारको रूपमा पास गरेको जबजको विचारलाई निर्वाचनको माध्यमबाट प्रयोगमा लैजानु, नेपालको संसदमा प्रतिष्पर्धाबाट ६९ सिटमा सांसदहरू विजयी बनाउँदै तय गरिएको विचारलाई व्यवहारवाट प्रमाणित गर्ने कार्यहरू सफलताकासाथमा सम्पन्न गराउन नेतृत्व गर्नु भयो । यसरी कम्युनिष्ट पार्टीलाई जनताबाट अनुमोदन गराउँदै विश्व कम्युनिष्ट आन्दोलनको कार्यनीतिमा देखापरेको ठुलो चुनौतीलाई समेत ठिक बाटो देखाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु चानचुने विषय होइन ।
०४९ सालको माघमा सम्पन्न पाँचौँ महाधिवेशनमा कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम तथा कार्यनीतिलाई विधिवत रूपमा अत्यधिक मतबाट अनुमोदन गराउने कार्य समेत कुशलताको साथमा नेतृत्व गर्नुभयो र नेपालको राजनीतिमा नयाँ आयाम स्थापना गर्दै नेपाली समाजको आमूल रूपान्तरणको अभियान संचालनका लागि नयाँ गोरेटो समेत तयार गर्नुभयो । आफ्नो नेतृत्वको ४ वर्षे छोटो अवधिमा विचार प्रतिपादन गर्ने र उक्त विचारलाई व्यवहारवाट सिद्ध गर्दै सिद्धान्त निर्माणको आधार तयार गर्ने कामको अगुआई गर्ने कार्य ज्यादै महत्वको विषयका रूपमा लिन सकिन्छ । पार्टीले पास गरेका विचारलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक संगठन निर्माण र परिचालनमा संगठन विभाग प्रमुखका रूपमा क्रियाशील भई पार्टी अनुशासनलाई ठिक दिशामा लान र विचार अनुसारको कार्यशैली निर्माणमा मदन भण्डारीका सहयोद्धा क.जीवराज आश्रितको योगदान समेत ज्यादै महत्वपूर्ण रहेकोछ ।
मदन भण्डारीले २०४६ भदौमा भएको नेकपा मालेको चौथौ महाधिवेशनमा पार्टी निर्माणबारे आधारभूत प्रस्तावना नामको दस्तावेजमा पार्टी निर्माण तथा परिचालनका बारेमा ज्यादै महत्वपूर्ण विचार प्रस्तुत गर्नु भएको थियो । जुन विचार अहिलेको समयमा ज्यादै सान्दर्भिक र मननयोग्य भएकोले उक्त भनाई यहाँ प्रस्तुत गर्न चाहन्छु । ‘कम्युनिष्ट पार्टी संचालित हुने विज्ञानसम्मत संगठनात्मक सिद्धान्त हुन्छ, त्यो लेनिनवादी संगठनात्मक सिद्धान्त हो । यसलाई पालना नगर्ने कम्युनिष्ट पार्टीहरू छिन्न भिन्न हुन्छन् र त्यस्तो भएन भने पनि तिनीहरूले आमूल रूपान्तरणको अगुवाई गर्न सक्दैनन् । हाम्रो देशमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भयो र २२ सालसम्म पुग्दा विभाजित एवं छिन्नभिन्न भयो । कम्युनिष्ट पार्टीमा भएको विभाजनमा राजनैतिक, सैद्धान्तिक र अरु कारणहरूको धेरथोर जति भए पनि गैरसर्वहारा प्रवृति र लेनिनवादी संगठनात्मक सिद्धान्तको गम्भीर रूपमा उल्लंघन भएको तथ्य कसैले लुकाउन सकिदैन । नियम र सिद्धान्त उल्लंघन फुटेर जानेहरूले मात्र गरेका हुन् भन्न सकिन्न । संगठन निर्माण गर्ने र त्यसलाई संचालन गर्ने, वस्तु वा घटनालाई हेर्ने, विश्लेषण गर्ने, विचारलाई खेल्न दिने, फरक मतहरूलाई संचालन गर्ने, नीति निर्माण गर्ने तथा विचारधारात्मक संघर्ष संचालन गर्ने, नेतृत्वको दायित्व निर्वाह गर्ने र कार्यकर्ता परिचालन गर्ने जस्ता अनेकौ सवालमा संगठनात्मक सिद्धान्तको उल्लंघन भएको हुन सक्छ ।’ माथिको यस भनाइबाट हामीले अहिलेको अवस्थालाई विश्लेषण गर्दा हामी काहाँ छौ र कुन दिशा तर्फ हामी अगाडी बढदैछौ भन्ने निश्कर्ष निकाल्न त्यति गाह्रो नहोला ।
निष्कर्ष :
मदन भण्डारी हामी सामुबाट विदा भएको आज ३० वर्ष भइसकेको छ । यस अवधिमा नेकपा एमालेले अनेकौँ उतार—चढावहरू पार गरेको छ । जबजको कार्यक्रम र कार्यनीतिको वरिपरि नेपालको कम्युनिष्ट आन्दोलन घुमिरहेकोछ । यसैको कार्यनीतिको उपयोगबाट अहिले नेपालका कम्युनिष्ट पार्टीहरू पालैपालो सरकारहरू संचालन गरिरहेका छन् । तर जबजको कार्यनीतिको मुल मर्मको रूपमा रहेको प्रतिष्पर्धाका आधारमा श्रेष्ठता र जनताको उत्साहपूर्ण अनुमोदनबाट सरकार संचालन हो । तर आज राज्य संचालनका लागि संसद तथा सरकारमा जानका लागि जस्तोसुकै क्रियाकलाप गर्ने कार्यले यो कार्यनीतिको व्यवहारिक पक्ष धर्मराएको छ । ‘जनताको मन जितेर सरकार र संसदमा जाऊ र जनताको हित र राष्ट्रको उन्नतिमा केन्द्रित हुँदै समाजको आमूल रूपान्तरण गर । यसो गर्दा समाज रूपान्तरणका पक्षमा देखा परेका समस्याहरूका विरुद्धमा आउने प्रतिगामी तथा प्रतिक्रियावादीहरूका विरुद्धमा जनता स्वयं प्रतिकारमा उठ्नेछ’ भन्ने मदन भण्डारीको सोच समेत विखण्डित भएकोछ । आज कम्युनिष्ट पार्टीका नेताहरूले निर्वाचनका बेलामा जनतालाई अनेकौँ प्रलोभन र झुटा आश्वासन बाँड्ने, चुनाव जित्नका लागि अनेकौँ विकृत क्रियाकलाप गर्ने, एक पटक जितेको स्थानमा जनतासँग सुमधुर सम्वन्ध कायम गर्न नसक्ेन र पराजयको सिकार हुने, सरकारमा भएका बेला अनेकाँै भ्रष्टचारका मुद्दामा मुछिने, यस्ता आरोप लागेकाहरूलाई कुनै छानबिन नगरिने गरेका कारण आज जनता कम्युनिष्ट पार्टीप्रति नकरात्मक विचार राख्ने अवस्था सिर्जना भएको छ । आजभन्दा २९ वर्ष अगाडि नै नेपालको संसदमा ठुलो दलका रूपमा स्थापित नेकपा एमाले क्रमशः खुम्चदै गयो । एक पटक के.पी ओलीको नेतृत्वमा एक पटक फेरि जनताको नजरमा विश्वास आर्जन गर्न सकेको नेकपा एमाले आज फेरि किन खुम्चदै गएको छ ? गम्भीर समिक्षाको विषय भएको छ । किन आज नेकपा एमालेका सांसद, स्थानीय सरकारका जनप्रतिनिधि र नेता कार्यकर्ताबाट सर्वसाधारण जनता असन्तुष्ट हुँदै गएकाछन् ? यो जबजको स्वरूप र कार्यशैली प्रतिको स्खलन होइन र ? यी र यस्तै कारणहरूले गर्दा आजजनता र कम्युनिष्ट पार्टी बिचको सम्बन्ध नकरात्मक दिशामा अगाडि बढेकोछ । यसले गर्दा आज जबजको कार्यनीतिलाई व्यवहारमा उतार्ने सन्दर्भमा गम्भीर भड्कावहरू देखा परेकाछन् र अब पनि कठोर समीक्षा गर्दै पार्टीको कार्यशैलीमा आमूल रूपान्तरण गर्न सकिएन भने एमालेको भविष्य पुनः संकटतर्फ नजाला भन्न सकिँदैन ।
त्यसै गरी जबजको सार भनेको नेकपा एमालेका प्रतिनिधिहरू सरकारमा जाँदा गरिने कार्यक्रम र समाज रूपान्तरणका विषयमा गरिने कार्यक्रमहरू हुन् । हामीले सरकारमा रहेका बेलामा समाजको सार्वजनिक भौतिक पूर्वाधारको पक्षमा केही नयाँ योजनाहरू ल्याउने, बाटो, पुल, भवन तथा केही सामाजिक न्यायका पक्षमा केही सुधारात्मक कार्यक्रमहरू बनाउने र केही कार्यान्वयन गर्ने पक्षमा सुधार भएकाछन् । तर नागरिकको जीवन स्तरलाई माथि उठाउने रोजगारी तथा स्वरोजगारको विकास गर्ने, पिछडिएका क्षेत्र तथा नागरिकहरूलाई पहिलो प्राथमिकता दिने, भूमिहीन तथा सुकुम्वासीहरूलाई घरबारको ग्यारेन्टी गर्ने, कलकारखाना स्थापना गर्दै उद्योग व्यवसायको विकासमा टेवा दिने, नेपालको स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय आय विकासका लागि कृषि क्षेत्र, पर्यटन पूर्वाधारका पक्ष र हामीसँग भएका प्राकृतिक सम्पदाहरूको विकासका लागि गरिने पूर्वाधार विकासका पक्षहरू अत्यन्त कमजोर अवस्थामा रहेकाछन् । आज करिब करिब पौने एक करोड नेपालीहरू विभिन्न अवसरका लागि विदेशिन वाध्य भएका छन् । बहुदल आएको यति लामो समयसम्म पनि नेपालको ठुलो जनसंख्या आज पनि विकासको मुल प्रवाहमा सहभागी हुन सकेको छैन । यस कारण आज बहुसंख्यक जनतामा राजनैतिक व्यवस्था परिवर्तनको अनुभूति हुन सकिरहेको छैन । हामीले हाम्रा निर्वाचित सरकारहरूलाई समाजादको आधार निर्माणका ठोस कार्यक्रमहरू यी हुन्, विकासका आधार र प्राथमिकता यी हुन् भन्दै समाज रूपान्तरणको रोडम्याप अहिलेसम्म पनि दिन र प्रशिक्षित गर्न सकेका छैनौँ । आज स्थानीय सरकार र प्रदेश सरकारहरूलाई दिशा निर्देश गर्न ठोस कार्यक्रमिक र विषयगत प्रशिक्षण समेत गर्न नसकेका कारण आफुले जे जानेको छ त्यही आधारमा काम गर्ने अवस्था छ । यस प्रकारको कार्यशैलीले समाज रूपान्तरण र विकासमा कुनै ठोस उपलब्धि हुन सक्दैन ।
हामीले यस बिचमा जबजको वैचारिक पक्षलाई विकसित गर्ने कार्यमा त केही अगाडि बढेका छौँ तर यस सँगसँगै विकसित गर्नुपर्ने व्यवहार र कार्यान्वयनका पक्षमा कमजोर देखिएका छौँ । सिद्धान्त र व्यवहार बिचमा देखापरेका खाडलका बारेमा आत्मसमीक्षा गर्ने र कमजोर पक्षहरूलाई नियाल्ने र सच्याउने तर्फ भने लाग्न सकेनौँ । अवस्था यस्तै रहने हो भने केही समयपछि नेपाली कम्युनिष्ट आन्दोलनमा जबज असफल भयो भन्ने निष्कर्ष नआउला भन्न सकिन्न । बेलैमा ध्यान नदिने हो भने अब यस्तो अवस्थामा पुग्ने छौँ कि न त हामीले कमजोरी सच्याउने समय नै प्राप्त गर्न सक्नेछौँ, न त जबजको सिद्धान्तलाई दृढताका साथमा कार्यान्वयन गर्दै समाजको रूपान्तरणमा अगुआइ गर्नका लागि जनताको विश्वास र भरोसा प्राप्त गर्ने अवसर नै पाउने छौँ । आशा गरौँ, मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको यस महत्वपूर्ण समयमा यो अवस्था नेपालमा नआओस् र आगामी दिनमा नेकपा एमाले जनताको विश्वास र भरोसाको पार्टी बन्न सकोस् ।