images
images

मृत्युअति स्वभाविक प्रक्रिया हो 

मैले कहिल्यै पनि जंगलसँग सम्बन्धित कुरा देखिनँ 
म यसका लागि क्षमा चाहन्छु ।  
एउटा जाडोले कठ्याङ्ग्रिएर मरेको सानो चरो रुखको हाँगाबाट खस्छ 
तर यसका लागि कहिल्यै पनि आफूसँग दुःखी हुँदैन । 
(“स्व–कृपा”, डी एच लरेन्सद्वारा रचित) 

 

मृत्यु सास फेरे जस्तै र खाना खाए जस्तै स्वभाविक तथा प्राकृतिक हुन्छ । यही मात्र एउटा यस्तो उपाय तथा अवसर हो, जसले हाम्रो अस्तित्वलाई निकास दिन्छ । हामी जन्मदै कुनै विशेष गुण अथवा आफै कुनै कुराको सूत्रपात गर्न सक्षम भएर जन्मदैनौँ र हामी यदि उचित समय आएको छ भने सजिलै तथा चाल नपाई कुनै पनि क्षण मर्न सक्छौँ । जीवनको वास्तविक चमत्कार भनेको जीवन र मृत्युको खेल हो । सास फेर्नु, खानु, सुत्नु, सोच्नु, कुराकानी गर्नु, हिँड्नु– यी सबै चमत्कार नै हुन् । ओहो ! कसरी हामी हामीमध्ये धेरैजसो कुनै प्रयत्न नगरिकन सफल हुन्छौँ, तर कतिपयहरूका लागि जीवन सम्पादन गर्न ठूलो प्रयास तथा प्रयत्न आवश्यक हुन्छ र यो जीवनको अझ ठूलो चमत्कार हो । 

 

जब कोही आफ्नो प्रियजनको मृत्यु हुन्छ, यसले हाम्रो मन, मस्तिष्क, हृदयलाई चोट पुग्छ तथा हाम्रो सोच्ने, गर्ने शक्तिलाई समाप्त पारिदिन्छ । हामी उसको शरीर र मनबाट आफूलाई अलग गर्न चाहदैनौँ, उसको जीवनबाट अलग हुनै सक्दैनौँ, हामी उसलाई गुमाउन चाहदैनौँ । तर जति पनि बाँचेका हुन्छौँ, हामी उनीहरूको उपस्थिति तथा अनुपस्थितिको सहारामा जीवन काट्छौँ । हामीलाई उनीहरूसँग बिताएका क्षणहरूको सम्झना हुन्छ, यद्यपि उनीहरू अनुपस्थित हुन्छन्, हामीसँग हुँदैनन् । तर तिनीहरू हाम्रो मन, मस्तिष्क र हृदयमा बास गरेका हुन्छन् । हामी जसलाई मायाँ गर्छौँ, यदि उसको मृत्यु हुन्छ भने यसले हामीहरूलाई अझ बढी विवेकशील समझदार र बुद्धिमान बनाउन सक्छ ।  तब हामीलाई यथार्थमा यो थाहा हुन्छ कि हामी लगायत एक दिन सबैले मर्नुपर्छ । हामी अरु बढी धैर्यवान हुन सक्छौँ, अझ बढी समझदार र अझ बढी मायालु–दयालु हुन सक्छौँ । 

 

जब मेरी श्रीमतीको मृत्यु भयो म पनि अति दुःखी, पीडित र शोकाकुल भएँ । अनि म अलमल तथा द्विविधामा परेर किंकर्तव्यविमूढ भएँ, अनि रिसाएँ, अनि हराएँ, अनि किहल्यै निको नहुने दुःखको बिरामी भई ज्वरोले थलिएँ । यी दुख तथा शोकका प्राकृतिक चरणहरू हुन् । हामीहरूले वास्तविकतासँग पूर्ण रूपमा सहमत भएर बाँच्नै पर्छ । हामीहरूले वास्तविकतालाई आत्मसात् गरेर यसको अनुभव गर्नैपर्छ, स्वीकार गर्नैपर्छ । यसलाई ध्यानमा राखेर काम गर्नैपर्छ । 

 

आउनुहोस्, ती वास्तविकतालाई हाम्रो जीवनधारालाई परिवर्तन गर्न अनुमति दिऊँ र तिनीहरूलाई केही नयाँ कार्य गर्न, केही नयाँ परिवर्तन गर्न क्रमिक रूपमा विकसित हुन दिऊँ । दुःख तथा शोक धेरै महत्वपूर्ण हुन्छन् । हामीले हतार गर्नु हुँदैन, यसको बारेमा चिन्तन्, मनन्, मन्थन् गर्नुपर्छ र यसबाट प्राप्त हुने परिवर्तनलाई सहर्ष स्वीकार गर्नुपर्छ ।  यसले हाम्रो चह¥याइरहेको घाउमा मलम लगाउने काम गर्छ । यसले जीवन र मृत्युको रहस्य सम्बन्धमा समझदारी, विवेक र चेतनशील बुद्धि तथा समानुभूति अभिवृद्धि गर्न हामीलाई प्रेरित गर्छ । 

 

ओहो ! तर त्यो चोट, त्यो पीडा, त्यो क्रन्दन र त्यो क्षति “हे मेरो प्राण भन्दा पनि प्यारा... तिमी कहाँछौ ? कहाँ गयौ तिमी ? तिमीले किन यति चाँडो मलाई यो संसारमा एक्लै छोडेर गयौ ? मलाई तिम्रो यादले मरणासन्न बनाउँछ । म तिमीलाई अत्यधिक मायाँ गर्छु ।”  मेरो पत्नीको मृत्युपश्चात् हामीले एक अर्कासँग पत्राचार गऱ्यौँ र यसले मलाई अलिकति भए पनि सम्हालिन सहयोग गऱ्यो । म उनका पत्रहरू कम्प्यूटरमा टाइप गर्थे र पठाउँथेँ र उनले यसको प्रतिउत्तरमा मलाई भरोसा, विश्वास र मायाँका शब्द प्रयोग गरेर मलाई ढाडस दिन्थिन् । यसले पनि अलिअलि सहयोग गऱ्यो, यद्यपि मलाई थाहा थियो, म नै उनी भएको छु, उनको तर्फबाट आफै लेख्थेँ र प्रत्युत्तर स्वरूप उनलाई पठाउने गर्थेँ । म यसो गर्दा उनको मन, हृदय र शब्दहरूको कल्पना गर्थे र प्रयोग गर्थे । यसले मलाई उनको मायाँ अनुभव गर्न सहयोग गऱ्यो, उनको दया, उनको विवेकशील बुद्धि र उनका इच्छा आकाँक्षाहरू अनुभव तथा बोधगम्य बनाउन सहयोग गऱ्यो, जसले गर्दा म मेरो जीवन, मेरो जागिर र मेरो लक्ष्य तथा धैर्यतालाई निरन्तरता दिन सक्षम भएको छु ।  
हामीले जीवन र मृत्युको कस्तो विचित्र र रहस्यमयी उपहार पाएका छौँ ! 

 

केका लागि मर्ने/मर्नुको मूल्य तथा अर्थ केहो ? 
दस वर्ष अगाडि आत्मबलिदानका लागि प्रतिबद्ध मेरो एकजना पुराना मित्रको बारेमा कुरा गर्दैछु । उनी कुनै बुद्ध भिक्षुक होइनन्, बरु टेक्सास राज्यका एक जना मन्त्री थिए । उनले यो कुरा व्याख्या गर्दै यो सन्देश दिए, उनले यो यस कारण गरे किनभने उनी जातिवादको विरुद्ध जेहाद छेड्न चाहन्थे, मृत्युको खिलाफमा आवाज बुलन्द गर्न चाहन्थे र सामाजिक अभ्यासको अभियानको कोसे ढुंगामा अर्को एउटा कोसे ढुंगा थप्न चाहन्थे । उनले यो कुरा स्पष्ट पारे उनी आफ्नो जीवनलाई मायाँ गर्थे, जीवनप्रति निराश थिएनन्, आशावादी थिए र आत्महत्या गर्दै थिएनन्, बरु लामो जीवन बाँचेर अरुका लागि बाँच्न प्रेरणा दिन आफ्नो मृत्युको खिलाफ जेहाद स्वरूप अन्तिम लडाइँ लड्दै थिए । उनी ७९ वर्षका थिए । म उहाँलाई एउटा भद्र पुरुष र दृढ इच्छाशक्ति भएका अद्भूत व्यक्तित्वका रूपमा स्मरण गर्छु । यस्तो भइदिओस् कि उहाँको बलिदानले हामी प्रत्येकलाई केका लागि मर्ने तथा मृत्युको मूल्य र अर्थ साकार पार्न सक्षम बनाओस् । 

 

मेरा अर्का एक जना वृद्ध मित्र जसले जलवायु परिवर्तनलाई प्रवर्धन गर्न, जीवाष्म इन्धनको प्रयोग रोक्न र नवीकरणीय उर्जालाई प्रयोगमा ल्याउन मध्य अमेरिकाभरि जनचेतना जगाउन पैदल यात्रा गरे । वहाँ ७७ वर्षको हुनुहुन्छ । वहाँ दृढ इच्छाशक्ति भएको हठी व्यक्तित्व हुनुहुन्छ, जसले अरुको सुखसुविधा, रेखदेख र प्रवर्धनका लागि ७७ वर्ष बिताउनुभएको छ । यस्तो होस् कि उहाँले पश्चिमबाट पूर्वतर्फ चालेका कदमहरूले हामी प्रत्येकलाई केका लागि मर्ने र मृत्युको मूल्य र अर्थ बुझ्न प्रेरणा दिऊन् ।  मेरा अर्का वृद्ध मित्र सुकुमवासी तथा गरिब मानिसहरूका लागि प्रत्येक दिन अल्बाकरक्यु जान्छन् र खाना, कपडा र आवश्यक वस्तु लिएर आउने गर्छन् । उनी मेरी महिला मित्र हुन् र अहिले ७४ वर्षकी छन् । वहाँ बुद्धिमान तथा तीब्र इच्छाशक्ति भएकी व्यक्तित्व हुनुहुन्छ, जसले संसारभरि अरुको भलाइका लागि आफ्नो जीवन अर्पण गर्नुभएको छ । यस्तो होस्, वहाँको दयालु, मायाँलु र कृपालु लगानीले हामी प्रत्येकलाई जीवनको मूल्य, अर्थ र केका लागि बाँच्ने भन्ने बारेमा बुझाउन र बिउँझ्याउन सक्षम बनाउन प्रेरणा दिन सकून् । 

 

यीमध्ये तीनै वृद्ध व्यक्तिहरू प्रत्येक दिन केका लागि बाँच्ने, जीवनको मूल्य तथा अर्थ केहो ? के र कसरी गर्ने र आफू के बन्ने भन्ने कुराको छनोट गर्छन् तथा केका लागि मर्ने भन्ने कुरा बुझ्छन् र त्यस अनुसार व्यवहार गर्छन् । केका लागिको कुनै एउटै उत्तर पर्याप्त छैन । यो एउटा गहन व्यक्तिगत तीब्र चाहना र निर्णय हो, जसलाई हामी प्रत्येकले एकान्त र समुदायमा लागू गर्नुपर्छ । मेरो सन्दर्भमा मैले दिगो मानव विकासका लागि नवप्रवर्तनकारी नेतृत्वलाई प्रवर्धन गर्न शिक्षण र प्रशिक्षण, संभाषण, सहजीकरण र लेखनलाई तीब्रता दिने निर्णय गरेको छु र वातावरण संरक्षण, लैङ्गिक समानता सहभागीमूलक शासन, आर्थिक, सामाजिक न्याय र सांस्कृतिक सहिष्णुतालाई प्रवर्धन गर्न आफ्नो जीवन अर्पण गर्दछु । यो काम गर्नका लागि त्यति उपयुक्त छैन, गर्नैपर्छ भन्ने छैन । तर यो त्यो काम हो, जुन मैले कुनै ग्यारेन्टी तथा आश्वासनबिना बाध्य भएर गर्नैपर्छ, जसले फरक पार्ने छ । मृत्यु जीवनको सबैभन्दा सजीव अङ्ग तथा यथार्थ हो । मृत्यु अवश्यम्भावी छ । तपाईंका लागि जीवन केका लागि, केका लागि बाँच्ने या केका लागि मर्ने हो ? तपाईंका लागि जीवनको मूल्य तथा अर्थको महत्व के हो ? हाम्रो जीवन र मृत्युले समाजको दृष्टिकोण र प्राथमिकताका आधारमा अरुको जीवनमा के फरक पार्छ ? 

 

प्रतिक्रियात्मक संरचनात्मक क्रान्ति 
हिजो मैले कठपुतलीको तमासाको बारेमा ए.ए.आर.पी. भिडियो हेरेँ । यो भिडियोको शीर्षक थियो “तिमी को हौ ? यो जान्नु पर्याप्त छ ?” त्यसैले मैले आफैलाई सोधेँ, म कोहुँ ? म एउटा क्रान्ति हुँ । म प्रत्येक कुरालाई परिवर्तन गर्न चाहन्छु । म समाजको पुनर्आविष्कार गर्न चाहन्छु । म समानुभूतिपूर्ण सभ्यताको निर्माणमा एउटा उत्प्रेरकको भूमिका निभाउन चाहन्छु । म यस धर्तीमा आदर्शमा आधारित सामाजिक र राजनीतिक प्रणाली स्थापना गर्न चाहन्छु । म त्यो व्यक्ति हुँ, म आदर्श समाज निर्माण गर्न चाहन्छु । मैले आफ्नो उर्जाशील समय, युवा जोश र होश सुन्दर संसार निर्माण कार्यमा लगाएकोे छु । यस कार्यमा मैले पहिले सामुदायिक विकास परियोजना, पछि राष्ट्रिय स्तर र विश्वस्तरमा नीति निर्माण कार्यमा र अहिले व्यक्तिगत रूपमा शैक्षिक गुणस्तर प्रवर्धन गर्नका लागि सारा जीवन अर्पण गरेकोछु । म मेरो कामलाई मायाँ तथा सम्मान गर्छु । मलाई थाहा छ म को हुँ ? म कसरी यी तीनवटै स्तरलाई मेरो अन्तिम अध्यायमा एकै ठाउँमा ल्याउन सक्छु ? तर म यस्तो प्रकारको क्रान्तिकारी विचार भएको मानिस हुँ, जो समाजको प्रतिपादन गरेको संरचना, नीति, नियमभित्र बस्छ, जसले विवाह गऱ्यो, सन्तान जन्मायो, अर्को विवाह पनि गऱ्यो, जसका नातिनातिना पनि छन्, कुनै एउटा देशको नागरिक पनि हो र धेरै संघसंस्थामा लामो समयसम्म काम गरेको छ । म संरचनाहरूलाई भित्रैबाट परिवर्तन गर्न चाहन्छु, न कि सतही रूपमा । 

 

म प्रणालीहरूको रूपान्तरण प्रणाली भित्रैबाट गर्न चाहन्छु । म त्यस्तो व्यक्ति हुँ, जसले स्थापनाभन्दा माथि उठेर स्थायी स्थापना गर्न सक्छ । म त्यो हुँ, जसले विस्थापना होइन, स्थापना पनि होइन, बरु दिगो स्थापना गर्न सक्छ । र यो यसरी नै अगाडि बढ्छ, दिनदिनै, लेखन, शिक्षण, प्रशिक्षण, सहजीकरण, संभाषण र प्रदर्शन गर्दै, यो कसरी गर्न सकिन्छ ? व्यवहारमा उतार्दै, लागू गर्दै, कार्यान्वयन गर्दै दिगो स्थापना गर्न सकिन्छ । 

 

म यो पृथ्वीलाई मायाँ गर्छु । म मेरो परिवारलाई मायाँ गर्छु । म आफूलाइ मायाँ गर्छु । म मानव समाजलाई मायाँ गर्छु । म प्रकृतिको महान सन्तुलनलाई  मायाँ गर्छु । म त्यतिबेला निराश हुन्छु र रुन्छु, जब म सामाजिक दुर्दशा र वातावरणका ेह्रास, क्षय र विनाश देख्छु । म गतिशीलताको अभियानको एउटा अङ्ग हुँ, जसले प्रत्येक कुरालाई रूपान्तरण गर्नेछ र समानुभूतिपूर्ण सभ्यता निर्माण गर्नेछ । र जब मेरो समय सकिन्छ, म यो सांसारिक मोहमायाँ र एकोहोरो तथा जिद्दी प्रकृतिलाई तिलान्जली दिन्छु र अनन्त क्रान्तिको एउटा अङ्ग हुनेछु । 

 

माथि भनिएको कुराले मलाई सशक्त, उन्मुक्त र प्रसन्न महसुस गराउँछ । म एउटा अवतार हुँ, जो निश्चित कार्य सम्पादन गर्नका लागि प्रकट हुन्छ र काम सम्पन्न भइसकेपछि लोप हुन्छ । हो, यसले यसरी नै काम गर्छ । यो त्यही तरिका हो, जुन तरिकाले कार्यसम्पादन हुने गर्छन् । यो गल्ती तथा अनुचित होइन पीडा, बिमारी, बुढ्यौली र मृत्युहरू गलत होइनन् । यी चेतनशील, विवेकशील र नश्वर शरीरका अभिन्न अङ्ग हुन् । होइन भने, हामी कसरी समानुभूति तथा विवेकशील सभ्यताको बारेमा सिक्न तथा सोच्न सकौँला र ? हामीलाई भविष्यमा आवश्यक पर्ने ज्ञान, बुद्धि र विवेकलाई रूपान्तरण गर्न सकौँला ? अवर्णनीय रहस्य ! कृतज्ञताका लागि कृतज्ञता !!