images
images

विकासको आरोह—अवरोह



धेरै देशहरूले आफ्नो प्रगति र अवसानका चरणहरू अनुभूति गरिसकेका छन् भने कतिपय यो बाटोमा अग्रसर छन् । विज्ञान प्रविधिको उपयुक्त प्रयोग गर्ने देशहरू समृद्ध भएका छन् भने यसको अभावमा वा दुरूपयोग गर्दा कतिपय देशहरूको अवस्था अत्यन्त कमजोर बन्न पुगेको छ । अमेरिका आज कसरी यति विकसित भयो ? यसको मुख्य कारण उसले विज्ञानमा विशेष ध्यान दिएकाले हो । प्रविधि र इन्नोभेसनमा उसको विशेष लगावले हो । अरु विकसित राष्ट्रहरूले पनि यही बाटो पछ्याएका हुन् । विगत केही समय यता अमेरिकी राजनीतिक वृत्तबाट वातावरण विज्ञानको महत्वबारे कम ध्यान दिन थालिएको छ । निर्णय गर्ने जिम्मा पाएका व्यक्तिहरूमा के ठिक र के बेठिक भन्ने छुट्याउने क्षमतामा ह्रास आइरहेको छ । ट्रम्प सरकारले हावापानी परिर्वतन र यसको असरबारे नकारात्मक टिप्पणी दिनु र वैज्ञानिक मान्यता विपरित जानुले अमेरिकी राजनीतिको कमजोर अवस्था झल्काउँछ । अझै पनि अमेरिकाको ठूलो जनसमूह धार्मिक रूपमा अन्धविश्वासी छ । वैज्ञानिक निर्णय प्रक्रियामा यस्ता व्यक्तिहरू हाबी हुन गए भने अबको अमेरिका कस्तो होला ? अमेरिकाले आफ्नो विश्वव्यापीे वर्चस्व गुमाउन खोजेको त होइन ?  


निल टाइसन भन्छन्, विज्ञानले सत्य तथ्य खोज्छ, धेरै पटक परीक्षण गरेर हेर्छ, धेरैले त्यसमाथि अध्ययन गर्छ, सही भए–नभएको पुष्ट्याइँ गर्छ अनि मात्र वास्तविक सत्यता बाहिर ल्याउँछ । यसरी आउने सत्यताको खिलाफ जानु भनेको प्रजातन्त्रलाई नै कमजोर बनाउन खोज्नु हो भन्ने उनको तर्क छ । कुनै पनि व्यक्ति वा देश लामो समयसम्म उचाइमा रहिरहन सक्दैन । निश्चित रूपमा ऊ पनि तल झर्नैपर्छ । विगतमा भएका ठूलठूला सभ्यताहरू यसै कारणले हराएर गए । कुनैबेला चीन सबैभन्दा समृद्ध राष्ट्र थियो तर उसको अस्तित्व पनि हराएर गयो । अब ऊ पुनः आफ्नो पुरानो विराशत फर्काउन खोज्दैछ । कुल ग्रार्हस्थ्य उत्पादनमा धेरै देशलाईपछि पारेर ऊ संसारकै दोस्रो शक्तिशाली राष्ट्र बनेको अभियानमा लागेको छ । भारत उसको पछिपछि लागेको छ । भारतको पुरानो वैज्ञानिक विरासतलाई कम आँक्न सकिन्न । यसो हुनुको मूल कारणमा विगत् केही दशकयता यी दुवै राष्ट्रहरूले विज्ञान तथा प्रविधिमा जोड दिनुले हो । केही दशक अघिसम्म भोकमरीसंँग जुझ्ने यी राष्ट्रहरू अहिले मङ्कल ग्रहको अन्वेषण कार्यमा समेत सामेल भएका छन् । 


अरुबाट सिकौं चीन र भारतका औद्योगिक प्रतिष्ठान घुम्दा मैले एउटा अनौठो संयोग पाएँ । हैदराबादको एउटा ठूलो औद्योगिक परिसरको खालि जमिनमा केही उपकरणहरू छरिएर रहेको अवस्थामा देखेँ । त्यस्तै अवस्था उहान (चीन) को एक प्रतिष्ठित उद्योग अगाडि पनि पाएँ । यसो गर्नु पछाडि युरोप तथा अमेरिकामा बनेका केही उपकरणहरूको गहन अध्ययन गरी त्यसको सिको गर्नु रहेछ । यी दुवै देशको औद्योगिक विकासमा यस खालको अभ्यासको ठूलो भूमिका छ । कुनै पनि काम गर्दा शून्यबाट सोच्नु पर्छ भन्ने मान्यता अहिले राखिँदैन । भएकै कुरालाई नयाँ ढङ्गले नयाँ कामका लागि प्रयोग गर्न सकिन्छ । यो पनि इन्नोभेसनको एउटा उपाय हो । महाविर पुनले सुरु गरेको आविष्कार केन्द्रले अन्यत्र भएका आविष्कारहरूलाई नेपालीपन दिन खोजेको छ । यो कार्यलाई पनि सराहनीय मान्नुपर्छ, किनकि यसो गर्दा स्थानीय स्तरमा स्थानीय क्षेत्रलाई सुहाउँदो प्रविधिको विकास कम मूल्यमा गर्न सकिन्छ । उनले ड्रोनको नेपाली रूप विकास गरी दूर– दराजमा औषधि पुर्याउने कामको सफल परीक्षण गरेका छन् । उनको यो अभियानमा हामी सबैको सहयोगको खाँचो छ । राज्यले विज्ञान–प्रविधि तथा इन्नोभेसनमा खासै ध्यान नदिएको अवस्थामा सानै भए पनि उनको यो कार्यले भविष्यमा ठूलो प्रभाव पार्न सक्ने छ । 


समृद्धिको यात्रामा विज्ञान तथा प्रविधिलाई पुँजी निर्माणमा लगाउनु पर्दछ । विद्यमान प्राकृतिक तथा मानवीय स्रोतसँगै विज्ञान तथा प्रविधिलाई जोडी नयाँ सम्भावनाहरूको खोजी गर्न सकिन्छ । विगत केही दशक यता नेपालमा सहकारी क्षेत्रको राम्रो विकास भएको छ । सहकारीले केवल ऋण दिने अनि ब्याजका रूपमा धन कमाउने मात्र होइन, आफ्ना सदस्यहरूलाई इन्नोभेसनतर्फ डोर्याउनु पर्छ । घर खर्च चलाउन मात्र ऋण लिने होइन, समूहगत रूपमा स्थानीय स्तरमा आवश्यक वस्तु निमार्णका लागि अग्रसर हुनु पर्दछ । यो कामको थालनी हामी स–साना उपकरण वा यन्त्रको प्रयोगबाट गर्न सक्छौं । छिमेकी राष्ट्रबाट सिक्दै यस्ता प्रविधिहरू भित्र्याउने उपयुक्त केन्द्रका रूपमा हाम्रा सहकारी संस्थाहरू हुन सक्छन् । 


कर्नेल विश्वविद्यालय र संयुक्त राष्ट्रसंघको वल्र्ड इन्टलेक्च्यूअल प्रोपर्टी अर्गनाइजेशनले संयुक्त रूपमा निकालेको ग्लोबल इन्नोभेसन इन्डेक्स २०१८ को प्रतिवेदन अनुसार इन्नोभेसनका सन्दर्भमा १२६ देशहरूमध्ये नेपाल १०८ मा पर्छ । सन् २०१७ मा नेपाल १०९ मा थियो । एक वर्षभित्र सानै भए पनि इन्नोभेसनका सन्दर्भमा नेपालले केही उपलब्धि हासिल गरेको छ । यो सूचकाङ्गले कुनै पनि देशले इन्नोभेसनलाई दिएको महत्वको तुलनात्मक अध्ययनका आधारमा स्तर निर्धारण गर्दछ । राज्यले इन्नोभेसनको दिशामा तर्जुमा गरेका दीर्घकालीन नीतिहरू मार्फत वृद्धि, उत्पादकत्व तथा रोजगारीको सिर्जनामा दिएको प्राथमिकताको अध्ययन गर्छ । इन्नोभेसनमा लगाइएको लगानी (संस्थागत, मानवीय र अनुसन्धान, पूर्वाधार, बजार र व्यवसाय) र उपलब्धि (वैज्ञानिक र सिर्जनशील) बिचको सम्बन्धको अध्ययन गरी यो सूचकाङ्ग प्रस्तुत गरिन्छ । सुरुदेखि नै स्विट्जरलेण्डले यस सूचकाङ्गमा अग्रणी राष्ट्र (पहिलो) को रूपमा आफ्नो पहिचान बनाइरहेको छ ।

 

विश्वव्यापीकरण समग्र विश्व अहिले विश्वव्यापीकरणको होडमा अघि बढेको छ । फ्रिड्मेन (२०१०) ले यो विश्वव्यापीकरणको चरणलाई सन् १४९२ देखि १८०० सम्म, सन् १८०० देखि २००० सम्म र सन् २००० देखि पछाडिको गरी तीन भागमा विभक्त गरेका छन् । कोलम्बसले सन् १४९२ मा अमेरिकाको खोजको थालनी गरेदेखि अहिलेको अवस्थामा आइपुगुन्जेलसम्म विश्वव्यापीकरणका अभ्यासहरूले विश्वलाई प्रतिस्पर्धा र सम्भावनाको एउटै परिवार जस्तो बनाएको छ । इन्टरनेट तथा सञ्चार प्रविधिले समग्र विश्वलाई एउटै बनायो । एउटै मान्छे एक ठाँउमा बसेर विश्वका विभिन्न देशका लागि काम गर्न सक्छ । एक देशबाट अर्को देशमा कामहरू ‘आउटसोर्सिङ्क’ गरिने गरिन्छ । विश्वव्यापीकरणको बढ्दो क्रममा देशका सीमानाहरू विस्तारै अनर्थक हुन थालेका छन् । जब हरेक कामहरू नै विश्वव्यापीकरणमा जान्छन् भने देश बीचको सीमानाको के अर्थ रहन्छ ? यसखालको चिन्तन तथा छलफलहरू हाल सामान्य मानिन्छन् । 


हामीले अहिले गरिराखेका कुराहरू सबै आवश्यक नै छन् भन्ने छैन । यी कतिपय कुरा समय सँगसँगै निरर्थक हुँदै गएका छन् । हाम्रा सार्वजनिक संस्थाहरू कतिपय विकसित देशका बिसौं शताब्दीका सुरुका वर्षका जस्ता छन्, जसले अहिलेका आवश्यकताहरू परिपूर्ति गर्न सक्दैनन् । सवारी अनुमति पत्र दिने संस्था होस् वा नेपाल आयल कर्पोरसन, विद्यालय वा विश्वविद्यालय नै किन नहुन्, यिनीहरूमा आमूल परिवर्तन गरि विश्व स्तरमा प्रतिस्पर्धी नबनाउने हो भने अबको समयमा यस्ता संस्थाहरूको अस्तित्व नै हराउन सक्छ । विश्वव्यापीकरणबाट सिक्दै हामीले अब देशभित्रै स्वस्थ प्रतिस्पर्धाको संस्कृति सुरु गर्नुपर्दछ । विकसित राष्ट्रहरू अहिलेको अवस्थामा आइपुग्नुको मुख्य कारणमा देश भित्रका सहर, गाउँ तथा जिल्लाहरूले एक आपसमा स्वस्थ रूपमा प्रतिस्पर्धा गर्नु नै हो । संघीयताको चरणमा प्रवेश गरिसके पछि अबको हाम्रो सोच कसरी हामी हाम्रो ठाउँलाई अरुभन्दा राम्रो बनाउन सक्छौँ भन्ने प्रतिस्पर्धी भावना तर्फ जानु पर्छ । हामी हाम्रो ठाउँलाई विशिष्ट बनाउन के कुरामा ध्यान दिन सक्छौं ? हाम्रो ठाउँ हेर्न मानिसहरू किन र कसरी आउँलान ? हाम्रो ठाउँका मानिसहरू अन्यत्रभन्दा कसरी समृद्ध बन्न सक्लान ? यस्ता प्रश्नहरूको जवाफ खोजी गर्दै अन्य गाँउ वा नगरसँग स्वस्थ प्रतिस्पर्धामा उत्रनु आवश्यक छ । अब राष्ट्रियताको भाषणलाई विकास र समृद्धिमा रूपान्तरण गर्नुपर्छ । अन्यथा फोस्रा भाषणले मात्र देश बन्दैन । हाम्रो गाउँ वा सहरको गौरव बढाउँदै राष्ट्रियतालाई सूक्ष्म रूपमा आफ्नै ठाउँको समृद्धिमा ढाल्न सक्नुपदर्छ । हरेक गाउँ वा सहरले बनाउने रणनीतिक योजनाहरू यस दिशामा केन्द्रित हुनुपर्छ । 


हरेक गाउँ वा सहरमा सामाजिक परिचालन गर्न सक्ने सचेत सहजकर्ताहरूको विकास गर्नु आवश्यक छ । यी सहजकर्ताहरूले परिवर्तनकारी रोल मोडेलका रूपमा काम गर्न सक्छन् । स्थानीय स्तरका आवश्यकता के छन् ? सम्भावनाहरूके छन्? ती खोजी गर्नु आवश्यक छ । यी कतिपय कामहरू नीति तथा सार्वजनिक क्षेत्रको संयुक्त पहलबाट कार्यान्वयनमा ल्याउन सकिन्छ । आफ्नै गाउँ वा सहरमा स–साना विज्ञान पार्कको स्थापना, कृषि पर्यटन केन्द्र, बजार आदिको स्थापना गर्न सकिन्छ । सहरहरूले ‘स्मार्ट सिटीको अवधारणामा’ रही कैयन् किसिमका कामहरूलाई अघि बढाउन सक्छन् । भारत सरकारले बनाएको स्मार्ट सिटी अवधारणामा सयौँ सूचकहरूको तर्जुमा गरिएको छ । हामी एकाध कुराहरू पूर्ति गरेर स्मार्ट सिटीको परिकल्पना पूरा भए जस्तो गरिरहेका छौँ । सहर–सहरका बिचमा स्वस्थ प्रतिस्पर्धा गर्न उत्प्रेरित गरी स्मार्ट सिटीको रूपमा आफ्नो सहरको विकास गरौँ । यसबाट सहरी जनताको समृद्धि प्राप्तिमा समेत टेवा पुग्नेछ । समयसँगै विश्वव्यापीकरण शब्द सामान्य बन्दैछ । एक दशकअघि गुगलमा अत्यधिक खोजी हुने यो शब्द अहिले अत्यन्त कम खोजिन्छ, किनकि यो वास्तविकता नै भइसक्यो । 

 

(लेखक पीएचडी सेन्टरका प्राज्ञिक सल्लाहकार तथा आइसीए नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ ।)