कुनै पनि देश राता रात विकसित बन्न सक्ने होइन, न त यो एकै रातमा ध्वस्त नै हुन सक्छ । अधिकांश विकसित देशहरुले आजको समयमा आइपुग्दासम्म विकास र विनाशका चरणहरु पार गरेका छन् । विभिन्न सूचकहरुलाई आधार मान्ने हो भने हामी पनि अब क्रमशः विकासको दीशातर्फ अग्रसर हुदैँ गरेको कुरा अनुभूति गर्न सकिन्छ ।
देश बन्ने वा विग्रने सन्दर्भमा राजनीति वा दर्शनको ठूलो भूमिका रहने गर्छ । दर्शन कै्र आधारमा धेरै देशहरु ध्वस्त भए भने कतिपयले कल्पनै गर्न नसकिने विकास गरे । दर्शनको कार्यान्वयन गर्ने सन्दर्भमा हजारौं लाखौं मानिसहरुको ज्यान समेत गएको छ । हिटलर एउटा आदर्श वा दर्शनबाट प्रभावित थिए र त्यस्को विरोध गर्नेहरुलाई मात्रै उनले सिध्याएनन् आफ्नै देश ध्वस्त नहुन्जेलसम्म पनि उनले झुक्न चाहेनन । विध्वंस पछि विकासको युग आंउछ भन्ने दर्शनबाट अभिप्रेरित भई हाम्रो देशमा मात्र होइन, कैयन देशमा विनाशकारी कार्यहरु हुन पुगे । अझै कतिपय देशहरु अझै यही माखे साङ्गलोबाट प्रताडित भइरहेका छन् ।
धेरै देशहरु नियम कानून नहुँदा वा संविधानको पालना नगरेर, मानव अधिकारको प्रत्याभूति नगरेर, गृहयुद्धमा गएर, बुध्दि विवेकको प्रयोग गरी आत्मनिर्भर हुने अवसर प्रदान नगरेर आदि कारणबाट विनाशको बाटोमा लाग्छन । नेपालमा यस्ता कारणहरु हाल त्यति गम्भीर नभए तापनि देश विकसित बन्न नसक्नु धेरैलाई अचम्म समेत लाग्ने गर्छ । अझ अचम्मको कुरो त, यति मिलेको अर्थात क्षेत्रफलको तुलनामा सवै किसिमको हावापानी, वातावरण, भूगोल भएको देश सम्भवत विश्वमै नेपाल मात्रै हो । विश्व मानचित्रमा सानो ठाँउ ओगटेको हाम्रो देश जतिको विविधताले सुस्सजित देश अत्यन्तै कम छन् । प्रकृतिले हामीलाई अपार सम्भावना दिएको छ । माटो यति मलिलो छकि ‘छरे मात्रै पुग्ने’ भनेजस्तो, हामीलाई भोखमरीमा पुग्नबाट रोक्ने किसिमको छ । ठाँवैपिच्छे विविधतापूर्ण जातजाति, संस्कृति र स्रोतको प्राप्यता छ, जस्ले हामीलाई अतिनै प्रतिकूल अवस्थामा समेत बचाई राखेको छ ।
अफ्रिकाका अधिकांश देशहरु अत्यन्तै गर्मी र रुखो माटोका कारण अनुत्पादक हुन पुगेका छन् । युरोप अत्यन्तै चिसोका कारण वर्षको केही महिनामात्रा प्रयोगमा ल्याउन सकिने वातावरण भएका छन् । यधपि उनीहरुले प्रविधिको सहयोगले आफू अनकूल बनाउन सकेका छन् । हामीलाई त प्रकृतिले नै ठाँउ अनुसार किसिम किसिमको माटो, हावापानी, तापक्रम प्रदान गरेको छ, जस्मा थोरै मात्र मिहेनत गर्ने हो भने राम्रै प्रतिफल प्राप्त गर्न सकिन्छ ।
यी सबै सम्भावता हुँदाहुदैं हामी किन पछि परिरहेका छौं ? यो आजको अत्यन्त गम्भीर प्रश्न हो र यस्को जवाफ नै हाम्रो देशको कायापलट गर्ने उपाय हुन सक्छ । दोस्रो विश्वयुद्ध पछि नेपालमा भएका विकासका कार्यहरुमा पुनरावलोकन गर्दा जस्तो सुकै राज्य व्यवस्था हुदाँ पनि वैदेशिक सहयोगका भूमिका रहेको पाइन्छ । हरेक दशकमा विकासको प्रारुपमा परिवर्तन हुंदै अैले हामी सभागितामूलक विकासको अवस्थामा आइपुगेका छौं । दोस्रो विश्वयुध्दको लगत्तै सुरुभएको एकतर्फी दिने व्यवस्थाबाट आज हामी सबैले सरोकार राख्ने सहभागितामूलक विकासको चरणमा आइपुगेका छौं । तर, यो चरणमा आइसक्दा पनि पराधिन सोचको हाम्रो अवस्थामा कुनै परिवर्तन हुन सकेको छैन, बरु बद्दै गएको छ । अरुमा भर पर्ने वा पराधिन सोचबाट आमूल परिवर्तनको आशा कम गर्न सकिन्छ । सयौं वर्ष अघि नै चीनका दार्शनिक लाओत्सुले ‘माछा दिएर होइन, माछा मार्ने तरिका सिकाएर’ परिवर्तन ल्याउन सकिने कुरा बताएका थिए ।
पराधिन सोचले सिर्जना आउन सक्दैन । विकास सिर्जनाबाट मात्र सम्भव हुन्छ । जब हाम्रो काम अरु कसैले गरिदिन्छ भने उबाट हामी झन बढी सहयोगको आशा गर्छै । यसबाट हाम्रो परनिर्भरता बढ्दै जान्छ र हामीले केही गर्नु पर्छ भन्ने सोचलाई समेत हामी भुल्दै जान्छौं । सरकार वैदशिक सहयोगलाई प्रतिष्ठाको विषय वनाउंछ । गाँउ गाँउमा गैरसरकारी संस्थाहरु चिल्ला प्रतिवेदनको तयारी गर्न भत्ता बाँड्दै हिड्छन् । युवाहरु आफ्नो ठाँउमा केही काम गर्दा प्रतिष्ठामा आँच आउने ठाँन्छन् । केही गर्न चाहनेहरुको निम्ति पनि पर्याप्त संरचनाको कमी छ । छेउवाट बग्ने खोलाले विध्वंस त धेरै ल्याएको हुनसक्छ, तर त्यसबाट विजुली निकाल्ने वा खेतमा सिंचाइ गर्ने उपायका निम्ति हामीसंग पर्याप्त स्रोत र विवेक पुग्दैन । यस्ता विविध कारणहरुले अरु कारणको सूत्रपात गर्छन । हामी कमजोर उत्पादकत्व, उद्यमशिलतामा कमी र स्रोतको पहुंचको कमीको माखे सङ्गलोबाट झन झन प्रताडित बन्दै जांदैछौं ।
भूपरिवेष्ठिताले हामी पछि पर्यौ भन्ने हो भने स्विटजरलैण्ड र लक्जेमवर्ग जस्ता देश हाम्रो सामु छन्, जनसंख्या बढी भएर भन्ने हो भने चीनले अैले देशको कायापलट गरेर देखाइसक्यो, स्रोतको कमीले भन्ने हो भने जापानले धरै पहिला त्यो कुरा असत्य सावित गरिसक्यो । बुध्दि र श्रमको कमी भन्ने हो भने गल्फ राष्ट्रहरुले वैकल्पिक सोचबाट आफूलाई विकसित गर्न थालिसके ।
स्थानीय स्तरमा विकासका सम्भाव्यताहरु कमी भएकै कारण लाखौंको संख्यामा नेपाली युवाहरु विदेशिन बाध्य छन् । यो बाध्यता भारत, फिलिपिन्स, मेक्सिकोे आदि देशका युवाहरुले धेरै वर्ष अघि अनुभूति गरिसकेका थिए । विदेशबाट फर्कदां उनीहरुले पैसा मात्र ल्याएनन, नयाँ सीप समेत ल्याए । जस्का कारण ती राष्ट्रहरुमा विकासका केही आयामहरु थपिन पुगे । हामीले पनि विकासको यो एउटा नयाँ सम्भावना देख्न थालिसकेका छौं । विप्रेक्षण (रेमिटेन्स) बाट परिवारको खर्च धान्ने मात्र होइन, फर्केर आएपछि युवाहरुले नयाँ रोजगारको सिर्जना गरेका छन् ।
देश विकासको अर्को संभावना सहकारी तथा वन उपभोक्ता जस्ता समूहहरुको उचित परिचालन हुन सक्छ । यस्ता संस्थाहरुको आर्थिक सक्षमता बढेको छ । सम्वध्द सदस्यहरु चेतनशील र उद्यशील छन् । उनीहरुले धेरै किसिमका तालिमहरु लिइसकेका छन् । यस्ता संस्थाहरुलाई अब प्रविधिसंग जोड्नु आवश्यक छ । साना, सजिला र प्रभावकारी प्रविधिको प्रयोगबाट यस्ता संस्थाहरु आफ्नो उत्पादकत्व वृध्दि गर्ने खालका कार्यक्रम देशव्यपीरुपमा संञ्चालन गर्नु आवश्यक छ ।
कुनै एउटा विषयलाई ध्यान दिएर मात्र विकास हुन सक्दैन । यो एउटा सर्वाङिण विषय वस्तुहरु समेट्ने प्रक्रिया हो । एउटा देशको विकासले अर्कोलाई समेत प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्छ । संयुक्त राज्य अमेरिकाले जीवाश्म इन्धनको खपत्मा बढी ध्यान दिनुले सौर्य ऊर्जाको समुचित विकासमा उस्को ध्यान जान सकेको छैन । यसबाट सौर्य ऊर्जाका प्रयोग अवसर पांउदैनन् विश्वव्यापीरुपमा उचित ढङ्गमा हुन सकेको छैन । चीनले हालै यस तर्फ विशेष ध्यान बढाएको छ । फलतः यस्को प्रयोगको सम्भाव्यता बढेर आउन थालेको छ । धनी देशले नमूना काम नगर्ने हो भने विकासन्मुख राष्ट्रहरुले सिक्ने अवसर पांउदैनन् । पश्चिममा देशमा भएको औद्यौगिक क्रान्ति तथा त्यस पछि भएको मोटर गाडिको क्रान्तिको प्रभाव नेपालमा सुरुमा खासै परेन । किनकि यो प्रविधि मंहगो मात्रै होइन, यस्को प्रविधि हस्तान्तरण नै जटिल थियो । यो भारी थियो, एक ठाँउबाट अर्को ठाँउमा लान बाटो चाहिन्थ्यो । पूर्वाधार नभएकै कारण कतिपय यस्ता प्रविधिहरु हाम्रो जस्तो देशमा उचित मात्रामा विस्तार हुन सकेनन् । तर, पछिल्लो समयमा आएको सूचना क्रान्तिको भने नेपालमा ठूलै प्रभाव परेको छ । यो प्रविधि मानवीय बृध्दिसंग बढी सम्बन्धित भएकोले प्रविधि हस्तान्तरण समेत सहज भयो । यस्ले हामीलाई एकै पल्ट विश्व मानचित्रमा जोडेको मात्र नभई भविश्यका निम्ति एउटा ठूलो सम्भावना आफ्नै संघारमा ल्याइदिएको छ । हालै, फैसवुकले ‘ह्वाट एप’ नामक सफ्टवेयर खरिद गर्दा १९ अर्ब डलर तिरेको छ । अमेरिकाको एउटा पत्रिकाले यो रकम नेपाल नै किन्न सक्ने बराबर भएको समाचार गर्यो प्रक्षेपण प्रभावकारी सफ्टवेयर निमार्ण गरी आय आर्जन भर्ने यो सम्भावना अब हामी सबैलाई छ, यस्ले कुनै पनि देशको सीमानालाई आधार मान्दैन । हजारौंको संख्यामा नेपाली युवाहरु सूचना प्रविधि अध्ययन तथा निमार्णमा संलग्न छन् । यस अर्थमा हामीले विश्व विकासमा देखिएका केही चरणहरुमा पर्याप्त समय नविताई ‘विकासे फडको’ मारेर नयाँ चरणमा प्रवेश गरेका छौं ।
धेरै विकासित देशहरुले अरुलाई अतिक्रमण गरी त्यहाँ भएका स्रोतहरु ल्याएर (जस्तै, बेलायत) कालोधनलाई बैङ्किङ्ग गरेर (जस्तै, स्विटजरलेण्ड), विश्वभरिका बौध्दिक मानिसहरु भेला गरेर (जस स. रा. अमेरिका) समृध्द हुन सकेका छन् । तर, समय अब बदिलिइसकेको छ । धनी देश भित्र पनि विकासको अवसर सबैतिर समान हुंदैन । त्यहाँ पनि कोही झन विकसित हुने त कोही ओरालो लाग्ने क्रम हुन्छ । हालै, सयुक्त राज्य अमेरिकाको डेट्रोयट सहरले आफूलाई दिवाला भएको घोषणा गर्यो । कुनै वेला अति विकसित यो सहर क्रमशः अद्योगति तर्फ लाग्दैछ ।
सबैलाई शिक्षित गरेर, उद्यमशिलता तथा सिर्जनशीलताको प्रबध्र्दन गरेर तथा अनुकूल वातावरण (संरचना, लगानी, शिक्षा तथा तालिमको अवसर, प्रविधि विस्तार आदि) को विकास गरेर गरिने, विकास नै दिगो हुन सक्छ । नेपालले आगामी दिनहरुमा लिनुपर्ने बाटो पनि यही हो ।
(लेखक विज्ञान तथा वातावरणका क्षेत्रमा कलम चलाउनु हुन्छ)।