काठमाडौँ, साउन २ (रासस)
म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् ।
म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ । जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केरा खेती गर्दै आएको तथ्याङ्क छ । उनीहरुले वार्षिक रु छ लाखदेखि रु १३ लाखसम्म आम्दानी गरेका छन् । बेनी नगरपालिका–२ खबराका सोभित सापकेटा कृषि फार्म दर्ता गरी केराखेती थालेको बताउनुहुन्छ । चौध रोपनी जग्गामा लगाएको केराखेतीबाट वार्षिकरुपमा रु १० लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । सापकोटाको केराखेतीबाट प्रभावित बनेर गाउँका अन्य किसान पनि व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् ।
थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बिक्री गर्न सजिलो हुनेलगायत कारणले किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । “उत्पादन भएको केरा सहजै बिक्री हुन्छ, बजारको समस्या छैन”, सापकोटा बताउनुहुन्छ । केराखेतीमा लागेपछि यहाँका बासिन्दाको आर्थिक अवस्थामा सुधार आएको छ । खबराका एक सय ६० परिवार केराखेती गर्दैआएका छन् । खबरामा दुई दशकअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले व्यावसायिकरुपमा केराखती थाल्नुभएको हो । दुवैजनाको सिको गरेर हाल सबैले केराखेती थालेका छन् । उनीहरु अधिकांशले हजारी जातको केराखेती गरेका छन् ।
खबराका किसानबाट प्रभावित भएर बगरफाँटका बासिन्दा पनि व्यावसायिक केराखेतीमा लागेका छन् । “धान, कोदो, मकै र गहुँभन्दा केराबाट पर्याप्त आम्दानी गर्न सकिन्छ”, कार्कीले भन्नुभयो । उत्पादित केरा घरबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो । “केरा किन्न बेनीदेखि व्यवसायी घरमै आउँछन्, प्रतिदर्जन एक सय २० मा बिक्री हुन्छ”, उहाँले भन्नुभयो । खबराकै अर्का किसान हरि कुँवरले पनि १० रोपनी जमिनमा केराखेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रु छ लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । आम्दानी हुन थालेपछि अहिले गाउँ नै केराखेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केराखेती गरिएको कार्कीले बताउनुभयो ।
बेनी–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन् । धान, गहुँ र मकैबालीको विकल्पमा उनीहरुले केराखेती गरेर आयआर्जनको माध्यम बनाएका छन् । बेनी–२ खबरा र बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारी केराखेतीको पकेट क्षेत्रका रुपमा चिनिएको छ ।