काठमाडौं - वरिष्ठ अधिवक्ता विष्णु भुसालले सगरमाथाको सफल आरोहण गरेका छन् । ६२ वर्षीय भुसाल जेठ २ गते ७.३०मा सगरमाथाको चुचुरोमा पुगेका हुन । भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन ।
विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अपील गर्दै उनले सगरमाथा आरोहण गरेका हुन । नेपाल बार एसोसिएसनको लोगो अंकित झण्डा सहित उनी वैशाख २ मा सगरमाथा आरोहणमा गएका थिए । अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोत सम्बन्धी कानुनमा स्नातकोत्तर भुसालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डाक्टर प्रीति र छोरा रोशन सहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् ।
भुसालकी छोरी डाक्टर प्रीतिले चार दिन अघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधी गर्दैछन् ।